शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘उद्योग वाणिज्य महासंघले खेलेको भूमिका नै शंकास्पद छ’

गभर्नरले हामीलाई आतंककारी घोषित गर्न मात्रै बाँकी छः नवीन रिजाल
शुक्रबार, १३ माघ २०७९

विगत एक वर्षदेखि विभिन्न माग राख्दै आन्दोलनमा होमिएका उद्योगी व्यवसायी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकार आएसँगै रोकिएका छन् । उद्योगी व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको वार्तापछि आन्दोलन स्थगित गरेका थिए । अर्थमन्त्री पौडेलले दिएको आश्वासनअनुसार चालू पूँजी कर्जा निर्देशिकलाई साढे २ वर्षसम्म खुकुलो बनाइएको छ भने ब्याजदर समेत १० प्रतिशतले घटेको छ । यससँगै, उद्योगी व्यसायीले राखेको माग सम्बोधन हुँदै गइरहेको देखिन्छ ।

तर, अझै पनि पूर्वका उद्योगी व्यवसायी खुसी देखिएका छैनन् । केन्द्रीय बैंक र बैंकहरुबीच उद्योगी व्यवसायीको सम्बन्ध झनै चिसो बन्दै गइरहेको छ । यही मेसोमा उद्योगी व्यवसायीहरुको आन्दोलनको नेतृत्व गरेको मध्ये एक संस्था मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालसँग गरिएको कुराकानीको सम्पादित अंशः

-   तपाईंहरु लामो समयसम्म विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रिनु भयो । व्यवसाय छाडेर आन्दोलनमा आउने अवस्था किन ?

गत वर्ष २०७८ को माघ अन्तिम सातामा हामीले नेपाल राष्ट्र बैंकलाई आगामी दिनमा अर्थतन्त्रमा धेरै चुनौती आउने भनेर ज्ञापनपत्र बुझाएका थियौं । उक्त समयमा तरलता अभाव हुने सम्भावना बढेको थियो । र, ब्याजदर साढे ८ देखि ९ प्रतिशत आसपासमा थियो ।

ज्ञापनपत्रमा चालू खर्च घटाउन र विकास खर्च बढाउन भनेका थियौं । यस्तै, सरकारले बनाएको विकासे योजनालाई तदारुकताका साथ अघि बढाउनसमेत हामीले माग गरेका थियौं ।

यी विषयलाई सम्बोधन गरेर अघि बढ्न सकेमा आगामी दिनमा अर्थतन्त्र सरल बन्न सक्ने अन्यथा अर्थतन्त्र धरासायी बन्ने जोखिम औंल्याएका थियौं ।

हामीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई ३ पटक भेटेर यी विषय जानकारी गरायौं र राष्ट्र बैंकमार्फत् समेत यही विषयमा ध्यानाकर्षण गराएका थियौं । तर, त्यस यता केन्द्रीय बैंकले निजी क्षेत्रलाई झनै कस्ने नीति लिँदै गयो । चालू पूँजी कर्जा निर्देशिका पनि यही बीचमा आयो । फलस्वरुप हामी उद्योगी व्यवसायी बाध्यताबस सडक आन्दोलनमा उत्रिनु पर्यो ।

-   ब्याजदर वृद्धिको विरोध गर्दै बैंक र केन्द्रीय बैंकविरुद्ध सडक आन्दोलन गर्ने तपाईंहरु पूर्वका उद्योगी व्यवसायी नै सुरुवातकर्ता हो ?

हो, यसको सुरुवात मोरङ व्यापार संघले नै गरेको थियो । सुरुवातमा हामी एक्लै आन्दोलनमा होमिएका थियौं । तर, विगतका ३ महिनायता भने यो कामका लागि सबै संगठित बनेर अघि बढ्नुपर्छ भन्ने लागेर पूर्वका ३ वटा संगठन एकजुट भएर आन्दोलनमा होमियौं ।

यो कुनै एउटा संस्थाको मात्रै लडाई थिएन । नेपालभर रहेका १८ लाख उद्योगी व्यवसायीको विषय हो । तर, यस्तो कठिन अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले हामीलाई साथ नदिएको अवस्था छ । जबकि पूर्वका ३ उद्योगसँगै देशका अन्य भूभागका साथीहरुसमेत हामीसँग जोडिए ।

-   तपाईहरुले विभिन्न माग राखेर आन्दोलन गर्दै गर्दा तपाईंका छाता संगठनहरु उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघलाई ‘क्रस’ गर्नुभयो । यस्तो वातावरण कसरी सिर्जना भयो ?

हामीले पटक–पटक हाम्रा विषय नेपाल उद्योग वाणिज्य महासंघलाई जानकारी गराएका थियौं । हामी सडक आन्दोलनमा हुँदा महासंघबाट एउटा फोन पनि आएन । हामीले तत्कालीन अर्थमन्त्री र गभर्नरसँग आफ्ना विषय राखेर फर्किएलगत्तै छाता संगठनका नेताहरुबाट निजी क्षेत्र विरुद्धको लविङ गरेको पाइयो । हामी सडकमा हुँदा महासंघ पनि साथका लागि आउनुपथ्र्यो । तर, यसमा विभिन्न फ्याक्टरले भूमिका खेल्यो ।

हामीले गत वर्षदेखि नै उद्योगी र बैंकरलाई छुट्याउनुपर्छ भनेका थियौं । बैंकर साथीहरु बैंकर्स एसोसिएशनमा बसिदिन र शुद्ध उद्योगी महासंघ र परिसंघमा बस्नुपर्छ । उद्योगी र बैंकर नछुट्याउँदा यस्तो समस्या आएको हो । महासंघले देशका १८ लाख उद्योगीको भावनालाई नबुझिदिँदा आजको स्थिति आएको हो ।

-   महासंघका केही उपाध्यक्षहरु जो बैंकको निर्देशकसमेत छन्, उनीहरु नै ब्यानर बोकेर माइतीघर मण्डलाको आन्दोलनमा ब्याजदर विरुद्धको आन्दोलनमा सहभागी थिए त ?

हो, उद्योग वाणिज्य महांघको उपाध्यक्ष पदमा रहेर दिनेश श्रेष्ठले हामीलाई प्रत्यक्ष रुपमा ठूलो सहयोग गर्नुभएको छ । निवर्तमान अध्यक्ष भवानी राणाले समेत हामीलाई सहयोग गर्नु भएको थियो । विराटनगरमा आन्दोलन चर्किँदै गर्दा माइतीघर मण्डलामा आन्दोलन भएको थियो । त्यो आन्दोलनमा म पनि सहभागी थिएँ । दिनेश श्रेष्ठ र भवानी राणा लगायतका केही साथीहरुले हामीलाई सहयोग गर्नुभएको थियो ।

-   तपाईंहरु करिब १ वर्षदेखि ब्याजदर वृद्धि फिर्ता लिनुपर्ने लगायतका माग राखेर आन्दोलनमा हुनुहुन्थ्यो । जब नयाँ सरकार आयो लगत्तै तपाईंहरुले आन्दोलन रोक्नु भयो । कुरा मिलेको हो त ?

यसमा बाहिरबाट हेर्दा देखिने जस्ता केही विषय छैनन् । हामी निरन्तर आन्दोलन गरिरहँदा नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीसँगको वार्तामा विश्वासको वातावरण बन्यो । नयाँ सरकार बनेपछि अर्थमन्त्री ज्यूको अचानक फोन आएपछि वार्तामा बसिएको थियो । साथमा गभर्नर र विज्ञहरु समेत राख्ने उहाँको आश्वासन थियो ।

नयाँ सरकार गठनसँगै अर्थमन्त्रीबाट आएको आश्वासन पुरा हुने आसमा काठमाडौं आएर उहाँसँग वार्ता गरेका हौं । वार्तापछि सकारात्मक वातावरण बनेपछि आन्दोलन रोकियो र त्यसको परिणाम यतिबेला देखिइरहेको छ ।

हामीले पहिलेदेखि नै चालू खर्च कम र विकास खर्च बढी हुनुपर्छ भनिरहेका थियौं । यो नयाँ सरकारले सम्बोधन गर्ने प्रयास गरेको छ । यस्तै, बैंक ब्याजदरसमेत १० प्रतिशतले घटिसकेको स्थिति छ । यही कारण, अर्थमन्त्रीलाई काम गर्न दिने लक्ष्यसहित हामीले आन्दोलन रोकेको हो । आगामी दिनमा अर्थतन्त्र थप सुधारिँदै जानेमा हामी विश्वस्त छौं ।

तर, अझै पनि केही विषयमा समस्या देखिइरहेको छ । जस्तो, निजी क्षेत्रले आफ्नो सम्पूर्ण ऋणलाई असार मसान्त आसपासमा शून्य गर्नुपर्ने भनिएको छ । यस्तो व्यवस्था विश्वको कुनै पनि देशमा छैन । र, हामी यसरी ७ दिनका लागि आफ्नो सम्पूर्ण ऋण शून्यमा झार्न सकिँदैन । कि राष्ट्र बैंकले यसरी शून्यमा झार्न सकिन्छ भनेर बाटो देखाउनु पर्छ ।

वर्षमा एक पटक ऋण शून्यमा झार्ने क्षमता भएका ऋणीले ऋण नै किन लिन्छन् र ? अनावश्यक रुपमा वर्षमा एक पटक किन ऋणलाई शून्यमा झार्नु पर्यो ? एउटा किसानले ३÷४ सिजनको खेतीबाट तिर्ने लक्ष्यसहित ऋण लिएको हुन्छ । उसले कसरी वर्षमा एक पटक ऋण शून्यमा झार्न सक्छ भनेर मैले बुझ्न सकेको छैन । यसलाई गभर्नर ज्यूले हामीलाई बुझाइ दिनुपर्छ ।

-   त्यसो भए यो व्यवस्थाबारे अब तपाईंहरुको नीतिचाँही के त ?

यसको एक मात्र विकल्प भनेको उक्त व्यवस्था सच्याउने नै हो । कुनै पनि देशमा नभएको व्यवस्था नेपालमा लागू गरेर काम छैन । यो व्यवस्था असम्भव छ । यो नियममा ठूला–ठूला विज्ञले अहिलेसम्म बोल्नु भएको छैन ।

-   अब अलि अगाडि फर्किऔं । अहिलेको स्थितिमा उद्योग वाणिज्य महासंघ र परिसंघले आवश्यक भूमिका खेलेन भन्ने निष्कर्ष हो ?

उद्योगी व्यवसायीले उठाएको विषयलाई महासंघ र परिसंघले उठाइदिएको भए हामी सडक आन्दोलनमा उत्रिनुपर्ने नै थिएन । हामीले नेता बनाएका हाम्रा नेताहरु भएकाले उहाँहरुबाट नै हाम्रो आवाज आउनुपथ्र्यो ।

केही दिन अघि मात्रै महासंघका अध्यक्ष शेखर गोल्छा ज्यूले बैंकको धर्म नै नाफा कमाउने हो भन्नु भएको छ । १८ लाख व्यावसायीको छाता संगठनमा बसेर कसको पक्षमा बोलिरहनु भएको छ भन्ने मलाई थाहा छैन । उहाँले कुन संस्थाको प्रतिनिधित्व गर्नुभएको छ पनि थाहा छैन ।

यतिबेला चर्को बैंक ब्याजदर छ । यस्तै, ऋणीले लिएको ऋणको नविकरण सालमा एक पटक गर्नुपर्नेमा १२ पटकसम्म गरेको प्रमाण हामीसँग छ । यसलाई ठगी भन्छन् । यस्तै, ४.४ मा रहेको स्प्रेड दरलाई अर्थमन्त्रीले घटाउनु भएको थियो । तर, गभर्नर ज्यूले यो नियमलाई लागू गर्नुभएको छैन । यही कारण, असार मसान्त सम्ममा बैंकहरुलाई साढे ७ सय करोड नाफा हुन्छ ।

यस्ता धेरै व्यवस्था छन, जसले लाखौं उद्योगी व्यवसायीलाई मारमा पारेका छन् । ४०÷५० जना लगानीकर्ताले बैंकमार्फत् सय करोडभन्दा धेरै कमाइरहेका छन् । उता उद्योगी व्यवसायीहरु निरन्तर समस्यामा परिरहेका छन् । तर, हाम्रै संस्थाको लिडरले यस्तो विषय बोल्दा निजी क्षेत्रको मन दुख्दो रहेछ ।

-   तपाईंले असार मसान्तसम्म ७ सय करोड नाफा आर्जन गर्छन् भन्नुभयो । बैंकहरुले नाफा आर्जन गर्नु नै गलत हो त ?

देशको कानूनले उद्योगी व्यवसायीलाई कुनै वस्तुमा २० प्रतिशत नाफा राख्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यो भन्दा बढी नाफा कमाएमा कानून बमोजिम कारबाही हुन्छ । बैंकहरुले २० प्रतिशतभन्दा बढी नाफा गरे भने सबै नेपालीको सम्पत्ति बैंकको हातमा जान्छ ।

त्यसैले बैंकहरुले थोरै नाफा मार्जिन राख्नुपर्छ । ४ खर्ब लगानी गरेर १ खर्ब नाफा कमाउँदा २५ प्रतिशत हुन्छ । यो अपराध होइन र ?

गभर्नर ज्यूले केही दिन अघि ऋण लिएर ब्याज तिर्दिन भन्नु वित्तीय अपराध हो भन्नु भएको थियो । हामी उद्योगी व्यवसायी सडकमा उत्रेर आफ्नो माग राख्नु वित्तीय अपराध हो भने बैंकहरुले २५ प्रतिशतसम्म नाफा आर्जन गर्नु वित्तीय अपराध होइन ? स्प्रेडदर कम गर्न पत्र गएपनि नघटाउनु वित्तीय अपराध होइन ?

एक पटक लिनुपर्ने नविकरण शूल्क १२ पटकसम्म लिनु र एलसीमा शतप्रतिशत मार्जिन राख्ने व्यवस्था गर्नु अघि केही व्यवसायिक घरानालाई सूचना चुहाउनु वित्तीय अपराध होइन ?

यस्तै, विदेशबाट जम्मा २० प्रतिशत मात्रै रेमिट्यान्स भित्रिएको छ । बाँकी ८० प्रतिशत रेमिट्यान्स नखोज्नु वित्तीय अपराध होइन ?

गभर्नर ज्यूले हामीलाई आतंककारीको संज्ञा दिन मात्रै बाँकी छ । उहाँले अरु सबै आरोप लगाइसक्नु भएको छ । तर, सरकारी ओहोदाको उच्च पदस्त व्यक्तिहरुले हामीलाई अपराधी करार नगरिदिए हुन्थ्यो । उहाँको एउटा शब्दले उद्योगी व्यवसायीको ‘मोरल डाउन’ हुने गरी नबोलिदिन अनुरोध गर्दछु ।

-   गभर्नरको पछिल्लो अभिव्यक्तिबाट निजी क्षेत्र र केन्द्रीय बैंकबीचको सम्बन्ध झन बिग्रिँदै जाने जस्तो देखियो नि ।

केही दिन अघि पनि मैले अर्थमन्त्रीसँग भेट्ने मौका पाएको थिएँ । गभर्नर ज्यूले हामी पूर्वका उद्योगी व्यवसायीले राखेको माग सम्बोधन गरिदिए पुग्छ । तर, गभर्नर ज्यूले हाम्रो माग सम्बोधन गरेपनि नगरेपनि अर्थमन्त्रीसँग हाम्रो भरोसा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया