शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो

शनिबार, २३ जेठ २०८३, १३ : ४९
शनिबार, २३ जेठ २०८३

सारांश

  • रोमानिया पठाउने भन्दै सयौं युवा ठगी गरेको आरोप लागेका उद्धव पाठकको बैंक खातामा नगद शून्य छ, तर सवा करोडभन्दा बढी ऋण छ ।
  • पाठकले सर्वसाधारणबाट ४ करोड ३८ लाखभन्दा बढी रकम ठगी गरेको आरोप छ, जसका लागि २८६ निवेदन परेका छन् ।
  • ठगी प्रकरणमा उद्धव पाठक एक्लै नभई अर्जुन कुमार भट्टराई, बद्री पाण्डे, विकास बस्नेत र हरिप्रसाद लोहा संलग्न रहेको र उनीहरू फरार रहेको प्रहरीले जनाएको छ ।

विराटनगर । वैदेशिक रोजगारीमा रोमानियाको प्रलोभन देखाई सयौँ युवाहरूलाई ठगी गरेको आरोप लागेका मोरङका उद्धव पाठकको बैंक खातामा नगद मौज्दात शून्य भेटिएको छ । बरु सवा करोडभन्दा बढी ऋण देखिएको छ ।

 ‘केएसए इन्टरनेसनल ग्रुप प्रा.लि.’ दाम्राभिट्टाका सञ्चालक पाठकले सर्वसाधारणबाट करोडौँ रुपैयाँ असुले पनि बैंकिङ विवरणमा उल्टै १ करोड २८ लाख रुपैयाँ ऋण लिएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले पाठकविरुद्ध हालसम्म २८६ वटा निवेदन तथा जाहेरी परेको जानकारी दिए । ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धान र प्राप्त जाहेरीका आधारमा ठगी गरिएको कुल रकम ४ करोड ३८ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ,’ एसपी कटवालले भने, ‘पीडितहरू आउने क्रम अझै जारी रहेकाले यो रकम अझ बढ्न सक्ने देखिएको छ ।’

प्रहरीको अनुसन्धानले पाठकको आर्थिक कारोबार शंकास्पद देखाएको छ । उनले सप्तकोशी विकास बैंक र गरिमा विकास बैंकमा खाता सञ्चालन गरे पनि ती खाताहरूमा हाल कुनै मौज्दात रकम छैन । अचम्मको कुरा त के छ भने, सर्वसाधारणबाट करोडौँ उठाएका पाठकको नाममा सप्तकोशी विकास बैंकबाट मात्रै १ करोड २८ लाख रुपैयाँ ऋण निकालिएको भेटिएको छ । उनले संकलन गरेको करोडौँ रकम कहाँ व्यवस्थापन गरे वा कतै लुकाए भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।

३७ वर्षीय पाठकको परिवारको ठूलो हिस्सा विगत लामो समयदेखि रोमानियामा बस्दै आएको खुलेको छ । उनकी श्रीमती लेखामाया पाण्डे विगत ७ वर्षदेखि रोमानियामा छिन् । त्यस्तै, उनकी एक मात्र बहिनी र ज्वाइँ समेत रोमानियामै बस्दै आएका छन् । पाठकका एक छोरी छिन् ।

नेपालमा उनको र परिवारको नाममा केही स्थिर सम्पत्ति देखिएको छ । रतुवामाई नगरपालिका वडा नं. ८ मा १ कठ्ठा जग्गा र टिनको छानो भएको सडक छेउको घर तथा सोही वडाको झुनावारी रोडमा ७ कठ्ठा १३ धुर खेती जग्गा पाठकको नाममा छ । यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ५ मा १० धुर जग्गामा बनेको एकतले पक्की घर पाठक र उनकी श्रीमतीको संयुक्त नाममा रहेको पाइएको छ । त्यसैगरी, उनका बुवा खड्गप्रसाद पाठकको नाममा रतुवामाई–८ मा १५ धुर घडेरीसहितको दुईतले घर र उर्लाबारी–५ मा ५ धुर घडेरी रहेको विवरण प्रहरीले संकलन गरेको छ ।

प्रहरीले पाठकको कार्यालय र अन्य स्थानबाट १४६ थान राहदानी (पासपोर्ट) बरामद गरेको छ । बरामद भएका राहदानीका विषयमा जिल्ला सरकारी वकिल कार्यालय मोरङसँग समन्वय गरी सम्बन्धित व्यक्तिलाई बुझाउने प्रक्रिया सुरु गरिएको एसपी कटवालले जानकारी दिए ।

 ‘राहदानीको फोटोकपी गराई र आवश्यक कागजी प्रक्रिया पूरा गरी हालसम्म ३२ थान राहदानी सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको छ,’ एसपी कटवालले भने । बाँकी राहदानी लिनका लागि सम्बन्धित सरोकारवालाहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो ठगी प्रकरणमा उद्धव पाठक एक्लै नभई एउटा समूह नै सक्रिय रहेको प्रहरीको दाबी  छ । ठगीमा संलग्न भनिएका अन्य प्रतिवादीहरू अर्जुन कुमार भट्टराई, बद्री पाण्डे, विकास बस्नेत र हरिप्रसाद लोहा हाल फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्यलाई तीव्रता दिएको छ ।

पक्राउ परेका पाठक र म्यानपावरका लेखापाल अभि भण्डारीमाथि हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगारीको नाममा गाउँका सोझा युवाहरूलाई ठगी गरी करोडौँ कुम्ल्याउने यो गिरोहका अन्य सदस्यहरू पनि छिट्टै कानुनी दायरामा आउने दाबी प्रहरीले गरेको छ ।

अहिले इलाका प्रहरी कार्यालय सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङमा पीडितहरूको भीड लाग्ने गरेको छ । ऋण काढेर विदेश जानका लागि बुझाएको पैसा डुबेपछि सयौँ परिवारको बिचल्ली भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप