शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अबिच्युरी

माला सिन्हाले सीपी लोहनीलाई लेखेको त्यो चिठी

आइतबार, २३ वैशाख २०८१, ११ : ५९
आइतबार, २३ वैशाख २०८१

एउटा तारा झर्दा पनि आकाश सिङ्गो रित्तो लाग्छ
एउटा गल्ती भएकोथ्यो जिन्दगी नै तितो लाग्छ ।
(स्वर: सीपी लोहनी, सङ्गीत: नातिकाजी, शब्द: राममान तृषित)

कुनै बेला सीपी लोहनीको स्वर सुन्न पाउँदा नेपाली गीतका पारखी खुसीको पिङ मच्चाउँथे । २०२० सालतिर सीपी लोहनीको स्वरले जनमन ढाकेको थियो । त्यस बेला सीपी लोहनीको स्वरले नेपाली हृदयलाई आफन्त बनाएको थियो । वास्तवमा उनी मिठो, सुरिलो र मनमोहक स्वरका भण्डार थिए । उनको स्वरमा चाँप फुल्थ्यो, बेली फक्रन्थ्यो र जुही मगमगाउँथ्यो ।

सीपी लोहनी सानैदेखि शास्त्रीय गीत गाउन सिपालु थिए । उनका गीतमा ठुला मान्छे पनि झुम्मिन्थे । रेडियो नेपालको बाल कार्यक्रममा उनले पहिलो स्वर नै शास्त्रीय गीतमा समर्पण गरेका थिए । त्यस बेला उनी १५ वर्षका थिए ।

सीपी लोहनीका बाबु दुर्गानिधि लोहनी गीतका सोखिन थिए । आमा उत्तरकुमारी पनि आफ्ना छोराले गीत गाएको सुनेर मक्ख पर्थिन् । सीपी लोहनीले बाल्यकालमै चेतनाथ शर्मालाई शास्त्रीय सङ्गीतका गुरु पाए । गुरुको तालिम थपिँदा सीपी लोहनीको गायनयात्रा दुबोझैँ तीव्र गतिमा मौलाउँदै गयो । आफ्नै प्रतिभाले उनी सानै उमेरमा चर्चित भए । त्यस बेला उनको प्रशंसाले काठमाडौँ छोपिएको थियो ।

चाहे काठमाडौँको पद्मोदय हाइस्कुलमा पढेका बेला होस्, चाहे विराटनगरको आदर्श विद्यालयमा पढेका बेला होस् र चाहे काठमाडौँकै विजय मेमोरियल हाइस्कुलमा पढेका बेला होस् त्यस घडी नै सीपी लोहनीले आफ्नो गायन प्रभुत्वलाई निकै माथि पुर्‍याएका थिए । त्यति मात्र होइन काठमाडौँको त्रिचन्द्र कलेजमा पढ्नेताका पनि उनी गायनकलामा खुबै चर्चामा आएका थिए ।

सीपी लोहनी सानैदेखि व्यक्तित्वशाली थिए । उनी सरल, नरम र शिष्टताका त नमुना नै मानिन्थे । २०२० सालको कुरा हो, त्यस बेला ‘माइती घर’को नायकमा सीपी लोहनीलाई निम्त्याइएको थियो । जनरल नरशमशेर जबराका अनुरोधमा उनी त्यस चलचित्रमा प्रवेश गरे । ‘माइती घर’को नायकका रूपमा प्रस्तुत हुँदै उनी नेपाली समाजमा प्रिय भए । त्यहीँ पुग्दा सबैले उनलाई चिने । त्यस चलचित्रमा नायिका चाहिँ माला सिन्हा थिइन् । ‘माइती घर’मा खेलिसकेपछि सीपी लोहनीले मालासिन्हासँग युगल गीत पनि गाए:

गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा

सुन्दर राम्रो भावना नयाँ छरेर दिलैमा ।

(स्वर: सीपी लोहनी र माला सिन्हा, सङ्गीत: नातिकाजी, शब्द: मवीवि शाह)

सीपी लोहनीको प्रथम भेट माला सिन्हासँग ‘माइती घर’ छायाङ्कनका सिलसिलामा भयो । त्यसैबिच ‘माइती घर’ चलचित्र कहिले काठमाडौँमा, कहिले पोखरामा र कहिले बम्बईमा छायाङ्कन हुन्थ्यो । त्यसै चलचित्रको निर्माणको सन्दर्भमा उनीहरूका मनमनमा प्रेमको डोरी कस्सिन थालेको थियो । क्रमशः उनीहरू एकअर्काका मायाप्रीतिका आधार बन्न थाले । उनीहरूमाझ मायाका जति चुली भए तापनि एकअर्कामा मौखिक जानकारीचाहिँ थिएन ।

२०२१ सालको सुरुको कुरो हो । फोटो कन्सर्नका मालिक डीबी थापाका हातबाट सीपी लोहनीले अचानक एउटा पत्र पाए । पत्र खोलेर हेर्दा उनले त्यसका शब्दशब्दमा माला सिन्हासँग रथयात्रा गर्न लागे । उनले त्यो पत्र दोहोर्‍याइ–तेहर्‍याई पढ्न थाले:

१९६५.२.५

८, टर्नररोड, बान्द्रा

बम्बई (भारत)

मेरो प्यारो सीपी लोहनी

मिठो माया र सुमधुर सम्झना ।

तिमीलाई छाडेर काठमाडौँबाट बम्बई आएपछि पनि मेरा आँखा र मेरो मन तिमीसँग टाँस्सिरहेकै छन् । तिमीसँगको नेपालको बसाइले तिमीप्रति मलाई निकै ठुलो आस्थाको जागृति भयो । तिम्रो व्यवहार र तिम्रो जीवनबाट तिमीसँग म बुहारीझारसरि लट्ठ परेँ । यी सबै कारणले मैले तिमीलाई नै जीवनसाथी छान्ने निर्णय गरेँ । 

सीपी लोहनीले खेलेको एउटै चलचित्र थियो, ‘माइती घर’ तर उनी एउटै चलचित्रबाट नामी भए । उनी गायनमा चाहिँ निरन्तर लागिपरे ।

सम्भवतः यो मेरो एकतर्फी धारणा होइन होला । म तिम्रो पनि औपचारिक चाहनाको पूर्ण प्रतीक्षामा छु । यस विषयमा तिमी मलाई खुला छातीले निर्धक्क चिठी लेख । तिमीले मलाई मेरो घरका ठेगानामा चिठी नपठाउनू । मसँग सधैँ रहने मेरी हेयर ड्रेसर बर्था (केश बनाउने इजरायली नागरिक)को ठेगानामा तिमीले चिठी पठायौ भने त्यो चिठी म सुरक्षितसाथ पाउनेछु ।

म तिम्रो चिठी नपाउन्जेल शान्त मनस्थितिमा हुनेछैन । म एकएक पल गन्दै तिम्रा प्रिय अक्षरहरू पर्खिबसेकी छु ।

तिमीलाई माया गर्ने तिम्री

माला सिन्हा

माला सिन्हाको चिठी सीपी लोहनीको जीवनको गीता बन्यो । त्यसैले उनले चिठीको प्रत्युत्तरमा माला सिन्हाप्रतिका आफ्ना सारा चाहना पस्के । वास्तवमा त्यसपछि उनीहरूको धेरैचोटि भेटघाट भयो र यो जोडी औपचारिक प्रेमलहरीमा गासिँदै गयो । एकअर्काप्रतिको प्रेम, विश्वास र समर्पणका कारण उनीहरू एउटै प्राणमा आबद्ध भए । अन्ततः उनीहरू २०२५ साल फागुन १ गते प्रणयसूत्रमा बाँधिए । भारतीय चलचित्रकी सुविख्यात नायिकासँग सीपी लोहनीको लगनगाँठो कसिएकामा एकपटक नेपाल हल्लाले रन्केको थियो । 

प्रकृतिको प्रेमोपहारका रूपमा उनीहरूबाट एउटै छोरी प्रतिभाको जन्म भयो । प्रतिभा पनि चलचित्रप्रति नै समर्पित थिइन् । उनले पनि पाँचवटा भारतीय चलचित्रमा नायिकाको भूमिका खेलिन् ।

सीपी लोहनीले खेलेको एउटै चलचित्र थियो, ‘माइती घर’ तर उनी एउटै चलचित्रबाट नामी भए । उनी गायनमा चाहिँ निरन्तर लागिपरे । लोहनीको गायन थोरै भए तापनि त्यो समय उनका लागि उल्लेखनीय रह्यो । वास्तवमा उनको गायनको गुणलाई श्रोताहरूले उचित मूल्याङ्कन गरे । त्यसैले उनले गाएका गीत प्रायः लोकप्रिय भए:

काला कुर्थैले ६ महिने जागिर खायाँ

दया मर्‍यो आफ्नै कालले म मरेँ सुर्तैले ।

(स्वर: सीपी लोहनी र अरुणा लामा, सङ्गीत: जयदेव, शब्द: प्रदीप रिमाल)

सीपी लोहनी संवत् १९९५ साल असोज शुक्ल परेवामा काठमाडौँमा जन्मेका थिए । उनको चिनाको नाउँ चिदम्बरप्रसाद लोहनी थियो । उनका बाबुबाजे काठमाडौँका सम्पन्न कुमाई थिए । त्यसैले उनी सानैदेखि सुख–समृद्धिमा हुर्कंदै आए । बीकम पढेर उनी दिल्लीमा एमकम पढ्न गए । गर्मीले उकुसमुकुस भएपछि एक वर्षमा नै उनी काठमाडौँ फिरे । लोकसेवा आयोगको जाँच दिएर उनी शाखा अधिकृत भए । उनको नियुक्ति भन्सारमा भयो । पछि उनी रघुपति जुट मिल र विरानगर जुट मिलको महाप्रबन्धक पनि भए । 

गायनमा मात्र होइन अन्य कार्यहरूमा पनि सीपी लोहनी जाँगरिला थिए । खास गरेर उनी टेबुल टेनिसका कुशल खेलाडी थिए । खेल्दाखेल्दै उनी भारतको बम्बई पनि पुगे र चीनको बेजिङ पनि पुगे । उनले त्यही खेलमा कुशलता हासिल गर्दा राजाहरू त्रिभुवन, महेन्द्र र वीरेन्द्रबाट पुरस्कार पनि पाए । २०२२ सालमा सीपी लोहनीले पुरुष र नारीस्वरमा युगल गीत गाएर जनमानसलाई चकित पारेका थिए । त्यसै बेला रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा नारीपुरुष स्वरमा प्रथम भएबापत उनले राजा महेन्द्रबाट स्वर्ण पदक पनि पाएका थिए ।

म तिम्रो चिठी नपाउन्जेल शान्त मनस्थितिमा हुनेछैन । म एकएक पल गन्दै तिम्रा प्रिय अक्षरहरू पर्खिबसेकी छु ।

राजा महेन्द्रले उनको गीत खुबै मन पराउँथे । त्यसैले राजाको फर्माइसमा उनी राजदरबारमा गीत गाउन पुग्थे । वास्तवमा सीपी लोहनी गीत गायनका एउटा सक्कली, सम्पन्न र माथिल्ला कोटिका प्रतिभा थिए । उनको जीवन एउटै यात्रामा सीमित नभएर बहुमुखी दिशातर्फ केन्द्रित थियो । त्यसैले उनी कुनै पनि क्षेत्रमा निरन्तर हिँड्न पाएनन् ।

उमेर ढल्कँदै जाँदा सीपी लोहनीले विद्युतीय सञ्चारमाध्यममा निरन्तर गीतहरू गाएनन् । विभिन्न सभा, सम्मेलन र कार्यक्रममा भने उनी गीतहरू गाइरहन्थे । उनको स्वर पछिसम्म पनि रापिलो, मीठो र उत्साहले भरिएको थियो । उनी चाहे नेपालमा होस् , चाहे भारतमा होस्, कुनै राम्रो सांस्कृतिक कार्यक्रम छ भने गीत गाउन जोसिने गर्थे । उनी प्रायः बम्बईमा बस्थे । त्यहाँ माला सिन्हा, प्रतिभा र सीपी लोहनीले सुखको जीवन भुक्तान गरिरहेका थिए । बम्बईमा पनि लोहनी आफ्ना पुराना गीतहरू दोहोर्‍याइ–तेहर्‍याई गाउने गर्थे र काठमाडौंमा पनि तिनै गीतले उनको मन समाइरहन्थ्यो । 

अशक्त हुँदा पनि सीपी लोहनीले ‘छ सलाम कसरी बोलाऊँ, हेर्न आउने पाहुनाहरूलाई’ भन्ने शब्द भुलेका थिएनन् । बेहोसीमा पनि उनी त्यही गीतको नसामा हुन्थे । अन्ततः उनी अचेत अवस्थामै काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा स्वर्गीय भए । अनि त्यो दिन थियो– २०८१ वैशाख १७ गते । उनकी धर्मपत्नी बलिउड अभिनेत्री माला सिन्हाले साठी वर्षको लामो प्रेमिल सम्बन्धको त्यसै दिन भौतिक रूपमा रुँदै बिदा गरेकी थिइन् । त्यस दिन नेपाली कला र सङ्गीतका आकाशमा कालो बादल लागेको थियो ।  

छ सलाम कसरी बोलाऊँ

हेर्न आउने पाहुनाहरूलाई ।

(स्वर : सीपी लोहनी र गीतादत्त, सङ्गीत : जयदेव, शब्द : प्रदीप रिमाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप