शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पत्र

प्रधानमन्त्री बालेनलाई खुलापत्र

शनिबार, २३ जेठ २०८३, १२ : ४३
शनिबार, २३ जेठ २०८३

सारांश

  • प्रधानमन्त्रीले संसद्मा 'हामीले पनि भारतको जमिन मिचेका छौँ' भनी दिएको अभिव्यक्तिले एक सामान्य नागरिकको हैसियतबाट प्रश्न उठाएको छ ।
  • सार्वजनिक मञ्चमा व्यक्त गरिएका शब्दहरूको अन्तर्राष्ट्रिय सम्बन्धमा गहिरो अर्थ लाग्न सक्ने र त्यसले राष्ट्रिय अडान कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
  • प्रधानमन्त्रीलाई तथ्यसहित स्पष्टता दिन आग्रह गरिएको छ ताकि राष्ट्रिय स्वाभिमान र सिमानाको विषयमा भ्रम नरहोस् ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
यो पत्र लेख्नुअघि म एउटा सामान्य नागरिकको हैसियतबाट तपाईंसँग क्षमा माग्न चाहन्छु । किनकि म न राजनीतिक विश्लेषक हुँ, न कूटनीतिज्ञ, न कुनै इतिहासकार । तर यो व्यवस्था ल्याउने एउटा जिउँदो सहिद पक्कै हुँ । जुन व्यवस्था अन्तर्गत नै तपाईंले आज सत्तामा बिराजमान हुने अवसर पाउनु भएको छ । 

यतिबेला म त त्यो नागरिक हुँ, जसले चुनावका बेला राजनीति हेर्छ, मतदान गर्छ र फेरि आफ्नै जीवनको संघर्षमा फर्किन्छ । तर केही विषय यस्ता हुन्छन्, जसमा राजनीति नबुझे पनि मन दुख्छ, चिन्ता बढ्छ र मौन बस्न सकिँदैन । देशको सिमाना त्यस्तै विषय हो । 

राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान त्यस्तै विषय हो । म यो पत्र कुनै दलको झण्डामुनि उभिएर लेखिरहेको छैन । म यो पत्र नेपालको नक्सा हेर्दा गर्व गर्ने, राष्ट्रिय गीत बज्दा भावुक हुने र देशको माटोलाई आफ्नै अस्तित्व ठान्ने एउटा नागरिकको मनबाट लेखिरहेको छु ।

प्रधानमन्त्रीज्यू,

तपाईं आज देशको नेतृत्वमा हुनुहुन्छ । तपाईंले बोलेको शब्द केवल शब्द हुँदैन्, त्यो राज्यको अभिव्यक्ति बन्छ । तपाईंको एउटा वाक्य समाचार बन्छ, बहस बन्छ, कहिलेकाहीँ इतिहासको अभिलेखसमेत बन्छ । त्यसैले संसद्मा उभिएर तपाईंले भन्नुभएको ‘हामीले पनि भारतको जमिन मिचेका छौँ’ भन्ने अभिव्यक्तिले धेरै नेपालीको मनमा प्रश्नहरू जन्माएको छ । मनहरू दुखाएको छ ।  तपाईंले त्यो कुरा कुनै आवेगमा भन्नुभएको पक्कै होइन होला । त्यसका पछाडि तथ्य, सन्दर्भ वा कुनै कूटनीतिक दृष्टिकोण अवश्य रहेको हुन सक्छ । तर सिमाना र राष्ट्रिय भूगोलको विषय सामान्य विषय होइन । 

यो देशको अस्मिता, सार्वभौमसत्ता र भविष्यसँग जोडिएको विषय हो । त्यसैले एउटा नागरिकका रूपमा म चुप लागेर बस्न सकिनँ ।

सत्य बोल्नु महान् कुरा हो । हामी बुद्धको देशका नागरिक हौँ, सत्यलाई सम्मान गर्छौँ । तर हरेक सत्य बोल्ने समय, स्थान र शैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धको संसारमा शब्दहरू केवल उच्चारण हुँदैनन्, तिनको अर्थ खोजिन्छ, अभिलेख राखिन्छ र कहिलेकाहीँ तिनलाई प्रमाणका रूपमा पनि प्रस्तुत गरिन्छ । 

यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई भोलि कसैले आफ्नो स्वार्थअनुसार व्याख्या ग¥यो भने हामीले के जवाफ दिने ? इतिहास यसरी नै बिग्रेको पनि छ । यदि कसैले त्यसलाई नेपालको आधिकारिक स्वीकारोक्ति भनेर प्रयोग गर्न खोज्यो भने हाम्रो राष्ट्रिय अडान कसरी बलियो रहने ?

प्रधानमन्त्रीज्यू,

आजको संसारमा सन्दर्भ भन्दा शीर्षक छिटो फैलिन्छ । अभिव्यक्तिको गहिराइभन्दा एउटा वाक्यको टुक्रा बढी चर्चित हुन्छ । कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यदि ‘नेपालले भारतको भूमि अतिक्रमण गरेको स्वीकार’ भन्ने अर्थ लाग्ने समाचार बनाए भने त्यसले दीर्घकालीन रूपमा कस्तो असर पार्ला ? 

यो प्रश्नले धेरै नागरिकलाई चिन्तित बनाएको छ । म सत्य लुकाउनुपर्छ भन्ने पक्षमा छैन । तर संसारका हरेक सत्य सार्वजनिक मञ्चमै बोलिनुपर्छ भन्ने पनि छैन । घरका सबै कुरा आँगनमा भनिँदैनन्, त्यसको अर्थ झुट बोल्नु होइन । बरु त्यो जिम्मेवारी र विवेकको अभ्यास हो । कूटनीति सायद यही सन्तुलनको कला हो ।

म राजनीतिका गहिरा सिद्धान्तहरू बुझ्दिनँ । तर यति अवश्य बुझ्छु—केही कुरा वार्ताको टेबलमा बलिया हुन्छन्, केही कुरा दस्ताबेजमा । तर त्यही कुरा सार्वजनिक मञ्चमा उच्चारण गर्दा कमजोर बन्न सक्छन् । त्यसैले तपाईंको अभिव्यक्तिपछि मनमा एउटा प्रश्न उठेको छ— के यो विषय त्यही मञ्चमा, त्यही शैलीमा राखिनुपर्ने विषय थियो ? 

सायद म गलत हुन सक्छु । सायद तपाईंले हामीले नदेखेको धेरै टाढाको चित्र देख्नुभएको होला । सायद तपाईंसँग त्यस्ता तथ्यहरू छन्, जुन आम नागरिकसम्म पुगेका छैनन् । तर एउटा कुरा निश्चित छ—जनताले तपाईंमाथि विश्वास गर्छन् । 

तपाईंले बोलेको कुरालाई धेरैले थप प्रमाण खोज्नुअघि नै सत्य मान्छन् । किनकि उनीहरूलाई विश्वास छ, प्रधानमन्त्रीले सोचेर बोल्छन् । यही कारणले आज तपाईंको अभिव्यक्तिबारे थप स्पष्टता आवश्यक देखिएको छ ।

यदि तपाईंको भनाइ तथ्यमा आधारित हो भने कृपया ती तथ्यहरू सार्वजनिक गरिदिनुहोस् । कुन स्थान हो ? कति क्षेत्रफल हो ? कुन नक्सा वा दस्ताबेजका आधारमा हो  ? कहिलेदेखि हो ? किनभने प्रधानमन्त्रीको अभिव्यक्ति अब सामान्य टिप्पणीको सीमाभित्र रहँदैन । त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको विषय बन्छ र बनिसकेको छ । तथ्य सार्वजनिक भए भ्रम हट्छ । जनताले स्पष्टता पाउँछन् । तपाईंको भनाइ अझ विश्वसनीय र बलियो बन्छ । तर यदि तथ्यहरू नआए भने प्रश्नहरू बाँकी रहन्छन् । र, अनुत्तरित प्रश्नहरूलाई इतिहासले कहिलेकाहीँ गलत ढंगले व्याख्या गर्छ ।

प्रधानमन्त्रीज्यू,

यो पत्र तपाईंको विरोधीले लेखेको होइन । यो पत्र तपाईंप्रति आशा राख्ने एउटा नागरिकले लेखेको हो । तपाईं सफल हुनुभएको देख्न चाहने नागरिकले लेखेको हो । देशको सिमाना र राष्ट्रिय स्वाभिमानको कुरा आउँदा हामी दलभन्दा माथि उठ्छौँ, विचारभन्दा माथि उठ्छौँ । त्यहाँ हामी केवल नेपाली हुन्छौँ । त्यहाँ राजनीति बोल्दैन, राष्ट्रिय भावना बोल्छ । त्यसैले आज मैले कुनै समर्थक वा आलोचकको भूमिकाबाट होइन, एउटा चिन्तित नेपालीको मनबाट यो आग्रह गरेको हुँ । यदि संयोगवश यो पत्र तपाईंको नजरसम्म पुग्यो भने यसलाई विरोधको आवाजका रूपमा होइन, देशप्रतिको माया, चिन्ता र जिम्मेवारीबाट जन्मिएको एउटा नागरिकको विनम्र निवेदनका रूपमा बुझिदिनुहोला ।

हामी तपाईंबाट तथ्यसहितको स्पष्टता चाहन्छौँ । ताकि भोलि हामीले पनि गर्वका साथ भन्न सकौँ—हाम्रा प्रधानमन्त्रीले जे बोले, प्रमाणसहित बोले । किनकि सीमारेखाको प्रश्न राजनीति गर्ने विषय होइन, राष्ट्रको आत्मासँग जोडिएको विषय हो । सीमा बच्यो भने नक्सा बच्छ, नक्सा बच्यो भने राष्ट्रको आत्मसम्मान बच्छ । तपाईंको उही, देशको सिमानामा राजनीति होइन, राष्ट्रिय भावना खोज्ने एक नेपाली नागरिक ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप