सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

के भएको थियो नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानमा ?

मङ्गलबार, १६ फागुन २०७९, १० : १६
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । सात महिनाअघि (१२ साउन २०७९ मा), मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौँ उडानका क्रममा रहेको नेपाल वायुसेवा निगमको आरए–४१६ जहाजका पाइलटले क्याबिन क्रु मेम्बर (विमान परिचारिका)माथि अभद्र व्यवहार गरेको घटना यतिखेर चर्चामा छ । 

यस सम्बन्धमा शुक्रबार नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गरेसँगै घटना बाहिरिएको हो । प्राधिकरणले चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक किसिमले दुर्व्यवहार गरेको विषयमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विमानमा सवार सम्पूर्ण सक्रिय चालक दलका सदस्यलाई तत्काल उडानमा प्रतिबन्ध लगाई कारबाही अगाडि बढाउन निगमलाई निर्देशन दिएको छ । 

छानबिन गरेर घटनाको यथार्थ प्रतिवेदन बुझाउने जिम्मेवारी पनि प्राधिकरणले निगमलाई नै दिएको छ । यसैले घटनाको सत्यतथ्य बाहिर आउनेमा पीडित पक्ष ढुक्क हुन सकेको छैन । 

यस घटनामा आफूलाई पीडित बताउने आरती महर्जन भन्छिन्, ‘सात–सात महिनासम्म घटनालाई दबाउन लागिपर्ने निगमले नै सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउँछ भन्ने विश्वास कसरी गर्नु ? पाइटलबाट दुर्व्यवहार भएको छ, पाइलटले नै निगम घेरिएको छ, यो अवस्थामा निगमले कस्तो छानबिन गर्ला ?’ घटनाको यथार्थ छानबिन प्राधिकरणले नै गर्नुपर्ने आफूहरूको माग रहेको उनी बताउँछिन् । 

निगमले प्राधिकरणको निर्देशन पाएलगत्तै घटनामा मुछिएको विमानचालक दलसँगै विमानमा रहेका सबै परिचारिकालाई मौखिक रूपमा छानबिन गर्ने भने पनि लिखित जानकारी दिएको छैन ।

घटना

११ साउनमा निगमको आरए–४१६ जहाज एक सय ५८ यात्रु बोकेर त्रिभुवन विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि उडेको थियो । सोही जहाज १२ साउनमा यात्रुसहित क्वालालम्पुरबाट काठमाडौँ फर्कने क्रममा घटना भएको हो । 

११ साउनमा, जहाजमा चार सदस्यीय चालक दलसहित ६ विमान परिचारिका थिए । उडानको नेतृत्व क्याप्टेन मुकेश कुमार गुप्ताले गरेका थिए भने, को–पाइलटका रूपमा राज रौनियार थिए । 

फर्कने क्रममा उडान (क्वालालम्पुर–काठमाडौँ)को नेतृत्व भने अर्का पाइलट अरविन्दराज पहारीले लिए । को–पाइलट थिए, लालबहादुर थकाली । सोही उडानमा विमान परिचारिका थिए– जरिना श्रेष्ठ, प्रिया बस्नेत, निकेश महर्जन, सोमनाथ पाण्डे, दीपिका कुइँकेल र आरती महर्जन । वरिष्ठ विमान परिचारिका (आइएफएस) आरती महर्जनले विमान परिचारिकाहरूको नेतृत्व गरेकी थिइन् ।

सामान्यतः जहाज उडानको नेतृत्व चालक दलले लिएको हुन्छ भने जहाजको क्याबिन सेक्टर (यात्रुतर्फ) को व्यवस्थापकीय जिम्मेवारी विमान परिचारिकाहरूलाई हुन्छ । विमान परिचारिकाहरूलाई परिचालन गर्ने, चालक दलसँग सम्पर्कमा रहने र यात्रुलाई आवश्यक सूचना प्रवाहको जिम्मेवारी वरिष्ठ विमान परिचारिकालाई रहन्छ । 

घटना भएको दिन भने वरिष्ठ विमान परिचारिका आरतीको अधिकार खोसियो । उडानकै क्रममा क्याप्टेन पहारीले जुनियर विमान परिचारिका प्रिया बस्नेतलाई ककपिट (चालक दलको च्याम्बर)मा बोलाएर भने, ‘उडानको सम्पूर्ण आइएफएसको जिम्मेवारी तिमीले लिनुपर्छ, अरू कोहीसँग मेरो सम्पर्क हुँदैन ।’ 

नागरिक उड्डयन नियमावली अनुसार, आपत्कालीन अवस्थामा बाहेक उडानका क्रममा चालक दल वा क्याबिन क्रु मेम्बरको जिम्मेवारी हेरफेर गर्न पाइँदैन । आफ्नो जिम्मेवारी खोसिएसँगै वरिष्ठ विमान परिचारिका आरतीले १३ अगस्ट २०२२ मा इमेलमार्फत आफूमाथि अन्याय भएको भनी डिपार्टमेन्ट हेडलाई जानकारी गराइएकी थिइन् । ‘तर मेरो उजुरीमाथि सुनुवाइ भएन,’ आरती भन्छिन् । घटना बाहिरिएपछि क्याबिन क्रु एसोसिएसनले समेत आरतीले न्याय पाउनुपर्ने जनाएको छ । 

१३ साउनको घटनामा कुनै दुर्व्यवहार नभएको निगमको मानव संसाधन विभागले दाबी गरेको छ । निगमको भनाइ छ, ‘उडानकै क्रममा क्रु मेम्बरहरूको जिम्मेवारी हेरफेर गर्न सकिन्छ । त्यसैले आरतीमाथि दुर्व्यवहार भएको भन्न मिल्दैन ।’

घटनाको लहरो

पीडित आरतीका अनुसार, यस प्रकारको दुर्व्यवहार १३ साउनअघि पनि भएको थियो । ‘पाइलट अरविन्दराज पहारीले पहिले पनि उडानकै क्रममा एक क्रु मेम्बरलाई ककपिटमा राखेका थिए । उनीमाथि एक किसिमले दुर्व्यवहार भएको थियो,’ आरती भन्छिन्, ‘यो घटनाको बारेमा कोही बोल्न नचाहेपछि मैले नै निगमका हेड अफ डाइरेक्टर रवीन्द्र कुमार शेरचनलाई कम्प्लेन गरेकी थिएँ । तर, डाइरेक्टरले उल्टै आइएफएस र क्रु मेम्बरलाई नै दोषी देखाए ।’

आरतीका अनुसार, त्यति बेलाकी पीडित क्रु मेम्बरले घटनालगत्तै जागिर छाडिन् । उनले कसको दबाबमा वा के कारण जागिर छाडिन् भन्ने आफूलाई जानकारी नभएको आरतीको भनाइ छ । ‘त्यतिबेला ककपिटमा जाने क्रु मेम्बरलाई नै दोषी देखाएर पाइलटलाई बचाइयो,’ आरती भन्छिन्, ‘निगमको जहाज उडानकै क्रममा पाइलटले परिचारिकालाई ककपिटमा राखेर जहाज ल्यान्डिङ गराएको घटना सामान्य थिएन, तर यसलाई भित्रभित्रै सामसुम पारियो ।’ यस घटनाको विरोध गर्दा पाइलट पहारीले उडानकै क्रममा आफ्नो जिम्मेवारी खोसेको आरतीको भनाइ छ । 

यता, १३ साउनको घटनामा कुनै दुर्व्यवहार नभएको निगमको मानव संसाधन विभागले दाबी गरेको छ । निगमको भनाइ छ, ‘उडानकै क्रममा क्रु मेम्बरहरूको जिम्मेवारी हेरफेर गर्न सकिन्छ । त्यसैले आरतीमाथि दुर्व्यवहार भएको भन्न मिल्दैन ।’

आरती भन्छिन्, ‘मसँगै अर्की वरिष्ठ विमान परिचारिका स्मृति गुभाजुको पनि कनट्र्याक्ट रिन्यु गरिएन । १५ वर्षदेखि नियमित काम गर्दै आएका हामी दुईलाई मात्र हटाउन खोजियो । तर के कारणले हटाइएको भन्ने जानकारी हामीलाई गराइएन ।’ 

घटना लुकाउने षड्यन्त्र

वरिष्ठ विमान परिचारिका आरती विगत १५ वर्षदेखि निगममा कार्यरत छन् । करार सेवामा काम गर्दै आएकी आरतीको १४ डिसेम्बर २०२२ मा पछिल्लो करार म्याद सकिँदै थियो । त्यतिबेला निगमले उनको करार म्याद थपिदिएन । जबकि अरू एक सय ४२ क्रु मेम्बरको करार नवीकरण गरियो । 

पाइलटका विरुद्ध आवाज उठाएकैले निगमले आफ्नो करार नवीकरण नगरेको आरतीको भनाइ छ । ‘निगममा पाइलटकै जगजगी छ । प्रायः सबै डिपार्टको प्रमुख पाइलट नै छन् । यसो हुँदा पाइलटकै विरुद्धमा आवाज उठाउँदा मलाई किनारामा पार्ने नै भए । बारम्बार पाइलट पहारीको गलत व्यवहारको विरोध गरेपछि मेरो कनट्र्याक्ट रिन्यु भएन,’ आरती भन्छिन्, ‘मसँगै अर्की वरिष्ठ विमान परिचारिका स्मृति गुभाजुको पनि कनट्र्याक्ट रिन्यु गरिएन । १५ वर्षदेखि नियमित काम गर्दै आएका हामी दुईलाई मात्र हटाउन खोजियो । तर के कारणले हटाइएको भन्ने जानकारी हामीलाई गराइएन ।’ 

नवीकरण नभएपछि उनीहरूले क्रु मेम्बर एसोसिएनमा जानकारी गराएका थिए । एसोसिएसनकै पहलमा आन्दोलन हुँदा सोही दिन उनीहरूको करार नवीकरण भयो ।  

पाइलट अरविन्द पहारीले विमान परिचारिकामाथि गरेको दुर्व्यवहार तथा ज्यादतीविरुद्ध आवाज उठाएकैले आफूमाथि योजनाबद्ध प्रहार गरिएको आरतीको भनाइ छ । घटनाबारे उनले निगमका अध्यक्ष, नागरिक उड्डयन मन्त्रालयका सचिव र मन्त्रीलाई समेत जानकारी गराएपछि अन्तमा प्राधिकरणले निगमलाई घटनाको छानबिन गर्न निर्देशन दिएको हो । 

प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाका अनुसार, उजुरीकर्ताको सूचना गोप्य राखी घटनाको यथार्थ छानबिन गरी सोको प्रतिवेदन प्राधिकरणमा बुझाउन निगमलाई निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप