शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस, मिटरब्याजीविरुद्ध १९ सय ३७ उजुरी

मङ्गलबार, ०७ भदौ २०७९, २० : ४८
मङ्गलबार, ०७ भदौ २०७९

आज २०७९ साउन भदौ ७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको निकै सकस देखिएको छ । भदौ पहिलो साता सिट बाँडफाँटको टुङ्गो लगाइसक्ने भन्दै कार्यदल गठन भए पनि अहिलेसम्म सिट बाँडफाँटको स्पस्ट मापदण्डसमेत बन्न सकेको छैन । कार्यदलको पटकपटक बसेको बैठकमा सिट बाँडफाँटबारे मूर्त ढंगले सम्वाद नै अगाडि बढ्न सकेको छैन ।

अदालतको फैसला

न्यायपरिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कर्मचारी समायोजनसम्बन्धी मुद्दाहरूमध्ये सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ वटामा परमादेश जारी गरेको छ । कर्मचारी समायोजनसम्बन्धी कूल ९८ थान मुद्दा रहेकोमा १३ वटामा परमादेश जारी गर्दै संवैधानिक इजलासले मंगलबार अन्यको रिट खारेज गरेको हो ।

उम्मेदवार छनोटको विधि र मापदण्ड

नेकपा एमालेको भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीले उम्मेदवारको विधि र मापदण्ड तय गर्ने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

‘सर्टिफिकेट अफ ओरिजिन’ बिनै ​आयात

सामान्यतयाः वस्तुको आयात गर्दा कुन प्रकृतिको र कुन देशबाट ल्याइएको भन्ने तथ्य (सर्टिफिकेट अफ ओरिजिन) खुलाउनु पर्छ । भन्सार नाकाहरूमा आयातको प्रक्रिया पुरा गर्दा कुन देशबाट कस्तो प्रकृतिको वस्तु आयात गरिएको भन्ने प्रमाण खुल्ने कागजात पनि पेस गर्नुपर्छ ।

आईएमएफले रोक्यो ईसीएफको दोस्रो किस्ता

नेपाल सरकारले शर्त पूरा नगरेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिन लागेको दोस्रो किस्ता कर्जा रोकेको छ । सरकारले शर्त पूरा नगरेको भन्दै आईएमएफले एक्टेण्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तरगतको दोस्रो किस्ता रोकिएको हो ।

प्रकाश ज्वालालाई कति सहज ?

प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको कडा प्रतिस्पर्धा हुने जिल्लामध्ये सल्यान पनि एक हो । तीनवटै दलको जनाधारमा थोरैमात्र फरक पर्ने यो जिल्लामा आसन्न प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनबाट उम्मेदवारीको दाबी गरेको छ ।

वामदेवले बर्दिया–१ छाड्दा कांग्रेसलाई सहज

आसन्न प्रतिनिधिसभा निर्वाचनमा वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ छाडेर प्युठानबाट उम्मेदवारी दिने चर्चा सुरु भएसँगै सत्तारुढ गठबन्धनलाई वामदेवको साबिकको क्षेत्रमा भागबण्डा मिलाउन केही सहज हुने देखिन्छ । यद्यपि, बर्दिया–१ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वामदेवलाई पराजित गरेका थिए ।​

कोभिड–१९ बाट थप १ जनाको मृत्यु

नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ ।​

कांग्रेसको चुनाव लक्षित अभियान

नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ निर्वाचन लक्षित अभियानका लागि खटाउने केन्द्रीय प्रतिनिधि नाम तय गरेको छ । यही भदौ १० गतेबाट सुरु हुने अभियानमा कांग्रेसले ७५ जिल्लामा पठाउने प्रतिनिधिको टुंगो लगाएको हो ।

मिटरब्याजीविरुद्ध १९ सय ३७ उजुरी

मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको आह्वानपछि १९ सय ३७ वटा उजुरी दर्ता भएको कार्यदलका संयोजक सह–सचिव डा. भीष्मकुमार भुषालले रातोपाटीलाई जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप