शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

महाधिवेशनमा उपेन्द्रलाई इस्तियाकले चुनौती दिने

शनिबार, २२ वैशाख २०८१, १६ : ४९
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशन जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ । जसपाको अध्यक्षमा पुनः आफू नै सर्वसम्मतिले आउने उपेन्द्र यादवले योजना बनाइरहेको बेला उनीविरुद्ध उम्मेदवारी दिने तयारीमा सोही पार्टीका कार्यकारिणी सदस्य इस्तियाक राई जुटेका छन् । 

नेता राईले यो कुराको जानकारी कार्यकारिणी समितिको बैठकमै अध्यक्ष यादवलाई जानकारी गराइसकेका छन् । यादव अमेरिका उड्नुअघि पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा नेता राईले यस पटकको महाधिवेशनमा आफूले पनि अध्यक्षमा उम्मेदवार दिने जानकारी गराएका थिए । 

बैठकमा सहभागी एक नेताका अनुसार नेता राईले भनेका थिए, ‘अध्यक्षजी महाधिवेशन विधिसम्मत र प्रक्रियागत गराउनु होला, म पनि अध्यक्षको उम्मेदवार हुँ ।’ नेता राईले राखेको कुरामा अध्यक्ष यादवले त्यति बेला कुनै प्रतिक्रिया भने दिएनन् । 

उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका यादवनिकट नेताहरूले अध्यक्षमा उपेन्द्र यादवको विकल्प खोज्ने बेला नभएको बताइरहेका छन् । जसपाभित्र कोहीले पनि यादवलाई टक्कर दिन नसक्ने उनीहरूको भनाई छ ।

तर नेता इस्तियाक राई भन्छन्, ‘यो एकताको महाधिवेशनमा उपेन्द्रजीले पुस्तान्तरण गर्नुपर्छ । उहाँ २०५४ सालदेखि लगातार पार्टीको अध्यक्ष रहँदै आउनुभएको छ । अब उहाँले अरूलाई अवसर दिनुपर्छ । यदि उपेन्द्रजी सहमतिमा आउनुभएन भने म पनि अध्यक्षमा उम्मेदवारी दिन्छु । त्यसैको तयारी पनि गरिरहेको छु ।’

अध्यक्ष यादवले सहमतिमै अरूलाई अध्यक्ष बनाउँछन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले भने, ‘म नै अध्यक्ष बन्नुपर्छ भने छैन, उहाँले आफूबाहेक अरू कसैलाई अध्यक्ष बनाए हुन्छ । किनभने अब पुस्तान्तरण गर्नु आवश्यक भइसकेको छ । २७ वर्षदेखि उहाँ अध्यक्ष भएर काम गर्नु भएको छ । अब त उहाँले पनि राजनीतिबाट विश्राम लिने बेला भएको छ । पार्टीमा अभिभावकीय भूमिकामा रहेर दिशा निर्देश गर्ने बेला भएको छ ।’

अध्यक्ष यादवको नेतृत्वको पार्टी मधेसी जनअधिकार फोरम (हालको जसपा) मा उनले काम गरेको १८ वर्ष भयो । अब आफूले पनि नेतृत्व लिने बेला भएको बताउँदै उनले यसमा पार्टीका अन्य नेताहरूले पनि साथ दिनेमा आफू विश्वस्त रहेको बताए । 

  • सजिलो छैन उपेन्द्रलाई

अध्यक्ष यादवका लागि यस पटकको महाधिवेशन विगतको जस्तो सजिलो छैन । पार्टीभित्र थुप्रै नेताहरू असन्तुष्ट भएर बसेका छन् । यसपटक उनी स्वयं सरकारमा गएको कारण झन् असन्तुष्टि बढेको छ । 

ती सबै असन्तुष्ट नेताहरू महाधिवेशनमा एकीकृत भएर यादवविरुद्ध उभिने तयारी गरेका छन् । जसपा स्रोतले भन्यो, ‘ती असन्तुष्टमध्ये अहिले खुलेर इस्तियाक राई बाहिर देखिनुभएको छ भने अन्य नेताहरू भित्रभित्रै मोर्चाबन्दी गरिरहेका छन् ।’

  • फोरमबाट उपेन्द्रको यात्रा

जसपाका अध्यक्ष उपेन्द्र यादवले २७ वर्षदेखि एउटै पार्टीको (फोरम सामाजिक संस्थाको रूपमा गठन भएदेखि) अध्यक्षमा विराजमान छन् । 

अन्य दलमा पटक पटक नेतृत्व फेरिएका छन् तर जसपा (फोरम) गठन भएदेखि सो पार्टीमा नेतृत्व परिवर्तन भएको छैन । २०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा सामाजिक संस्थाको रूपमा मधेसी जनअधिकार फोरम गठन भएको थियो । पछि त्यही फोरमलाई २०६४ मा पार्टी बनाइयो । 

मधेसी जनअधिकार फोरम नेपाल पार्टीका रूपमा आएपछि २०६५ मा पहिलो महाधिवेशन वीरगन्जमा भएको थियो । त्यस यता पार्टीको महाधिवेशन पनि हुन सकेको छैन । मधेसी जनअधिकार फोरमबाट सङ्घीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै जसपा नेपाल बनेको हो ।  

मधेसी जनअधिकार फोरम पार्टीको रूपमा गठन भएको १८ वर्ष भइसके पनि हालसम्म एउटा महाधिवेशन मात्र भएको छ । 

यो बिचमा विभिन्न दलसँग एकीकरण गरेर जसपासम्म पुगेको हो । पार्टी एकीकरणकै नाममा महाधिवेशन टार्दै गयो । जति पटक पार्टी एकीकरण भयो एकता महाधिवेशन गर्ने भनी पटक पटक मिति तय भएको थियो । तर तोकिएको मितिमा कहिले महाधिवेशन हुन सकेन ।

यसपटक भने लगभग तोकिएको समयमा नै महाधिवेशन हुने नेताहरूले दाबी गरेका छन् । 

  • सिनियरलाई आउट

राजनीतिमा उपेन्द्र यादवभन्दा अशोक राई निकै सिनियर नेता हुन् । तर उनीसँग एकीकरण गर्दा उनलाई वरिष्ठ नेतामै थन्काएर राखिएको छ । डा.बाबुराम भट्टराई पनि उपेन्द्र यादवभन्दा सिनियर नेता हुन् तर उनी पनि एकीकरण गर्दा सङ्घीय परिषद्को अध्यक्षमा सीमित बने । महन्थ ठाकुरसँग तर पार्टी एकीकरण गर्दा उपेन्द्र यादवले अध्यक्ष स्वीकार गरेका थिएनन् ।  

त्यसपछि पार्टी दुई अध्यक्ष प्रणालीमा गयो । पछि आफूमाथि खतरा देखेपछि महन्थ ठाकुरले पार्टी विभाजन गरे गरे । जसपमा दुई जना अध्यक्ष भए पनि उपेन्द्र यादवले एकलौटी रूपमा पार्टी चलाउन चाहेका थिए । त्यसमा महन्थ ठाकुरले ब्रेक लगाएका थिए । 

त्यति मात्र होइन, डा. बाबुराम भट्टराईले महन्थ ठाकुर गइसकेपछि त्यो ठाउँमा अर्को अध्यक्ष चयन गर्नुपर्छ भनेर पार्टीमा प्रस्ताव लगे । यो कुरा पटक पटक उनले पार्टीमा पनि उठाए पनि अध्यक्ष यादवलाई त्यो कुरा नसुनेको जस्तै गरे । 

पछि अशोक राईले पनि अध्यक्षको चाहना राखेका थिए । तर उनलाई सङ्घीय परिषद्को अध्यक्ष र शिक्षा मन्त्री बनाएपछि उनको मुख पनि बन्द भएको थियो । 

पार्टीमा सिनियर नेतामा एक जना रामसहाय यादव थिए । महाधिवेशनमा पार्टी अध्यक्षको दाबी गर्लान् कि भनेर उनले रामसहायलाई उपराष्ट्रपति बनाएका छन् । रामसहाय उपरराष्ट्रपति भएपछि खाली भएको ठाउँबाट उपेन्द्र यादव चुनाव लडेर प्रतिनिधि सभामा आएका हुन् । 

जसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘उपेन्द्र यादवले जोबाट आफूलाई खतरा देख्नुहुन्छ, उसलाई कुनैनकुनै बहानामा साइड लगाइ दिनुहुन्छ । अहिले उपेन्द्र यादवको बराबर गर्ने कुनै पनि नेता पार्टीमा हुनुहुन्न । रेणु यादव कहिलेकाहीँ बोल्नुहुन्थ्यो उहाँलाई पनि दबाएर राख्नुभएको छ । उहाँ पनि पार्टीबाट कतिखेर निस्किनुहुन्छ थाहा छैन ।’

बेलाबेला यादवले पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवबाट आफूमाथि खतरा देख्छन् । त्यही भएर पटक–पटक राजकिशोर यादवलाई कमजोर बनाउने प्रयास उपेन्द्र यादवबाट भएको जसपाकै कतिपय नेताहरूको भनाई छ । पार्टीका कोषाध्यक्ष विजय यादवलाई पनि पार्टीमा त्यही अवस्थामा राखेको पार्टीभित्रै टिप्पणी हुने गरेको छ । 

  • बल्ल महाधिवेशन !

पार्टीको विधानमा ‘महाधिवेशन प्रत्येक ५ वर्षमा हुनेछ तर विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिनेछ,’ भनेर उल्लेख छ । तर जसपा नेपालको महाधिवेशन १६ वर्षपछि हुँदैछ ।

पार्टीहरूसँग एकीकरण गर्दै नयाँ पार्टी र विधान बनाउँदै गएपछि कहिले पनि महाधिवेशनको आवश्यकता नै परेन । पार्टी एकीकरणपछि एकता महाधिवेशन गर्ने भनी निर्णय पनि हुन्थ्यो, अर्को महाधिवेशन गर्ने बेलासम्म फेरि कुनै दलसँग एकीकरण हुँदा विधान नै हेरफेर भएपछि महाधिवेशन गराउने आवश्यकता नै पर्दैनथ्यो । फेरि अर्को महाधिवेशनको मिति तय हुन्थ्यो । त्यो क्रम पार्टीमा लामो समयसम्म चलिरह्यो । 

२०७२ जेठ २२ गते तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी नेपालबिच एकीकरण भई सङ्घीय समाजवादी फोरम नेपाल बनेको थियो । 

त्यो एकीकरणपछि पार्टीले २०७५ माघ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा एकताको महाधिवेशन गर्ने निर्णय भएको थियो । त्यो महाधिवेशनमा अशोक राईले पार्टी अध्यक्षको दाबी गर्ने चिन्ता उपेन्द्र यादवलाई परेको थियो । त्यही डरले महाधिवेशन तोकिएको समयमा भएन । 

त्यसपछि २०७६ वैशाख २३ गते डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण भयो । नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखियो । २०७७ वैशाख १० गते तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल बिच एकीकरण भयो । 

एकीकरणपछि बनेको जसपाको अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर रहे । सो पार्टी एकीकरण पछि बनेको विधानमा पाँच वर्षभित्र एकता महाधिवेशन गर्ने उल्लेख थियो । तर महाधिवेशनको चर्चा नहुँदै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबिच खटपट सुरु भयो र पार्टी विभाजन भयो । 

महन्थ ठाकुरले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे भने उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष भएर बसे । महन्थ ठाकुरको ठाउँमा अर्को अध्यक्ष राख्नुपर्‍यो भनेर बाबुराम भट्टराईले जसपाभित्र आवाज उठाए । त्यो विषय लिएर उपेन्द्र र बाबुरामबिच खटपट सुरु भयो । सोही खटपटका कारण बाबुराम त्यहाँबाट निस्किन बाध्य भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप