शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कति सम्भव छ साउन १ बाटै इम्बोस्ड अनिवार्य गर्न ?

बागमतीका मोटरसाइकलमा मात्र इम्बोस्ड जोड्न कम्तीमा दुई वर्ष !
सोमबार, २३ जेठ २०७९, ०७ : १७
सोमबार, २३ जेठ २०७९

यातायात व्यवस्था विभागले साउन १ गतेबाटै अनिवार्य गर्ने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्दै केही दिनअगाडि एउटा सूचना जारी गर्‍यो । साउन १ गतेसम्ममा बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनहरूले अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरी प्रयोग नल्याए सडकमा ट्राफिक प्रहरीले कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ । 

यातायात व्यवस्था विभागले यस्तो चेतावनीसहितको सूचना जारी गरेपछि यतिबेला इम्बोस्ड नम्बर प्लेटको उपयोगिता र साउन १ गतेभित्रै पूर्ण कार्यान्वयनमा ल्याउन सकिने वा नसकिने भन्ने सम्बन्धमा बहस सुरु भएको छ । 

हालसम्मको तथ्याङ्क हेर्ने हो भने देशैभरका यातायात कार्यालयबाट करिब २५ हजार मात्रै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । बागमती प्रदेशका चार पाङ्ग्रेसहितका ठूला सवारीसाधनमा करिब १२ हजार र मोटरसाइकलमा करिब ६ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । अन्य प्रदेशहरूमा सबै गरी करिब २५ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । बागमती र गण्डकी प्रदेशमा गरी करिब २० लाख सवारीसाधन दैनिक सञ्चालनमा छन् । यस्तो अवस्थामा अबको ४० दिनमै १९ लाख ७५ हजारभन्दा बढी सवारीसाधनमा इम्बोस्ड नम्बर जडान भइसकेको हुनुपर्ने आशयको सूचना जारी भएको छ । 

यो सूचना जारी भएपनि यसको कार्यान्वयनमा भने निकै ठूलो समस्या आउने देखिएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि लाग्ने समय, सुरक्षा व्यवस्था आदिको कारण हाल साना ठूला सवारीमा इम्बोस्ड जडान गर्न प्रति सवारीसाधन करिब १५ मिनेट समय लाग्ने गरेको छ । १५ मिनेटका दरले समय लाग्दा एकान्तकुनामा हाल एउटा मात्रै स्थानबाट इम्बोस्ड नम्बर जडान गर्दा एक दिनमा बढीमा ३२ वटा सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।

साना सवारीको हकमा टेकुबाट पनि इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गरिएपनि दैनिक औसतमा एक सय भन्दा बढी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने अवस्था र क्षमता दुवै छैन । अहिलेको जनशक्तिलाई थप गरेर ५ स्थानबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी काम गरेमा पनि एक दिनमा साना ठूला सवारीमा इम्बोस्ड नम्बर जडान गर्न दैनिक १६० वटामा मात्रै जडान गर्न सकिन्छ । एक महिनामा करिब २० दिन कार्यदिन रहेको अवस्थामा पनि एक महिनामा बढीमा ३ हजार २ सय सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । बाँकी १० दिनमा एक हजार ६ सय सवारीमा इम्बोस्ड न्म्बर जडान गर्दा ४० दिनमा जम्मा ४ हजार ८ सय सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । 

यातायात व्यवस्था कार्यालयले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने स्थान २० वटा बनाए पनि मासिक १२ हजार ८ सय साना ठूला सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । यो अवस्था हेर्दा विभागले जसरी सूचना जारी गरेको छ, त्यो उद्धेश्य प्राप्त गर्ने पूर्वाधार र पूर्व तयारी छैन । 

यता मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडानको अवस्था झनै कमजोर र सुस्त छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका प्रमुख दीपक पोखरेल साउन १ अगाडि नै सबै मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडानको सम्भावना नै नरहेको बताउँछन् । पोखरेलका अनुसार हालसम्म बागमती प्रदेशमा दर्ता भएका करिब ६ हजार मोटरसाइकलमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । तर बागमती प्रदेशमा करिब १४ लाख मोटरसाइकल दर्ता भएका छन् । बागमतीमा दर्ता भएका १४ लाख मोटरसाइकल मध्ये करिब १० लाख मोटरसाइकल चलनचल्तीमा रहेको पोखरेलको अनुमान छ । तर हालसम्म जम्मा ६ हजार मोटरसाइकलमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको कारण जति नै छिटो काम गरे पनि सबै मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न कम्तीमा दुई वर्ष लाग्नेछ । 

अहिले यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारामा दैनिक ५० वटासम्म मोटरसइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । अहिले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कम्पनीले गुर्जुधारामा एक स्थानबाट मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम गरिरहेको छ । एक स्थानबाट काम गर्दा दैनिक ५० वटामा इम्बोस्ड नम्बर जडान गर्दा मासिक २० कार्य दिनमा काम गर्दा एक हजार मोटरसाइकलमा मात्रै इम्बोस्ड नम्बर जडान गर्न सकिन्छ । यही तथ्यांकलाई हेर्दा अबको करिब ४० दिनमा जम्मा एक हजार पाँचसय मोटरसाइकलमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्भव छ । 

अन्य कार्यालयबाट इम्बोस्ड नम्बर जडान गर्ने भनेपनि पहिले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा गएर ढड्डामा नाम लेखाई दर्ता गरिसकेपछि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । सबै व्यवस्था मिलाएर ५० स्थानमा इम्बोस्ड नम्बर प्लेट जडानको व्यवस्था गरे पनि बागमती प्रदेशमा दर्ता भएका सबै मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्न खोजेमा एक महिनामा मात्रै ५० हजार मोटरसाइकलमा इम्बोस्ड नम्बर  जडान गर्न सम्भव छ । यो तथ्याङ्क हेर्दा एक वर्षमा ५ लाख र दुई वर्षमा बल्ल दश लाख मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्न सकिने स्थिति छ ।

तर यातायात व्यवस्था विभागले आफूहरूसँग कुनै सल्लाह नै नगरी डेढ महिनाको समय दिएर सूचना निकालेको पोखरेलले बताए । उनले भने, ‘अबको ४० दिनमै इम्बोस्ड जोडिसक्ने कुरा असम्भव नै हो । पहिले कुनै छलफल पनि भएन । अहिले हामीले दैनिक ५० वटासम्म मोटरसाइकलमा इम्बोस्ड जोड्न सक्छौँ । त्यही अनुपातमा ५० स्थानबाट इम्बोस्ड जोडे पनि कम्तीमा २ वर्ष लाग्छ ।’

के हो इम्बोस्ड नम्बर प्लेट ?

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि अनिवार्य गर्ने भनेको इम्बोस्ड नम्बर प्लेटमा आरएफआइडी प्रविधि जडान गरिएको हुन्छ । उक्त प्रविधि जडान गरिएको सवारीसाधन कुन स्थानमा पुग्यो भन्नका लागि आरएफआइडी गेट बनाइन्छ र सोही गेटमा अटोमेटिक डिटेक्ट भएर सवारीसाधनको तथ्याङ्क सुरक्षित हुन्छ । 

इम्बोस्ड नम्बर प्लेट हातले लेखेर बनाउने नभई मेसिनबाटै तयार भएर आउँछ । उक्त नम्बर प्लेट एकपटक जोडिएपछि पुनः जोड्न नपर्ने हो नबिग्रिने यातायात व्यवस्था विभागको दाबी छ । विभिन्न नाकामा राखिएको आरएफआइडी गेटमा पुग्ने बित्तिकै २ सय मिटर टाढाको सवारीसाधन पनि आफैँ डिटेक्ट भई डाटा सेन्टरमा बस्ने भएको कारण यो सवारीसाधन कहाँ पुग्यो वा कहाँबाट कहिले कहाँ निस्कियो भन्ने जानकारी प्राप्त हुने विभागको दाबी छ । 

विभागको अर्को दाबी भनेको यो नम्बर जडानपछि सवारीसाधन हराउने समस्या समाधान हुने भन्ने छ । यो नम्बर प्लेट जडान गरेपछि झिक्न नमिल्ने भएको कारण ती सवारीसाधन नहराउने बताइएको छ । 

न्युन गुणस्तरको इम्बोस्डले समस्या

सरकारले करिब ५ वर्ष अगाडि नै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी एक निजी कम्पनीसँग सम्झौता गरेको थियो । तर इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गर्ने भाषा नेपाली हुने कि अङ्ग्रेजी भन्ने प्रश्नका कारण करिब ३ वर्ष सर्वोच्च अदालतमै यस विषय रोकिएको थियो । सर्वोच्चले अङ्ग्रेजी भाषामै इम्बोस्ड नम्बर जडान गर्न पाउने फैसला गरेसँगै विभागले त्यसका लागि काम गर्न थालेको थियो । 

तर यो बीचमा पनि इम्बोस्ड नम्बर प्लेटप्रति सेवाग्राहीको आकर्षण बढ्न सकेन । यसको कारण भनेको महँगो शुल्क र गुणस्तरहीन नम्बर प्लेट नै हो । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि मोटरसाइकलमा २ हजार ६ सय र साना सवारीसाधनमा करिब ३ हजार तथा ठूला सवारीसाधनमा ३ हजार ६ सयसम्म शुल्क लिन्छ । जबकि हालको नम्बर प्लेट हराएमा वा बिग्रेमा पनि लेख्नका लागि मात्रै ५ सय भए पुग्छ । 

हाल इम्बोस्ड नम्बर प्लेट बनाउन दिइएको कम्पनीले पनि गुणस्तरीय नम्बर प्लेट नबनाउँदा त्यसपछि आकर्षण आउन सकेको छैन । एकपटक हालेपछि १० वर्ष केही गर्नु नपर्ने बताए पनि इम्बोस्ड नम्बर प्लेट जडान गरिएको ६ महिनामै कतिपय इम्बोस्ड नम्बर प्लेट झर्ने र बिग्रने गरेका छन् । 

मोटरसाइकल तथा कार लगायतका सवारीसाधनमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटको नट जडान गरिएको स्थान खिइने र फुट्ने गरेको पाइएको यातायात व्यवस्था कार्यालय गुर्जुधाराका प्रमुख दीपक पोखरेलले रातोपाटीलाई बताए । इम्बोस्ड नम्बर प्लेटको गुणस्तर कमजोर हुँदा सेवाग्राहीले दुख पाएको र रिसाउँदै आउने गरेको पोखरेलले बताए । 

पोखरेलका अनुसार नम्बर प्लेट खिइने गरेको कारण झर्ने गरेको पाइएको छ । नेपालको बाटोमा खाल्डाखुल्डी धेरै भएको थर्कने र त्यही थर्काइका कारण नम्बर प्लेट फुट्ने वा खिइने गरेको पोखरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप