शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपहाडमा जात्राको रौनक

सोमबार, १४ कात्तिक २०७९, १४ : ३२
सोमबार, १४ कात्तिक २०७९

तिहार सकिएसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा जात्रा सुरु भएको छ । तिहारपछिको १५ दिनसम्म यहाँका शक्तिपीठमा जात्रा लाग्ने गर्दछ ।

कातिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरालगायतका सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्दै आएको छ । सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठ तथा मन्दिरमा कातिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न जात्रा लाग्ने गरेको पण्डित जयानन्द भट्टले बताए । शरद ऋतु देवीदेवताको पूजाउपासना गर्ने उत्तम समयका रुपमा मानिने भएकोले कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजन गर्ने चलन रहिआएको छ ।

दसैँमा जात्रा लाग्ने मन्दिरमासमेत कात्तिक शुक्लपक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन रहेको भट्टको भनाइ छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । राँगाको बलीसहित पूजाआजा हुने त्रिपुरासुन्दरी मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका स्थानीय जयसिंह धामीले बताए । 

प्रसिद्ध रौलाकेदार धाममा पनि कात्तिक शुक्ल अष्टमी, शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कात्तिक शुक्ल सप्तमी र अष्टमी, पाटन नगरपालिका २ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा कात्तिक शुक्ल अष्टमी र सुर्नया गाउँपालिका(४ स्थित सनेशरीमाडौँंमा कात्तिक शुक्ल षष्ठीका दिन जात्रा लाग्ने गरेको छ । यसका साथै प्रसिद्ध मेलौली भगवती मन्दिर र सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन र  महारुद्र मन्दिर, त्रिवणीधाम ९राताशीला० मा पनि जात्रा लाग्दछ । 

दार्चुलामा रहेको राष्ट्रकै सातौँं धामका रुपमा रहेको मालिकार्जुनधाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । दार्चुलाको लटिनाथ बन्तोली मन्दिरमा कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाकै राति जात्रा सम्पन्न भइसकेको छ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्दै आएको छ । 

डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूला केदार, मसानी, शैलेश्वरी, दीपायल जात, मष्टो, ब्वाराकी जात, ऐतिहासिक अछामको गाज्रास्थित डौठेगडा जात्रा लाग्दछ । विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्रामा सहभागी हुन बसाइँसराइ गरेर गएका पनि पुर्ख्यौली थलोमा फर्कने गरेको स्थानीय हेमराज गिरीले बताए । जात्राका बेला पारिवारिक भेटघाट हुने र धार्मिक हिसाबले पनि जात्रा महत्वपूर्ण हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप