शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
स्वास्थ्य

के बालबालिकामा हुने अटिजम निको हुँदैन ?

बिहीबार, २१ पुस २०७९

काठमाडौँ । अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक (न्यूरो डेभ्लपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार विश्वमा हरेक ६८ जना नवजात शिशुमध्ये १ जनालाई अटिजम हुन्छ । 

बालबालिकामा अटिजम आशङ्कामा धेरै अभिभावकले विभिन्न किसिमका परीक्षण, उपचार निरन्तर गरिरहेको बताउँछन् । नेपालमा अटिजम भएकाहरूको वास्तविक तथ्याङ्क उपलब्ध छैन । 

कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्कीले अटिजमबारे यसरी जानकारी दिएका छन्: 

के हो अटिजम ?

अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक ((न्यूरो डेभ्लपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । यसलाई अटिजम स्प्रेक्ट्रम डिस्अडरको रूपमा लिइन्छ ।

अटिजम भएका बालबालिका सामाजिक अन्तरक्रिया, संवादमा अन्य सामान्य बच्चाहरुभन्दा समस्या हुन्छ । अटिजम भएका बालबालिकाहरूले एउटै व्यवहार, एउटै रुचि पटक पटक देखाउँछन् । उदाहरणका लागि आँखामा आँखा जुधाउने, बोल्दा अरू मान्छे वरिपरि छन् कि छैनन् भनेर महसुस गर्ने, नमस्ते, बाइबाइ गर्दा हात जोड्ने, हल्लाउने गरे पनि आवाज ननिकाल्ने, केही चाहियो भने औँलाले देखाएर आमा बुवाको मुखतिर हेर्ने लगायत हाउभाउ देखाउँछन् । यस्ता खालका हाउभाउ डेढदेखि दुई वर्षसम्म हुनुपर्छ । 

अटिजम भएका  बालबालिकाहरूमा सामाजिक अन्तरक्रिया र हाउभाउ कम हुन्छ । यस्तै, उनीहरू लगातार एउटै व्यवहार देखाउँछन् । हात पटक पटक हल्लाउने, घुम्ने कुरा धेरै ध्यान दिएर हेर्ने, खेलौना गाडीको चक्का मात्रै घुमाइरहने वा पङ्खा हेरेर टोलाउने, कलम भेटाएमा हेरेर टोलाइरहने, सामान्य रूपमा दैनिक हामीले सुन्ने आवाज जस्तै मिक्स्चरको आवाज, पानी उमाल्दा किट्लीबाट आउने आवाज र गाडीको आवाजले उनीहरूलाई एकदमै गाह्रो भएर कान बन्द गर्ने लगायत समस्या देखिन्छ ।  

खानामा पनि समस्या हुन्छ । अटिजम भएका कोही बालबालिकाले गिलो नरम खानेकुराहरुमात्रै खान खोज्छन् । कडा चिप्स, चकलेटहरू, बिस्कुट टोकेर चपाएर निल्नुपर्ने हुन्छ । यो कुराहरू खान समस्या हुन सक्छ । 

यस्तै, लहरै खेलौना गाडी लगाउने, कुनै सामान, जुत्ताहरू जम्मा गरेर लहरै राख्ने, सुन्तलाका बोक्रा जम्मा गरेर लहरै राख्दा कसैले डिस्टर्ब गर्‍यो भने एकदमै गाह्रो मान्छन् । त्यसपछि रुने कराउने चिच्याउने गर्छन् । यस्ता लक्षणहरू अटिजमका बालबालिकामा देखिन्छ । यो सँगसँगै बोली र भाषाको विकासमा पनि ९० प्रतिशत ढिला हुन सक्छ ।

अटिजम परीक्षणबाट थाहा पाउन सकिन्छ ?

बालबालिकामा करिब १८ महिनादेखि दुई वर्षसम्म अटिजमको उल्लेखित लक्षण देखा पर्न थाल्छ । अटिजम भएको ६ वर्ष नपुग्दै पहिचान गर्न सकिन्छ । 

सामान्य मेडिकल रोगहरू जस्तो अटिजम भएका बालबालिकालाई ल्याब परीक्षणमार्फत अर्थात् रगत, दिसा, पिसाब, सिटी स्क्यान, एमआई परीक्षणले केही पनि लाभ हुँदैन । यसबाट केही पनि पहिचान गर्न सकिँदैन । 

अटिजम भएको अवस्थालाई अभिभावकसँग कुरा गरेर बालबालिकाको व्यवहार कस्तो छ, के गर्छन्, तिनको व्यवहार हेरेर, अन्तरक्रिया गरेर पहिचान गर्ने अवस्था रहन्छ । यो भनिरहँदा सबै अटिजम भएका बालबालिकामा परीक्षण नै नचाहिने भन्ने हुँदैन । अटिजम भएका बालबालिकाहरूमा  छारे, मिर्गीका झट्काले बेहोस हुने लक्षण देखिन सक्छ ।  त्यो हुँदा न्यूरोलोजी परीक्षण सिटी स्क्यान चाहिन सक्छ । 

के यसको उपचार छैन ?

यसको उपचार भनेकै तत्काल लक्षण थाहा पाएर लक्षण नियन्त्रणका लागि उपचार गर्ने हो । अटिजम अहिलेसम्म यही औषधिले  निको पार्ने भनेर  प्रमाणित भएको छैन । 

यो भन्दैमा अटिजम भएका बालबालिकामा औषधि नै नदिइने पनि होइन । अटिजम भएका बालबालिकाहरूमा निद्राको समस्या हुने गर्छ । कहिलेकाहीँ आफैलाई टोक्ने, चिथोर्ने, टाउको भित्तामा ठोक्याउने जस्ता आफैलाई दुःख दिने व्यवहार देखाउँछन् । यस्ता व्यवहार देखाए भने औषधि सेवन गर्नुपर्ने स्थिति पनि आउन सक्छ । 

सँगसँगै छारे, मिर्गीका लक्षण छ भने उपचार गर्ने विधि छन् । तर अटिजमको मुख्य लक्षणलाई नै सुधार गर्न कुनै औषधि विकास भएको छैन । 

अटिजम निको हुन्छ त ?

मस्तिष्कको विकासात्मक (न्यूरो डेभ्लपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । न्यूरोको विकाससम्बन्धी समस्यालाई यो अवस्थामा निको पार्ने उपचार विधि छैन । अटिजम भएपछि एउटा मात्रै विधि तत्काल पत्ता लगाएर उपचार गर्ने हो । सामाजिक अन्तरक्रिया गरेर बालबालिकाको विकाससम्बन्धी सुधार गर्न सकिन्छ । 

नियन्त्रणमा धेरै उपचार छन् । भाषागत थेरापी, अकुपेस्नल थेरापीदेखि बानी व्यवहारको थेरापी गरिन्छ । अभिभावकहरूलाई तालिम दिएर बालबालिकासँग कसरी व्यवहार गर्ने, उनीहरूको आइ कन्ट्याक्टमा कसरी सुधार गर्ने, नमस्ते लगायतका कुरा कसरी सिकाउने भनेर जानकारी दिइन्छ । अभिभावकले यस्तो तालिम लिन अत्यन्त जरुरी हुन्छ ।  

कान्ति बाल अस्पतालको बाल मनोरोग विभागमा ४० देखि ५० प्रतिशत विकाससम्बन्धी समस्या भएका बालबालिकाहरूलाई उनीहरूका अभिभावकहरूले लिएर आउने गरेका छन् । त्यसमध्ये पनि अटिजमको मात्रा धेरै छ । करिब सय जना विकाससम्बन्धी समस्या भएका बालबालिकामध्ये ७÷८ जनामा अटिजमको लक्षण देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया