शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ अन्तरवार्ता

‘बजार खुम्चिएपछि धमाधम कर्मचारी कटौती गर्दैछन् स्टील उद्योग’

स्टील उद्योगमा हचुवामा लगानी आएपछि बजारको सन्तुलन नै बिगार्‍यो : उज्ज्वल श्रेष्ठ
मङ्गलबार, १६ फागुन २०७९

कोभिड महामारीपछि सबैजसो क्षेत्रमा आर्थिक मन्दीको असर देखिएको छ । सरकारले विकास खर्च गर्न नसक्दा र नेपाल राष्ट्र बैंकले एलसी खोल्दा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधानले झनै समस्या आएको व्यवसायीको भनाइ छ । यस्तै, नेपाल सरकारले नै लामो समय आयात प्रतिबन्ध लगाउँदा समेत नेपाली बजार प्रभावित भइरह्यो । यही कारण यतिबेला बजारमा निर्माण सामग्रीको माग न्यून अवस्थामा आइपुगेको छ र उद्योगहरुले उत्पादन रोकिरहेका छन् । कयौं उद्योगले धमाधम कर्मचारी कटौती गरिरहेका छन् ।

देशको अर्थतन्त्र र औद्योगिक क्षेत्रको अवस्थाका बारेमा केन्द्रित रहेर रातोपाटीले पञ्चकन्या स्टीलका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरेको कुराकानीको सम्पादित अंश–

कोभिडपछि सुरु भएको बजारमा सबै क्षेत्रमा मन्दी आएको छ । निर्माण क्षेत्रमा कस्तो अवस्था छ ?

कोरोना महामारीपछि रेष्टुरेन्ट, उत्पादन र व्यापारजस्ता सबै क्षेत्रमा मन्दी आएको छ । यतिबेला मदिरा व्यवसाय ४० प्रतिशतले घटेको छ भन्ने साथीहरुको गुनासो छ । यस्तै, पहिलो त्रैमासमा निर्माण सामग्री (स्टील)को उत्पादन ७० प्रतिशतले घटेको थियो । दोस्रो त्रैमाससम्ममा सुधारिएर ५० प्रतिशतसम्म आइपुगेको छ ।

स्टील उद्योगको उत्पादन र बजार नभएपछि सिमेन्टको पनि माग हुने कुरै भएन । यसको प्रभाव अन्य निर्माणजन्य सामग्रीमा पनि पर्छ । कोरोना महामारीपछि सबैजसो क्षेत्रमा असर परेको छ ।

यो तथ्याङ्क निजी क्षेत्रले तयार पारेको हो वा सरकारले तयार पारेको ?

यतिबेला २ प्रकारका तथ्याङ्क छन् । सरकारले कुनै पनि क्षेत्रको आधिकारिक तथ्याङ्क तयार पारेको छैन । तथ्याङ्क तयार पारेको भएपनि आधिकारिक छैन । त्यसैले यो तथ्याङ्क हामी उद्योगीहरुले नै तयार पारेको हो । हामीले आफ्नो बजारको बिक्री हेरेर तथ्याङ्क तयार पारेका हौं ।

यो समयमा खासगरी बैंकले एलसी खोल्दा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि समस्या आएको हो । उद्योगहरुले कच्चा पदार्थ ल्याउँदा धेरै ठूलो रकम बैंकमा बिना ब्याज जम्मा गर्नुपर्छ, जसले गर्दा वस्तु उत्पादन गर्न समेत सकिएन । बैंकमा तरलता समेत थिएन । फिक्स डिपोजिटको ब्याजदर बढ्दै गएपछि उद्योगमा गर्नुपर्ने लगानीसमेत बैंकमा थुप्रियो । बैंकमा पैसा थुप्रिएपछि उद्योगहरुमा थप लगानी हुन सकेन ।

पहिलो त्रैमासमा बजारको माग ७० प्रतिशतसम्म घटेको थियो भन्नुभयो । दोस्रो त्रैमासमा केही सुधारिएर ५० प्रतिशतमा खुम्चिएको छ । बजार विस्तारै चलायमान भएको हो ?

केही वर्ष अघि नेपालमा वर्षा यामको समयलाई अफसिजन र सुक्खायामलाई सिजन भनिन्थ्यो । यो विगत ५ वर्ष अघिको कुरो हो । हाल प्रविधिले धेरै फड्को मारिसक्यो । अहिले मुसलधारे पानी प¥यो भनेमात्रै काम रोकिन्छ । यस अवधिमा बजारको ७० प्रतिशतले खुम्चिएको मागमा केही सुधार भएर ५० प्रतिशतमात्रै खुम्चिएको अवस्था छ । तर, यस अवधिमा सुधार आएको २० प्रतिशत पनि सुधारको संकेत भने होइन । लामो समयसम्म लगानी होल्ड गरेका उद्योगीले उत्पादन बढाएर बजारमा आपूर्ति गर्न थालेपछि केही सुधार भएको देखिएको मात्रै हो ।

बजारमा अहिलेको मन्दी आउनुमा सरकारले विकास खर्च गर्न नसक्नु मूख्य कारण हो कि ?

विगतका समयमा पनि नेपालले मुस्किलले ५० प्रतिशत हाराहारीमात्रै विकास बजेट खर्च गर्थ्यो । तर, २०७२ सालको भूकम्पपछि नेपालमा पुनर्निर्माणको युग सुरु भयो । पुनर्निर्माणको काम सुरु भएपछि थप ९ वटासम्म स्टील उद्योग र धेरै सिमेन्ट उद्योग स्थापना भए । भूकम्पपछि सरकारको पूरा ध्यान पुनर्निर्माणमा केन्द्रित रहे पनि त्यो उत्साह सबै खेर गयो र फेरि राजनीतिक खिचातानीमा देश केन्द्रित भयो ।

दसैँ, तिहार र अन्य प्रकारका बिदा कटाएर वर्षमा एउटा स्टील उद्योग ९ देखि १० महिना चल्ने गर्छ । तर, कोरोना महामारीपछि चालु आर्थिक वर्षको ७ महिनामा मुस्किलले साढे २ महिनामात्रै चलेको छ । यस्तै, केही वर्ष अघिमात्रै आएको नयाँ व्यवस्थाले समेत स्टील उद्योग समस्यामा परेका छन् ।

सरकारले स्पञ्ज आइरनको आयातमा दिएको भारी छुटका कारण धेरै उद्योग संकटको डिलमा पुगेका छन् । यतिबेला निर्माण क्षेत्रमा धेरै समस्या छन् । ठेकेदार कम्पनीहरुले सम्पन्न गरेको आयोजनाहरुको भुक्तानी समेत पाएका छैनन् । उनीहरुले करिब १ खर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने अवस्था छ ।

हामी प्रत्येक पटक राजनीतिक अस्थिरताका कारण देशको विकास हुन सकेन भन्छौं । तर, तपाई उद्योगी व्यवसायीहरु एक जनाले कमाएको देख्नसाथ आँखा चिम्लेर लगानी गर्नुहुन्छ र समस्या आफै सिर्जना गर्नुहुन्छ, हैन त ?

हामी सानो हुँदा पनि यही कुरा सुनेर हुर्केका हौं । तपाईहरु पनि यही विषय सुनिरहनु भएको छ । नेपालमा बिना अध्ययन लगानी गर्ने प्रवृत्ति छ । हाम्रा छिमेकी मुलुकमा पनि यस्तै समस्या छ । हामी नेपालीको बानी अरुको बारी सधैँ हरियाली देख्ने प्रकारको छ । कोरोना महामारीपछि यति धेरै स्टील र सिमेन्ट उद्योग खुले, ती उद्योगबाट उत्पादित वस्तुको खपत नेपालको बजारले गर्नै नसक्ने स्थिति छ ।

सिमेन्टमा झनै ठूलो समस्या छ । आजको दिनमा नेपाली बजारमा धेरै डुब्लिकेट सामान पाइन्छ र त्यसलाई बेच्न खोजिन्छ । प्रतिस्पर्धा बजारका लागि फाइदाजनक भए पनि धेरै नयाँ उद्योग स्थापना भएपछि ठूलो समस्या आउँछ । आजको दिनमा २४ भन्दा धेरै स्टील उद्योग स्थापना भएका छन् । नेपाली उद्योगहरुले वार्षिक ४५ लाख टन उत्पादनको क्षमता राख्छन् । तर, बजारको माग बढेर १० लाख टनबाट १२ लाख टनमात्रै पुग्यो । यही कारण आजका दिनमा सबै स्टील उद्योग घाटामा छन् र बन्द हुने प्रक्रियामा छन् ।

सरकारी निकायले बजारको अध्ययन गरेरमात्रै नयाँ उद्योगलाई उत्पादनको लाइसेन्स दिएमा उद्योगमा गरिएको लगानी डुब्दैनथ्यो । तर, स्टील उद्योगहरु समस्यामा भए पनि यतिबेला उपभोक्तालाई धेरै फाइदा भएको छ । उपभोक्तालाई प्रतिस्पर्धामा आधारित बजार मूल्यले ठूलो फाइदा भएको छ । जबकि, गुणस्तरमा धेरै समस्या छ ।

कोभिड अघिदेखि नै उत्पादन क्षमताअनुसारको बजार माग नरहेको स्थिति थियो । अहिलेचाहिँ स्टील उद्योगहरुको अवस्था कस्तो छ ?

उत्पादनको अवस्था एकदमै नाजुक छ । उद्योग बन्द गर्दै चलाउँदै गर्नुपर्ने अवस्था छ । उद्योग केही समय चलाएर वस्तु उत्पादन गरेपछि फेरि बन्द गर्नुपर्ने अवस्था छ । बजारको माग न्यून अवस्थामा रहेको समस्या एकातिर छ भने एलसी खोल्दा शत प्रतिशत मार्जिन राख्नुपर्ने पीडा अर्कोतर्फ छ । केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन एलसीमा कडाई गरेको थियो । तर, स्टील उद्योगले एउटा कन्साइनमेन्ट ल्याउँदा २५ करोड रुपैयाँसम्म लाग्छ । एक महिनामा उद्योग चलाउन ५ वटा कन्साइनमेन्ट चाहिन्छ । यस्तो अवस्थामा उद्योग चलाउनै नसक्ने अवस्था छ ।

पञ्चकन्या स्टील यतिबेला कति प्रतिशत क्षमतामा चलेको छ ?

चालु आर्थिक वर्षको ७ महिनामा जम्मा साढे २ महिना उद्योग सञ्चालन भएको छ । चलाएको समयमा पनि ४० प्रतिशत क्षमतामा चलेको हुन्छ । ७ महिनाको अवधिलाई नै तुलना गर्ने हो भने कुल क्षमताको २० प्रतिशत मात्रै सञ्चालन भइरहेको छ ।

उद्योगले कर्मचारी पनि कटौती गरेको हो ?

यतिबेला पञ्चकन्या उद्योगले मात्रै कर्मचारी कटौती गरेको छैन । सबै उद्योगले कर्मचारी कटौती गरिरहेका छन् । कोरोना महामारीले थोरै कर्मचारीमार्फत धेरै काम गर्न सिकायो । यही पाठ सिकेर राम्रा राम्रा कर्मचारीलाई राखेर धेरै काम गर्ने र अटोमेशनमा जानुपर्ने रहेछ भन्ने समेत सिकायो ।

यस अवधिमा पञ्चकन्या स्टीलले पनि उत्पादनतर्फको ४० प्रतिशत कर्मचारी कटौती ग¥यो । उक्त संख्याको कर्मचारी कटौती गरेपछि हामीलाई सञ्चालन खर्चमा कम दबाब पर्न थालेको छ । आगामी दिनमा आधारभूत सिप नभई पूर्ण दक्ष जनशक्ति राख्ने योजना हाम्रो छ ।

समग्र स्टील उद्योगले कति प्रतिशत कर्मचारी घटाएका छन् ?

सबैजसो उद्योगले आफ्ना कर्मचारी कटौती गरिरहेका छन् । तर, यस अवधिमा कर्मचारी कटौती मात्र नभई केही उद्योगले थप कर्मचारी समेत राखेका छन् । तर, ती कर्मचारी नेपाली नभई भारतीय हुन् । सरकारले बजेटमार्फत स्पञ्ज आइरनलाई दिएको भन्सार र अन्तःशूल्क छुटका कारणले नयाँ लगानी समेत थपिएको छ र कर्मचारी समेत थपिएको छ । उक्त व्यवस्थासँगै उद्योगहरुले स्पञ्ज आइरन पेल्ने र त्यसबाट बिलेट हुँदै स्टील बनाउने प्लान्ट लगाउनुप¥यो । यसकारण, कर्मचारीको संख्या बढ्यो ।

बजेटबाट आएको स्पञ्ज आइरनको भन्सार छुट र अन्तःशुल्क छुटसँगै स्पञ्ज आइरन पगाल्ने प्लान्ट लगाएका उद्योगहरुले चाहिँ कर्मचारी बढाएका छन् ।

त्यसो भए बजेटमार्फत स्पञ्ज आइरनमा छुट दिने व्यवस्थाबाट स्टील उद्योगमा लगानी बढेको छ ?

उक्त व्यवस्थासँगै नेपाली उद्योगमा लगानी बढेको छ । यसअघि, बिलेटबाट स्टील उत्पादन गर्दै आइरहेकोमा अब स्पञ्जबाट बिलेट र बिलेटबाट स्टील बनाउनुपर्ने अवस्था छ । यही कारण लगानीचाहिँ बढेको छ । लगानी धेरै बढेकोचाहिँ होइन । किनकि, स्टील उद्योगमा मूख्य लगानी रोलिङ मिल स्थापनामा लाग्ने हो । सबैजसो उद्योगले पहिले नै रोलिङ मिल स्थापना गरेका थिए ।

सरकारले स्पञ्ज आइरनमा भन्सार छुट दिएपछि नेपालमा रोजगारी बढ्ने र लगानी समेत बढ्ने घोषणा गरेको थियो । के त्यस्तो देखियो ?

नेपाल सरकारले प्राथमिकताका साथ भित्र्याएको स्पञ्ज आइरनको प्रविधि धेरै देशमा प्रतिबन्धित प्रविधि हो । यो प्रविधिबाट उत्पादित स्टीलको गुणस्तर न्यून हुन्छ । र, कर्मचारी समेत नेपालका नभई सीमा पारीका हुन्छन् । किनकि, नेपाली कामदारले स्पञ्ज आइरन पगाल्न सक्दैनन् र भए पनि न्यून मात्रामा छन् । विकासित देशमा मात्र नभई विकासशील देशमा पनि यो प्रतिबन्ध लगाइसकेको छ । बंगलादेशमा पनि २०१५ मा प्रतिबन्ध लागेर ३ वर्षपछि धेरै शर्तसहित पुनःसञ्चालनमा आएको प्रविधि हो । यो प्रविधिले उत्पादन गुणस्तरहीन बनाउनुका साथै वातावरणलाई पनि ठूलो क्षति पु¥याउँछ ।

नेपाल गुणस्तर विभागले दिएको नेपाल गुणस्तरको चिह्नलाई समेत धेरै उद्योगले न्याय गर्न सकेका छैनन् । स्पञ्ज आइरनबाट उत्पादित स्टीलको गुणस्तर नै न्यून भेटिएको छ । यही कारण, गुणस्तर विभागले धेरै उद्योगलाई गुणस्तर सुधार्न चेतावनी दिइसकेको छ । अन्यथा नेपाल गुणस्तरको प्रमाणपत्र खोस्ने विभागको चेतावनी छ ।

हाल कतिवटा उद्योगले स्पञ्जबाट स्टील उत्पादन गर्दै आइरहेका छन् ?

विदेशबाट कवाडी फलाम (स्पञ्ज) ल्याएर स्टील बनाउन धेरै सस्तो पर्छ । स्पञ्ज ल्याएर बिलेट हुँदै स्टील उत्पादन हुन्छ । सरकारको यो नीति आएपछि थप ७ वटा उद्योगले लगानी गरेका छन् र स्पञ्जबाट डण्डी उत्पादन गर्ने उद्योगको संख्या कूल १४ आसपास पुगिसकेको छ ।

धेरै उद्योगले लगानी गर्दा यसमा पनि समस्या आइरहेको छ । स्पञ्जबाट डण्डी बनाउने उद्योगीहरुबीच मूल्य भिडन्त भइरहेको छ । र, पहिलेदेखि समस्यामा रहेका उद्योगहरु यो लगानीसँगै झनै ठूलो समस्यामा परेका छन् । धेरै उद्योग बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया