बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा औद्योगिक क्षेत्र– जग्गा छ तर नयाँ उद्योगीलाई प्रवेश छैन

मङ्गलबार, ०८ फागुन २०७४, १४ : ३२
मङ्गलबार, ०८ फागुन २०७४

हेटौँडा औद्योगिक क्षेत्रमा बन्द रहेका उद्योगहरूले आफ्नो लिज सम्झौता रद्द नगर्दा नयाँ उद्योगहरू प्रवेश गर्न पाएका छैनन् ।

सञ्चालनमा आएर विभिन्न कारणले बन्द भएका चार उद्योगले औद्योगिक क्षेत्रको सयौँ रोपनी जग्गालाई हडपिरहेका कारण नयाँले अवसर नपाएका हुन् ।

बन्द भएका ठूला उद्योगहरू

रिजोवाइन क्वालिटी फुड्स प्रालि, विराट लेदर इन्ड्रस्ट्रिज, नेपाल वनस्पती घिउ उद्योग र महाशक्ति सोप एन्ड केमिकल बन्द भएका छन् ।

नेपाल वनस्पती घिउ उद्योगले ७९ रोपनी जग्गा लिजमा लिएको थियो भने महाशक्ति सोप एन्ड केमिकलले ४० रोपनी जग्गा लिएर उद्योग सञ्चालन गरेको थियो ।

मासु तथा मासुजन्य पदार्थको बिक्री गर्ने गरी रिजोवाइन क्वालिटी फुड स्थापना भएको थियो । छाला प्रशोधनका लागि ठूलो लगानीमा विराट लेदर इन्डस्ट्रिज सञ्चालन गरिएको थियो ।

नेपाल वनस्पती घिउ उद्योगले वनस्पती घिउ उत्पादन कार्यका लागि सुरु गरिएको थियो । लुगा धुने साबुनका लागि स्थापित महाशक्ति सोप पनि बन्द अवस्थामा छ ।

व्यवस्थापनको किचलो, कामदार र उद्योगीबीचको असमझदारी  तथा बैङ्क ऋणले ठूला उद्योगहरू बन्द भएका छन् । नेपाल वनस्पती घिउ उद्योग व्यवस्थापनको कारणले बन्द भएको छ ।

महाशक्ति सोप कच्चा पदार्थ आपूर्ति गर्न असमर्थ तथा कामदारका कारण बन्द भएको छ भने रिजोवाइनले राजनीतिक कारण देखाइ बन्द भएको छ ।

उद्योग सञ्चालन नहुने तथा लिज सम्झौता पनि रद्द नगर्दा नयाँ उद्योगीहरूलाई ठाउँ उपलब्ध गराउन नसकिएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रशासन अधिकृत राजेन्द्र श्रेष्ठका अनुसार पछिल्लो दिनमा उद्योग सञ्चालनका लागि जग्गा खोज्नेहरू बढेका छन् ।

सयौँ रोपनी जग्गा प्रयोगविहीन भए पनि कार्यालय भने नयाँ उद्योगीलाई जग्गा उपलब्ध गराउन असमर्थ देखिएको छ ।

बन्द रहेका उद्योगीहरू किन छोड्दैनन् जग्गा ?
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पहिलो पटकका लागि ४० वर्षको लिज सम्झौता गरेको हुन्छ ।

उद्योगले सम्झौता गर्दा कार्यालयलाई तोके बमोजिमको एक पटक मात्र प्रवेश शुल्क र सम्झौताको अवधि समाप्त भएपछि नवीकरण गर्दा तोके बमोजिमको नवीकरण शुल्क बुझाउन पर्छ ।

नयाँ उद्योगहरूका लागि राष्ट्रिय स्तरको भए २१ दिन र अन्तर्राष्ट्रिय स्तरको भए ३० दिनको म्याद दिएर सार्वजनिक सूचना आह्वान गरिन्छ ।

व्यवस्थापन कार्यालयले प्रवेश, नवीकरण, पानी र बिजुली शुल्क उठाएको हुन्छ । पानी र बिजुलीको व्यवस्था कार्यालयले गरेको हुन्छ भने उद्योगहरूले त्यसबापतको शुल्क व्यवस्थापन कार्यालय नै बुझाउनुपर्छ । 


प्रवेश गरेका उद्योग बीचमा बन्द भएको अवस्थामा कार्यालयले एकतर्फी  लिज सम्झौता रद्द गर्न सक्दैन । सरकारी पहलमा सञ्चालित औद्योगिक क्षेत्रमा प्रवेश तथा नवीकरण शुल्कमा कमी भएकाले नयाँ उद्योगीहरू प्रवेश गर्न इच्छुक देखिएको श्रेष्ठले बताए ।

रुग्ण उद्योगहरूलाई सरकारी अनुदान तथा ऋण मिनाहाको पहल पनि हुने भएकाले उद्योगीहरूले जग्गा छोड्न चाहँदैनन् ।

राजनीतिक  लबिङ गर्ने उद्योगीहरू पनि रहेको कार्यालयले जनाएको छ । रुग्ण उद्योगको नाममा केही फाइल मन्त्रालयमा पुगेको कार्यालयको जनाएको छ ।

पानी तथा बिजुली आपूर्तिमा समस्या आउने जनाउँदै नयाँलाई प्रवेशमा रोक्न सञ्चालित उद्योगीहरू पनि लाग्ने गरेको एक उद्योगीले बताए ।

गुणात्मक फड्को मार्दै अन्तर्राष्ट्रिय कम्पनी
हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय कम्पनीहरूले उत्पादन तथा पँुजी वृद्धिमा सफलता प्राप्त गरेका छन् ।

विसं. २०४० देखि सञ्चालित एसियन पेन्टसले अनवरत २४ वर्ष कटाएको छ । पुँजीका तथा कामदारका हिसाबले एसियन पेन्टस् सबैभन्दा अघि छ । ०६४ देखि अर्को पेन्टस् कम्पनी बर्जर पनि थपिएको थियो ।

बोतलको बिर्को निर्माण गर्नका लागि क्लोजर सिस्टम इन्टरनेसनल र प्लास्टिकको चौकोस निर्माण गर्ने गरी विरा ड्रागन फ्लाई बहुराष्ट्रिय कम्पनीले पनि आफ्ना उत्पादन सुरु गरेका छन् ।

बहुर्राष्ट्रिय कम्पनीहरूले डे र नाइट गरी दुई सिफ्टमा उत्पादन गरिरहेका छन् । कम्पनीहरूले मजदुरलाई श्रमिक ऐनले तोकेबमोजिम तलब दिएका छन् भने एक वर्ष काम गरेको कामदारलाई स्थायी गरेका छन् । 

दक्ष कामदारको अभाव
करिब चार हजार कामदार रहेको क्षेत्रमा दक्ष कामदारको सङ्ख्या भने न्यून रहेको छ । सैद्धान्तिक ज्ञान लिएका तर व्यावहारिक कामका अनुभव नभएका युवाहरू कामका लागि उद्योगहरूमा आउने नगरेको उद्योगीहरूले बताएका छन् ।

कामदारको अभावमा कतिपय उद्योगहरूले नाइट सिफ्टमा उत्पादन गर्न चाहे पनि सकेका छैनन् ।

कच्चा पदार्थ र कामदारका लागि अधिकांश कम्पनी भारतमा निर्भर रहेका छन् । मल्टिपल प्लास्टिक उद्योग प्रालिका म्यानेजर ऐश्वर्य श्रेष्ठले कामदार नभएका कारण रात्रिकालीन उत्पादन गर्न नसकिएको बताए ।

उनले भने– ‘मेसिनमा कुनै समस्या आए भारतीय कामदारको भर पर्नुपर्छ ।

विसंं २०२० मङ्सिर २० देखि सञ्चालनमा आएको औद्योगिक क्षेत्रमा हाल १४४ उद्योगहरू सञ्चालनमा छन् । औद्योगिक क्षेत्र तीन हजार ११९ रोपनीमा फैलिएको छ ।

औद्योगिक क्षेत्रमा १४ उद्योगहरू निर्माणाधीन अवस्थामा छन् । साना, ठूला गरी नौ उद्योग बन्द रहेका छन् । औद्योगिक क्षेत्र विस्तार गर्ने सरकारी निर्णयसँगै हेटौँडा औद्योगिक क्षेत्रको क्षेत्रफल पनि बढेको छ ।

विस्तारित क्षेत्रमा १५ उद्योगहरूले व्यवस्थापन कार्यालयसँग लिज सम्झौता गरेका छन् । नयाँ उद्योगीका लागि प्रवेश शुल्क जमिनको प्रति रोपनी २५ हजार र भवनको प्रति वर्गफुट १५ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप