सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

समाजवादभित्र स्वार्थको घनचक्कर !

सोमबार, २९ फागुन २०७९, १४ : ४१
सोमबार, २९ फागुन २०७९

राजनीति अस्थिरताबाट सुरु भएर अस्थिरताभित्रै रुमल्लिएर अस्थिरतामै टुङ्गिएको देखिन्छ । हाल स्ववियु निर्वाचनमा देखिइएको केही झडप, हिंसा वा अनाडीपनले भविष्यका नेताहरूमा उही स्कुलिङ बोध भएको देखिन्छ । युद्धको स्कुलिङले घर गरिरहेको छ । न्याय र आदर्शभन्दा बाहिरको अत्याचारी दाउपेचले हामी कता जाँदै छौँ भन्ने पनि लाग्छ । यद्यपि सबै अपशकुन मात्रै भएको होइन तर वर्तमान राजनीतिमा स्खलित सिद्धान्तको राग तल्लो तहमा पनि देखिन्छ । यही कुरा मुख्य विसङ्गतिको लप्को हो । विचार र व्यवहारको स्पष्टता नहुनुले भोलिको नेतृत्व कसैका प्रतिष्ठा बनिदिने अनि कसैको भरिया नै बनिरहने त होइनन् ? वर्ग सिद्धान्त र व्यवहारलाई हाम्रो माटोमैत्री बनाउन नसकिएका विषयमा समाजवादका नारा उगेल्नेहरूले बोध गर्नुपर्छ । किनभने पदीय लिप्सामा जुको भएर गाई हुँ भन्न सुहाउँदैन । 

नवीन उम्मेदवारलाई आफ्नो उत्तराधिकारी बनाउँदै गर्दा आपूmजस्तै हुनुपर्ने भाष्य भिराउनु अपराध हो । समय धेरै अघि दौडिसकेको सत्यलाई कृपया धोका नदिइयोस् । अहिले विज्ञान, चेतना र व्यवहारमा समेत भूस्थानीयकरण (विश्वव्यापीकरण र स्थानीयकरणको मिश्रण)को चिन्तन अघि बढिसकेको कुरामा हेक्का हुनुपर्छ । 

अस्थिरताको अभ्यास र अनुसरण

एउटा नेताको गल्ती वा इगोका कारण लाखौँ कार्यकर्ता अनि करोडौँ जनताको भाग्य र भविष्यमा ठेस पुग्छ । गुटको खेतीको परिणाम सक्दो द्वन्द्व मच्चाएपछि कि त वार्ता गरेर मिल्नु हो कि त विभाजनको रमिता देखाएर अल्झाउनु हो । मिलिहाले पनि तन मिलेर मन नमिले त्यो देखाउने दाँत र चपाउने दाँतको अन्तरमा देश र जनता नै पछि पर्छ । युद्ध, झगडा, द्वन्द्व गरे पनि वा हडताल, बन्द वा आतङ्क भए पनि नेतालाई ठूलो सुरक्षा घेरा हुन्छ । जनता नै लड्ने हुन् । नेताले मरेदेखि विघ्नै भए श्रद्धाञ्जलि भनिदेलान् । अन्ततः वार्ता र संवादबाटै निष्कर्ष खोज्नुपर्ने मानवीय धर्म अपनाउनै पर्छ । 

पेटमा दाह्रा हुनेले मुखमा लिपस्टिक, पाउडर वा श्रीखण्ड लाए पनि भुसको आगो पुत्पुत धुवाँइरहन्छ । मूलतः भुइँमान्छेलाई त्यही अस्थिरताको चपेटाभित्र राखेर सङ्गठन विस्तारका नाममा, भोटका नाममा या त अन्य कुनै बहाना खोजेर उपभोग गरिन्छ । दूरदराजले केन्द्रको राजनीतिलाई गुरु मान्ने कुसंस्कारका कारण भुइँको टिप्न खोज्दा पोल्टोको खस्न पुग्छ । आफ्नै स्थानको विकासमा समेत एकता नहुने कस्तो अचम्मको हाम्रो मानसिकता ?!

साम्यवाद र समाजवादको घुलन त टाठाबाठाका बुद्धिविलास मात्रै हुन् । क्षमता र योग्यताभन्दा चाकडी र गुलामीपनको बढोत्तरी गराउने शैलीको कूटनीतिमा हाम्रो राजनीति मोडिएको छ । फलतः क्षमतावान् मान्छे पनि स्वार्थका लागि भन्दै उही गुलामीमा लम्पसार हुँदा तिनको बौद्धिकता देशका लागि खर्च भएन 

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । सानो देश नेपालले ठूलो समस्यालाई विगतबाटै सुल्झाउन सकेन । तानाशाह, प्रजातन्त्रमा अस्थिरता र अप्ठ्यारा, पञ्चायती शासन, विभिन्न आन्दोलन र अप्ठ्याराहरू, बहुदलीय योजनामा पनि विमतिकै चक्करमा अडिएको गुटबन्दीको लप्काले मुलुक अन्योलै अन्योलमा छ । गणतान्त्रिक सोचभित्र पनि दलगत सत्ता स्वार्थकै सोचसम्म हामीले भुलेको एउटै विषय हो– जमिन, जल, जनशक्ति, जङ्गल र जडीबुटीबारे अहम् योजनाको अभाव । नेतृत्वले संसद्बाटै योजना तय नगर्नु अनि कार्यान्वयनमा कर्मचारीतन्त्रको घुसखोरी प्रवृत्तिले ढिलासुस्ती र अड्को थापिरहनु अभैm जटिल समस्या रहेछ । 

बेथिति खुलेआम स्थापित भयो !

नेपाली राजनीतिले अहिले सिद्धान्तको आडमा जनतालाई बौद्धिक भ्रष्टाचार गरिरहेको छ । अवसरका लागि पछि लाग्ने, राजनीति र सिद्धान्तका कुराभन्दा बढी कुर्सीको कुरा बुझ्ने मान्छेलाई होहल्लाले नै डो¥याएको छ । कुरा विकासको तर काम ओहोदामुखी महŒवाकाङ्क्षाको हुने रहेछ । ठूला योजनाले गति नलिएसम्म परिवर्तनको आभास हुन गाह्रो हुन्छ । विपन्न देशमा एउटा जनता नबुझी समर्थन वा विरोध गर्छ, एउटा लहैलहैमा लाग्छ अनि एउटाचाहिँ बुझ्छ तर स्वार्थको पोयोलाई समात्छ । गुलामी प्रवृत्तिमा लिप्त शैली नसुध्रिनु जनताको बाध्यता र पुरानो आदतको अनुसरण दुवै हो । 

हामी त श्रम बेच्नेभन्दा सपना बेच्नुमा बढी विश्वास गर्छौं । सहरमुखी विकास र सहरकै समृद्धि नियाल्नमा मग्न भइदिन्छौँ । परिणामतः विकासको गति अहिले पनि एककाँधे भइरहँदा यहाँ करोडपति र रोडपतिको खाडल ज्युँकात्युँ हस्तान्तरण भइरहेकै छ । तब ‘पैसा कहाँ कमिन्छ’ भन्दा ‘विदेशमा’ भन्ने विकल्प नै युवा पुस्तको दिमागमा गढेर बस्न पुग्यो । गरिबीको मुख्य कारण नै राज्यको बेथिति र अल्प फाइदे स्वार्थी चक्करको कुरीति हो । 

अहिले त समाजवादका आडमा भोट माग्ने र नवसामन्त शैली अपनाउने एकखाले नजिर स्थापित छ । सहरियाहरूले गाउँका पीडा बुझ्न चुनावै आउनुपर्ने वा सत्तामा भूमिकाबाहिर हुनु नपर्ने रहेछ भन्ने देखियो । घोषणापत्रका वाचा पनि चुनावदेखि चुनावसम्मका लागि मात्रै भए । विकास भनेको ताक परे तिवारी नत्र गोतामे भयो । दोष अर्कालाई दिने अनि आपूmचाहिँ चोखिइरहने ‘गालीवाद’ र ‘दोषारोपणवाद’को घिनलाग्दो शैलीले समाजवाद साँच्चै सहरिया बनिसकेको छ । 

‘राजनीति नगरे काम छैन’ भन्ने भाष्य नै भयानक भयो !

बजारमा होहल्ला गरेर लहडी व्याख्यामा लहसिने स्वार्थभित्र हाम्रो नेपाली राजनीति अल्मलिएको छ । वास्तवमा मार्क्सवादी मान्यताको समाजवादलाई संविधानका पानामा धेरै राम्रोसँग बोले पनि पछिल्लो राजनीति त्यतातिर पटक्कै छैन । साम्यवाद र समाजवादको घुलन त टाठाबाठाका बुद्धिविलास मात्रै हुन् । क्षमता र योग्यताभन्दा चाकडी र गुलामीपनको बढोत्तरी गराउने शैलीको कूटनीतिमा हाम्रो राजनीति मोडिएको छ । फलतः क्षमतावान् मान्छे पनि स्वार्थका लागि भन्दै उही गुलामीमा लम्पसार हुँदा तिनको बौद्धिकता देशका लागि खर्च भएन । उही राजनीतिक चक्रको दलदलमा भास्सियो । परिणामतः सबैले दलदललाई मात्रै साथ दिए अनि थाहा भएरै, बुझेरै ‘राजनीति नगरे काम छैन’ भन्ने भावना जन्मियो र सबैमा यही साझा सिद्धान्त बनेर मज्जासँग मौलायो । यसै मैदानमा हामी सबै यतिखेर घुमिरहेका छौँ । यसमा खलनायक देखिँदैन तर हार्नेको मात्रा बढी छ । हामी नेपाली यतिखेर विचार र व्यवहारको सङ्क्रमणकालीन अवस्थाको स्तरमै रुमल्लिरहेका छौँ । अतः व्यावहारिक विकासवाद अबको आवश्यकता हो । 

रोडमुनि सुत्नेका लागि केको समाजवाद ?

राजनीतिलाई फोहोरी खेल भनिनुको मूल कारण गुटतन्त्रको स्वार्थवाद नै हो । जनताले  त गुण र दोषको पहिचान गर्न नजान्नु र नचाहनु समस्या हो । गलत कर्ममा लहसिनेले पनि एउटा भीड पाइरहने पद्धति हाबी भयो । वास्तवमा अब त एउटा शान्तिपूर्ण क्रान्तिको खाँचो बढ्यो । यसमा बौद्धिक जगत्ले राजनीतिक बागडोरमा छाता बनेर नियन्त्रण र निर्देशन गर्न सक्नुपर्छ । यो अद्यापि शान्तिपूर्ण ढाँचाबाट मात्रै सम्भव छ । 

अर्को, सञ्चार जगत्को स्वच्छता हो । यसमा मापदण्ड र तह स्पष्ट हुनुपर्छ जसले सामान्य वर्गलाई उकास्न माथिल्ला वर्गलाई नदबाए पनि मुलुकमा द्रुत परिवर्तन सम्भव हुन सक्छ । यसमा समर्थन ज्यादा र विरोध न्यून हुन्छ । यसको अर्थ गुटलाई साथ नदिने तर विकासमा सधैँ एक बन्ने हो । न्यायको संस्कार बसाउने हो । यसले सानो ठूलोको पदीय लालसाको चक्करलाई तोड्नुपर्छ ।  

कसैले कसैको सरसामान चोर्नु, लुट्नु उसको मात्रै दोष होइन । यसमा गरिबी, बाध्यता, रहरको बेमेल, बेरोजगार स्थिति वा राजनीतिक दादागिरीमा सामेल हुन नसक्नु जस्ता कारण हुन सक्लान् । नेपालमा अहिले अमूर्त र अपरिभाषित दूषित समाजवादले काम गरिरहेको छ । अलिकति समाजवाद अलिकति तानाशाहको प्रभुत्व । बाहिर समाजवाद तर भित्र स्वार्थको घनचक्कर । यसको अर्थ राजनीतिमा जबसम्म तल्ला तहका मानिसमा वितृष्णा र अभाव भइरहन्छ≤ गुफामा, रोडमा, पुलमुनि मान्छे मागेर, ढुकेर, लुटेर खान विवश हुन्छ भने त्यहाँ समाजवाद सम्भव छैन । दशकौँ बित्दा पनि सहरमा चिल्ला गाडीमा हुइँकिनेले दूरदराजको साँझबिहानको चुलो बाल्नुपर्ने बाध्यतालाई बुझ्न सकेन ।

समानताका नाममा विकसित चरम विभेदलाई पनि हेर्ने कि !

वास्तवमा वाद, सिद्धान्त, नियम, नीतिका कुरा किताबका पानामा अडिने गणेश थापना गरिएका विषय मात्रै हुन् । व्यवहार र नैतिकता भनेको भावना नै हो । चिन्तन र चेतना हो । विवेक र बौद्धिकताको सदुपयोग हो किनकि सबै दर्शन र सिद्धान्त समाजद्वारा बन्धित हुन्छन् । समाज भनेको व्यक्तिको समूह हो, जो भावनामा चल्छ । यसर्थ पनि जातवाद, विचौलियावाद, माफियातन्त्र, नश्लवाद, तरमारा वर्गदेखि एउटा धर्मको विषय बोकेर हिँडेसम्म पनि त्यहाँ कतै न कतै विभेद हुन्छ नै । 

विचार र व्यवहारको स्पष्टता नहुनुले भोलिको नेतृत्व कसैका प्रतिष्ठा बनिदिने अनि कसैको भरिया नै बनिरहने त होइनन् ? वर्ग सिद्धान्त र व्यवहारलाई हाम्रो माटोमैत्री बनाउन नसकिएका विषयमा समाजवादका नारा उगेल्नेहरूले बोध गर्नुपर्छ । 

भ्रष्टाचार, अत्याचार, न्यायालयको हुर्मत किन हुन्छ ? समूहमा बस्ने, पदमा पुग्ने वा हुकुम चलाउने हैसियत भएकाहरूले कि समूहबाट शक्ति आर्जन गर्छन् या त कूटनीतिबाट आपूmलाई जोगाउँछन् । तिनका शक्ति नै अन्धभक्त गुलामी भजनमण्डलीहरू हुन् । त्यसमा पनि पूरा नबुझ्ने र अल्पज्ञानमा नेती बनेर मदानीलाई घिउ खुवाउने पात्रहरू यसमा सामेल हुन्छन् । जब रोष, प्रतिशोध र हिंसाको पट्टी बाँध्नेहरूमा केवल आलोचना गर्ने क्षमता हुन्छ । बाध्यता पनि हुन्छ अनि समालोचना गर्ने तहमा पुगे पनि ट्याग लागिसकेपछि झुटोलाई पनि कर्तव्य सम्झेर अपनाउनुपर्ने स्थिति बनिदिन्छ ।

हालको राजनीतिमा महाभारतकालीन भीष्मपितामहको प्रतिज्ञा अनि आपूm कुन्तीकै जेठो सन्तान भएको थाहा पाउने कर्णले असत्य (कौरव)लाई बोके जस्तो सत्ताजुहारीले सबै भयो तर विकास हुन सकेन । सत्तामा पुग्न र प्रतिज्ञा बोक्नबाहेक न्याय र सत्य समात्नलाई चाहिँ कसैले पनि चाहेन र मानेन पनि । 

पछिल्लो राजनीतिले मान्छे जन्माएन, जनता जन्माएन तर कार्यकर्ता र बेकामे गफाडी नेताहरूको झुन्डको विकास गरायो । शक्तिलाई दुरुपयोग गरेर सानालाई ऐन र ठूलालाई चैन भइरहने खाडलको सिर्जना गरिदियो । यसो भएसम्म मानिस फासीवादकै शरणमा जाकिन्छ । किनभने हामी श्रम र श्रम बजारको सम्बन्धमा सधैँ कमजोर छौँ । गाउँलेहरू सहरतिर र सहरियाहरू विदेशतिर होमिने प्रथामा हामी होमिएका छौँ । यसमा ग्रामीणीकरण, लघु उद्योग, लघुकारखना, सूक्ष्म बजारको मूल्यमा बढोत्तरी, माटो सुहाउँदो खेतीमा जागरुक गराउने योजना हुँदो हो त देश र नागरिक दुवै आर्थिक उन्नतिमा आपैmँ जुट्न सक्छ ।

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ !

निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवासँगै कृषि र रोजगारका योजना गाँसिने हो भने अन्य सबै विकासका बाटा फराकिला हुन्छन् । देश गरिब पनि हुँदैन र जनतामा निराशा तथा पीडामा विशेष सुधार सम्भव पनि हुन्छ । तब समृद्धिका सपनाले व्यावहारिक आकार पाउने सम्भाव्यता बढ्ला । मानिसले स्वच्छ र स्वस्थ खाना खान पाउनु तिनको आवश्यकता हो रहर होइन । यो मानवीय विषयमा समेत सरकार अनाडि हुनु विडम्बनाको पराकाष्टा नै हो । यसर्थ विपद् व्यवस्थापन, बस्ती व्यवस्थापन, नमुना बस्ती निर्माण, शिक्षा र स्वास्थ्यलाई सरकारी मातहतमुखी बनाउनेजस्ता कार्यमा सामाजिक सरोकारवालाको हक बढी हुनु आवश्यक देखिन्छ । यसमा कमाउधन्दाले उब्जाउने घुसखोरीतिर उन्मुख संस्थाभन्दा अपनत्वको भावले स्थान पाउने विषय सबैभन्दा ठूलो कुरा हो । भावनात्मक पक्ष र नाफाखोरीका बीचमा अन्तर केलाउनु असल राज्यको दायित्व हो । यसर्थ घुसखोरी प्रवृत्तिको नियन्त्रणमा समाज र सरकारको सहभागिता हुनुपर्छ ।  

विकास र समृद्धिमा केही मात्रामा नेपाली सेनाको सहभागिता रहनु सान्दर्भिक देखिन्छ । विकास निर्माणमा ढिलासुस्ती गर्ने र अल्झाएर राख्ने ठेकेदारबाट कारबाहीको संयन्त्र बलियो हुनु आवश्यक छ । तथापि राम्रो गर्नेलाई सम्मान गर्न नजान्नु पनि समस्या नै हो । कामको मूल्याङ्कनका विषयमा आग्रह र पूर्वाग्रहको शैलीबाट मुक्त हुने गरी कडा शासनको व्यवस्था हुनुपर्छ । फितलो र झन्झटिलो कानुनी प्रक्रियाका कारण विकासका काममा बाधा पु¥याउने तह, तप्का र निकायसँग उपभोक्ता वा सरोकारले प्रतिवाद गर्न सक्दैन । बरु उपभोक्ताहरू त पर्ख र हेरमा आसे बन्छन् । कर्मठलाई त पेट र निष्ठाकै भय हुन्छ । ठेकेदारको बदमासीका विषयमा सरकार सधैँ कमजोर देखिन्छ । परिणामतः विकासको गतिमा बाधा बढिरहेकै छ । यसर्थ प्रजातान्त्रिक व्यवस्था र कडाइ गरिने क्षेत्रको तहलाई सैनिक नियमले जसरी बाँध्नु पनि पर्छ । व्यावहारिक विकासवादी पद्धतिलाई चुस्तदुरुस्त राख्न सक्नुपर्छ ।

समृद्धिका लागि अब शिक्षा र स्वास्थ्यमा निजीकरणलाई भन्दा सरकारी गुणस्तर विकासमा आम सरोकारवाला लागौँ । गुणस्तरीय सम्पादन पद्धतिमा दण्ड र पुरस्कारको सबल नीति बनाऔँ । हो, गुणस्तरीय विकासमा निजीकरणले बढी भूमिका खेलेको छ तर जनताको स्तरलाई वर्गीय खाडलमा जाक्ने काम पनि भइरहेको छ । फलतः अर्को पुस्ता पनि वर्गीय खाडलभित्र फस्ने भय जन्मिरहन्छ । हाम्रो देशमा त नेपालीपन मिसिएको समाजवाद आवश्यक छ । यसमा विकास हुँदा समाजको न्याय र मानवताको सम्बन्धको विनाश हुनु हुँदैन । यदि यस विषयलाई पनि यथास्थितिवाद भन्यौँ भने नेपालीपनको समाजवाद धराशायी बन्छ अर्थात् हामीले हाम्रो नेपालीपनको समाजवादलाई सोचेनौँ भने त्यो भोलिको पुस्ताका लागि पनि ठूलो भूल हुन सक्छ । मूलतः एसिया महादेशभित्रका नेपालजस्ता मुलुकले मौजुदा युवा पुस्ताको दक्षतालाई उपयोग गर्ने हो भने मात्रै व्यावहारिक विकासवादतर्पmको समृद्धि यात्रालाई पक्रन सक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’
लेखकबाट थप