रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
सारांश
- पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
- गौचनले क्रिकेट खेल र खेलाडीहरूले भोगिरहेका समस्याको समाधान तथा जिल्लामा क्रिकेटको समग्र विकासका लागि आफू निर्वाचनमा होमिएको बताए।
- यसअघि रुपन्देही क्रिकेट संघका वर्तमान अध्यक्ष हरिबहादुर थापाले पनि अध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
बुटवल । पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
भैरहवामा लुम्बिनी खुकुरी क्लब बेलहियाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गौचनले जेठ २५ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
गौचनले क्रिकेट खेल र खेलाडीहरूले भोगिरहेका समस्याको समाधान तथा जिल्लामा क्रिकेटको समग्र विकासका लागि आफू निर्वाचनमा होमिएको बताए। दुई दशकभन्दा लामो समय नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको उल्लेख गर्दै उनले अब नेतृत्व तहमा रहेर थप प्रभावकारी काम गर्न चाहेको बताए।
उनले क्रिकेट प्रतियोगिता सञ्चालनका लागि पर्याप्त भौतिक पूर्वाधार आवश्यक रहेको औंल्याउँदै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउँदै गएको बताए। रुपन्देही जिल्ला क्रिकेट खेलाडी उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले जिल्लाबाट अझ बढी प्रतिभावान खेलाडी उत्पादन गर्न आफ्नो भूमिका रहने बताए।
गौचनले निस्वार्थ भावनाका साथ क्रिकेट विकासमा निरन्तर लागिरहेको भन्दै नेतृत्वमा पुगेर अझ प्रभावकारी रूपमा काम गर्न सकिने विश्वास व्यक्त गरे।
यसअघि रुपन्देही क्रिकेट संघका वर्तमान अध्यक्ष हरिबहादुर थापाले पनि अध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। शुक्रबार नै भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत थापाले अर्को कार्यकालका लागि नेतृत्व दाबी प्रस्तुत गरेका हुन्।
चार वर्षअघि भएको निर्वाचनमा थापाले तत्कालीन प्रतिद्वन्द्वी शक्ति गौचनलाई पराजित गर्दै अध्यक्ष पद जितेका थिए। यसपटक पनि संघको नेतृत्वका लागि गौचन र थापाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण