विजय मल्ललाई प्राप्त पुरस्कार
सारांश
- विजय मल्लले आफ्नो जीवनकालमा गोरखादक्षिणबाहु, साझा पुरस्कार, गङ्की वसुन्धरा पुरस्कार, वेदनिधि पुरस्कार र भूपालमानसिंह कार्की पुरस्कार लगायतका विभिन्न पुरस्कारहरू प्राप्त गरेका थिए ।
- भूपाल पुरस्कार पाउने उनी प्रथम स्रष्टा थिए र यस पुरस्कारले आफ्नो लेखनको उच्च मूल्याङ्कन भएको महसुस गरेका थिए ।
- विजय मल्लले मदन पुरस्कार गुठीको स्थापनामा सहयोग गरे पनि पुरस्कारका लागि दरखास्त दिने प्रथाको आजीवन विरोधी रहे ।
विजय मल्ल स्वाभिमानी प्रवृत्तिका स्रष्टा थिए । शिर ठाडो पारेर हिँड्नु उनको जन्मजातकै नैसर्गिक विशेषता थियो । त्यसैले उनी पुरस्कारका पछि पनि लागेनन् । बरु केही पुरस्कार नै उनका पछि लागे । उनको जीवनभरिको साहित्यिक योगदानका निम्ति उनले केही पुरस्कार ग्रहण गरेकै पनि थिए । साहित्यिक संस्थाहरूले पुरस्कार लिनका लागि उनीसित अनुरोध गर्दा उनी हार्दैन थिए । संस्थाप्रति हार्दिकता अर्पण गर्दै उनी पुरस्कार थाप्थे । अनि कृतज्ञ भएर नै आफ्ना सम्मानपत्रहरू घरको बैठकमा सजाउँथे ।
नाट्यसम्राट् बालकृष्ण समको हाराहारीका लेखक भए तापनि मल्ललाई पुरस्कारबाट धकेल्न खोजिएको पनि पर्याप्त प्रमाण देखिए । यति हुँदाहुँदै उनले कसैको घुँडा ढोग्न जानु परेन । उनको योगदानकै कारण उनी प्रसिद्ध गोरखादक्षिणबाहुबाट विभूषित भए । साथै उनले साझा पुरस्कार, गङ्की वसुन्धरा पुरस्कार, वेदनिधि पुरस्कार र भूपालमानसिंह कार्की पुरस्कार पाए । दुई लाख रुपियाँ राशिको भूपाल पुरस्कार पाउने उनी प्रथम स्रष्टा थिए । उनी भन्थे– ‘मैले यति ठूलो धनराशिको पुरस्कार पाएको यही नै हो ।’
नेपाली समाजका पुरस्कारका बारे विजय मल्लले नरेन्द्रराज प्रसाईलाई भनेका थिए, ‘नेपालमा ठूलो राशिको पुरस्कार प्राप्त गर्न चाकडी, चापलुसी गर्नुपर्छ भन्ने मान्यतालाई तपाईंले तोड्नुभएको छ । भूपाल पुरस्कार प्राप्त गरेपछि मलाई लाग्यो— मेरो लेखनको उच्च मूल्याङ्कन भयो । वास्तवमा मैले ठूलो पुरस्कार पाएकै यही हो ।’ स्मरण रहोस् भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का संस्थापक सदस्यसचिव नरेन्द्रराज प्रसाई थिए ।
विजय मल्ल चाकडी गरेर, अनुनयविनय गरेर र तमसुक लेखेर पुरस्कार लिनुभन्दा विष पिउनु निको ठान्थे । यसै प्रसङ्गमा श्यामदास वैष्णवले भनेका थिए, ‘विजयले पुरस्कारका लागि आफ्नो स्वाभिमानलाई बिक्री गरेनन् । उनी स्वच्छ रूपको पुरस्कारका पक्षपाति थिए ।’
वास्तवमा मल्लले जिन्दगीमा पुरस्कार पाऊँ भनेर कतै बिन्तीपत्र हालेनन् । उनी दासत्वको विरोधी थिए । हुन त मदन पुरस्कारको स्थापनाका क्रममा पनि विजय मल्लको विशेष सहयोग, सद्भावना र सुझाव जुटेकै थियो । तर लेखनलाई बिक्रीमा नराखी पुरस्कार प्रदान गरिनु न्यायसङ्गत हुने बेहोरामा उनले आफ्नो मनसाय राखेका थिए ।
त्यसैले उनी मदन पुरस्कारबाट ठगिएका पनि थिए । यसबारे उनलाई ठगिएकै पनि नभने हुन्छ । यति हो उनी उच्च नैतिकताले भरिएका निर्लोभी स्रष्टा थिए । मल्लको आत्मस्वाभिमानका बारे धेरैले वकालत गरेकै पनि छन् । कमल दीक्षित स्वयम्ले लेखेकै छन्, ‘सल्लाह सुझाव दिने बेलामा भाग लिए पनि विजयजी मदन पुरस्कारमा कहिले पनि सहभागी भएनन् । गुठीमा लेखकले पुरस्कारका लागि दरखास्त दिने कुराको आजीवन विरोधी रहे उनी । ...उनी आफ्नो विचारमा अडिग नै रहे, उनले पुरस्कारमा भाग लिएनन् । ...सिद्धान्तवादी थिए विजय मल्ल ।’
मदन पुरस्कार गुठीले नेपालमा पुरस्कार प्रथाको वीजारोपण गरेको मानिन्छ । त्यसपछि अरू पुरस्कार गुठीहरूको स्थापना हुन थाले । तर यस संस्थाको स्थापनापछि यसको सधैँ विरोध र समर्थन हुँदै आएको देखियो । यसै प्रसङ्गमा इन्दिरा प्रसाईले भनेकै पनि छिन्, ‘फलेको फलमा झटारो हान्नु कुन ठूलो कुरा हो र ! जुन तत्त्वलाई शाश्वत मानिन्छ, समर्थन मात्र हुँदैन, त्यसको खेदो पनि गरिन्छ ।’
मदन पुरस्कार गुठीका अध्यक्ष कमल दीक्षित एक दृष्टिबाट उदारै थिए । उनले आफूहरूले गरेको कामलाई अरूले खिसी गरे पनि र धन्यवाद दिए पनि वास्तविक कुरा लुकाउन सक्तैन थिए । यसको उदाहरण नै विजय मल्लले बिन्तीपत्र हालेर मदन पुरस्कार स्वीकार नगर्ने बेहोराको लेखन हुँदै हो । साथै दीक्षितले अर्को उदाहरण पनि पेस गरेका छन् । त्यो के हो भने– मदन पुरस्कारबारे नरेन्द्रराज प्रसाईको एउटा खरो लेख पनि दीक्षितले मदन पुरस्कार गुठीकै मुखपत्र ‘नेपाली’को ०६६ कात्तिक, मङ्सिर र पुस अङ्क छपाएका थिए ।
त्यस पत्रिकाको सम्पादक पनि दीक्षित स्वयम् थिए । त्यस पत्रिकामा प्रसाईले लेखेका थिए, ‘ईश्वरवल्लभदेखि जगदीशशमशेर राणासम्मले जति नै जोड गरे तापनि मैले मेरा कुनै कृति मदन पुरस्कारको चिट्ठामा सामेल गराइनँ । बिन्तीपत्र हालेर आफ्नो योग्यता एकल तजबिजको तुलोमा जोखी पाऊँ भन्नु र आत्महत्या गर्नु मेरा लागि बराबर हो ।’
विजय मल्ल नेपाली साहित्यका चुली स्रष्टा थिए । उनको योगदान नेपाली माटोले बिर्सनै नसक्ने खालको थियो । त्यसैले उनको निधन भएकै वर्ष श्री ५ सरकारले ‘विजयबहादुर मल्ल राष्ट्रिय प्रतिभा पुरस्कार’को स्थापना गरेको थियो ।
तर पुरस्कार स्थापना भएको दुई वर्षपछि नै त्यो पुरस्कारको रूपरेखा देख्नबाट सर्वसाधारण वञ्चितै भए । वास्तवमा नेपालमा मन्त्रीले हचुवाको नीति बनाउँछन् र अर्को मन्त्री आएपछि पहिलाका मन्त्रीका नीति प्रायः खारेजीमै पर्छन् । खास गरेर २०४६ सालपछि नेपालमा यस्ता रोगले आक्रान्तै पारेको छ । यस प्रकारको सरकारी रबैयालाई गणतान्त्रिक व्यवस्थाले अवलम्बन गरिरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण