आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बुन्डेस लिगा : केनको रेकर्ड, लेभरकुजन अपराजित

आइतबार, १६ वैशाख २०८१, ०९ : ४९
आइतबार, १६ वैशाख २०८१

म्युनिख । इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले शनिबार आइन्ट्राक्ट फ्रांकफर्टलाई हराएको छ । योसँगै केनले एक सिजनमा आफ्नो सर्वाधिक गोलको रेकर्ड बनाएका छन् ।

३० वर्षीय खेलाडीले बायर्नका लागि डेब्यू सिजनमा सबै प्रतियोगितामा ४२ गोल गरेका छन् । यसअघि उनले सन् २०१७–१८ सिजनमा टोटनह्याम हटस्पर्सका लागि ४१ गोल गरेका थिए । यता लिगमा उनले ३५ गोल गरेका छन् । 

केनले खेलको नवौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर ह्युगो एकिटिकेले २३ औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफमा पेनाल्टीबाट अर्को गोल थप्दै केनले बायर्नलाई जित दिलाए ।

योसँगै उनले क्लब र देशका लागि ४ सय गोल पनि पूरा गरेका छन् । उनले बुन्डेस लिगाका १७ मध्ये १६ टोलीविरुद्ध गोल गरेका छन् । यसमा उनले गर्ड मुलर, एइल्टन र रोबर्ट लेवान्डोस्कीको कीर्तिमान बराबरी गरेका छन् । आफ्नो डेब्यू सिजनमा यो उपलब्धि हासिल गर्ने भने उनी पहिलो खेलाडी हुन् । यो सिजन उनले फ्रिबर्गविरुद्ध मात्र गोल गर्न सकेनन् ।

_133239357_0c60b8cb983a14ca8e28ad6d6f7012d1d6d20255

उता, नयाँ जर्मन च्याम्पियन बायर लेभरकुजनले इन्जुरी समयमा गोल गर्दै स्टुटगार्डसँग २-२ गोलको बराबरी खेलेको छ । योसँगै टोलीले यस सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ । 

टोली पछिल्ला ४६ खेलमा अपराजित छ । ज्याभी ओलन्सोको टोलीले पाँच खेल बाँकी छँदै लिग उपाधि जितिसकेको थियो । अब लेभरकुजन लिगमा अपराजित रहँदै उपाधि जित्ने पहिलो टोली बन्ने होडमा रहेको छ ।

टोलीले अब बिहीबार युरोपा लिगको सेमिफाइनलमा सिरिए टोली एएस रोमाको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप