शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उदाहरणीय दम्पतीः तरकारी खेतीबाट गाउँमै कमाउँछन् मासिक ४० हजार

आइतबार, ०७ माघ २०७४, ०८ : ४५
आइतबार, ०७ माघ २०७४

लमजुङ - बेसीशहर नगरपालिका २, टारगाउँका एक दलित दम्पती दिनभरी तरकारी खेतीमा व्यस्त हुन्छन् । उत्साहका साथ उनीहरु तरकारी बारीमा रमाइरहेका भेटिन्छन् ।

वीरबहादुर विक ६२ वर्षका भए । उनकी श्रीमती चिजामाया ४८ वर्षकी भइन् । टारगाउँका यी दम्पतीले ५ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । बाह्रै महिना उनीहरुले विभिन्न (सिजन तथा बेसजिनका) तरकारी उत्पादन गर्ने गर्छन् । तरकारी खेतीबाट महिनामै ४० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । 

बीरवहादुर पहिले वैदेशिक रोजगारीमा साउदी गएका थिए । आफूले ९ बर्षसम्म साउदी अरबमा तरकारी खेती (कृषि) मा काम गरेको उनले बताए । एकमात्र छोरा बिरेन्द्र विकको २०६२ सालमा सवारी दूर्घटनामा परी निधन भयो । यो खबर सुनेपछि बीरवहादुर साउदीबाट नेपाल फर्किएका हुन् । साउदीको मरुभूमीमा लटरम्म तरकारी फलाएका विकले आफ्नै घर खेतमा तरकारी खेती गर्न सुरु गरे ।

वीरबहादुरलाई पत्नी चिजाले सघाउँदै आएकी छिन् । सुरुमा करेसाबारीमा गरिएको उनको तरकारी खेती विस्तारीत भएर अहिले व्यवसायीक रुप लिएको छ ।

आफ्नै बारीमा उत्पादन भएका तरकारी बेच्न बिहानै ६ बजे दुबै जना डोको बोकेर बेसीसहर झर्छन् । तरकारी बेचेर फर्केपछि उनीहरू पुनः साविककै काममा व्यस्त हुन्छन् । 

‘तरकारी खेतीले अहिले घरव्यवहार चलाउन सहज भएको छ,’ चिजामाया भन्छिन् । श्रीमान विदेश हुँदा भन्दा घरमै तरकारी खेतीमा लागेपछि आम्दानी बढेको उनी बताउँछिन् । 
 सिजन÷बेसिजन र चाडपर्वको पर्वाह नगरी विक दम्पती तरकारी खेतीमा तल्लिन हुन्छन् । अहिले दैनिक ४ हजार रुपैयाँसम्म आम्दानी हुने वीरबहादुर बताउँछन् ।

उनीहरुले तरकारी बेचेरै ७ र ११ कक्षामा पढ्दै गरेका दुई नातिको पालनपोषण गर्न समेत भ्याएका छन् । 

उदाहरणीय काम गरेर समाजलाई असल सन्देश प्रवाह गरेको भन्दै गत वर्ष उनीहरूलाई जिल्ला कृषि विकास कार्यालय, लमजुङले ४० हजार रुपैयाँ अनुदान दिएको थियो । 

त्यसलगत्तै, उनीहरूलाई केही गैरसरकारी संस्थाहरूले पनि अनुदान दिएका छन् । बिउ, मलखाद लगायतका कृषि सामग्री उनीहरू स्वयंले किन्ने गरेका छन् । पछिल्लो समय जिल्ला कृषि विकास कार्यालयले तरकारी उत्पादनमा वृद्धि ल्याउन प्राविधिक सहयोग र सल्लाह प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप