शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिगत उम्मेदवार विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : ५७
मङ्गलबार, २६ मङ्सिर २०७४

धनगढी -टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन् । 

आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी ९गरिमा० शाहलाई २० हजार ९३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा९एमाले०की शाह १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा यति ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका थिए । 

दुई वर्षअघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै आएको बताइएको छ । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो । 

चौधरीले सामाजिक सञ्जाल र भिडियो क्लिपको प्रयोग गरेर आफ्ना समर्थकलाई चुनावी प्रचारमा परिचालन गरेका थिए । निर्वाचित चौधरीको प्रमाणपत्र तथा शपथ लिने विषयमा कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णयबमोजिम हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले अभियुक्त चौधरीलाई भेटिएमा पक्राउ गरिने जानकारी दिए । “भेटिए भने कानूनबमोजिम उनी पक्राउ हुन्छन् र अदालतमा पेश हुन्छन्”, घिमिरे भने । 

प्रमाणपत्र हस्तान्तरण गर्न असहज 

विजयी चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए । “विजयी भएको प्रमाणपत्र बुझ्न भनी उहाँकी श्रीमती र आफन्त बिहान कार्यालयमा आउनुभएको थियो” भुसालले भने “कानूनी व्यवस्थाबारे उहाँहरुलाई जानकारी गराएर फर्काइदिएँ ।” 

विजयी हुनेले आफैँ कार्यालयमा उपस्थित भएर विजयी भएको प्रमाणपत्र बुझ्नुपर्ने, उपस्थित हुन नसकेमा घरठेगानामा प्रमाणपत्र पठाउनुपर्ने र प्रमाणपत्र पनि पठाउन नसक्ने अवस्था देखिएमा प्रमाणपत्र आयोगलाई हस्तान्तरण गरिने भुसालले बताए । 

प्रदेशमा चौधरी र डा रावल 
निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ९क० मा राजपाकै कृष्णबहादुर चौधरी १२ हजार १८४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जनकराज चौधरीले नौ हजार ३०८ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा ९ख०तर्फ काँग्रेसका डा रणबहादुर रावल नौ हजार ४३४ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र०का नेपबहादुर चौधरीले आठ हजार ९०६ मत प्राप्त गरेका छन् । 

यता विवादका कारण निर्वाचन क्षेत्र नं २ को मतगणना रातिदेखि स्थगन भएको छ । मतदान अधिकृतले उपलब्ध गराएको मतको तथ्यांकभन्दा मतपेटिकामा केही मत कम फेला परेपछि विवाद भएको निर्वाचन अधिकृत शिवहरि पौड्यालले बताए । विवाद समाधानको प्रयास भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप