शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा प्रतिनिधि र प्रदेशसभा दुवैमा माओवादी केन्द्र शून्य

लोसपाले शतप्रतिशत इमानदारी देखायो, कांग्रेसले धोका दियो : जिल्ला अध्यक्ष
सोमबार, १२ मङ्सिर २०७९, ०९ : ५७
सोमबार, १२ मङ्सिर २०७९

बारा ५ दलीय गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्र बारामा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा शून्यमा झरेको छ । माओवादी केन्द्रले बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा शिवचन्द्र कुशवाह र प्रदेशसभा सदस्यहरूमा ३ (क) मा मुकेश साह, ४ (क) मा क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई उम्मेदवार बनाएको थियो । तर, ३ वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले पराजय बेहोरेका छ ।

बारा–३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिवचन्द्र कुशवाहले माओवादी पार्टीभित्रकै अन्तरकलहका कारण एउटा तप्काले आफूलाई चुनाव हराउन लागेको आरोप लगाएका छन् । ‘यो माओवादी पार्टीको लागि ठुलो हार हो, गठबन्धनभित्र पनि कांग्रेसले भोट दिएको भए ७ देखि ८ हजार बढी मत ल्याएर मैले सजिलै चुनाव जित्थे तर कांग्रेसले मलाई भोट दिएन,’ उम्मेदवार कुशवाहले भने, ‘हाम्रो जिल्लामा गठबन्धन कार्यान्वयन भएन बरु एक्ला एक्लै चुनाव लडेको भए राम्रो हुन्थ्यो ।’

बारा निर्वाचन क्षेत्र नं ३ मा पूर्व वनमन्त्री तथा जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव दोस्रो पटक निर्वाचित भएका छन् । यादवले १३ हजार ८२२ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार कुशवाहले १३ हजार ४६८ मत प्राप्त गरेका थिए । ‘अरू उम्मेदवारसँग पैसा लिएर साथीहरूले मलाई पुरै असहयोग गरे, माओवादी भित्रकै अन्तर्विरोध शक्ति मेरो विरुद्ध लाग्यो,’ उनले भने ।  यता बारा ४ (क) र ३ (क) मा पनि सत्ता गठबन्धनमा (माओवादी केन्द्र) बाट टिकट पाएका प्रदेश सभा सदस्यका उम्मेदवार  क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र मुकेश साह पनि  पराजित भएका छन् ।

३ (क) मा  ८८६ मतले एमाले उम्मेदवार रवीन्द्रदास श्रेष्ठ विजयी भएका छन् भने ४ (क) मा एमालेका देवनारायण साह ३ हजार ७५७ मतान्तरले निर्वाचित भए हुन् । स्थानीय तह निर्वाचनलाई मात्रै आधार मान्दा बारा क्षेत्र नं २ मा सत्ता गठबन्धनको ठुलो दल नेपाली कांग्रेससँग मात्रै २१ हजार ६०६ मत छ भने लोसपासँग ६ हजार, माओवादी केन्द्र र नेकपा एससँग मात्रै करिब ९ हजार मत छ ।

 तर सो निर्वाचन क्षेत्रका सत्ता गठबन्धनका उम्मेदवार कुशवाहले भने १३ हजार ४६८ मत मात्रै ल्याएका छन् । त्यसैगरी बारा ३ को (क) र ४ को (क) मा पनि एमाले–जसपा गठबन्धनको तुलनामा ५ दलीय गठबन्धनसँग मत अधिक भए पनि दुवै क्षेत्रमा एमाले उम्मेदवार निर्वाचन भएका छन् ।

२०७४ को निर्वाचनका बाराको ४ वटा संघीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र मध्ये बारा ३ (क) मा तत्कालीन माओवादी केन्द्रकी ज्वालाकुमारी साह निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रका बारा जिल्ला अध्यक्ष तथा ४ (क) मा उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले गठबन्धनभित्र कांग्रेसले सामान्य धर्मसमेत निर्वाह नगरेको भन्दै गुनासो गरेका छन् ।

 ‘कांग्रेसले यतिसम्म धोका दिन्छ भन्ने मैले सोचेको पनि थिइनँ तर, माओवादी केन्द्रले जित्दा हामी पत्तासाफ हुन्छौँ भनेर कांग्रेसले सांगठनिक रुपमै सर्कुलर  गरेर मलाई निर्वाचन हराउन लागेको रहेछ,’ बारा जिल्ला अध्यक्ष श्रेष्ठले भने, ‘गठबन्धनभित्र लोसपाले शतप्रतिशत इमानदारी देखायो, कांग्रेसले सामान्य इमानदारी मात्रै देखाएको भए चुनाव सजिलै जितिन्थ्यो । बारा ३ (क) को हकमा पनि गठबन्धनको सबैभन्दा धेरै भोट भएको क्षेत्रबाटै उम्मेदवार हार्नुपर्ने अवस्था आएको छ ।’ ५ दलीय गठबन्धनभित्रको सबैभन्दा ठुलो दल कांग्रेसको असहयोगका कारण निर्वाचन हार्नुपरेको अन्य उम्मेदवारको गुनासो छ ।

 जिल्ला अध्यक्ष  श्रेष्ठ गठबन्धनभित्र बसेर नाङ्गो नाच नाच्नेलाई कारबाही हुनुपर्ने बताउँछन् । यता,गठबन्धनको ठुलो दल नेपाली कांग्रेस पनि बाराको सबै क्षेत्रमा पराजित भएको छ ।

कांग्रेसका बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी क्षेत्र नं १ बाट पराजित भएका छन् भने प्रदेशसभा सदस्यमा १ (क) मा रमेश दंगाल , १(ख) मा नागेन्द्र प्रसाद कानु, बारा २ (ख)मा  रामअयोध्या यादव, ३ (ख) मा  जयचन्द्र चौरसिया पराजित भएका छन् । सत्ता गठबन्धनभित्रको दुई ठुला दलका सम्पूर्ण उम्मेदवार पराजित हुनुलाई दलको हार मात्रै नभएर गठबन्धनकै हार भएको श्रेष्ठले टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप