शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा एमालेका प्रभावशाली नेतालाई साख जोगाउने चिन्ता

शुक्रबार, २४ भदौ २०७९, १४ : ०८
शुक्रबार, २४ भदौ २०७९

निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको एमालेले त्यतिबेला वाम गठबन्धनको बलमा सफलता पाएको थियो ।

अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धन एकातिर हुँदा एमालेलाई आफ्नो वर्चश्व रहेका क्षेत्रमै कडा चुनौती मिल्ने देखिएको छ ।

लुम्बिनी प्रदेशमा निर्वाचन क्षेत्र रहेका एमाले नेताहरु विष्णु पौड्याल, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, दलबहादुर राना, टोपबहादुर रायमाझी, नन्दलाल रोकाय लगायतलाई आफ्नो साख जोगाउनुपर्ने चुनौती छ । यस्तै २०७४ को निर्वाचनमा सूर्य चुनाव चिह्न लिएर कपिलवस्तुमा क्षेत्र नम्बर २ बाट निर्वाचित वृजेश गुप्ता अहिले एमालेमै छन् । विगतमा निर्वाचित भएका यिनीहरुलाई अहिले गठबन्धनले मुख्य निशाना बनाउने निश्चित देखिन्छ ।

ती नेताको संसदीय क्षेत्र अन्तर्गत स्थानीय तह निर्वाचनमा सम्बन्धित क्षेत्रभित्रका वडा अध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने कतिपय क्षेत्रमा एमालेका उम्मेदवारलाई जित निकाल्न कठिन देखिन्छ ।

एमाले यतिबेला रक्षात्मक अवस्थामा देखिन्छ । विगतमा आफूले जितेका क्षेत्रलाई फेरि सुरक्षित गर्ने दाउमा रहेको एमालेले गठबन्धनभित्र हुन सक्ने खटपटलाई अवसरका रुपमा लिने रणनीति बनाएको छ ।

२०७४ को निर्वाचनमा विजयी भएका बाँकेका नन्दलाल रोकाय र पाल्पाका दलबहादुर रानाबाहेक सातै उम्मेदवार फेरि दोहोरिने लगभग निश्चित रहेको एमाले प्रदेश कमिटीका एक सदस्यले जनाए । उनका अनुसार जिल्ला कमिटीबाट आएका रिपोर्ट अनुसार धेरै ठाउँमा एमालेलाई अहिले चुनौती छ ।

एमाले नेता बैजनाथ चौधरीका अनुसार गठबन्धनमा देखिने असन्तुष्टिलाई खेलेर एमालेले आफ्नो सिट सुरक्षित गर्ने रणनीति बनाउनेछ ।

गठबन्धनबाट नेपाली कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीमाथि खेल्ने र माओवादीले टिकट पाएको ठाउँमा कांग्रेसमाथि खेल्ने रणनीति बनाएको एमालेका लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । उनका अनुसार गठबन्धन सरकारका कारण महँगी, भ्रष्टाचार बढेको जस्ता एजेण्डा लिएर एमाले चुनावी मैदानमा जानेछ ।

रुपन्देहीको क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्माले २०७४ को संसदीय निर्वाचन जितेका थिए । एमाले सचिव तथा पूर्व मन्त्री रहेका विश्वकर्मा फेरि उम्मेदवार बन्ने तयारीमा रहे पनि यहाँ एमालेले राप्रपासँग तालमेल गर्ने देखिएको छ । त्यस आधारमा क्षेत्र नम्बर १ र ३ मध्ये एक सिट एमालेले राप्रपालाई छाड्नुपर्ने हुन्छ । यसो गर्दा विश्वकर्मा र घनश्याम भुसालमध्ये एक जनाले उम्मेदवार बन्ने अवसर पाउने छैनन् ।

गुल्मीमा पनि दुवै निर्वाचन क्षेत्र जितेको एमालेले यो पटक पार्टी विभाजन र सत्तारुढ गठबन्धनको रवाफका कारण चुनौती झेल्नुपर्ने देखिन्छ । क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ बाट गोकर्ण बिष्ट उम्मेदवार बन्ने निश्चित प्रायः छ । उनीहरुलाई गठबन्धनबाट कसले चुनौती दिने भन्ने टुंगो लाग्न बाँकी छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ मा वडा अध्यक्षहरुको मत आधारमा एमालेसँग ३५ हजार ७०१ मत छ  भने कांग्रेसको ३१ हजार २९४, माओवादीको ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाको एक हजार ६००, नेकपा एकीकृत समाजवादीको ४९७ मत छ । उक्त मतका आधारमा यो क्षेत्रमा एमालेको तुलनामा सत्तारुढ गठबन्धन केही बलियो देखिन्छ ।

गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण बिष्ट उम्मेदवार बन्ने र उनलाई गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले चुनौती दिने चर्चा छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ एमाले वडा अध्यक्षहरुले ३१ हजार २५३ मत पाएका छन् भने कांग्रेसले २९ हजार ८२१, माओवादी केन्द्रले एक हजार ८४१, नेकपा एकीकृत समाजवादीले ६५८, राप्रपाले १०१ मत पाएका छन् ।

रुपन्देहीको क्षेत्र नम्बर १ मा २०७४ को निर्वाचनमा एमालेका छविलाल विश्वकर्माले वाम गठबन्धनबाट ३४ हजार ७५२ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसबाट अब्दुल रज्जाकले २६ हजार ८६५ मत ल्याएका थिए । यो निर्वाचनमा वाम गठबन्धन नरहेको मात्र होइन, एमाले समेत विभाजित भएका कारण सो क्षेत्रमा एमालेको प्रभाव घटेको आकलन गरिएको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने सो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षहरूले ३२ हजार ९९९ मत पाउँदा एमालेका वडा अध्यक्षहरुले ३० हजार ३९४ मत ल्याएका छन् । यस्तै राप्रपाको १४ हजार ५५२ मत छ भने माओवादीको ४ हजार २०२ मत छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले ४४ हजार ९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४५ मतमात्र ल्याएका थिए । यद्यपि, त्यतिबेला पौडेलले पाएको मतमा माओवादी केन्द्रको मतसमेत मिसिएको थियो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले ३४ हजार ९५९ मत पाएको छ भने एमालेले ३३ हजार १८७ मत पाएको छ । यस्तै माओवादीले ३ हजार १८८ मत पाएको छ ।

क्षेत्र नम्बर ३ मा एमालेका घनश्याम भुसालले अघिल्लो निर्वाचन जितेका हुन् । गत निर्वाचनमा भुसालले ३२ हजार ८६६ मत ल्याउँदा राप्रपाका दीपक बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । सो निर्वाचनमा नेपाली कांग्रेस र राप्रपाबीच तालमेल भएको थियो । अहिले एमाले र राप्रपाबीच तालमेलको चर्चा छ ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने सो क्षेत्रमा कांग्रेसको ३४ हजार १५३ मत छ भने एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३९७ मत छ ।

२०७४ सालमा पाल्पाको दुवै क्षेत्र एमालेले जितेको भए पनि क्षेत्र नम्बर २ का सोमप्रसाद पाण्डेय नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् । क्षेत्र नम्बर १ बाट विजयी एमालेका दलबहादुर राना फेरि मैदानमा जाने कि नयाँ अनुहार ल्याउने भन्ने अन्यौल छ । पार्टीभित्र यसबारे छलफल चलिरहेको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।

माओवादी छाडेर एमालेमा आएका टोपबहादुर रायमाझी यस पटक अर्घाखाँचीबाट उम्मेदवार बन्दैछन् । लामो समय माओवादीबाट जितेका रायमाझीलाई एमालेकै पुराना कार्यकर्ताले त्यति रुचाएका छैनन् ।

यहाँ रायमाझीलाई टक्कर दिन नेपाली कांग्रेसबाट उपसभामुख पुष्पा भुसाल या डा. रामबहादुर बिसी उम्मेदवार बन्ने चर्चा छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार वडाध्यक्षको मतलाई विश्लेषण गर्दा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने बुझ्न सकिन्छ । वडाध्यक्षहरूले पाएको मतको आधारमा एमालेसँग ४८ हजार २६०, कांग्रेससँग ३७ हजार ९२५, माओवादीसँग ७ हजार ७९०, राष्ट्रिय जनमोर्चासँग ४ हजार २९४, नेकपा एकीकृत समाजवादीसँग ३ हजार ७६३ मत छ ।

यस्तै, बाँके क्षेत्र नम्बर ३ मा २०७४ सालको निर्वाचनमा एमालेका नन्दलाल रोकाय विजयी भएका थिए । अहिले एमालेबाट रोकायको नाम नै सिफारिस भएको छैन । जिल्ला अध्यक्ष किस्मत कक्षपति, पूर्व सचिव रत्न खत्री, भीम वलीमध्ये एकले एमालेबाट टिकट पाउने जिल्लास्तरका नेता बताउँछन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका  बादशाह कुर्मी, किशोर सिंह राठौर, मेघराज वली उम्मेदवार बन्ने दौडमा छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बाँके–३ मा वडा अध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेससँग २५ हजार ६८९ मत  छ भने एमालेसँग २२ हजार १५९, माओवादी केन्द्रसँग १४ हजार ८१८, राप्रपासँग ४ हजार ६४१, जसपासँग ४ हजार १९९, नेकपा एकीकृत समाजवादीसँग २ हजार ३४८, लोसपासँग एक हजार ३७ मत छ । यो मतका आधारमा यस क्षेत्रमा सत्तारुढ गठबन्धन नै बलियो देखिन्छ ।

यस्तै कपिलवस्तु– २ का एमालेबाट वृजेशकुमार गुप्ता उम्मेदवार बन्ने चर्चा छ । उनी २०७४ को निर्वाचनमा एमालेकै चुनाव चिह्न लिएर हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट मैदामा उत्रिएर विजयी भएका थिए । हाल उनी हृदयेशको साथ छाडेर एमालेमै आएका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा कपिलवस्तु–२ मा कांग्रेससँग ३० हजार ९९८ मत  छ भने एमालेसँग २७ हजार २९८, जसपासँग ६ हजार ९०८, लोसपासँग ६ हजार ३८६, माओवादीसँग ४ हजार ४५९, राप्रपासँग २ हजार ३५ र नेकपा एकीकृत समाजवादीसँग ६९१ मत छ । त्यसैले गुप्तालाई यस पटक सो क्षेत्रमा निकै कठिन अवस्था देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप