शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको अबको भूमिका कस्तो ?

बिहीबार, २५ माघ २०७४, १२ : १३
बिहीबार, २५ माघ २०७४

हामीले संसदीय व्यवस्था अँगालिसकेपछि नेपालमा सरकार पक्ष र प्रतिपक्षको भूमिका के हुन्छ भन्ने विषयमा कहिलै पनि गम्भीर बनाइएन ।  संसदीय व्यवस्थामा सरकारको भन्दा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । सही ट्र्याकमा हिँडाउनुको मुख्य दायित्व प्रतिपक्षको हुन्छ । तर प्रजातन्त्रिक पद्धतिलाई अँगााले पनि त्यसअनुसारको भूमिकामा हामी देखिएनौँ ।

संसदीय मर्यादा हामीले बुझ्न पनि सकेनौँ । हामीले प्रजातन्त्रलाई बुझेनौँ र बुझाउन पनि सकेनौँ । नेपालको मुख्य समस्या यही हो । सत्ताका लागि आफ्नो अनैतिक चरित्र देखाउने, दलहरू विखण्डन गर्ने परम्परा रह्यो । कुरा र काममा तादाम्यता देखिएको छैन ।

नेपालको पहिचान गौरव र इतिहास बुझ्न सकिएन । बुझ्न नसक्नेहरूको हातमा शासन हातमा रह्यो । प्रतिपक्ष पनि त्यस्तै रह्यो । लोकतन्त्रमा प्रतिपक्षको भूमिका के हुन्छ भन्ने विषय नै गौण बनाइयो । हावै हावामा लाग्यौँ । मैले के गरेँ भन्ने छैन, अरूले गरेनन् भन्ने महत्वपूर्ण बनाइयो ।

प्राकृतिक स्रोतमा सम्पन्न र  सुन्दर रहेको देशमा बेरोजगार बढे । गरिबी बढे । सङ्घीयतामा प्रदेश बढी बनाइयो । जसले गर्दा आर्थिक स्रोतले थेग्न नसक्ने अवस्था आउन सक्छ । धेरै जनप्रतिधि बनाउँदा पनि ख्याल गर्न सकेनौँ । आर्थिक अवस्थाले थाम्न सक्छ कि सक्दैन ? सोचनीय पक्ष छ । दुनियाँमा मरुभूमि स्वर्ग बने । हिउँ भरिएका देशहरू पनि विकासमा कायापलट ल्याए । तर हामी रेमिट्यान्समा आश्रित रह्यौँ । त्यसैलाई नै गौरव मानिएको छ ।

विश्वमा यस्ता नेता र पार्टी देखेकै छैन । भारतको उदाहरण दिनुपर्दा केही वर्ष पहिले प्रतिपक्षमा अटल बिहारी वाजपेयी थिए । तर उनले सदनमा बोल्दा प्रतिपक्षको जस्तो भूमिकाले बोलेनन् । उनले भनेका थिए ‘सबैभन्दा पहिले मेरो देश हो, त्यसपछि जनता र मेरो पार्टी हो ।’ नेहरु प्रधानमन्त्री हुँदा प्रतिपक्षमा रहेर रोहियाले भनेका छन्, ‘मेरो देशमा दुई काम गर । म पाँच वर्षसम्म मौन बस्छु । एक–  जनताको घरमा शौचालय बनाइदेऊ र स्कुल खोल । दोस्रो कुरा– किसानको घरमा पानी पुर्याइदेऊ ।’ जनताका आधारभूत आवश्यकता पूरा गरिदिए मैले सरकारलाई पूर्ण समर्थन गर्छु भने । बेलायतमा क्यामरुन दाजुभाइले प्रतिपक्षको भूमिका पनि प्रसंशनीय छ ।

तर नेपालमा हारे वा जिते पनि आर्यघाटमा पुग्ने बेलासम्म नेता बन्ने प्रचलन छ । आफूले गर्न नसके गिरोहले सञ्चालन गरिएको छ । तसर्थ लोकतन्त्रमा  आर्थिक, सामाजिक उन्नतिका लागि प्रतिपक्ष भूमिका ठोस हुनुपर्छ । प्रतिपक्षमा रहेर किसानसँग कसरी जोडिने विषयमा भूमिका खेल्नुपर्छ । वैदेशिक नीतिको विषयमा पनि काँग्रेसको धारणा क्लियर हुनुपर्छ । विकासका विषयमा हामी सबैको धारणा साझा बन्नुपर्छ ।
सात पुस्तालाई पुग्नेगरी आर्थिक जोहो गरिएको छ । कसरी ? भ्रष्टचार । भ्रष्टचारीका विषयमा काँग्रेस प्रतिनिधिले आवाज उठाउनुपर्छ । जनतालाई विकाससँग जोड्न र सार्वभौम मुलुक बनाउनका लागि काँग्रेसको ठोस एजेन्डा संसदमा उठाउन सक्नुपर्छ ।

नेपालमा नाकाबन्दी लागेको समय भारतको संसदमा ठूलो बहस भएको थियो । तर, हाम्रो संसदमा बहस हुन सकेन । भविष्यमा आइपर्ने मुलुकका समस्यमा नेपाली काँग्रेसका सांसदहरूले विशेष भूमिकामा खेल्नुपर्छ । संसदमा खेलेको भूमिकाको आधारमा नेतृत्व छानिने परम्पराको सुरुवात हुनुपर्छ ।

काँग्रेसले विगतमा संसदमा गरेका गलत गतिविधिहरू तुरुन्त छोड्नुपर्छ । बहसको थलो संसदलाई बनाउनुपर्छ । बन्द हड्ताल जस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । बन्दको थलो होइन, बहसको थलो संसद बनाउनुपर्छ । लगातारको बहसले निकास दिन्छ । हालसम्म संसदमा एजेन्डामा बहस हुन सकेन । अबको संसद एजेन्डामा केन्द्रित हुनुपर्छ । एजेन्डाविहीन भएकाले विगतमा कमजोर भयौँ ।

सातै प्रदेशमा काँग्रेसको सरकार नबन्ने अवस्था छ । सङ्घीयताको प्रारम्भिक चरणमा काँग्रेसको हातबाट सत्ता गुमेको छ । यस्तो अवस्थामा जनप्रतिनिधिको भूमिका अन्य समयमा भन्दा फरक विशेष हुनुपर्छ । नेपाली काँग्रेस सकरात्मक प्रतिपक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुनपर्छ । सरकार बाहिर रहेर नेपाली काँग्रेस नेतृत्वको भूमिकामा देखिनुपर्छ । व्यक्ति, पार्टी वा समूहभन्दा संसद सदस्यहरू प्रणालीमा चल्नुपर्छ ।
नेपाल सङ्कटमा छ, त्यसकारण राष्ट्रिय एजेन्डामा घनिभूत छलफल गरिनुपर्छ । सिक्किमीकरणका कुरा आएका छन् । भुटानको राजनीतिमा भारतले कसरी खेल्यो ? यी यावत विषयमा बहस हुनुपर्छ । काँग्रेस स्वयम्मा एक पाठशाला हो । सबैलाई समान न्यायका लागि सदनमा काँग्रेसले आवाज उठाउनुपर्छ ।

वामगठबन्धन नटुटोस्, हाम्रो कामना रहन्छ । तत्काललाई त रमाइलो होला तर नराम्रो नजिर बस्छ । जनमत नै वामपन्थीको पक्षमा रहेको छ । नेपाली काँग्रेस सरकार बनाउने गिराउने खेलमा लाग्नु हुँदैन । स्थिर सरकारको लागि काँग्रेसको सहयोग हुुनुपर्छ ।

सङ्घीयतामा केन्द्र र प्रदेश ठूलो बनाइएको छ । आर्थिक बोझ थपिएको छ । प्रशासनिक खर्च बढ्नेछ । विकास बजेटमा कटौती हुनेछ । राजनीतिक मूल्य र मान्यताका आधारमा टाटै पल्टिएको छ । कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाका लागि तल्लो स्तरबाट सोचिनुपर्छ ।

प्रस्तुति : लिलु डुम्रे
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्र भण्डारी
चन्द्र भण्डारी

भण्डारी काँग्रेस नेता हुन् ।

लेखकबाट थप