बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : बचत गर्ने तरिका

आइतबार, २२ माघ २०७९, १२ : ३८
आइतबार, २२ माघ २०७९

पैसा बचत गर्नु राम्रो हो । कमाइको केही प्रतिशत बचत गर्ने गर्ने बानी बसाउनुपर्छ, जसले परेको बेला काम दिन्छ तर बचत गर्ने तरिका भने मिलाउनुपर्छ । अन्यथा सुखको सट्टा दुःख पाइन्छ । बचतका लागि बैङ्क वा कुनै सहकारी संस्थाहरू उत्तम हुन सक्छन्, जसले पैसा सुरक्षित गरी पनि दिन्छ र चाहिएको बेला ब्याज सहित फिर्ता पनि पाइन्छ । कस कसैको घरमै कुनै तरिकाले बचत वा सुरक्षा गर्ने बानी पनि हुन्छ । कोही खुत्रुकेमा राख्लान् कोही घरकै कुनै कुनातिर गाडेर राख्लान् । यो भने जति सजिलो हुन्छ त्यति नै जोखिम पनि । यस्तो गर्दा यदाकदा ब्याज होइन कति बेला साँवा नै समाप्त हुन पुग्छ पत्तै हुँदैन । भाइबहिनीहरूका जानकारीका लागि यहाँ एउटा यस्तै कथा प्रस्तुत गरिएको छ । 

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना जमिनदार बस्थे । उनी जति धनी थिए त्यति नै कन्जुस पनि । खाई नखाई सम्पत्ति त कमाउँथे तर सुरक्षा गर्न भने जान्दैनथे । बैङ्कमा राख्दा वा कसैलाई दिँदा खाइदिन्छन् भन्ने डर थियो । त्यसैले जो भएको पैसाले सुन किन्थे र गालेर डल्लो पारी खेतमा लगेर कुनै रुखको फेदमा गाड्ने गर्थे तर उनलाई यतिमै सन्तुष्टि भने हुँदैनथ्यो । कुनै चोरले उठाएर जान्छ कि भन्ने डरले गर्दा प्रत्येक दिन बिहान गएर सुनको डल्लो गनेर आउने गर्थे । 

उनको यस्तो व्यवहार नियमित दिनचर्या जस्तै बनेको थियो । प्रत्येक दिन बिहान उठ्नासाथ गाडेको सुन गनेर नआई अन्य कामै गर्दैनथे । सुनका डल्ला सहीसलामत पाएपछि मात्र सन्तुष्टि मिल्थ्यो र अन्य काम गर्न जाँगर लगाउँथे । दिन बित्दै गयो उनको नियमित दिनचर्या पनि चली नै रह्यो तर समय न हो सदा एकनासको कहाँ हुन्थ्यो र ।

 एक दिन सदाझैँ सुनको डल्लो गनिरहेका थिए एक जना गाउँकै कुनै नामुद चोरले देखेछ र त्यसै रात उठाएर लगेछ । भोलिपल्ट सेठजी सुनको डल्लो गन्न त गए तर त्यति बेलासम्म चोर सुन गएर उठाएर हिँडेछ । भोलिपल्ट गएर सुन हेर्दा नपाएपछि सेठजीको होस उड्यो । नउडोस् पनि किन ? उनको जीवनभरको कमाइ जो सकिएको थियो । उनी छाती पिटेर लौ सकिएँ भन्दै रुन कराउन लागे । संयोगवश कुनै सज्जन त्यतैबाट कतै जाँदै रहेछन् । सेठ रोएको हेर्न सकेनन् र नजिकै सोधे–

‘होइन हो दाजु ! किन खेतको गरामा बसेर यसरी एकाबिहानै रुँदै हुनुहुन्छ ? के भयो तपाईँलाई ? खुलस्त पार्नुस् सकेको सहयोग गर्नेछु ।’

उनको कुरा सुनेर सेठजीले निन्याउरो मुख लगाउँदै भने–

‘के भनौँ महाशय ! नराम्ररी लुटिएँ । अहिलेसम्म खाई नखाई जम्मा पारेको सम्पत्ति एकै रातमा सिरीखुरी भए छ । अब के हेरेर चित्त बुझाऊँ ।’

त्यसपछि सज्जनले आश्चर्य मान्दै सोधे–

‘ठिकै छ, त्यसको पनि खोजी हुँदै जाला तर पहिले यो त बताउनुस् कि सम्पत्ति कहाँ राख्नुभएको थियो ?’

उनको कुरा सुनेर सेठजीले बेलिबिस्तार लगाउँदै भने–

‘आफूले कमाएको सम्पत्ति सुरक्षित गर्न उद्देश्यले सुन किनेर यही रुखको फेदमा गाड्ने गरेको थिएँ । आज के दशा लागेछ कुन्नि असतीहरूले त्यसलाई पनि देख्न सकेनन् र उठाएर लगेछ, सत्यानाश होस् त्यसको ।’

‘के भन्दै हुनुहुन्छ ? साँच्चै सुन यही रुखको फेदमा गाड्नुभएको थियो ?’

‘हो यहीँ गाडेको थिएँ ।’

‘घरमा न राखेर किन यता राख्न ल्याउनु भएको त ?’

‘के भनौँ महाशय ! गाउँमा चोरको बिगबिगी छ । यतिका सम्पत्ति घरमा राख्दा कसैले चोरिदियो भने ? यसैको डरले यहाँ राख्न ल्याएको थिएँ ।’

‘ए कुरा त्यसो पो हो ?’

‘हो, सत्य यही हो ।’

‘त्यसो भए एउटा जुक्ति सिकाउँछु मान्नु हुन्छ ?’

‘त्यसले के हुन्छ र ? के चोरिएको सुन पनि फिर्ता आउँछ ?’

‘मान्नुस् फिर्ता पाए सरह नै हुनेछ ।’    

‘त्यसो भए एउटा होइन दस वटा जुक्ति पनि मान्न तयार छु ।’

त्यसपछि सज्जनले सम्झाउँदै भने–

‘तपाईँको सुन जति किलो थियो एउटा बोरामा त्यही बराबरको ढुङ्गा राखेर यसै स्थानमा गाडी दिन्छु । दिनदिनै आएर त्यसैलाई हेर्नुस् चोरी हुने डर पनि हुन्न र सुनले गर्ने काम पनि गर्छ ।’

‘कहाँ त्यसरी हुन्छ ?’

‘किन हुँदैन ?’

‘कतै सुनले गर्ने काम पनि ढुङ्गाले गर्न सक्छ ?’

‘सक्छ नि किन नसक्ने ? तपाईँको सुन पनि यहीँ गाडिन्थ्यो, जसलाई दिनदिनै आएर हेर्नुहुन्थ्यो । यस बाहेक त्यस सुनको कुनै काम थिएन । त्यति काम त ढुङ्गाले पनि गर्न सक्छ नि होइन र ?’

बल्ल सेठजीको घैँटोमा घाम लाग्यो । उनी पुर्पुरोमा हात राखेर घरतिर लागे ।

यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर कमाएको सम्पत्ति खर्च र बचत गर्न नजान्दाको परिणाम भने जहाँ पनि यस्तै हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप