शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिने

अलमलमा एमाले, नेतृत्वमा दाबी गर्दै कांग्रेस
मङ्गलबार, ०७ चैत २०७९, १७ : ५५
मङ्गलबार, ०७ चैत २०७९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक संसदबाट विश्वासको मत लिन थालेका हुन् ।

उनले बुधबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव पेस गरिसकेका छन् । उनको विश्वासको मत सम्बन्धी प्रस्ताव बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा टेबल हुनेछ ।

प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

अलमलमा एमाले

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावका लागि दलहरु आन्तरिक रणनीति निर्माणमा जुटेका छन् । जस अनुसार एमाले पनि आन्तरिक तयारीमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते सोमबार विश्वासको मत लिँदा तत्कालीन सत्ता साझेदार एमाले र राप्रपाले विपक्षमा मतदान गरे ।

संघीय सरकारलाई विश्वासको मत नदिएको एमालेले प्रदेशमा भने सरकार छाडेको छैन । मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमा सरकारमै बसेको एमालेले कस्तो भूमिका निर्वाह गर्ने हो भन्ने चासोको विषय बनेको छ ।

प्रदेश सरकारको ४ मन्त्रालयको नेतृत्व गरिरहेको एमालेले मुख्यमन्त्रीले विश्वासको मत माग्दा के गर्ला भन्ने प्रस्ट भइसकेको छैन ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।

उनले पार्टी केन्द्रसँगको छलफल र समन्वयमा बुधबार नै बस्ने संसदीय दलको बैठकमा सो विषयको निर्णय हुने जानकारी दिए । सरकारमा एमाले बसिरहनुमा विविध परिस्थिति र एजेण्डाहरु कारक रहेको उनले बताए ।

एमालेले उठाएका मुद्दाहरू स्थापित गर्नका लागि सरकारमा गएको र सोही अनुसार काम सुरु गरिएको उनको भनाइ छ ।  सरकारका खर्च तथा विकासका कामहरुलाई व्यवस्थित गर्नुपर्ने भएकाले केन्द्रमा समीकरण बदलिए पनि एमालेले सरकार नछोडेको उनले प्रस्ट पारे ।

‘जम्कट्टेलजी हाम्रै समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । अहिले परिस्थिति बदलिएको छ । अब सरकार छोडेर प्रतिपक्षमा बस्ने वा सरकारलाई समर्थन दिने भन्ने विषयमा हामी आन्तरिक छलफलमै छौं,’ उनले भने, ‘सरकार छोड्ने नछोड्ने र विश्वासको मत दिने वा नदिने भन्ने विषयमा बुधबार बस्ने संसदीय दलको बैठकले निर्णय गर्छ । यसमा केन्द्रको निर्णयले पनि महत्त्व राख्छ । हामी समन्वय गरेर अघि बढ्छौँ ।’

नेतृत्वमा दाबी गर्दै कांग्रेस

नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्वमै दाबी गरेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दलको रुपमा रहेको कांग्रेसले सरकारको नेतृत्व आफूले गर्नेबारे छलफल जारी रहेको जानकारी दिएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएर अघि बढ्ने विषयमा समस्या नरहे पनि नेतृत्व नै आफूले लिने विषयमा छलफल जारी रहेको बताए ।

उनका अनुसार प्रदेश समिति र संसदीय दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्का भइसकेको छ । तर, केही मन्त्रालय लिएर सरकारमा सहभागी हुने वा नेतृत्व लिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनले बताए ।

लामाले विश्वासको मतभन्दा पनि सरकारको नेतृत्वको विषय महत्त्वका साथ आएकाले सो विषयमा छलफल भइरहेको प्रस्ट पारे । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने उनको दाबी छ ।

प्रदेशमा ठूलो दलको हैसियतमा बागमतीमा सरकारको नेतृत्व कांग्रेसले पाउनु स्वाभाविक भएको र संघमा माओवादी केन्द्रको नेतृत्व भएकाले पनि बागमती सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने उनको भनाइ छ । उनले विश्वासको मत सम्बन्धी प्रस्ताव केही समय पर सारेर छलफल गर्नुपर्ने बताए ।

केन्द्रले सबै प्रदेशको प्याकेजमै छलफल गर्दा ठुलो दलको हैसियतले मुख्यमन्त्रीमा कांग्रेसको दाबी रहेको र सो विषयमा केन्द्र सरकारसँग पनि निरन्तर छलफल जारी रहेको उनले बताए ।

नेतृत्वको विषय केन्द्रले टुङ्ग्याउँछ : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको नेतृत्वको विषय केन्द्रले टुङ्ग्याउने बताए । उनले केन्द्रको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व फेरबदल हुने भएकाले तत्काल त्यस्तो कुनै निर्देशन प्राप्त नभएकाले आफूले विश्वासको मत लिन लागेको प्रस्ट पारे ।

केन्द्रीय सहमति अनुसार नै प्रदेश सरकारको नेतृत्व निर्धारण गर्ने भएकाले त्यसलाई स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको उनले बताए ।

वर्तमान परिस्थितिमा सरकारको नेतृत्वभन्दा पनि सरकारको निरन्तरताको विषय प्रमुख भएको उनको भनाइ छ । पहिले विश्वासको मत लिएपछि मात्र अन्य विषयमा छलफल हुने उनी बताउँछन् ।

संवैधानिक व्यवस्था अनुसार चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने भएकाले विश्वासको मत पहिलो प्राथमिकतामा रहेको उनले बताए । विश्वासको मत लिने विषयमा पनि सबै दलसँग छलफल र समन्वय भइरहेको उनको भनाइ छ ।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ । उनले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । 

राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप