शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान

शनिबार, २३ जेठ २०८३, १४ : ३३
शनिबार, २३ जेठ २०८३

सारांश

  • रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौँ उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ ।
  • प्रस्तावित रेलमार्ग नारायणगोपाल चोकबाट सुरु भई चाबहिल–कोटेश्वर–सातदोबाटो–रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकसम्म पुग्ने चक्रपथ रुटमा रहनेछ ।
  • इच्छुक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूले २०२६ जुन १५ तारिखको दिउँसो १२ बजेभित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–जीपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।

काठमाडौँ । रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौँ उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ ।  ‘रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना’ ले यसका लागि अन्तर्राष्ट्रिय स्तरको आसयपत्र आह्वान गरेको हो ।

आयोजनाले जारी गरेको सूचनाअनुसार यो रेलमार्ग नारायणगोपाल चोकबाट सुरु भई चाबहिल– कोटेश्वर– सातदोबाटो– रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकसम्म पुग्ने चक्रपथ रुटमा प्रस्ताव गरिएको छ । यस आयोजनाको सम्पूर्ण खर्च नेपाल सरकारको आफ्नै बजेटबाट व्यहोरिने उल्लेख छ ।

इच्छुक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूले २०२६ जुन १५ तारिखको दिउँसो १२ बजेभित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–जीपी प्रणाली  (www.bolpatra.gov.np/egp)  मार्फत अनलाइन आवेदन दिइसक्नुपर्नेछ । तोकिएको अन्तिम मितिमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टलाई अन्तिम दिन मानिने सूचनामा उल्लेख छ ।

आशय पत्रको मूल्याङ्कन परामर्शदाता कम्पनी र त्यहाँ कार्यरत मुख्य कर्मचारीको योग्यता (५० प्रतिशत), अनुभव (४० प्रतिशत) र क्षमता (१० प्रतिशत) का आधारमा गरिने आयोजनाले जनाएको छ । प्रारम्भिक छनोट (सर्टलिस्ट) मा पर्नका लागि कम्पनीले न्यूनतम ७० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी आशय पत्रको मूल्याङ्कनबाट छनोटमा परेका उत्कृष्ट (सर्टलिस्टेड) कम्पनीहरूलाई मात्र प्राविधिक र आर्थिक प्रस्तावका लागि आमन्त्रण गरिनेछ । थप जानकारीका लागि आयोजनाको कार्यालय वा इ–जीपी पोर्टलमा हेर्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप