शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?

बुधबार, १८ माघ २०७९, २२ : २३
बुधबार, १८ माघ २०७९

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोली खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकबाट निलम्बन फुकुवा भयो । सन्दीपलाई गत भदौ २३ गते क्यानले निलम्बन गरेको थियो । सन्दीपलाई १७ वर्षीय नाबालिग बलात्कार गरेको आरोप लागेको केही समयमा नै निलम्बन गरिएको थियो । 

पोखरामा मंगलबार बसेको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्‍यो । क्यानका सात सदस्य उक्त निर्णयमा सहभागी थिएनन् । क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत १० जना बोर्ड सदस्यको सहभागितामा उनको निलम्बन फुकुवा भयो । 

सन्दीपको निलम्बन फुकुवा हुँदा क्यानको धेरै आलोचना भएको छ । तर, क्यानको बोर्ड बैठकमा भने कुनै छलफल भएन । क्यानका कार्यवाहक सचिव दुर्गा पाठकका अनुसार क्यानको बोर्ड बैठकले सिधै प्रस्ताव पारित गरेको बताए । 

उनले क्यानको निलम्बन फुकुवाको विषयमा धेरै छलफल र सुझाव पाएपछि उनको निलम्बन फुकुवालाई सहजै पारित गरेको बताए । ‘सन्दीपको निलम्बनको विषयमा धेरै छलफल भएको थिएन । हामीले बोर्ड बैठक अघि पनि धेरै परामर्श लिएका थियौँ, सोही अनुसार अघि बढेका हौँ । बोर्ड बैठकमा यो प्रस्ताव पारित भयो । हामीले धेरै छलफल पहिले गरेको हुनाले विरोध भएन,’ पाठकले रातोपाटीसँगको कुराकानीमा भने । 

उक्त निर्णय पारित हुँदा क्यानका ७ सदस्यहरूको सहभागिता थिएनन् । क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र  धर्मराज गिरी सहभागी थिएनन् । 

बैठक सुरु हुनु पूर्व नै क्यानको कार्यसम्पादन समिति र अध्यक्षको राजीनामा माग गर्दै बोर्ड बैठक नै बहिस्कार गरेर ७ सदस्यहरू बाहिरिएका थिए ।  सन्दीपको निलम्बन फुकुवा गर्ने समयमा बोर्ड बैठकमा अध्यक्ष चन्द, तत्कालीन कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, नव नियुक्त कार्यवाहक सचिव दुर्गा पाठक, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू पदम खड्का, जयन्ती भट्ट, वीरेन्द्र चन्द, विक्रम विष्ट, मादव कर्माचार्य, कैलाश विष्ट सहभागी थिए । 

अहिलेको क्यानको कार्यसमिति अनुसार यो बहुमत हो । तर, सात जना सदस्यहरूले भने क्यानले गरेका निर्णयहरूमा आफूहरूको कुनै पनि सहभागिता नरहेको बताएका छन् । क्यानका सदस्य छुम्बि लामाले क्यानको पोखरामा भएको बोर्ड बैठक र त्यहाँ भएका कुनै पनि निर्णयमा आफूहरूको सहभागिता नरहेको बताएका छन् । 

‘बोर्ड बैठक हामीले बहिस्कार गरेका हौँ । त्यहाँ भएका कुनै पनि निर्णयमा हामी सात जना सदस्यको सहभागिता छैन,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप