बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको हुँ : अर्थमन्त्री शर्मा

बुधबार, २२ असार २०७९, १७ : ५०
बुधबार, २२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।  संसद बैठकमा राजीनामा दिएको घोषणापछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् । उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ती नगरेको दोहोर्याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए ।  

उनले स्थापित मूल्य, मान्यता, विधि,पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे ।  उनले भने,‘ मैले केही गल्ती गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु । छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ । सत्यतथ्य जनतासमक्ष आउँछ । मैले गरेको आत्मविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ ।

छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न, सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ती गरेको छैन । स्थापित मूल्य, विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिन पछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे । प्रतिनिधिसभामा सम्बोधन गर्दै शर्माले बुधबार राजीनामाको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप