आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चुरे दोहन गर्ने उद्योगीको ‘कालो धन्दा’ : नेपालमा ठगी, भारतमा लगानी

बुधबार, ०१ पुस २०७२, १४ : ४४
बुधबार, ०१ पुस २०७२

प्राकृतिक स्रोतको दोहन गरेर ढुंगा–गिटी भारत निकासी गरी चुरे क्षेत्रलाई तहसनहस पारेको आरोप लागेका एक उद्योगी भारत पसेका छन् । कीर्ते कागज गरी करोडौँको जग्गा बेचेर भारत पसेका उद्योगी हुन्, अशोक कुमार मुरारका ।

बारा निजगढमा रहेको अबनिस एग्रिग्रेट इन्डस्ट्रिज नामको साझेदारी फर्मको कागजातमा कीर्ते गरी उद्योगी मुरारकाले १८ करोडको जग्गा बेचेर भारत पसेका हुन् । उनले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको साझेदारी फर्मका कागजात कीर्ते गरी प्रालि कम्पनी बनाएर विभिन्न स्थानमा रहेको १८ करोडको जग्गा बेचेको भेटिएको छ ।

रोडा, गिटी, ढुंगा उत्पादन गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय बारामा २०६० साल माघ १ गते स्थापना भएको साझेदारी फर्मलाई कम्पनी प्रालिको कीर्ते कागजात बनाई जग्गा बेचेका खुलेको छ । मुरारकाले फर्म साझेदार कृष्ण प्रसाद प्रसाईलाई समेत थाहै नदिई हस्ताक्षर किर्ने गरेर जग्गा बेचेको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

कसरी गरे कीर्ते ? साझेदारी ऐन २०२० अन्तर्गत औंद्योगिक ब्यावसाय ऐन २०४९ बमोजिम बाराको निजगढ ४ मा कार्यालय रहने गरी घरेलु तथा साना उद्योग विकास समिति बारामा साझेदारी फर्मको रुपमा २०६१ फागुन ३० गते दर्ता भएको थियो । २ करोड अठाईसलाख एघार हजार रुपैयाँ पूँजी रहेको उक्त फर्मले आयकर ऐन २०५८ र मूल्य अभिबृद्धि कर ऐन २०५२ बमोजिम उक्त फर्मलाई आन्तरिक राजश्व बिभाग बिराटनगरमा स्थायी लेखा नम्वर (पान नम्वर) ३०१५३७४२८ मा मिति २०६१ /९/१ दर्ता गरी प्रमाण पत्र लिएको छ । तर स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्रमा फर्मको व्यापारिक कार्यालय विराटनगर उपमहानगरपालिका वडा नम्वर ९ गोश्वारा रोडमा ठेगाना देखाईएको छ ।

सोही ठेगानामा झापाको धाईजन गाविस वार्ड नं १ मा कित्ता नंबर १२०१ को १ रोपनी, कित्ता नं. ३५३ को १० आना, ११९९ को १५ आना र र १२०० को २ रोपनी १५ आना जग्गा किनेका थिए । मुलुकी ऐन अदालती बन्दोबस्तको ७१ (ख) र रजिष्ट्रेशनको ११ (क) नम्वर बमोजिम यस्तो सम्पती बिक्री बितरण हक हस्तान्तरण लगायतका काम कार्य गर्दा अधिकृत वारेशनामा वा मालपोतमा आफै उपस्थित भई सनाखत गर्नुपर्ने हुन्छ । साझेदारी ऐन २०३१ को दफा ६ (ख) ले पनि सोही बमोजिमको व्यवस्था गरेको छ ।

तर मुरारकाले त्यस्तो जग्गा विक्रीमा कानुनी अवरोध आएपछि घरेलुमा दर्ता भएको साझेदारी फर्मको नाम नै कीर्ते गरी सरकारी छाप कीर्ते ठगी गरी जमिन विक्री गरेका छन् । यसबाहेक उनले फर्मको बैठकमा समेत कीर्ते हस्ताक्षर गरेका छन् । २०७१ साल भाद्र १३ र असोज २ गते उनले फर्मको बैठक बसेको कीर्ते कागज गरी आफ्ना काका राजकुमार मुरारका र अर्का एजेण्ट नरेन्द्र मेचेलाई जग्गा विक्रीको लागि प्रतिनिधी खटाउने निर्णय गरेका थिए । ‘ति बैठकहरुमा म उपस्थित नै छैन तर मेरो कीर्ते हस्ताक्षर गरीएको छ,’ उनका साझेदार कृष्ण प्रसाद प्रसाईले भने ‘हाम्रो फर्म पनि घरेलुमा दर्ता भएको साझेदारी फर्म हो तर उनले जग्गा बेच्नका लागि प्रालि कम्पनीको नाममा चिठि लेखेका छन् ।’

मुलुकी ऐनको कीर्ते कागजको १० नम्वरमा जालसाजी कागज गर्ने गराउनेलाई बिगो खोलिएको रहेछ भने त्यही बिगोको सयकडा २५ रुपैयाँ जरीवाना हुन्छ । बिगो खोलीएको रहेनछ भने दुई सय रुपैयाँ सम्म जरिवाना हुन्छ भन्ने कानूनी ब्यवस्था रहेको छ । कीर्ते कागजको १७ नम्वरमा सर्बस्व सहित जन्म कैद हुनेमा बाहेक अरु कुरामा कैद गर्नु पर्दा १२ बर्ष देखि बढता कैद गर्नु हुदैन भन्ने कानूनी ब्यवस्था रहेको छ । त्यस्तै मुलुकी ऐन ठगीको महलको १ नम्वरमा कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेकोछ उसलाई ललाई फकाई वा जाल परिपञ्च गरी आफ्नो हक नभएको सम्पतीमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई, दिई वा पेश गरी वा आफु सँग नभएको कुरा आफुसँग छ भनी झुक्याई वा झुठ्ठो कुरालाई सद्धे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारि आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धन माल लिए दिएमा वा अर्काको माल मेरा हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए बिक्री व्यवहार गरेमा वा सट्टा पट्टा गरी लिएमा ठगी गरेको ठहर्छ भन्ने कानुनी व्यवस्था रहेको छ भने उक्त महलको ४ नम्वरमा ठगी गर्नेलाई ठगी लिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगो बमोजिम र बिगो कायम नभएमा पचासहजार रुपैयासम्म जरिवना र पाँच बर्ष सम्म कैद हुनेछ । उक्त महलको ७ नम्वरमा ठगी गरेको धनमाल लिए दिएमा पाउने वा लिनेको सदर हुदैन । जो सित छ उसैवाट माल भए माल, नभए बिगोको धनमालमा हक पुग्नेलाई भराई दिनु पर्छ । ठगी गरी ल्याएको हो भनी जानी–जानी लिनेको थैलि भराई दिनु पर्दैन नजानी लिएको भए थैली कपाली सरह हुन्छ ।

राजस्व ठग्न १८ करोडको जग्गा १० लाखको कागज मुरारकाले २०७२ साल भदौ १३, असोज ३ र कार्तिक ४ गते मालपोत कार्यालयलाई चिठी लेखेर काका अशोक र एजेण्ट मेचेमार्फत उक्त जग्गा टुक्रा टुक्रा पारी विक्री गरेको मातलपोत कार्यालय झापाले जनाएको छ । साझेदार प्रसाईका अनुसार बाटोको सुविधा भएको उक्त जग्गामा अठार करोड रुपैयाँ मूल्य पर्छ । तर मुरारकाले कीर्ते गरेर कम मूल्यमा बेचेका छन् । ‘मुल सडक सँग जोडिएको पिच सडक भएको जग्गा भएपनि कम्पनीको सञ्चालक समितिको बैठकमा मेरो सही कृर्ते गरी बाटो नभएको भनेर गाबिसवाट घर वाटोको सिफारिस लिएका छन् ’ उनले भने । मुरारकाले सबै जग्गा जम्मा १० लाख ९४ हजार रुपैयाँमा मात्र विक्री गरेका छन् । ऐन अनुसार जग्गा किनबेच गर्दा ३ प्रतिशत राजस्व तिर्नुपर्छ  । सोही राजस्व छल्न कम मूल्य देखाएर राजस्व ठगी गरेको प्रसाईले बताए । ‘सरकारी मूल्य र सोको राजस्व समेत ठगी गरी जग्गा बिक्री बितरण गरेको पाईएकाले मुलुकी ऐन कृर्ते कागजको महलको १८ र नम्वर र मुलुकी ऐन ठगीको महलको ८ नम्वर अनुसार कार्वाही हुनुपर्छ ’ उनले भने । १८ करोडमा जग्गा बेच्दा  ५४ लाख राजश्व बुझाउनुपर्छ ।

मालपोतका कर्मचारीको मिलेमतो औंद्योगिक ब्यावसाय ऐन २०४९ बमोजिम घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएको उद्योगलाई कम्पनी ऐन २०६४ अनुसार दर्ता भएको कीर्तेकागज बनाएर जग्गा पास गरिएको छ । त्यसरी सरकारी कागज कीर्ते गर्ने काममा मालपोत कार्यालय झापाका कर्मचारीको समेत मिलेमतो भएको देखिएको छ । कर्मचारीहरुले घरेलुमा दर्ता भएको फर्मलाई कम्पनी ऐन अनुसार दर्ता भएको देखाएर कमिसन खाएको स्थानीयहरुले बताएका छन् । कम्पनी ऐन अनुसार प्रालि दर्ता गर्दा माईन्यूटको आधारमा मात्रै जग्गा किनबेच गर्न पाईने हुँदा मुरारकाले सरकारी सहिछाप भएको कागज कीर्ते गरी विक्री गरेका हुन् । कर्मचारीहरुले साझेदारको अनुमति विना एकाएक जग्गा विक्री गर्न दिदाँ लाखाँै रुपियाँ घुस खाएको मालपोतकै एक कर्मचारीले बताए । ‘यो विबादित कुरा हो भन्ने थाहा थियो तर माथिल्लो तहबाट लाखौँको बार्गेनिङ्ग गरेर मुरारकालाई कीर्ते गर्ने तरीका सिकाएका थिए’ ति कर्मचारीले रातोपाटीसंग भने ।

प्रहरीले जाहेरी लियो तर दर्ता गरेन मुरारकाले कीर्ते ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापामा उजुरी पेश भएको छ । उनका साझेदार रहेका कृष्ण प्रसाद प्रसाईले २०७२ असोज ८ गते सबुत प्रमाण सहित जाहेरी पेश गरेका हुन । अशोक मुरारका, उनका छोरा ३१ वर्षका मधुसुधन मुरारका, उनका काका राजकुमार मुरारका, राजकुमारका छोरा रोहन मुरारका, पशुपती पेन्टसमा कार्यरत अभिषेक मुरारका, मोरङ्गका सुनिल टिबडेवाला र सुनिलकि श्रीमति नमिता अग्रवालको विरुद्धमा जाहेरी गरिएको हो । मुलुकी ऐनमा फौजदारी अपराध अन्तर्गतका सरकारी कागज कीर्ते र ठगीको जाहेरी प्राप्त हुनेवित्तीकै प्रहरी कार्यालयले तुरुन्त मुद्धा दर्ता गरी कार्वाही गर्नुपर्ने स्पष्ट गरिरएको छ । तर, प्रहरीमा जाहेरी परेको तीन महिनासम्म समेत जिप्रकाले अहिलेसम्म उजुरी दर्ता गरेको छैन । श्रोतका अनुसार प्रहरीले समेत मुरारकासंग मिलेर मुद्धा दर्ता गर्न मानेको छैन । उजुरी दर्ता भएको र नभएको भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुको कुरा नै बाझिएको छ । जिप्रका झापाका प्रहरी उपरीक्षक (एसपि) ठाकुर ज्ञवालीले अनुसन्धान प्रकृया शुरु भएकोले सबै कुरा बाहिर भन्न नमिल्ने बताए । ‘अनुसन्धानमा गईसकेको विषयमा बाहिर सबैकुरा भन्न मिल्दैन’ फाईल नै दर्ता नगरी अनुसन्धान भैरहेको हो ? भन्ने प्रश्नमा ज्ञवालीले भने ‘दर्ता नगरीकन कसरी अनुसन्धान हुन्छ ?’ तर उनकै कार्यालयका मुद्धा शाखाका एक अधिकारीले भने जाहेरीको विषयमा अशोक मुरारकासंग पनि कुराकानी भईरहेको बताए । ‘एफआईआर आएपछि यहाँबाट बुझ्दा मुरारका पक्षबाट पनि हामी पिडीत हौँ भन्ने कुरा आएकोले हाकीमसापले बुझिरहनु भएको छ’ ति अधिकारीले भने ‘सरकारबादी मुद्धा भएकोले मुद्धा शुरु भएपछि सफल होस भन्ने भएकोले हामीले मुद्धा दर्ता गर्न अन्तिम तयारी गरेका छौँ ।’ उनले यसबारे आफूलाई धेरै कुरा थाहा नभएकोले एसएसपि नै लाई बुझ्नुपर्ने बताए ।

नेपालमा ठगी भारतमा लगानी मुरारकाले नेपालमा कीर्ते र ठगी गरी भारतमा लगानी गर्ने गरेको खुलेको छ । उनले नेपालमा विभिन्न कीर्ते काम गरि भारतको कोलकत्तामा श्रीमतिको नाममा रहेको कम्पनीमा लगानी गर्ने गरेका छन् । जयपुरमा उनको ससुरालीको नाममा रहेको मार्बल कम्पनीमा उनको लगानी छ । कीर्ते गरी जग्गा बेचेको पैसा पनि उनले उतै लगेको उनका आफन्तले बताए । ‘नेपालमा साझेदारी फर्ममा विबाद भएपछि नाफा नहुने देखेर जग्गा बेचेर भारतमा रहेको कम्पनीमा लगानी गर्न जानुभयो’ नाम नबताउने शर्तमा एक आफन्तले रातोपाटीसँग भने । उनका अनुसार कागजमा थोरै देखाएपनि धेरै मूल्यमा जग्गा विक्री गरेका पनि खुलासा गरे । उनका अनुसार भारतको कारोबार उनका बाबु–छोराले हेर्छन । नेपालको लगानी विस्तारै घटाउँदै लगेका उनको कारोबार भने काका राजकुमार र भतिज रोहनले सम्हालेका छन् । मुरारकाले नेपालमा भएको कम्पनी घाटामा देखाई अण्डरविलीङ्ग गरेर बैंकबाट ऋण लिई भारतमा लगानी गर्ने गरेको पनि उनका आफन्तले बताए । स्रोतका अनुसार उनी अहिले भारतको कोलकत्तामा छन् । कोलकत्तामा आफू बसेर नेपालमा आफ्ना आफन्तमार्फत मुद्धा दर्ता नै नहुने वातावरण मिलाईदिन झापाको प्रहरी र अन्य शक्तिकेन्द्रमा कुरा गरिरहेको जिल्ला प्रहरी कार्यलय झापाका एक अधिकारीले बताए । उनको २ वटा मोवाईलमा सम्पर्क हुँदैन भने एउटा एनसेलको नम्बरमा फोन उठ्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप