बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड र ओलीबीच ५ घण्टा छलफल, मन्त्रिपरिषदबारे आजै सहमति जुट्ने

सोमबार, ०२ माघ २०७९, १४ : ५७
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । सरकारलाई पूर्णता दिनेलगायतका विषयबारे प्याकेजमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै ५ घण्टा छलफल भएको छ ।  एमाले अध्यक्ष ओली निवास बालकोटमा बिहान १० बजेदेखि दुई नेताबीचको छलफलमा आजै मन्त्रिपरिषदबारे टुंगोमा पुग्ने सहमति भएको छ । 

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारबारे आजै टुंगोमा पुगिने बताए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको सर्वदलीय बैठक भोलि मंगलबार बस्ने समेत जानकारी दिए ।  ‘सरकार विस्तारबारे आजै टुंगिन्छ । भोलि विस्वासको मत दिने नेताहरुको बैठक छ । भोलि थाहा हुन्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीकै निवासमा लञ्च मिटिङसहितको वार्ताका लागि बालकोट पुगेका थिए । 

निर्वाचनपछि एमाले नेतृत्वमा बनेको नयाँ समीकरणपछि प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा केन्द्रदेखि प्रदेश सम्मका सरकार विस्तार हुन सकेका छैनन् ।  ‘वान टु वानमा केके विषयमा कुरा भएको छ भन्ने थाहा हुने कुरा भएन । तर बसाईं हेर्दा निश्कर्षमा पुग्नेजस्तो देखन्छि’, अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईले रातोपाटीसँग भने ।

यसअघि पनि ओली प्रचण्ड कहिले बालुवाटार त कहिले बालकोटमा वान टु वान वार्ता हुदै आएका छन् । ओली प्रचण्डको वान टु वान पछि अन्य सत्ता साझेदार दलका नेताहरुसँग ओली र प्रचण्डले पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने गरेका छन् ।  पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले सोही दिन सात मन्त्री नियुक्त गरेका थिए । त्यसबेला प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पुर्णता दिन नेताहरु सहमत बनेका थिए । तर प्रधानमन्त्रीले पुस २६ गते कांग्रेससहित अन्य सबैजसो दलबाट विश्वासको मत पाएपछि एमाले सशंकित भएको थियो ।

कांग्रेसले विश्वासको मत दिदैमा एमाले सशंकित बन्न जरुरी नरहेको माओवादी नेताहरुले बताउने गरेपनि प्रचण्ड र देउवाबीच कुनै न कुनै सहमति गरेको हुनसक्ने एमाले नेताहरुको बुझाई छ । प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले सभामुख र राष्ट्रपतिमा चासो देखाउदै आएको छ । त्यसका लागि कांग्रेसले सभापति देउवालाई प्रधानमन्त्री प्रचण्डसँग डील गर्न बैठकमै निर्णय गरिसकेको छ । कांग्रेसको यो चालबाजीलाई एमालेले सत्ता गठबन्धन फुटाउने षड्यन्त्रका रुपमा बुझ्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप