शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय
साहित्य

स्मृतिमा डा. मोतीलाल पराजुली

कसरी बने लोकसाहित्यका ‘आधार स्तम्भ’ ?
शनिबार, ०७ माघ २०७९, १६ : २५
शनिबार, ०७ माघ २०७९

मोतीलाल पराजुली नेपाली लोकसाहित्यका क्षेत्रका विशिष्ट व्यक्तित्व हुन् । सन् २०१० तिर नेपाली केन्द्रीय विभागमा स्नातकोत्तर तहको अध्ययन गर्दा एक असल गुरुका रूपमा मैले उनलाई चिनेको थिएँ । सामान्य व्यवहारका तर आफ्नो विषयमा गहन विज्ञता राख्ने प्राध्यापक थिए उनी । होचो तर केही मोटो शारीरिक बनावटका गुुरु ढाका टोपी, घुर्मैलो कोटपेन्ट र कालो झोला बोकेर अध्यापनका लागि कक्षाकोठामा पस्थे । 

कतिपय विद्यार्थीहरू उनको नरम स्वाभावका कारण साथीको जस्तो व्यवहार पनि गर्थे, होहल्ला पनि गर्थे तर उनको प्राज्ञिक विज्ञतामाथि भने सबै नतमस्तक बन्थे, उनको कक्षा पनि कहिल्यै छुटाउँदैनथे । 

पछि आएर थाहा भयो कास्की जिल्लाको चापाकोटमा २०१३ माघ ६ गते जन्मिएका सामान्य शिक्षकजस्तो देखिने हाम्रा गुरु मोतीलाल पराजुली नेपाली लोकसाहित्य जगतका आधार स्तम्भ पो रहेछन् । २०७८ जेठ २५ गते जब उहाँको निधन भयो, अनि लोकसाहित्यका अध्ययेताहरू सबैले उहाँको अभाव महसुस गरे । 

क्यान्सर अनि कोरोना

पिएचडीमा डा भक्त राईका शोध निर्देशक थिए मोतीलाल पराजुली । राईका अनुसार उनले विद्यावारिधि गर्दा गाउँको एउटा प्रावि स्कुलमा अस्थायी शिक्षक भएर अध्यापन गराउँदै त्यो क्षेत्रमा पूरै समय बसेर त्यहाँका लोकसाहित्यका बारेमा अध्ययन गरे । त्यही गाउँघरमा रहँदा उनले धूमपान गर्न पनि सिके । धूमपानको लत त्याग्न नसक्दा पछिल्लो समय उनलाई घाँटीको क्यान्सर देखिएको थियो । 

पिएचडी गर्दा एउटा प्राप्ति पनि गरेँ, अर्को नराम्रो लत पनि बसालेँ भनेर पराजुलीले पाथीभरा यात्राको क्रममा राईलाई भनेका थिए । घाँटीको अपरेसनपछि धूमपान त्यागे पनि त्रिविबाट अवकाश पाएको केही समयमै कोरोनाले मोतीलाल गुरुलाई लग्यो । श्रीमान्को निधनपछि मानसिक रुपमा निकै कमजोर भएकी थिइन् उनकी धर्मपत्नी । दैवको लीला, पराजुली गुरुको निधनको केही समयमै कोरोनाका कारण गुरुमाको पनि भौतिक शरीर रहेन ।

moti lal parajuli1

लोकसाहित्यमा विशेषज्ञ हुन गरेका सङ्घर्ष

नेपालीमा स्नातकोत्तर अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयमा विसं. २०३७ मा आएका थिए मोतीलाल पराजुली । त्यतिबेला स्नातकोत्तर तहको अन्तिम वर्षमा एउटा थेसिस लेख्नुपथ्र्यो । सो समय त्रिविमा लोकसाहित्य अध्ययन गराउने मुख्य गुरु थिए प्राडा चूडामणि बन्धु । 

“स्नातकोत्तर तहको थेसिस लेख्ने क्रममा उहाँसँग भेट भएको थियो,” बन्धु भन्छन्, “उहाँले खास गरी पोखरामा प्रचलित लोकगाथाको विषयमा थेसिस लेख्नुभयो ।” पराजुलीले अध्ययन गरेको जस्तो सामाजिक लोकगाथा त्योभन्दा पहिले सङ्कलन भएका थिएनन्, त्यो कामको सबैले प्रशंसा पनि गरेका कारण पनि लोकसाहित्यमा रुचि बढेर उनी त्यतातिर लागेका थिए । 

स्नातकोत्तर तहमा मात्र होइन, पराजुलीले विद्यावारिधिमा पनि लोककथालाई नै आफ्नो अनुसन्धानको विषय बनाएका थिए । “त्यसबेला लोककथाको विवेचनाको क्रममा लोककथाको संरचनाको अध्ययन गर्न गाह्रै हुन्थ्यो । किनभने त्यसमा सैद्धान्तिक आधारका लागि सामग्री सङ्कलन व्यापक रूपमा गर्नुपर्ने हुन्छ,” बन्धु भन्छन्, “त्यस कार्यमा उहाँ लाग्नुभयो र मेहनत पनि निकै गर्नुभयो ।” उनले विद्यावारिधि गर्दाको निर्देशक पनि बन्धु नै थिए । 

निर्देशनका क्रममा बन्धुले उनलाई दुर्लभ पुस्तक र विभिन्न पुस्तकालयहरू अध्ययनका लागि सिफारिस गरेका थिए । “लोककथाहरूको वर्गीकरणका बारेमा स्टिभ थम्सनको एउटा ठूलो किताब छ, त्यो किताब त्यतिबेला अमेरिकन पुस्तकालयमा मात्र थियो,” त्यो समयको स्मरण गर्दै बन्धु भन्छन्, “त्यो किताबमा हेर्नुस् भनेपछि त्यहाँ गएर राम्रो अध्ययन गर्नुभयो ।” अमेरिकन अध्येता स्टिभ थम्सनले लोककथाको विस्तृत वर्गीकरण गरेका थिए । त्यसैका आधारमा उनले नेपाली लोककथाको विवेचना गरेको बन्धु बताउँछन् । 

यस्तै पश्चिममा संरचनावादीहरूले लोककथा अध्ययन गर्ने एउटा पद्धति बनाएका थिए । त्यसको पनि पराजुलीले विस्तृत रूपमा अध्ययन गरे । पराजुलीभन्दा अघि त्यस्तो वर्गीकरण भएको थिएन भन्छन् बन्धु । उनको त्यो अध्ययनले सबै भाषाका  लोककथाको वर्गीकरण गर्न आधार तयार गर्यो । लोककथाको अध्ययनमा यी दुई पक्ष महत्त्वपूर्ण रहेको र त्यसलाई नेपाली लोककथाको अध्ययनमा समावेश गर्ने महत्त्वपूर्ण काम पराजुलीले गरे । 

विद्यावारिधिका लागि मात्र होइन, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागबाट बन्धुले अवकाश लिएपछि लोकसाहित्यको अध्ययन अध्यापनमा विशेषज्ञका रूपमा पराजुली उदाए । यस क्रममा उनले स्नातकोत्तर तहका धेरै विद्यार्थीलाई लोकसाहित्यमा थेसिस पनि लेखाए । 

बन्धुले धेरै विद्यार्थीलाई अध्ययन अनुसन्धान गराए तर पराजुली जत्तिको उत्कृष्ट विद्यार्थी अरू थिएनन् । उनले गरेको काम निकै महत्त्वपूर्ण भएकाले नै बन्धुले उनको खुलेर प्रशंसा गर्छन् । 

शिक्षादीक्षा

पाँच वर्षको उमेरमा पिता मणिरत्नबाट अक्षरारम्भ गरेका पराजुलीको औपचारिक अध्ययन भने कास्कीकै चापाकोट प्राथमिक विद्यालयबाट सुरु भएको देखिन्छ । त्यसपछि पोखरा संस्कृत प्रधान पाठशालामा कक्षा ६, ७ र ८ सम्म अध्ययन गरे भने गोरखपुरको नारङ संस्कृत महाविद्यालयबाट ९ र १० को अध्ययन पूरा गरे । 

गोरखपुरबाट उत्तरमध्यमा उत्तीर्ण भएपछि उनी काठमाडौँको वाल्मीकि विद्यापीठमा अध्ययनका लागि आए । पराजुलीले २०३७ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे । 

त्यसपछि प्राध्यापन पेसामा लागेका उनले विसं २०५५ मा ‘नेपाली लोककथाका अभिप्रायहरूको अध्ययन’ शीर्षकमा चूडामणि बन्धुको निर्देशनमा विद्यावारिधि गरे । विद्यावारिधिपछि उनी लोकसाहित्यको अनुसन्धानमा जीवनपर्यन्त लागे । 

motilal 2

शिक्षणमै मग्न 

पेसाका दृष्टिले मोतीलाल पराजुली प्राध्यापन र लोकसाहित्यको अध्ययनमै ऊर्जाशील समय खर्चेको देखिन्छ । सुरुमा उनले कास्कीकै प्राथमिक विद्यालयमा शिक्षकका रूपमा काम गरे । २०३७ सालदेखि सहायक प्राध्यापकका रूपमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट प्राध्यापन पेसा सुरु गरे । २०४२ देखि उनी उपप्राध्यापक भएर पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरामा प्राध्यापन गरे भने पछिल्लो समय प्राध्यापकका रूपमा नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा रहेर काम गरे । 

आधारभूत शिक्षा संस्कृत साहित्य भएकाले पराजुलीले सुरुमा यो विषय पनि अध्यापन गराएका थिए । “संस्कृत साहित्यमा पनि उनको विशेष दक्खल थियो,” प्राडा कृष्णहरि बराल भन्छन्, “उनले स्नातकोत्तर तहमा समेत संस्कृत साहित्यको अध्यापन गराए तर लोकसाहित्यमा विद्यावारिधि गरेपछि सोही विषय अध्यापन गराउन थाले ।”

प्राध्यापनका साथै लोकसाहित्यको अध्ययन, अनुसन्धान, सङ्कलन र कार्यपत्र प्रस्तुतीकरण गर्ने कार्यमा पराजुली जीवनभर लागे । 

त्यस क्रममा उनका ‘नेपाली लोकगाथा’, ‘नेपाली रचना कला’, ‘धर्मात्मा राजा’, ‘विशेष लेखन’, ‘नेपाली लोकनाटक ः सिद्धान्त र विवेचना’, ‘सोरठी नृत्य नाटिका ः सैद्धान्तिक अध्ययन’, नेपालीमा प्रचलित नृत्य र नाटिकाहरू’, ‘नेपाली लोककथा सङ्ग्रह’ (चार भाग), ‘नेपाल लोकसाहित्यको रूपरेखा’ (सहलेखन), नेपाली लोककथा सिद्धान्त र विश्लेषण’, ‘नेपाली प्रदर्शनकारी कला भाग–४’ लगायत कृति प्रकाशित छन् । 

‘नेपाली लोककथामा अभिप्राय’ शीर्षकमा विद्यावारिधि गरेका उनले ‘बालन लोकनाट्य’, ‘सवाई लोककाव्य’, ‘लोक साहित्यका अध्ययन पद्धति’, ‘रामकथा’, ‘सोरठी पावरा र सोरठी लोकनाटकको तुलना’, ‘कास्की जिल्लाका गाथा’, ‘गण्डकी अञ्चलका लोकनाच’, ‘आँधीखोले भजन चुड्का’ लगायतका विषयमा अनुसन्धान गरेका थिए ।

व्यक्तिगत स्वाभाव

व्यक्तिगत रूपमा अत्यन्तै शालीन व्यक्तित्व थिए उनी । विद्यार्थीलाई निर्देशन दिँदा पनि तुरुन्तै गर्नुस् भनेर कडा रूपमा कहिल्यै प्रस्तुत भएनन् । विद्यार्थीलाई यसो गर्दा हुन्छ कि भनेर सुझावसम्म दिन्थे । अध्ययनको मेसै नपाउने विद्यार्थीलाई पनि नझर्कीकन सुझाव दिनुहुन्थ्यो,” राई भन्छन्, “कक्षाकोठामा पनि उहाँले छुद्र भएर कहिल्यै अध्यापन गराउनु भएन ।” 

उनका सहकर्मी प्राडा कृष्णहरि बराल पनि उनलाई सरल व्यक्तित्वका रूपमा सम्झन्छन् । व्यक्तिगत रूपमा एकदमै सरल, सहज र आफूलाई ठूलो नदेखाउने, कसैले केही सोध्यो भने आनन्दसँग जिज्ञासा मेटाइदिने अति सरल र अति सहज व्यक्तित्व थियो । त्यस्तो विद्वान् मान्छेको सरल स्वाभाव देख्दा बराललाई पनि अचम्म लाग्थ्यो । 

जीवनको उत्तराद्र्धमा अध्यात्मतर्फ लाग्ने, धार्मिक, सांस्कृतिक चिन्तनतिर लाग्ने भनेर पराजुली सुनाउने गर्थे । उनले चारवटै वेदका कुन कुन ठाउँमा के के प्रसङ्ग छन् भनेर अध्ययन गरे । त्यो क्रममा सुनसरीको वराहक्षेत्रको बारेमा अध्ययन गरे, जसको विस्तृत चर्चा लोकवार्ता परिषद्को ‘लोकवार्ता’मा प्रकाशित छ ।

त्यसै गरी उनले पुराणहरूमा किराँतबारे के कस्ता प्रसङ्ग छन् भनेर खोजीनीति गरे, वैदिक संस्कृति अहिलेका संस्कृतिमा के कति रूपान्तरण भएर आए भनेर तुलनात्मक अध्ययनसमेत गरे । साथै तत्कालीन वैदिक परम्पराहरूको अध्ययन अनुसन्धानमा लागेका थिए । 

एक असल गुरु

डा भक्त राईका अनुसार एक असल गुरु थिए पराजुली । उनले सरदर २० जनालाई विद्यावारिधि गराए । पराजुलीको निधनपछि ७÷८ जना विद्यार्थीले निर्देशक नै परिवर्तन गर्नुपरेको अवस्था रहेको सम्झन्छन् राई । 

उनले त्रिविको मात्र होइन, अरू विश्वविद्यालयका विद्यार्थीको अनुसन्धान निर्देशक भएर काम गरेका थिए । सिक्किम, दार्जिलिङतिरबाट पनि विद्यार्थीहरु आएर उनलाई नै निर्देशक बनाएर अनुसन्धान गर्नेहरू धेरै थिए । 

“बन्धु सरको अवकाशपछि त्रिवि नेपाली केन्द्रीय विभागमा लोकसाहित्यको आधिकारिक विद्वान् उहाँ मात्र हुनुहुन्थ्यो,” राई भन्छन् । लोकसाहित्यका फाँटमा प्राडा चूडामणि बन्धुपछिको सबैभन्दा बढी पिएचडी गराउने पराजुली दोस्रो व्यक्ति थिए ।

“मैले २०६५ सालमा विद्यावारिधि दर्ता गराउँदा उहाँ पृथ्वीनारायण क्याम्पस पोखराबाट त्रिविमा आइसक्नुभएको थियो,” राई सम्झन्छन्, “त्यतिबेला लोकसाहित्य क्षेत्रका आधिकारिक व्यक्ति खोज्दा मोतीलाल पराजुली नै भेटिनुभयो ।” पराजुलीसँग विद्यावारिधि गर्ने पहिलो व्यक्ति डा गोविन्द आचार्य, दोस्रोमा डा कुसुमाकर न्यौपाने, तेस्रोमा डा बेनी जङ्गम रावल र त्यसपछि आफू रहेको राई सुनाउँछन् ।  

पराजुली असल निर्देशक मात्र होइन, आफू पनि गहन अध्ययन गर्ने विद्यार्थी थिए । उनले गाउँघरमा डुबेर, त्यसैमा अध्ययन  अनुसन्धान गरेर त्रिविमा अध्यापन गर्न आएका थिए । त्यही प्राज्ञिक क्षमताको उपयोग गर्दै स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहको लोकसाहित्य विधालाई लगभग एक दशक हाँकेका थिए । राई भन्छन्, “उहाँसँग पिएचडी गर्ने म, प्राडा ध्रुव भट्टराई, सहप्राध्यापक डा. मुकुन्द शर्मा, डा. कुलराज निरौला आदि थुप्रै छौँ ।” अहिले विभिन्न विश्वविद्यालयमा लोकसाहित्य अध्यापन गराउने अधिकांश प्राध्यापकहरू उनकै विद्यार्थीहरू छन् ।

राईले २०६५ देखि नै परिवारजस्तो भएर पराजुलीसँग काम गरे । प्राध्यापन, एमफिल र विद्यावारिधिका विद्यार्थीका शोधनिर्देशकका साथै उनी लोकवार्ता परिषद्को सल्लाहकार पनि बनेका थिए । यस क्रममा उनी देशका विभिन्न स्थानमा राईसँगै जाने, अध्ययन अनुसन्धान गर्ने गर्थे । 

“लोकवार्ता परिषद्मा मैले महासचिव भएर काम गरेँ, उहाँ त्यसको सल्लाहकार हुनुहुन्थ्यो,” राई भन्छन्, “लोकवार्तासँग सम्बन्धित भएर पचासौँ जना लेखक, स्रष्टा र प्राध्यापकहरूलाई लिएर विभिन्न जिल्लाहरूमा जाने, त्यहाँ लोकसंस्कृति सम्बन्धिका विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने, अनि त्यसलाई पुस्ताकारका रूपमा छाप्ने काम उहाँसँगै गर्यौँ ।” उनकै सल्लाह सुझावअनुसार लोकवार्ता परिषद्को दसौँ प्रतिवेदनको लोकवार्ता पुस्तक प्रकाशित भइसकेको छ । 

पराजुली लोकसाहित्यको अभियन्ता पनि हुन् भन्छन् राई । अध्यापन मात्र होइन, गाउँ गाउँबाट लोकसाहित्य खोज्नुपर्छ भन्थे । लोकसाहित्यमा नयाँ अध्ययनको पद्धति अपनाउनुपर्छ, पुरानो पद्धतिले काम गर्दैन भन्ने उनको मान्यता थियो ।  स्थलगत रूपमै गएर कुन प्रसङ्गमा, कुन परिस्थितिमा, कुन पर्वमा, कुन अनुष्ठानमा गीत गाइन्छ, त्यही समयमा त्यसको बारेमा त्यही समुदायसँग बुझ्नुपर्छ, खोजी गर्नुपर्छ भन्ने उनको अवधारणा थियो । 

पराजुलीले आफ्ना शोधार्थीहरूलाई पनि सम्बन्धित ठाउँमा गएर तत्क्षण नै अध्ययन गर्न सुझाउँथे । साकेलाका बारेमा अध्ययन गर्नुछ भने नाचिरहेकै स्थलमा अध्ययनका लागि पठाउँथे । “सङ्गिनी गीतको बारेमा अध्ययन गर्दैहुनुहुन्छ भने गाइरहेको ठाउँमै गएर सिक्नुहोस्, पालम, हाक्पारे जस्ता गीतका बारेमा हो भने सम्बन्धित ठाउँमै त्यो समुदायमा गएर त्यसको रेकर्ड, अडियो भिडियोसमेत गर्न लगाउनुहुन्थ्यो,” राई भन्छन् ।

शोधार्थीलाई मात्र होइन, आफैँ पनि स्थलगत अध्ययन, अनुसन्धान गरी लोकसाहित्यका विभिन्न कार्यपत्रहरू लेख्ने गर्थे पराजुली । उनले स्रष्टाका रूपमा, प्राध्यापकका रूपमा र अध्ययन अध्यापन गराउने शोध निर्देशक गरी तीनै तहबाट नेपाली लोकसाहित्यमा योगदान दिएका छन् । 

प्राज्ञिक क्षेत्रमा अपूरणीय क्षति 

जुनसुकै देशमा पनि प्राज्ञिक व्यक्तित्व तयार हुन लामो समय लाग्छ । विशेष क्षेत्रमा रुचि हुने र निरन्तर गहन अध्ययन अनुसन्धानमा लिप्त हुने विद्यार्थी निकै कम हुन्छन् । तीमध्येका एक थिए मोतीलाल पराजुली । उनको देहान्तले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा त लोकसाहित्यको विशेषज्ञ शून्य अवस्थामा पुग्यो भन्ने स्थिति भएको छ । 

“किनभने आधिकारिक रूपमा लोकसाहित्य पढाउने प्राध्यापक पनि हुनुहुन्न । अबको दसौँ वर्षपछि उहाँका चेलाहरू आए भने मात्र,” राई भन्छन्, “उहाँभन्दा पुरानो चूडामणि बन्धुले अवकाश पाइसक्नुभएको छ, नत्र अरू छैनन् ।” त्यसैले त्यो स्तरको विशेषज्ञ उहाँका अग्रजहरू पनि नभएको र जुनियरहरू पनि उत्पादन भइ नसकेकाले उहाँको अभाव अपूरणीय छ ।

उहाँलाई सम्झिने भनेको लोकसाहित्य, संस्कृत साहित्य र समालोचनाको क्षेत्रमा नै हो भन्छन् बराल । उनको विशेष शक्तिचाहिँ लोकसाहित्यमा खर्च भएको र एमए, पिएचडीको थेसिसका थुप्रै विद्यार्थीहरूलाई निर्देशन गरेको तथा प्राध्यापक, डाक्टरसमेत भइसकेका व्यक्तिको निधनले प्राज्ञिक जगतमा निकै ठूलो क्षति भएको बराल बताउँछन् । 

“अवकाशको केही समयपछि नै उहाँ वित्नुभयो, त्यो बडो दुःखको कुरा थियो,” बन्धु सम्झन्छन्, “लोकसाहित्यमा त्यत्रो उचाइ प्राप्त गरिसकेको मानिस हामी बीचमा नहुँदा नेपाली लोकसाहित्य क्षेत्रमा अपूरणीय प्राज्ञिक क्षति भयो ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप