शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

माधवको घुर्कीबिच सरकार नढल्नेमा किन ढुक्क छन् प्रधानमन्त्री प्रचण्ड ?

आइतबार, २३ वैशाख २०८१, १४ : ५०
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । समीकरण फेरिएको दुई महिनामै सत्ता गठबन्धन धरमराएको चर्चाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल सरकार नढल्नेमा ढुक्क देखिएका छन् । एमालेसहित पाँच दलीय सत्ता समीकरण बनेदेखि नै विपक्षी नेपाली कांग्रेसले एमालेसँग सहार्यका लागि प्रयास जारी राखेको छ ।

खासगरी कांग्रेसका शेखर कोइराला–गगन थापा समूह एमालेसँग मिलेर गठबन्धन बनाउन दौडधुप गरिरहेका छन् । नेता कोइराला, महामन्त्री थापा, मिनेन्द्र रिजाल, गोविन्द पोखरेल लगायतले एमालेका अध्यक्ष केपी ओलीसहित दोस्रो तहका नेताहरूसँग सम्वाद बढाएपछि प्रधानमन्त्री प्रचण्ड झस्किएका थिए ।

यता गठबन्धन घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि एमाले अध्यक्ष ओलीको गतिविधिबाट असन्तुष्ट देखिएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश सिट बाँडफाँट, उपनिर्वाचन लगायतका विषयमा आफूलाई ओलीले पेल्न खोजेको उनको गुनासो छ ।

वैशाख १७ गते काठमाडौँमा भएको एक कार्यक्रममा ओलीप्रति सङ्केत गर्दै नेपालले आफू प्रधानमन्त्री बन्ने कुराले कतिपयलाई पोल्ने गरेको सार्वजनिक रूपमै बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ समीकरण बनेपछि राष्ट्रिय सभा उपाध्यक्ष, सात प्रदेशमध्ये एक प्रदेशको नेतृत्व दिने सहमति भए पनि कार्यान्वयन नभएको गुनासो केही दिनअघि रातोपाटीसँग व्यक्त गरेका थिए । अघिल्लो (कांंग्रेस–माओवादी) गठबन्धनमा आलोपालो अन्तर्गत दोस्रो चरणमा नेपाललाई प्रधानमन्त्री बनाउने भद्र सहमति कार्यान्वयन नभएकाले आफूहरू प्रचण्ड–ओलीको साक्षी किनारा बस्न नसक्ने उनको भनाइ थियो ।

सत्ता घटक दलहरू एमाले र एकीकृत समाजवादीका शीर्ष नेताहरूबिच नै तिक्ततापूर्ण अभिव्यक्ति आउन थालेपछि वैशाख १८ गते प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटारमा बोलाएर चासो व्यक्त गरेका थिए । प्रचण्ड–माधव भेटवार्ता लगत्तै सोही दिन एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जसपाको संसदीय कार्यालय सिंहदरबारमा जसपाका शीर्ष नेताहरूसँग वैकल्पिक गठबन्धन बनाएर जाने विषयमा छलफल गरेका थिए ।

प्रचण्डलाई विश्वासमा लिएर माधवलाई प्रधानमन्त्री बनाउने गरी पाण्डेले छलफल अगाडि बढाएको सूचना पाएका एमालेका अध्यक्ष ओलीले वैशाख २० गते प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रचण्डसँग झण्डै दुई घण्टा भेटवार्ता गरेका थिए । ओलीसँग भेट भएपछि सरकार नढल्नेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क देखिएको बालुवाटार स्रोतको दाबी छ ।

‘समीकरणमा गडबड भएको कुरा हल्लामात्र हो । एमालेसँग प्रधानमन्त्रीको विश्वास छ । यही गठबन्धनलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री र एमालेका अध्यक्षबिच गम्भीर छलफल भएको छ । समीकरण दायाँबायाँ गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न । ढुक्क हुनुहोस्, गठबन्न भत्किँदैन । माधवजी पनि गठबन्धन तोड्ने पक्षमा हुनुहुन्न’, स्रोतले बतायो ।

स्रोतका अनुसार बिहीबार प्रचण्ड र ओलीबिच कोशीको समीक्षा, सरकारको नीति तथा कार्यक्रम, बजेट र संसद अधिवेशन सुचारू गर्ने विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री प्रचण्डले गठबन्धनको भविष्यबारे माओवादी संसदीय दलको बैठकमा ब्रिफिङ गरेका थिए । शनिबार सिंहदरबारस्थित माओवादी संसदीय कार्यालयमा बसेको बैठकमा समीकरण भत्काउन कांग्रेसले खेल्न खोजे पनि सफल नहुने भन्दै उनले पार्टीका सांसदहरूलाई प्रस्ट पारेका थिए । यही गठबन्धनलाई थप बलियो  बनाएर लैजानेबारे ओली सकारात्मक रहेको उनले जानकारी दिएको एक सांसदले बताए ।

‘सत्ता समीकरण, पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीज्यूले बैठकमा ब्रिफिङ गर्नुभएको थियो । सबैलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बाँडेर कांग्रेसले सत्ता गठबन्धन बिचमा खेल्न खोजेको देखिन्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै, ती सांसदले भने, ‘तत्काल यो समीकरण भत्किने सम्भावना छैन । भित्र र बाहिर देखिएका समस्या गठबन्धन दल सबै मिलेर सामना गर्ने विषयमा छलफल भइरहेको छ ।’

ती सांसदका अनुसार प्रधानमन्त्री प्रचण्डले माधव नेपालले अहिले घुर्की लगाइरहे पनि गठबबन्धन छोडेर कतै नजाने दाबी बैठकमा गरेका थिए । ‘यस विषयमा ओलीजीसँग छलफल भएको छ । सत्ता गठबन्धनलाई थप बलियो बनाएर जानेबारे उहाँ सकारात्मक हुनुहुन्छ । त्यसैले यो गठबन्धन दायाँबायाँ हुनेवाला छैन । तपाईंहरू ढुक्क भएर बजेट अधिवेशनको तयारीमा जुट्नुहोस्,’ प्रचण्डलाई उद्धृत गर्दै ती सांसदले भने ।

गठबन्धनमा खटपट भएको विषयमा आइतबार बिहान पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटको क्रममा खनालले एकीकृत समाजवादी वामपन्थी गठबन्धनको पक्षमा रहेकाले पार्टीको पूर्व निर्णयमा दायाँबायाँ नहुने विश्वास दिलाएको बताइन्छ ।

‘वामपन्थी गठबन्धन बनाएर जाने भनेर नै एकीकृत समाजवादीले संस्थागत निर्णय गरेको हो । हामीले मन्त्रीहरूसमेत पठाइसकेका छौँ । यो सिलसिलामा कुनै व्यक्ति विशेषलाई केही कुरा मन लागेको छैन वा चित्त बुझेको छैन भने त्यो पार्टीभित्रै छलफल गर्ने विषय हो,’ प्रधानमन्त्रीसँगको भेटपछि खनालले भने, ‘बाहिर भन्दै हिँड्ने विषय होइन, त्यसकारण हाम्रो पार्टी अहिले तलमाथि, देब्रेदाहिने हुनेवाला छैन । अहिलेको गठबन्धनमा कुनै खतरा छैन ।’

गठबन्धनमा कुनै समस्या नभएकोमा प्रधानमन्त्री पनि निश्चिन्त रहेको र पार्टीको निर्णयमा कुनै तलमाथि नहुनेमा आफूले प्रधानमन्त्रीलाई विश्वस्त बनाएको उनको भनाइ छ ।

माधव नेपालले सरकार छाड्ने, आफू गठबन्धनमा सहभागी भएर पनि मन शान्त नभएको बारम्बार अभिव्यक्ति दिए पनि अहिलेको गठबन्धन तोडेमा सबैभन्दा घाटा एकीकृत समाजवादीलाई हुने माओवादी नेताहरूको बुझाइ छ ।

सत्ता समीकरणको विषयमा एकीकृत समाजवादी र जसपाभित्र विवाद

nepal-yadav

वामपन्थी गठबन्धन बनाएर जाने कि विकल्प खोज्ने भन्ने विषयमा एकीकृत समाजवादीभित्र दुई लाइन सङ्घर्ष देखिएको छ । नेपाल पक्षका नेताहरू वैकल्पिक गठबन्धन बनाएर जानुपर्ने अडानमा छन् । खनाल पक्षीय नेताहरू अहिलेकै वामपन्थी गठबन्धनलाई बलियो बनाएर जानुपर्ने अडानमा छन् ।

१० जना सांसद भएको एकीकृत समाजवादीमा अध्यक्ष नेपाललाई उपाध्यक्ष पाण्डेसहित मेटमणि चौधरी र किसनकुमार श्रेष्ठको मात्र साथ रहेकाले उनले जोखिम मोल्न नसक्ने बालुवाटारको बुझाइ छ । पाण्डे, चौधरी र श्रेष्ठले यो गठबन्धन भत्काउने पक्षमा तीव्र लबिङ गरिरहेको बुझिएको छ ।

यता १२ जना सांसद रहेको जसपाभित्र पनि अध्यक्ष उपेन्द्र यादव अल्पमतमा रहेको जसपाकै उच्च नेताले दाबी गरेका छन् । संसदीय दलमा अधिकांश सांसद अहिलेकै गठबन्धनको पक्षमा रहेकाले यथास्थितिमा सरकारबाट बाहिरिने वा गठबन्धन तोड्ने विषमा आफूहरू नरहेको ती नेताको जिकिर छ ।

‘हामी वर्तमान गठबन्धनकै पक्षमा छौँ । संसदीय दलमा पनि अधिकांश सांसद यही गबबन्धनलाई बलियो बनाएर लैजानुपर्ने पक्षमा छन् । तत्काल गठबन्धनबाट बाहिरिने पक्षमा हामी छैनौँ’, एक उच्च नेताले बताए ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि सत्ता समीकरणमा कुनै सङ्कट नआएको बताए । शनिबार १० दिने चीन भ्रमणको उपलब्धिबारे जानकारी दिनका लागि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका गुरुङ अहिलेको समीकरण दीर्घकालीन लक्ष्यसाथ बनाइएकाले गठबन्धनमा सङ्कट नरहेको दाबी गरे ।

‘समीकरण फेरबदल गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न । हामीसँगको भेटमा उहाँ आफैँले पनि अहिले समीकरणमा कुनै समस्या नभएको बताउनुभएको छ । यही गठबन्धनलाई बलियो बनाएर लैजाने पक्षमा सत्ता घटक दलहरू सकारात्मक छन् । त्यसैले कुनै समस्या छैन’, महासचिव गुरुङले भने ।

एकीकृत समाजवादी र जसपाका अधिकांश नेताहरू वर्तमान गठबन्धनको पक्षमा रहेको र सत्ता साझेदार मुख्य दल एमालेका अध्यक्ष ओली आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई लिएर जाने पक्षमा सकारात्मक देखिएकाले तत्काल सरकारमाथि कुनै खतरा नभएको बालुवाटारको निष्कर्ष छ । 

यद्यपि एकीकृत समाजवादी र जसपा यो गठबन्धनबाट बाहिरिएको अवस्थामा के गर्ने भन्ने विषयमा पनि विकल्प रहेको बालुवाटार स्रोतको दाबी छ । तर त्यो विकल्प के हो भन्ने विषयमा स्रोतले खुलाउन चाहेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप