मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारीमा ठगी

टन्न डलर कमाउने सपना बोकेर बेलारूस पुगे, तलब आयो जम्मा ७५ रुबेल

शुक्रबार, १० चैत २०७९, २० : १३
शुक्रबार, १० चैत २०७९

काठमाडौं । काठमाडौंमै राम्रो कमाई थियो । गार्मेन्टमा काम गरेर उनले मासिक ४०/५० हजार रूपैयाँ कमाउँदै थिइन् । कसैले उनलाई यूरोपको सपना देखाइदियो । उता गार्मेन्टमै राम्रो काम पाइने र कमाई पनि राम्रो हुने विश्वास दिलाइयो । आफ्नो हातमा सिप छँदै थियो । त्यही भएर नुवाकोटकी सानुमाया तामाङले यूरोप जाने प्रक्रिया अगाडि बढाइन् । उनीसँगै अन्य ८ जनाले यूरोप जाने योजना बनाए ।

युरोपेली मुलुक बेलारूसमा काम पनि राम्रो र कमाई पनि राम्रो हुने भनेपछि बसुन्धारामा रहेको एभरेष्ट ग्लोबल मेनपावरबाट उनीहरूले प्रक्रिया अगाडि बढाए । त्यसका लागि साढे चार लाख रूपैयाँ मेनपावर व्यवसायीलाई तिरे । थप प्रक्रिया दिल्लीबाट अपनाउने भनेपछि उनीहरू दिल्ली गए । त्यहाँ सबै प्रक्रिया सकेर उनीहरु नेपाल फर्किए । र, बेलारूस जाँदासम्म उनीहरूको ६ लाख रूपैयाँ खर्च भयो ।

राम्रो कमाई हुने भएपछि उनीहरू त्यति पैसा तिर्न तयार भए । मासिक ६५० डलर तलब पाउने र दैनिक ८ घण्टा ड्युटी गर्नुपर्ने भनेर मेनपावर व्यवसायीले भन्यो ।

मेनपावर व्यवसायीले यताबाट जाँदा वर्किङ भिसामा पठाइदिने भनेका थिए । तर, उता पुगेपछि थाहा भयो भिजिट भिसामा पो पठाइएको रहेछ । एभरेष्ट ग्लोबल मेनपावरबाट उनीहरूलाई साढे तीन महिना अगाडि बेलारूस पठाइएको थियो । यूरोप सपना देखेका उनीहरू बेलारूस त पुगे । तर, दुर्गति भोग्नुपर्‍यो ।

एभरेष्टका देवाङ तामाङ, राजु राई लगायतले उनीहरूलाई बेलारूस प्रलोभन देखाएका थिए । र सोही आधारमा साढे चार लाख रूपैयाँ लिएका थिए ।

नुवाकोटकी सानुमाया तामाङका अनुसार गार्मेन्टमा काम गर्ने भनेर पठाइए पनि उता गएर टेलरमा काम लगाइयो । त्यसमा पनि दैनिक ८ घण्टा काम गर्नुपर्ने भनिएकोमा उनीहरूलाई १२ घण्टासम्म काममा लगाइयो । हुन त ड्युटी जति बढी भयो, त्यति धेरै कमाई पनि हुनुपर्ने हो । तर, उनीहरूले पहिलो महिना ७५ देखि १५० डलर होइन, रुबेल पाए ।

‘त्यो पैसा महिनाभर खाना खानलाई पनि पुग्दैनथ्यो । पहिलो महिना नै हामीले निकै दुःख पायौं । यताबाट जाँदा घण्टाको ३.१५ डलर दिने भनिएको थियो । तर, उता गएपछि डलरमा नभएर रूबेलमा दिइयो,’ सानुमायाले भनिन् ।

पहिलो महिना नै भनेअुनसार तलब नपाएपछि उनीहरूले नेपालस्थित मेनपावर व्यवसायीलाई सम्पर्क गरे । मेनपावर व्यवसायीले अब दोस्रो महिना राम्रो तलब आउँछ भने ।

तर, दोस्रो महिना पनि त्यसैगरी ७५ देखि १५० रुबेलसम्म तलब आयो । जुन नेपाली रुपैयाँमा हिसाब गर्दा मासिक करिब ३९३९ देखि ८४१३ रूपैयाँसम्म हुन आउँछ । जबकि नेपालमा काम गर्दा उनीहरुले दिनकै खर्च २०० रुपैयँभन्दा बढी गर्दै आएका थिए ।

त्यो पैसाले केही हुनेवाला थिएन । अनि उनीहरूले कति दिन त भोकभोकै १२/१२ घण्टासम्म ड्युटी गरे । ‘चामल नभएर कति दिन पानीमा नुन हालेर खाने, अनि १२ घण्टासम्म ड्युटी गर्नुपर्थ्यो,’ सानुमायाले भनिन्, ‘कति दिन भोकभोकै बस्नुपर्‍यो । बेलारुस आएको तीन महिना भयो, आएका एक महिनामा सेलरी थाप्यौं । त्यसमा कसैले ७५ रुबेल, कसैले १०० त कसैले १५० रुबेल पायौं । १२ घण्टा ड्युटी गर्दा त्यतिकै तलब दियो । त्यो पैसाले खान पुगेन । खान निकै समस्या भयो ।’

यूरोपमा राम्रो कमाई हुन्छ भनेर पुगेको तर, निकै दुःख पाएको उनीहरूको भनाइ छ ।

अनि गुहार मागे  

एकातिर कामको निकै प्रेसर हुन्थ्यो । अर्कोतिर पेटभर खाना पनि पाइदैनथियो । त्यसमाथि कम्पनीको टर्चर । जसले गर्दा उनीहरू कामै गर्ने नसक्ने अवस्थामा पुगे । अनि जसरी भएपनि नेपाल फर्किनुपर्छ भन्ने लाग्यो ।

एक दिन सामाजिक अभियन्ता कृतु भण्डारी टिकटकमा लाइभ बसिरहेकी थिइन् । त्यही बेला सानुमाया लगायतका महिलाहरूले आफ्नो उद्धार गरिदिन अनुरोध गरे ।

त्यसपछि भण्डारी लगायतको समूहले उनीहरूको उद्धारका लागि पहल गरेको थियो । दुई साताको प्रयासपछि उनीहरू आज स्वदेश फर्किएका छन् । फर्किएर एयरपोर्टमा पुगेका उनीहरूले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बेलारूसमा निकै दुःख पाएको बताए ।

घरमा स–साना छोराछोरी छोडेर गएका उनीहरू यसरी सकुशल नेपाल फर्किन पाइन्छ होला भन्ने आश मारेर बसेका थिए । तर, एनआरएन बेलारूस, दूतावास, सरकार तथा सामाजिक अभियन्ताहरूको अथक प्रयासबाट उनीहरूको उद्धार गरिएको हो ।

त्यसरी उद्धार गरिएकाहरूमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ र मार्फा सोताङ राई छन् । 

नेपाल फर्किएका उनीहरूले अब आफूलाई क्षतिपूर्तिसहित विदेश पठाउने मेन पावर व्यवसायीलाई कारवाही गरिनुपर्ने माग राखे । वर्किङ भिसा भनेर भिजिट भिसामा पठाउँदै अलपत्र पार्ने मेनपावर व्यवसायीलाई कारवाहीका लागि उजुरी दिने उनीहरूको तयारी छ । आफूहरू वैदेशिक रोजगारीमा नभई बेचिने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप