बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड कञ्चनपुर–३ : लेखकको ह्याट्रिकमा बागीको चुनौती, पालको पहिलो जितमा गठबन्धन तगारो

बिहीबार, २४ कात्तिक २०७९, १० : ५९
बिहीबार, २४ कात्तिक २०७९

आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर ३ मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीबाट ८ र ४ जना स्वतन्त्रले सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट निरुदेवी पाल, नेमकिपाबाट जनकीदेवी गिरी, लोसपाबाट अम्बादत्त तिवारी, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, मौलिक जरोकिलो पार्टीबाट तिलकप्रसाद जोशी, हाम्रो नेपाली पार्टीबाट दुर्गादत्त पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण लुहार मैदानमा छन् । 

दलका उम्मेदवारीलाई चुनौती दिन शारदादेवी चन्द, मदन दमाई, शुभाषसिंह धामी र दिपकबहादुर सिंह स्वतन्त्र उम्मेदवारका रुपमा अगाडि आएका छन् । मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धनका लेखक र एमाले–राप्रपाका साझा उम्मेदवार निरुदेवी पालबीच हुने देखिन्छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लेखकको साथमा छन् भने पाललाई राप्रपाको सहयोग छ । 

कञ्चनपुर–३ का सहर–गाउँ बस्तीमा हामी पुग्दा लेखक र पालकै चर्चा बढी सुनियो । उनीहरूको प्रचार–प्रसार पनि आक्रामक देखियो । कञ्चनपुर ३ मा पर्ने भीमदत्त र दोधारी चाँदनी नगरपालिका केही वडामा पुग्दा बाँकी १० जना उम्मेदवारको प्रचार देखिएन र चर्चा खासै सुनिएन । लेखक र पालले पनि एक–अर्कालाई नै मुख्य प्रतिस्पर्धी ठानेको देखियो । 

टोलटोलमा भइरहेको चुनावी भेलामा लेखक अधिकांश समय एमालेमाथि खनिए । ७० वर्षमा ५ संविधान फेरिएको दृष्टान्त सुनाउँदै संविधान र व्यवस्था जोगाउन सत्ता गठबन्धनले जित्नुपर्ने लेखकको तर्क छ । सुख्खा बन्दरगाहा, नदीमा तटबन्धन, मझगाउँ विमानस्थल, महाकाली करिडोर निर्माण, रोजगारीलगायतका मुद्दा प्रमुखता साथ उठाएर लेखकले भोट मागिरहेका छन् । आफू सांसद र मन्त्री हुँदा कञ्चनपुर–३ मा भएको विकास पनि उनले सुनाउन छाडेका छैनन् ।

सत्ता गठबन्धनबाट माओवादीका प्रदेश (क)का उम्मेदवार टेकेप्रसाद भट्ट र प्रदेश (ख) का कांग्रेस उम्मेदवार बेलबहादुर रानाको भनाइ पनि लेखकको भन्दा भिन्न छैन । कांग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशीले गठबन्धनको हरेक चुनावी भेलामा देखिए । उनको सक्रियता उम्मेदवार बराबर नै देखिन्छ । 

यता पालका मुद्दा पनि लेखकका भन्दा भिन्न छैनन् । भिनपा–८ को चुनावी भेलामा भेटिएकी पालले पनि सुख्खा बन्दरगाहा, मझगाउँ विमानस्थल, महाकाली करिडोर निर्माण लगायतलाई अगाडि सारिन् । निवर्तमान समानुपातिक सांसद पालले त्यहाँ महाकाली अस्पतालको स्तरोन्नति आफूले गरेको कुरा उठान गरिन् ।

उनलाई राप्रपाका प्रदेश (क) मा उम्मेदवार धर्मराज जोशी र प्रदेश (ख)मा एमालेका सुरेन्द्र विष्टको दरिलो साथ देखियो । उनीहरू पाल सँग सँगै चुनावी प्रचारमा दौडिरहेका छन् । 

प्रदेश (क) मा मित्रवत् प्रतिस्पर्धामा उत्रिएका सत्ता घटक एकीकृत समाजवादीका प्रकाश रावलको दौडधुप पनि कम छैन । माओवादीका भट्टसँग सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री रावल मित्रवत् प्रतिस्पर्धामा उत्रिए प्रदेश (क)मा त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको छ । 

प्रतिनिधिसभामा समाजवादीले लेखकका लागि मैदान खाली गरी दिएपछि रावल एक्लै चुनावी प्रचार–प्रसारमा छन् । सत्ता गठबन्धनबाट रावल मैदानमा आएपछि राप्रपाका जोशीका लागि सहजता देखिएको छ । प्रदेश (ख) मा भने राना र विष्टबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ ।

लेखकले जिते ह्याट्रिक, पालले जिते पहिलो

संसदीय निर्वाचनमा इतिहास हेर्दा कञ्चनपुरलाई कांग्रेसको पकड क्षेत्र मान्न सकिन्छ । मुलुकमा भएका सात वटा संसदीय निर्वाचनमा कांग्रेसले कञ्चनपुर ४ पटक जित निकालेको छ । कञ्चनपुरवासीले एमाले र माओवादी गरी ३ पटक मत फेरेका छन् ।

२०१५ सालको आम निर्वाचनमा साबिकको कैलाली–कञ्चनपुर (क्षेत्र नम्बर ६५) बाट कांग्रेसका लोकेन्द्रबहादुर शाह विजयी भएका थिए । ०४८ को आम  निर्वाचनमा  कञ्चनपुर–१ मा कांग्रेसका वासुदेव भट्ट र २ मा तारिणीदत्त चटौत निर्वाचित भए ।

०५१ सालमा निर्वाचन क्षेत्र बढेर तीन भए । तर तीन वटै निर्वाचन क्षेत्र कांग्रेसले जोगाउन सकेन । निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका रामकुमार ज्ञवाली, २ मा भोजराज जोशी र ३ मा उर्वादत्त पन्त विजयी भए । 

२०५६ को आम निर्वाचनमा कञ्चनपुरमा कांग्रेसको कमब्याक भयो ।  निर्वाचन १ बाट कांंग्रेसका एनपी साउद, २ बाट तारिणीदत्त चटौत र ३ मा रमेश लेखकले जित हात पारे । 

पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर कांग्रेस र एमालेको काबुमा रहेन । त्यतिबेला ४ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ वटा माओवादी केन्द्रले जित्यो । कञ्चनपुर –४ मा कांग्रेसबाट शेरबहादुर देउवा विजयी भए । डडेल्धुरा र कञ्चनपुर –४ गरी दुई ठाउँट चुनाव लडेका देउवाले कञ्चनुर–४ छाडे । उपनिर्वाचनमा ४ नम्बर क्षेत्र पनि माओवादीका हरिश ठकुल्ला कब्जा गर्न सफल भए । 

०७० मा भने कञ्चनपुरका ४ वटै क्षेत्रमा कांग्रेसले झण्डा गाड्यो । १ मा दिवानसिंह विष्ट, २ एनपी साउद, ३ बहादुरसिंह थापा र ४ मा रमेश लेखक विजयी भए । ०७४ मा बाम गठबन्धनसँग कांग्रेसको जोडबल पुगेन । कञ्चनपुर १ मा माओवादीकी बिना मगर, २ मा नरबहादुर धामी र ३ मा दीपकप्रकाश भट्ट विजयी भए । 

आसन्न मङ्सिर ४ मा लेखक संसदीय राजनीतितर्फ विजयीमा ह्याट्रिक मार्ने दाउमा छन् । २०६४ समानुपातिक सांसद भएका उनी २०७४ ह्याट्रिक गर्न चुकेका थिए । अहिले उनी कुनै हालमा ह्याट्रिक गरी छाड्ने ध्येयमा छन् । 

पहिलो संविधानसभाको उपनिर्वाचनमा तेस्रो भएकी पाललाई पहिलो पटक जनअनुमोदित रहर छ । कञ्चनपुर–३ मा दीपक प्रकाशले २३ वर्षपछि फर्काएको विरासत जोगाउनुपर्ने चुनौती पालमाथि छ । तर पालसामु ०७४ मा दीपकप्रकाश जस्तो सहज परिस्थिति भने छैन । ०७४ मा माओवादी केन्द्र साथमा थियो भने अहिले एमालेमाथि पार्टी विभाजनको मार समेत परेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी र माओवादी कांग्रेसको कित्तामा पुगेपछि पाललाई चुनौती थपिएको छ । पालले सत्ता गठबन्धन र कांग्रेसका प्रभावशाली नेता लेखकको व्यक्तित्व दुवै चिर्नुपर्ने चुनौती छ । 

यता लेखक पनि चुनौतीरहित भने छैनन् । लेखकलाई कांग्रेसकै बागी दीपकबहादुर सिंह र शारदा चन्दको चुनौती छ । बागी उम्मेदवारी फिर्ताको भगीरथ प्रयास असफल भए पनि लेखक सिंह र चन्दको प्रभाव नगरी अगाडि बढेका छन् । दुई जना बागीको जोडेर २५ सयदेखि ३ हजारमाथि मत कटाउन नदिए लेखकलाई जित्न कठिन छैन । उनीहरूलाई यतिमै रोक्नु उनका लागि मुख्य चुनौती छ ।

स्थानीय निर्वाचनको मत विश्लेषण

कञ्चनपुर–३ मा सत्ता गठबन्धनसँग ३० हजार ७७५ छ भने एमाले–राप्रपा गठबन्धनको मत २३ हजार २४ रहेको छ । सत्ता गठबन्धन ८ हजार ३९७ मतले अगाडि छ । भीमदत्त नगरपालिकाको मेयर र उपमेयर करिब दोब्बर मतान्तरले कांग्रेसले जितेको छ । १, २, ३, ४, ५, ६, ८, १०, ११, १२, १५,१६ र १७ नम्बर वडा कांग्रेसले जितेको छ । एमालेले ७, ९ र १८ नम्बर वडा जितेको छ भने माओवादीले १४ र १९ जित्दा १३ नम्बरमा कांग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका रामबहादुर बोहराले जितेका थिए । 

भिनपामा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरु (१३ नम्बरका स्वतन्त्र गरी)ले १५ हजार ६४३ मत पाएका थिए । यस्तै स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाववादीसँग चुनाव तालमेल गरेको माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ४ हजार २१९ प्राप्त गरेको देखिन्छ ।

एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत २ हजार ४६२ छ । एमालेका वडाध्यक्षका उम्मेदवारले ९ हजार ८३७ मत पाउँदा राप्रपाका वडाध्यक्षले पाएको मत ४ हजार ४५७ रहेको छ । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारहरूले ७९५ मत पाएको देखिन्छ ।

जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा विवेकशील साझा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मौलिक गोरकिलो पार्टीले भिनपाका केही वडामा उम्मेदवार खडा गरेका थिए । 

उनीहरूको जम्मा मत ९० देखिन्छ । स्थानीय निर्वाचनको आँकडाले लेखकभन्दा पाल निकै पछि पर्ने देखाउँछ । सत्ता गठबन्धनसँग २१ हजार ६७८ मत छ भने एमाले–राप्रपाको मत १४ हजार २९४ रहेको छ ।

यस्तै ३ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोट नगरपालिको वडा नम्बर ८ एकीकृत समाजवादीले जितेको छ । उसले ५३४ मत ल्याएर जित्दा कांग्रेसको ४२४ मत आएको थियो । यस्तै एमालेले ३८५ र राप्रपाले १८० मत पाएको छ । यहाँ स्वतन्त्रको १२ मत छ । यहाँ लेखकले ३९३ लिड गर्ने देखिन्छ ।

दोधारा चाँदनी नगरपालिकाका १० वडा मध्ये २, ३,६,७, ८ र ९ एमालेले जितेको छ । १ र ५ नम्बर वडा राप्रपा, ४ माओवादी र १० कांग्रेसले जितेको छ । तर यहाँ वडाध्यक्षको मतमा कांग्रेस पहिलो छ ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ६ हजार ३५० मत पाएको छ एमालेका वडाध्यक्षका उम्मेदवारको मत ६ हजार २८९ छ । माओवादीका वडाध्यक्षका उम्मेदवारहरूले एक हजार ७८९ मत पाउँदा राप्रपाका वडाध्यक्षका उम्मेदवारको मत एक हजार ८७६ रहेको छ ।

वडाध्यक्षका स्वतन्त्र उम्मेदवारले एक हजार १८५ मत पाएको थिए । कांग्रेस–माओवादीको ८ हजार १३९ र एमाले–राप्रपा ८ हजार १६५ छ । यहाँ एमाले–राप्रपा २६ मतले मात्र अगाडि छ ।

दोधारा चाँदनीमा लेखक र पालबीच रोचक प्रतिस्पर्धा हुने छ । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार रोजेका एक हजार १८५ मतदाताको मन जित्नेले यहाँ लिड गर्ने छ । स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाता पनि निर्णायक छन् । 

विकासको गति बढाउन तपाईंलाई रोज्छौँ भन्नुभएको छ

सत्ता गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक

कञ्चनपुरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा हुनुहुन्छ । चुनावी प्रचारप्रसार कसरी अगाडि बढिरहेको छ ?

घरदैलो भनिए पनि घर घरमा जान सकिएको छैन । टोल टोलमा गएर त्यहाँ दाजुभाइ दिदीबहिनीलाई भेला गरेर अन्तरक्रिया गर्ने, उहाँका कुरा सुन्ने, आफ्ना कुरा राख्ने गरिरहेको छु ।

चुनावी प्रचारप्रसारको रुटिन कसरी मिलाउनु भएको छ ?

बिहान ५ बजेतिर उठ्छु । ६ बजेपछि भेटघाट सुरु गर्छु ।  घरमा आउने साथीभाइसँग भेटघाट गर्ने, निर्वाचन परिचालन समितिका साथीहरूसँग कुराकानी गर्ने गर्छु । ९ बजेबाट वडातिर घुमघाम गर्ने र टोलमा जाने गर्छु। कञ्चनपुरको ३ नम्बर क्षेत्रमा पर्ने ३० वटा वडाका टोलटोलमा पुगिसकेको छु । साझै बिहान ९ बजेदेखि साझ पाँच बजेसम्म टोल टोलमा पुग्ने गरेको छु । 

त्यसपछि जति सकिन्छ, व्यक्तिगत भेटघाट र पार्टीका साथीहरूसँग मिटिङ हुन्छ ।

३० वटै वडामा पुग्दा जनताको के रेस्पोन्स पाउनु भएको छ ?

एकदम राम्रो छ ।  मेराप्रति सदाशयता, सहयोगी र स्नेही भाव प्रकट भएको छ । पहिला थोरै भोटले हारेकोमा साथीहरूले अत्यन्तै ज्यादा सहानुभूति पनि व्यक्त गरिराख्नु भएको छ । यसअघि थोरै मतले हार्नुभएको हो । यसपालि हार्नु हुन्न पनि भन्नु हुन्छ । पछिल्लो पाँच वर्ष विकासका गति रोकिए । अब हामी विकासको गति बढाउन तपाईंलाई रोज्छौँ भन्नुभएको छ ।

यसअघि तपाईं हार्दा कञ्चनपुर–३ ले के गुमायो जस्तो लाग्छ ?

पाँच वर्षको समग्र मूल्याङ्कन गर्दा कञ्चनपुरमा विकासका गतिविधिहरू ठप्प भए । हामीले अगाडि बढाउने भनेका ठुला ठुला योजना पनि अवरुद्ध भए । हामीले यहाँ त्रिदेशीय नाका बनाउने भनेका थियौँ । त्यो काम कत्ति पनि अगाडि बढेन । बाढी र डुबान नियन्त्रणका धेरै समस्या थिए । त्यसमा पनि कुनै काम भएन । भौतिक पूर्वाधारका क्षेत्रमा कुनै काम भएन । त्यसो भएकाले यो पाँच वर्ष कञ्चनपुर जिल्लाले धेरै ठुलो क्षति बेहोर्नु पर्‍यो, धेरै कुरा गुमाउनु पर्‍यो । किन भने हामी विकासको मामिलामा १० वर्ष पछाडि धकेलियौँ । पाँच वर्ष यो खेर गयो । त्रिदेशीय नाकाकै कुरा गर्ने हो भने पनि यो निर्वाचनपछि सुरु गर्दा पनि पाँच–सात वर्ष लाग्छ । पाँच वर्ष पहिलाको खेर गयो । अब पाँच–सात वर्ष लाग्ने भएपछि १२–१३ वर्षपछाडि पर्‍यौ ।

अहिले तपाईंले जित्दा आगामी पाँच वर्षमा कञ्चनपुर ३ ले पाउँछ ?

मैले उठाउँदै आएको अवरुद्ध भएको मुद्दालाई द्रुतगतिमा कार्यान्वयनमा अगाडि बढाउँछु । पाँच वर्षभित्र त्रिदेशीय नाका बनाउँछु । नदीमा तटबन्धको व्यवस्था मिलाउँछु । मझगाउँ विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्छु ।

महाकाली करिडोर निर्माण गर्छ । यही ठुला विकासका आयोजना अगाडि बढेको अवस्थामा यहाँ ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने छ । विदेश पलायन भएको जनशक्ति नेपाल फर्किने अवस्था बन्छ । यहाँ भएकाले पनि रोजगारी पाउनु हुन्छ । यहाँ औधौगिक विकास हुन सकेको छैन । यसका लागि आगामी पाँच वर्षमा ढोका खोल्छु ।

तपाईंको प्रतिस्पर्धीले समानुपातिक सांसद भएर नै कञ्चनपुर ३ मा गएको पाँच वर्षमा चामत्कारिक विकास गरेको भन्नु भएको छ । तपाईं केही भएन भन्नु हुन्छ । तपाईंको आरोप मात्र हो कि कामै नभएको तथ्य सुनाउनु भएको हो

बिलकुल केही नभएकै हो । यो पाँच वर्षअघिको कञ्चनपुरको बजेट र यो पाँच वर्षको कञ्चनपुरको बजेट हेरे भइहाल्छ । त्यसमा मेरो केही टिप्पणी छैन । तथ्य र तथ्याङ्कमा उभिएर छलफल गर्न तयार छु । उहाँले काममा होइन भाषणमा चमत्कार गर्नुहुन्छ । केपी ओलीले भाषणमा चमत्कार गर्नुहुन्छ नि ! उदाहरणका लागि उहाँले भाषणमा हावाबाट बिजुली चलाउनु हुन्छ, रेल चलाउनु हुन्छ, पानी जहाज चलाउनु हुन्छ, घरघरमा पाइका ग्यास पुर्‍याउनु हुन्छ । त्यो चमत्कार नै हो । तर त्यो भाषणको चमत्कार हो । कामको चमत्कार होइन ।

कञ्चनपुर ३ मा एमाले र राप्रपाको पनि गठबन्धन छ । कांग्रेसबाट पनि केही बागी छन् । एमालेराप्रपा गठबन्धन र बागीसँगको प्रतिस्पर्धालाई कत्तिको चुनौती ठान्नु भएको छ ?

त्यो गठबन्धन यो संविधान चाहिँदैन भन्ने गठबन्धन हो । केपी ओली विगत पाँच वर्षका गतिविधि र त्यसैमा राप्रपा थपिनु भनेको यो संविधानलाई भत्काउने, ध्वस्त गर्ने गठबन्धन हो । हामी यो संविधान जोगाउनुपर्छ भन्ने गठबन्धनका साथ अगाडि आएका छौँ । जनताले स्पष्ट बुझेका छन् ।

त्यसो भए चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

म ढुक्क छु ।

तपाईंले ठुला आयोजना निर्माणका कुरा गर्नुभयो । दैनिक जनजीवनका विषयमा तपाईंका एजेण्डा के छन् ?

यो ठाउँमा किसानका धेरै समस्या छन् । समयमा मल, बिउ प्राप्त नहुने, सिँचाइका व्यवस्था नभएको अवस्था छ । त्यसबारे मैले काम गर्छु । त्यसपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायातको क्षेत्रमा गर्नुपर्ने काम गर्छु ।

सीमा समस्या कञ्चनपुर ३ का उम्मेदवारको प्राथमिकतामा परेको देखिएन । ब्रह्मदेव लगायतमा क्षेत्रमा भारतीय एसएसबीको बिघ्न ज्यादती भएको त्यहाँका बासिन्दाको गुनासो छ । तपाईंहरुले सीमाको विषय किन व्यवस्था गर्नु भएको हो ?

सीमा समस्याबारे सम्बन्धित मन्त्रालयको पटक पटक ध्यानाकर्षण गराएको छु । करिब ३ महिना पहिला परराष्ट्रमन्त्रीसँग कुरा गरेको छु । उहाँमार्फत भारतीय दूतावासमा कुरा गर्ने कुरा भएको छ । सीमा सुरक्षा र सीमा विवादबारे सजगतापूर्वक, सचेतनापूर्वक कुरो उठाइएको छ । त्यसलाई म फेरि उठाउँछु । 

आगामी पाँच वर्षमा कञ्चनपुरमा देखिएको सीमा समस्या सम्बोधन हुन्छ ?

 समस्या समाधान हुन्छ । मैले पहल गर्छ ।

गठबन्धन मलाई चुनौती जस्तो लाग्दैन

एमालेराप्रपा गठबन्धनकी साझा उम्मेदवार एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाल 

कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमाले, राप्रपासहित दलको गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । चुनावी गतिविधि कसरी अगाडि बढाउनु भएको छ ?

मनोनयन दर्तापछि हामी यहाँस्थित ३० वटै वडाहरूमा सम्पर्क कार्यालयहरू स्थापना गयौँ । त्यसपछि टोल–टोलमा कोण सभाहरू गरेका छौ । टोल भेला पनि गरेका छौ । यसपालि निर्वाचन आयोगले कडिकडाउ गरेपछि सजिलो पनि भएको छ । किनकि २०६५ चुनाव लड्दै गर्दा निकै नै तामझामका साथका गर्नुपरेको थियो । यसपालि त्यस्तो छैन । शान्त माहौलमा भइरहेको छ । 

मतदाता कहाँ पुग्दा उहाँहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ?

म कसरी व्यक्त गरौँ । सौहार्दपूर्ण रूपमा रेस्पोन्स गरिरहनुभएको छ । पाँच वर्षको अवधिमा तपाईं समानुपातिक उम्मेदवार भए पनि धेरै सहनीय काम गर्नुभएको छ । जस्तो कि, महाकाली अस्पतालमा निर्वाचित भएर जाँदा दुई जना मात्रै डाक्टर हुन्थ्यो । सेवा थिएन, रेफरल सेन्टर थियो । त्यहाँ आईसीयू थिएन, अक्सिजन प्लान्ट थिएन । भेन्टिलेटर थिएन । कोभिडका बेला एकै दिन १४÷१५ जनाको मृत्यु भयो । मलाई छटपटाहट भयो । राति राति भए पनि नेपालजञ्जबाट १००÷१५० सिलिन्डर ल्याइन्थ्यो । त्यसपछि एकैदिन चार करोड रुपैयाँ छुट्याउन लगाइ अक्सिजन प्लान्ट निर्माण गर्न लगाइयो । अहिले यहाँ ३२ जना डाक्टरहरू छन् । विडम्बना म त्यही अस्पतालमा जन्मेको मान्छे हुँ । तर पछि रेफरल सेन्टरमा परिणत भएको थियो । अहिले डाइलसिस सेवा, भेन्टिलेटर सेवा, बच्चाको लागि चाहिले आईसीयू, नयाँ इमरजेन्सी वार्डलगायत बनाएका छौ । सर्वसाधारण आफ्नै घर आँगनमा सर्वसुलभ सेवा पाउन् भनेर अस्पतालको स्तरोन्नति गरेका छौ ।

तपाईंको प्रतिस्पर्धीको रूपमा रमेश लेखक छन् । उहाँलाई हेभीवेट उम्मेदवारको रूपमा हेरिएको छ । उहाँसँगको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ? कतिको चुनौतीका रूपमा लिनुभएको छ ?

यहाँले कसरी लिनुभएको छ, हेभीवेट र कमजोरको व्याख्या कसरी गरिन्छ ? मैले थाहा पाएन । पार्टीमा हैसियतको कुरा गर्नुहुन्छ भने, उहाँ केन्द्रीय सदस्य मात्रै हो । म पोलिटब्यूरो सदस्य हो । कञ्चनपुर जिल्ला इन्चार्ज हो । उहाँ त इन्चार्ज पनि हुनुहुन्न । उहाँ मन्त्री भन्नुहुन्छ । म पनि महत्त्वपूर्ण मिनी पार्लियामेन्ट, महिला तथा सामाजिक समितिको सभापति भएर सफल कार्यकाल पूरा गरेको छु । त्यो राज्यमन्त्री सरह हो । त्यो भन्दा पहिले म केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँको जनसम्पर्क सल्लाहकार भएर राम्रै काम गरेको छु । तर हेभीवेट र कमजोर भनेर के आधारले विश्लेषण गरेको मलाई थाहा छैन । महिला भएकै कारण भनिएको हो, भने उहाँको दृष्टि भ्रम हो, हेर्नुस् । होइन भने जनताले हेभीवेट र कमजोर भन्ने कुरा जनताले ठानेका छैनन् ।

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा वाम लोकतान्त्रिक गठबन्धनको मत एमाले राप्रपा गठबन्धनको भन्दा बढी देखिन्छ । चुनाव जित्न यहाँ तपाईंले उताको मतलाई डाइभर्ट गर्नुपर्ने छ । भने, राप्रपालगायतको मतलाई जोड्नुपर्ने छ । यो चुनौतीका बीच विजयी यात्रा तय गर्न के रणनीति बनाएर अगाडि बढ्नुभएको छ ?

जो इमानदार, सक्षम हुन्छ । जो काम गर्न सक्छ, उसलाई चुनौतीसँग खेल्न मन लाग्छ (हाँस्दै) । केन्द्रले, पार्टीले पाँच दलीय गठबन्धन गर्‍या होला । तर जनताले गठबन्धन गर्नुभएको छ, कि छैन । त्यो जनताको हातमा छ । जनताले जसरी मलाई रेस्पोन्स गरिरहनुभएको छ, हाम्रो छोरी हो । यो ठाउँकै छोरी हो, भनेर एक पटक यसलाई विश्वास गर्नुपर्छ भनेर । २०६५ मा विश्वास गर्न सकेनौँ, यस पटक गर्नुपर्छ भनेर रेस्पोन्स गरिरहनुभएको छ । यो गठबन्धन मलाई चुनौती जस्तो लाग्दैन । आम मतदाताले देखाएको माया र विश्वास नै मेरो जीतको आधार हो ।

निर्वाचनमा तपाईंले यो क्षेत्रबाट जित्नुभएन भने यो क्षेत्रले गुमाउँछ ? जित्नुभयो भने के पाउँछ ?

जितिइन भन्ने कुरा मलाई विश्वास लाग्दैन । म जित्छु भन्दा मलाई सेवा गर्ने मौका दिनुहुन्छ भन्ने मलाई लागेको छ । यहाँ निर्वाचित भई गइसकेपछि सर्वप्रथम त म जनताकै सेवा गर्नेछु । यसरी अहोरात्र खटिएर जसरी जिताउँदै हुनुहुन्छ, उहाँहरूलाई कहिल्यै बिर्सिने छैन भन्न चाहन्छु । म सूर्य चिन्हको उम्मेदवार भए पनि, सूर्य चिन्हमा भोट नहाल्ने जनताको पनि सेवक भएर काम गर्नेछु । कसैलाई पनि काखा पाखा गर्ने छैन, भन्ने प्रतिबद्धता गर्न चाहन्छु । जितेर गइसकेपछि अझै पनि महाकाली अस्पतालको स्तरोन्नति गर्नुछ । मजगाउँ विमान स्थल, जहाँ म सानो छँदा मेरो बुवाले यहाँबाट थुप्रै पटक पाटन, सुर्खेत लगायत ठाउँ लिएर जानुभएको थियो । आज २०५६ सालदेखि बन्द छ । त्यसलाई सुचारु गर्न एमओयू गरेर काम अगाडि बढाएका थियौ । अहिले ठप्प छ, त्यसलाई अगाडि बढाउने छु । महाकाली कोरिडोरको लागि केपी ओली प्रधानमन्त्री हुँदा ९८ करोड बजेट हालेर त्रिदेशीय नाकाको रूपमा अगाडि बढाएका थियौ । त्यो अहिले ठप्प छ, त्यो पनि अगाडि बढाउने छु । सुख्खा बन्दरगाह अहिले अलपत्र छ, त्यो राख्ने छु । यहाँ शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानीको समस्या छ, त्यसको समाधान गर्नु छ । बेरोजगारी समस्या छ, त्यसको समाधानको लागि स्वदेशमा रोजगारी प्रदान गर्नुपर्छ भनेका छौ । सुख्खा बदरगाह निर्माण भयो भने, काठमाडौँका मान्छे यहाँ आउने होइन, यहाँकै मान्छेले रोजगारी पाउने हो । साथै यहाँको महिलाहरूलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप