शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

गण्डकीमा मुख्यमन्त्रीलाई ३० सिटले बहुमत पुग्छ ?

आइतबार, २३ वैशाख २०८१, १२ : ३४
आइतबार, २३ वैशाख २०८१

पोखरा । राप्रपाले गण्डकी प्रदेश सरकारलाई सहयोग गर्ने सङ्केत अझै देखिएको छैन । मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनलाई राप्रपाले साथ नदिए ३० सिट मात्र उनको पक्षमा हुन्छ । 

कांग्रेस २७ सिट सहित प्रतिपक्षमा छ । स्रोतको अनुसार गठबन्धनले ३० सिटलाई नै बहुमत मानेर घोषणा गर्ने तयारी गरेको छ । एमालेका २२, माओवादीका ७ (सभामुख बाहेक) र एक जना स्वतन्त्र सांसद उनको पक्षमा छन् । २ सिट रहेको राप्रपा चुपचाप छ । 

के ३० सिटले बहुमत पुग्छ ? संविधानका जानकारहरू पनि विभाजित भएका छन् । डा भीमार्जुन आचार्य बहुमतका लागि ३१ सिट अनिवार्य हुने बताउँछन् ।

'सर्वोच्चको आदेश नै संविधान विपरीत छ । दुनियाँभरि संविधानको व्यवस्था हेर्दा सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत हुनुपर्छ,' उनले भने, 'सभामुख वा कसैलाई घटाएर कतै प्रयोग भएको छैन । यो आदेश भनेको संविधानको गलत व्याख्या हो ।' विश्वासको मतका लागि संविधान नै लागु हुने उनले बताए । 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई पनि बहुमतका लागि ३१ मत अनिवार्य हुने बताउँछन् । 'सर्वोच्चको व्याख्या भनेको सम्भावनाको कुरा हो । दोस्रो दाबी नपरेको र बहुमत पुर्याउन सक्ने भन्ने शब्दावली प्रयोग भएको हुनाले उहाँको पक्षमा सभामुख बाहेक नै ३० मत देखिएको भन्ने प्रसङ्गमा उल्लेख गरिएको हो,' उनले भने, 'कुल सङ्ख्या त ६० नै हो । सभामुखले निर्णायक मत मात्रै दिन पाउनुहुन्छ । संविधानको व्यवस्था त्यही हो । बहुमतको लागि ३१ नै चाहिन्छ ।'

केही कानुन व्यवसायी भने सभामुखलाई नगन्दा सांसद ५९ रहेको र बहुमत ३० हुने बताउँछन् । उसको परीक्षण सांसदबाटै हुनेछ । थप व्याख्या पुनः सर्वोच्चले गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप