आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यवर्तीका मतदाताको प्रश्न : वन्यजन्तुको त्रास कहिलेसम्म ?

बुधबार, २३ कात्तिक २०७९, ११ : ५०
बुधबार, २३ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ । उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि जनताका विविध समस्या समाधान गर्ने आश्वासन दिँदै आइरहेका छन् । भोट माग्दै हिँड्ने उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।

मङ्गलबार भोट माग्दै भरतपुरका विभिन्न क्षेत्र पुग्नुभएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार डा.भोजराज अधिकारी समक्ष नागरिकले स्थानीय समस्याबारे गुनासो गरे । गोब्रेनीका स्थानीय सीतामान तामाङले भने, “बँदेलले खेती खायो, गैँडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा.सावले पहल गरिदिनुहोला ।” उनले नारायणी तटबन्धलाई कार्यान्वयन गरेर बाढीको समस्या समाधान गरिदिनसमेत आग्रह गरे ।

स्थानीय ज्योति रानाले निकुञ्जमा पक्की तारबार लगाउने कामलाई प्राथमिकतामा राख्न आग्रह गरिन् । “गुनासो तपाईहरुलाई नै गर्ने हो”, उनले भनिन्, “जनतालाई अलि ध्यान दिन पर्यो ।” अर्का स्थानीय प्रकाश खड्काले हरेक निर्वाचनमा आश्वासन पाएको तर काम नभएको गुनासो गरे । “यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिनुभएको थियो तर पाँच वर्षमा पनि कार्यान्वयन भएन”, उनले भने । 

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डा.अधिकारीले जनताको आवश्यकताअनुसारकै काम गर्ने बताए । उनले चितवनमा निकुञ्ज र सामुदायिक वन क्षेत्रबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि निर्वाचित भएपछि काम गर्ने बताए ।

चितवनको माडी नगरपालिकामा घरदैलोका क्रममा स्वतन्त्र उम्मेदवारी दिनुभएका दिनेश कोइरालालाई पनि स्थानीयले वन्यजन्तुबाट हुने धनजनको क्षति कम गर्न के गर्न सक्नुहुन्छ भनेर प्रश्न गरे । जवाफमा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पक्की वालसहितको तारबार लगाउने बताए । माडीको धोवाहामा वन्यजन्तुले हरेक वर्ष बाली खाने गरेको स्थानीय राकेश चौधरीले कोइरालालाई गुनासो गरे ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले सबैभन्दा बढी धनजनको क्षति माडीभित्र नै गर्ने गरेको छ । निकुञ्जले घेरेको माडीका मतदाताको उम्मेदवारसँग पहिलो अपेक्षा नै वन्यजन्तुको त्रासबाट मुक्त हुन पाउँ भन्ने छ ।  चितवनको माडी वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको गुनासो सेरुवाकी किसान गीता महतोले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेलाई घरदैलोका क्रममा गरे ।

उनले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यस वर्ष के खाने भन्ने चिन्ता थपिएको बताए । उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरे । पूर्वमन्त्रीसमेत रहेका पाण्डेले आफू माडीको दीर्घकालीन विकासको पक्षमा रहेको भन्दै रिउ करिडोर निर्माण गरेर वन्यजन्तुको समस्या समाधान गर्ने योजनामा रहेको सुनाए । यसरी घरदैलोका क्रममा मत माग्न आउने सबै उम्मेदवारलाई यस क्षेत्रका बासिन्दाले वन्यजन्तुको त्रास कहिलेसम्म भोग्नुपर्ने हो भनेर प्रश्न गरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि उम्मेदवारले निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले सबै मध्यवर्ती क्षेत्रमा पक्की वालसहितको तारबार लगाउन सके धनजनको क्षति कम हुने बताए ।

उनले निकुञ्जले प्रदान गर्ने क्षतिपूर्ति पनि कम र झन्झटिलो रहेको भन्दै मध्यवर्तीका नागरिकलाई जीविकोपार्जन र आयआर्जनमा जोड्नुपर्ने बताए । चुनाव आउन अब केही दिन बाँकी हुँदा राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार र घरदैलोलाई तीव्र बनाएका छन् ।

गाउँ केन्द्रित भएका राजनीतिक दलका नेता र उम्मेदवारले जनताका गुनासा सुन्ने तथा आफ्ना प्रतिबद्धता सुनाउँदै भोट माग्ने गरिरहे पनि जनता भने राजनीतिक दलका नेताको विगतलाई अब नदोहोर्याउन आग्रह गरिरहेका भेटिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप