प्रसूतिका लागि शल्यक्रिया कति आवश्यक, कति व्यापारीकरण ?
नेपालमा गर्भवती महिलालाई प्रसूतिका क्रममा शल्यक्रिया गर्ने दर बर्सेनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलामध्ये १० प्रतिशतलाई मात्रै प्रसूतिका क्रममा शल्यक्रियाको आवश्कता पर्ने भए पनि नेपालमा भने यसको दर दोब्बर पुगेको छ ।
बच्चा निस्कने ठाउँ साँघुरो हुँदा, सालले बच्चा निक्लने बाटो ढाकेमा, बच्चाको मुटुको ढुकढुकी अनियमित हुँदा, बच्चाले पेटभित्र दिसा गर्दा, बच्चा तेर्सो अनि उल्टो बसेमा गर्भवती महिलाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यस्तो समस्या सरदर १० प्रतिशत गर्भवती महिलामा देखिने विज्ञहरुको भनाइ छ ।
नेपालको सन्दर्भमा वार्षिक २० प्रतिशत गर्भवती महिलालाई प्रसूतिका क्रममा शल्यक्रिया गरिन्छ । प्रदेशगत रुपमा बागमती प्रदेश र प्रदेश नम्बर १ मा अन्य प्रदेशको तुलनामा शल्यक्रियामार्फत बच्चा जन्माउने दर बढी छ ।
विगत पाँच वर्षको तथ्याङ्कलाई केलाउँदा गर्भवती महिलाको शल्यक्रिया दर बर्सेनि बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा नेपालमा १६.१ प्रतिशत गर्भवती महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । आर्थिक वर्ष २०७४/७५ शल्यक्रिया गरेर बच्चा जन्माउने दर बढेर १७.४ प्रतिशत पुग्यो । आर्थिक वर्ष ०७५/७६ मा शल्यक्रियामार्फत १८.२ प्रतिशतले बच्चा जन्माएका छन् । आर्थिक वर्ष ०७६/७७ मा २०.२ प्रतिशतले शल्यक्रियामार्फत जन्माएका हुन् ।
गर्भवतीको शल्यक्रिया गर्ने दर बागमतीमा सर्वाधिक
बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा बच्चा जन्माउने कुल महिलामध्ये ३४.६ प्रतिशतको सर्जरी अर्थात् शल्यक्रिया गरिएको थियो । यस्तै, प्रदेश नम्बर १ मा ३४.५ प्रतिशतले शल्यक्रिया गरी बच्चा जन्माएका थिए । कर्णाली प्रदेशमा भने समीक्षा अवधिमा ५.९ प्रतिशतले शल्यक्रिया मार्फत बच्चा जन्माएका थिए । सुदूरपश्चिम प्रदेशमा ६.८ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माइएको थियो ।
परिवार कल्याण महाशाखाका अनुसार सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर बढी हुने गरेको छ । सरकारी अस्पतालमा बच्चा जन्माएकामध्ये सरदर २० प्रतिशतले शल्यक्रिया गरेका हुन्छन् भने नीजि अस्पतालमा यो दर निकै उच्च हुने गरेको छ ।
पाँच वर्षको प्रदेशगत तथ्याङ्क यस्तो छ
परिवार कल्याण महाशाखाका अनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७३/७४ मा २६ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । आर्थिक वर्ष २०७४/७५ मा २८ प्रतिशत, आव ०७५/७६ मा ३०.२ प्रतिशत, आव २०७६/७७ मा ३३ प्रतिशत र ०७७/७८ मा ३४.५ प्रतिशत गर्भवती महिलालाई प्रसूतिका लागि शल्यक्रिया गरिएको थियो ।

मधेश प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा ६.७ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । यस्तै, आर्थिक वर्ष ०७४/७५ मा ४.५ प्रतिशत, आव ०७५/७६ मा ८.७ प्रतिशत, आव ०७६/७७ मा १०.२ प्रतिशत, २०७७/७८ मा ९ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए ।
बागमती प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा २७.४ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । यस्तै, आव २०७४/७५ मा २९.९ प्रतिशत, ०७५/७६ मा ३०.९ प्रतिशत, ०७६/७७ मा ३३.५ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए ।
गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा १८.२ प्रतिशतले शल्यक्रिया गरी बच्चा जन्माएका थिए । यस्तै, ०७४/७५ मा १८.८ प्रतिशत, ०७५/७६ मा १९.४ प्रतिशत, ०७६ /७७ मा २१.५ र ०७७/७८ मा २१.६ प्रतिशत गर्भवती महिलालाई प्रसूतिका लागि शल्यक्रिया गरिएको थियो ।
लुम्बिनी प्रदेशमा आव ०७३/७४ मा १३.७ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । यस्तै, २०७४/७५ मा १४.९ प्रतिशत, ०७५/७६ मा १५ प्रतिशत, ०७६/७७ मा १६.८ प्रतिशत र २०७७/७८ मा १७ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए ।
कर्णाली प्रदेशमा आव ०७३/७४ मा ४.२ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । २०७४/७५ मा ४.५ प्रतिशत, ०७५/७६ मा ५.१ प्रतिशत, ०७६/७७ मा ४.९ प्रतिशत र २०७७/७८ ५.९ प्रतिशतले शल्यक्रिया मार्फत बच्चा जन्माएका थिए ।
सुदूरपश्चिम प्रदेशमा आव ०७३/७४ मा ५.८ प्रतिशतले शल्यक्रिया गराएर बच्चा जन्माएका थिए । २०७४/७५ मा ६.६ प्रतिशत, ०७५/७६ मा ६.५ प्रतिशत, ०७६/७७ मा ६.५ र ०७७/७८ मा ६.८ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए ।
गर्भवती महिलाको किन गरिन्छ शल्यक्रिया ?
स्वास्थ्यकर्मीको भनाइ अनुसार सरकारी अस्पतालमा भन्दा बढी निजी अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर बढी पाइन्छ । यद्यपि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा समेत शल्यक्रियामार्फत बच्चा जन्माउने दर बढेको छ ।
सो अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठका अनुसार प्रसूतिका क्रममा जटिल अवस्था भएर बाहिरबाट रिफर गरिएका बिरामी पनि यही अस्पतालमा धेरै आउने गरेका कारण शल्यक्रियाको दर बढी देखिएको हो । प्रसूति तथा स्त्री रोग अस्पतालमा गर्भवतीको स्वास्थ्य अवस्थाका आधारमा मात्रै शल्यक्रिया गरिने उनको भनाइ छ ।
यस्तै, मिडवाइफ संघका अध्यक्ष डा. लक्ष्मी तामाङ ठूलो मेडिकल कलेजमा गर्भवती महिलाको शल्यक्रिया गर्ने दर बढी हुने बताउँछिन् । ती मेडिकल कलेजमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि गर्भवतीको शल्यक्रिया अनावश्यक रुपमा गरिने उनको जिकिर छ ।
प्राकृतिक अवस्थाबाट बच्चा जन्माउनु आमा तथा शिशुका लागि उत्तम हुने डा. पुण्य पौडलको भनाइ छ । कतिपयले शल्यक्रिया गर्न दबाब दिन्छन् भने चिकित्सा क्षेत्रमा देखिएको विकृतिका कारण हरेक कुराको दोष डाक्टरलाई नै दिइने हुँदा पनि शल्यक्रिया गर्नेको दर बढेको चिकित्सकहरु बताउँछन् । चिकित्सक तथा स्वास्थ्य संस्थाले जोखिम लिन नचाहेका कारण पनि प्रसूतिका लागि गर्भवतीको शल्यक्रिया गरिदिने गरेको चिकित्सकको भनाइ छ ।
प्रसूति गृहमा २०७८ साउन महिनादेखि चैत महिनासम्म ६ हजार ४४७ जनाले शल्यक्रियामार्फत प्रसूति सेवा लिएका थिए । यो अवधिमा ९ हजार ४८४ जनाले प्राकृतिक तरिकाले बच्चा जन्माएका थिए ।
प्रसूति अस्पतालको २०७८ सालको तथ्याङ्क

यो अस्पतालमा आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ८२ जनाले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । यस्तै, आव २०७५/७६ मा ७ हजार ३१८ जना, २०७६/७७ मा ७ हजार ९७५ जना, आव २०७७/७८ मा ८ हजार १०८ जनाले शल्यक्रियामार्फत बच्चा जन्माए ।
शल्यक्रियामार्फत कस्तो अवस्थामा बच्चा जन्माइन्छ ?
शल्यक्रियामार्फत बच्चा जन्माउनुपर्ने विभिन्न बाध्यात्मक अवस्था हुने स्वास्थ्यकर्मी बताउँछन् । प्रसूति अस्पतालकी डा.मीना झाका अनुसार शल्यक्रिया गर्नुपर्ने धेरै कारण हुन्छन् । जसमध्ये बच्चा निस्कने ठाउँ साँघुरो हुँदा, बच्चाको तौल कम भएमा, सालले बच्चा निक्लने बाटो ढाकेमा, डेलिभरी गराउने बच्चाको मुटुको ढुकढुकी अनियमित भएमा शल्यक्रिया गर्नुपर्छ ।
यस्तै, बच्चाले पेटभित्र दिसा गरेमा, बच्चा तेर्सो अनि उल्टो बसेमा पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आउने डा.झाले बताइन् ।
मिडवाइफ संघका अध्यक्ष डा. तामाङका अनुसार गर्भवतीमै समस्या आउँदा शल्यक्रिया गर्नुपर्ने हुन्छ । गर्भवतीमा उच्च वा कम रक्तचाप भएमा शल्यक्रिया गर्नु पर्छ । यस्तै, बच्चा जन्माउने क्रममा गर्भवतीमा कम्पन आएमा अप्रेशन गर्नुपर्ने हुन सक्छ ।
यस्तै, आमाको हाइट अर्थात् उचाई सानो हुँदा पेटमा बच्चा ठूलो भएमा, आमाको पिठ्यू एकदम सानो छ भने पनि अप्रेशन गर्नुपर्ने अवस्था आउन सक्छ । प्राकृतिक रुपमा जन्माउने क्रममा पहिला बच्चाको हातखुट्टा बाहिर निकिएको खण्डमा पनि सर्जरी गर्नुपर्ने अवस्था आउने डा. तामाङले बताइन् । पेटभित्र पानी एकदमै कम भइ बच्चा खेल्ने ठाउँ नभएको अवस्थामा पनि शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने उनको भनाइ छ ।
डा. तामाङ भन्छिन्, ‘शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाभन्दा पनि रिस्क नलिएर टेष्टट्युव बेबीमार्फत जन्माउनेहरुले पनि शल्यक्रियामार्फत जन्माउँछन् किनभने बच्चा जन्माउनका लागि उनीहरुले धेरै रकम खर्च गरिरहेका हुन्छन् ।’
सामान्यतया प्रसूतिका लागि शल्यक्रिया गर्नुपर्ने अवस्था १० प्रतिशत गर्भवतीमा मात्र हुन्छ । त्यसमध्ये आमाको कारण ५ प्रतिशतमा र बच्चाकै कारण ५ प्रतिशतमा शल्यक्रिया गर्नुपर्ने अवस्था रहने डा.तमाङको भनाइ छ ।
शल्यक्रियालाई कमाउ धन्दा बनाइँदै
मिना राई पेसाले मिड्वाइफ्री हुन् । उनको पहिलो बच्चा गर्भमा बसेपछि अल्का अस्पतालमा नियमित जाँचका लागि जान थालिन् । बच्चा जन्माउन कुनै नाम चलेकै सरकारी अस्पतालमा प्राकृतिक रुपमा बच्चा जन्माउन उनी पुगिन् । उनलाई प्रसव पीडा करिव ६ घण्टासम्म भयो । उनलाई जाँच गर्न पुग्ने चिकित्सकहरुले अप्रत्यक्ष रुपमा शल्यक्रियाका लागि सुझाव दिइरहेका थिए ।
उनी मिड्वाइफ्री हुन् भन्ने कुरा सो अस्पतालका चिकित्सक तथा नर्सहरुलाई थाहा थिएन । उनले स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीसँग बुझ्नुका साथै रिपोर्टहरु आफैले नियालिरहेकी थिइन् । तर, जब सुत्केरी व्यथा लागेको साढे सात घण्टा पुग्यो, त्यसपछि चिकित्सकहरुले शल्यक्रियाका लागि उनका श्रीमानलाई रगत र अन्य व्यवस्था मिलाउन आग्रह गरे ।
सकेसम्म शल्यक्रिया नगर्न र प्राकृतिक रुपमा बच्चा जन्माउने पक्षमा थिइन् राई । जब अस्पतालले शल्यक्रियाको तयारी थाल्यो, उनी चिकित्सक र परिवारका सदस्यको कुरा नसुनी जबरजस्ती अर्को अस्पताल पुगिन् । व्यथा लागेको ११ घण्टामा उनले प्राकृतिक रुपमा बच्चा जन्माइन् ।
यसरी एकातिर चिकित्सकहरुले अप्रत्यक्ष रुपमा शल्यक्रियाका लागि दबाब दिन्छन् भने अर्कोतिर गर्भवती धेरै महिला प्राकृतिक रुपमा बच्चा जन्माउँदा र शल्यक्रियामार्फत बच्चा जन्माउँदा हुने फाइदा–बेफाइदाबारे पूर्ण रुपमा जानकार नहुँदा पनि शल्यक्रियामार्फत सुत्केरी हुने क्रम बढ्दै गएको विज्ञहरु बताउँछन् ।
डा. तामाङ भन्छिन्, ‘गर्भवती महिलाहरु प्रायः प्रसव पीडा भएपछि डराउँछन् । निजी अस्पतालमा नियमित जाँचका लागि जाने गर्भवतीलाई २४/२५ हप्ता कटेपछि मनोवैज्ञानिक रुपमा चिकित्सकहरुले अप्रत्यक्ष रुपमा शल्यक्रिया गराउँदा राम्रो हुन्छ भन्ने सल्लाह दिने गर्छन् ।’
यस्तै, शल्यक्रियाका विषयमा सेवाग्राहीको बुझाइ नै स्वास्थ्यकर्मीले जे जे भन्छन्, त्यही मान्नुपर्छ भन्ने गलत धारणको विकास भएको उनको भनाइ छ ।
किन डाक्टरले यस्तो भन्यो, मेरो अवस्था कस्तो छ, आवश्यकता हो कि होइन भनेर धेरै महिलाहरुले थाहा नहुने भएकाले चिकित्सकले जे भन्यो, त्यही मान्ने गरेको उनले बताइन् । यही कारणले गर्दा शल्याक्रिया गर्ने महिलाहरुको दर बढेको उनको बुझाइ छ ।
उनी भन्छिन्, ‘पहिलो पटक बच्चा जन्माउनका लागि कम्तीमा १०/११ घण्टा व्यथा लाग्छ । किन ११ घण्टासम्म कुर्ने ? अनुभवी चिकित्सकलाई एउटा अप्रेशन गर्नु भनेको २०/२५ मिनेटको खेल हो । नर्मल डेलिभरी गरेपछि पैसा कम आउँछ, शल्यक्रिया गर्दा कम समयमै पैसा धेरै आउँछ ।’
शल्यक्रिया गरी जन्माएका बच्चामा स्वास्थ्य समस्या
३१ अक्टोबर २०२० मा अन्तर्राष्ट्रिय जर्नल अफ इन्भारोमेन्टल रिसर्च एण्ड पब्लिक हेल्थमा प्रकाशित जर्नलमा शल्यक्रिया गरेर जन्माएका बच्चाहरुमा श्वासप्रश्वाशको संक्रमणसम्बन्धी समस्या बढी भएको उल्लेख छ । यस्तै, अध्ययनले योनी प्रसव अर्थात् प्रकृतिक रुपमा व्यथा लागेर जन्मिएका बच्चाहरुमा भन्दा शल्यक्रियामार्फत जन्मिएका बच्चामा मोटोपन, श्वास नलीमा संक्रमण तथा दमको समस्या देखिएको पाइएको छ । यस्तै, शल्यक्रियामार्फत जन्मिएका बच्चाहरु डायविटिज मेलिटस टाइप १ वा अप्रेशनपछि सन्तानहरुमा न्यूरोलोजिकल विकार देखिने गरेको पाइएको छ ।
उता स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आमा सुरक्षा हेर्दै आएकी डा.पुण्य पौडेलले अस्पतालहरुमा शल्यक्रियामार्फत बच्चा निकालिएका बच्चा र प्राकृतिक तरिकाले जन्माइएका बच्चाको स्वास्थ्यमा कस्तो फरक स्वास्थ्य समस्या आउँछ, त्यसबारे अध्ययन नभएको बताइन् । उनी भन्छिन्, विभिन्न अध्ययनहरुले आवश्यकता बिना शल्यक्रियाबाट बच्चा निकाल्दा आमा र बच्चामा अप्रत्यक्ष रुपमा समस्या देखिएको सुनेको बताइन् ।
शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका बाहेक प्रसव पीडालाई एक दिन खप्न डराउँदा पहिलो बच्चा अप्रशेन गरेर निकालेपछि दोस्रो पटक पनि शल्यक्रिया गरी निकाल्नुपर्ने डा. पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘पहिलो पटक शल्यक्रिया गरिसकेपछि दोस्रो बच्चा जन्माउँदा नर्मल डेलिभरी अर्थात् प्राकृतिक तरिकाबाट जन्माउन सकिँदैन भन्ने होइन तर कहिलेकाहीँ पाठेघर फुट्ने सम्भावना हुन्छ ।’
पहिलो बच्चा अप्रेशन गरी निकालेपछि प्राकृतिक रुपमा दोस्रो पटक बच्चालाई जन्म दिन सकिन्छ वा सकिँदैन भन्ने कुरा धेरैको चासोको विषय बनेको चिकित्सकहरुको भनाइ छ ।
सहरमा किन शल्यक्रियामार्फत बच्चा जन्माउने दर बढी ?
ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा शल्यक्रियामार्फत बच्चा जन्माउने महिला धेरै पाइएको छ । शल्यक्रिया गराउनेमा शिक्षित महिला नै बढी रहेको रहेको डा. पौडेलको भनाइ छ ।
डा. तामाङका अनुसार सहरिया शिक्षित महिलालाई फुर्सद पनि हुँदैन । किन अनावश्यक रुपमा पीडा सहने भन्ने बुझाईका कारण पनि शल्यक्रिया गर्ने बढेका हुन् । सहरिया पढेलेखेका केही महिलाले पण्डितलाई साइत हेराइ शुभ दिनका नाममा निजी अस्पतालमा गएर शल्यक्रियामार्फत बच्चा निकाल्ने नकारात्मक प्रवृत्ति विकास भएको उनी बताउँछिन् ।
शल्यक्रियालाई अस्पतालहरुले व्यापारीककरण गरे भन्नु भन्दा पनि सेवाग्राही नै यसमा सचेत हुनुपर्ने उनको भनाइ छ । डा.तामाङ भन्छिन्, ‘बच्चा जन्माउने व्यथा लागेपछि महिलाहरुले छिटो व्यथा लाग्ने औषधि देऊ भनेर अस्पतालमा बढी हल्ला गर्छन् । उनीहरुले व्यथा लाग्ने औषधिहरु अनावश्यक रुपमा स्लाइनबाट दिने, योनी मार्गबाट राखिदिँदा पनि पाठेघर अनावश्क रुपमा खुम्चिन्छ । पाठेघर खुम्चिसकेपछि शिशुलाई श्वास फेर्न निकै गाह्रो हुन्छ । यसपछि शिशुले पेटभित्र आची खाइदिन्छ । शिशुले निसासिएर दिसा गर्छ । त्यसपछि अप्रेसन गर्नुपर्ने अवस्था आउँछ ।’
सहरी क्षेत्रमा चिकित्सकहरुले गर्भवतीको स्वेच्छाका कारण शल्यक्रिया गरिएको बताउने गरेको तर सेवाग्राही महिलाले भने चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गरेको भन्ने गरेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘पहिला पहिलाका दम्पतीहरुले धेरै बच्चा जन्माउँथे तर, अहिले एउटा बच्चामात्रै जन्माउछन् । त्यसैले गर्भवती महिलाले रिस्क लिन पनि चाहँदैनन् ।’
बच्चा जन्माउने प्रक्रियालाई व्यापारीकरण गर्न थालिएकाले प्राकिृतिक रुपमा बच्चा जन्माउनका लागि महिलाले असुरक्षित ठान्न थालेको उनको जिकिर छ ।
डा. तामाङका अनुसार ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका महिलाले शारीरिक रुपमा बढी काम गरेर बच्चाबच्ची पाल्नुपर्छ । त्यसैले उनीहरुले स्वास्थ्यले साथ दिएसम्म प्राकृतिक रुपमा बच्चा जन्माउने कोसिस गर्छन् । सबैसँग अप्रेशन गर्दा लाग्ने खर्च धान्न सक्ने क्षमता कम हुने भएकाले ग्रामीण भेगका गर्भवती महिलामा शल्यक्रिया गर्ने दर कम रहेको उनको भनाइ छ ।
परिवार कल्याण महाशाखाका अन्तर्गत आमा सुरक्षा कार्यक्रम हेर्दै आएकी डा. पौडेल भने नेपालमा पछिल्ला केही वर्ष यता शल्यक्रियामार्फत बच्चा जन्माउने दर क्रमशः बढ्दै गएको बताउँछिन् । शल्यक्रिया गर्नुपर्ने अवस्थाबाहेक अन्य अवस्थामा शल्यक्रिया गर्न उपयुक्त हुँदैन भन्ने जनचेनता फैलाउनका लागि यस सम्बन्धमा नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम
-
रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा
-
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
-
अभिनयमा कमब्याक गर्दै कैट्रिना
-
चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
-
एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण