कांग्रेसको गढमा एमाले उम्मेदवार पौडेलको घरदैलो
बारा (कलैया) । कलैयाबाट १५ किमी दक्षिणमा पर्छ, सुवर्ण गाउँपालिका । त्यहाँ मुसलमान, दलित, राजपूत, मलाहा लगायतको बस्ती छ। सुवर्णमा मात्रै कूल २८ हजार मतदाता सङ्ख्या छन्। त्यसमध्ये कवही गोठमा तीन हजार पाँच सयको हाराहारीमा मतदाता सङ्ख्या छन् ।
बारा–२ मा पर्ने कवही गोठमा बिहीबार नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले घरदैलो कार्यक्रम गरेका थिए । पौडेललाई घरदैलो कार्यक्रममा साथ दिएकी थिइन् एमालेकै नेतृ एवं पूर्वमन्त्री ज्वालाकुमारी साहले ।
साह त्यस क्षेत्रकी परिचित नेतृ थिइन् । तर, पौडेललाई खासै स्थानीयले चिनेनन् । साह नै ‘हाम्रो नेताज्यू पुरुषोत्तम पौडेल हो, सूर्यमा मतदान दिएर जिताउनुस् ।’ घरदैलो कार्यक्रममा उत्रिएका पौडेल घरघरमा पुगेर मतदातालाई विभिन्न साइनो गाँसे । उनी कसैलाई ममी, कसैलाई चाची, कसैलाई भाई, कसैलाई दाइ भन्दै नमस्कार चढाउँदै आफूलाई अमूल्य मत दिएर विजयी गराउन अनुरोध गर्थे । जवाफमा केहीले हुन्छ भन्थे त केही चुपचाप बस्थे ।
_jOPUX8LSz9.jpg)
सुवर्ण गाउँपालिकाको एउटा गाउँ कवही गोठमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को बाहुल्यता देखिन्छ । यसअघिको स्थानीय तहको चुनावमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेस विजयी भएका थिए । २०७४ को स्थानीय तहको चुनावमा भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जसपाले जितेको थियो । यस हिसाबले पनि सुवर्ण गाउँपालिकाका गाउँहरूमा एमालेको पकड कम रहेको देखिन्छ । आफ्नो पार्टीको जनाधार कम रहेको जान्दाजान्दै पनि पौडेलको घरदैलो हेर्न लायक थियो ।
बजार क्षेत्रमा लोकप्रियता कमाएका पौडेललाई कसैले क्याप लगाएर स्वागत गरे त कसैले पगरी लगाएर । सुवर्ण गाउँपालिकामा भएका समस्याबारे जानकार रहेका पौडेलले आफूलाई जिताएमा तमाम समस्या समाधान गर्ने आश्वासन दिए । घरदैलो कार्यक्रममा कसैले पनि जिन्दावादको नारा लगाएनन् । कसैले पनि सेल्फी खिचेनन् । गरिब बस्ती रहेको गाउँपालिका अन्तर्गत कवही गोठ, बागही, हर्दिया, परशुरामपुर, मझरिया, वडकी फुलवरिया पर्छन् ।
पौडेलले बिहीबार यी गाउँहरूमा घरदैलो गरे । आफूभन्दा वृद्ध वृद्धासँग जितको आशीर्वाद मागे । उनले गाडीमा सवार नभई पैदलै घरघर पुगेर मत मागे । पौडेल घरदैलोमा पुग्दा कोही धान तह लगाउन व्यस्त थिए त कोही खेतबारीमै गहुँ काट्न व्यस्त थिए । बारा २ मा पाँचवटा गाउँपालिका र एउटा नगरपालिका छन् । स्वास्थ्यको पहुँच सबैमा छैन । गाउँमा सिँचाइ पुगेको छैन । कृषि उत्पादन र सिँचाइलाई सँगसँगै लैजाने आश्वासन पौडेलले मतदातासँग बाँडिरहेका थिए । सङ्घ र प्रदेशको बजेट खर्चमा अपारदर्शिता रहेको भन्दै पौडेलले आफूलाई जिताएमा भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकता हुने बताए ।
_kmVoaxEO7b.jpg)
मुख्य बाटो कालोपत्रे भएपनि सहायक बाटो कालोपत्रे गर्नुपर्ने माग मतदाताले पौडेलसँग गरेका थिए । विगतमा बारा–२ बाट जितेका नेताले सुवर्णका स्थानीयवासीको जीवनस्तर उकास्ने कुनै काम नगरेकाले आफू जितेर काम गर्ने उद्देश्यले नै मत माग्न आएको पौडेलले मतदातालाई सुझाउँथे ।
कवही गोठका स्थानीयवासी रहिम मिया धोबी र पानालाल राउतले खेतीमा सिँचाइ र मल नपुग्दा धेरै दुःख भोग्दै आएको गुनासो पौडेलसँग गरे । उनीहरुले पौडेलसँग भने, ‘धेरै नेताहरू भोट माग्न आउँदा सिँचाइ र मलका आश्वासन बाँडेर जान्छन्, तर जितेपछि कोही फर्किँदैनन् । केही गर्दैनन् । तपाईँलाई पनि यस पटक मत दिन्छौँ तर, अरू नेताजस्तो नहुनोस् ।’
.........................
साहले वृद्ध भत्ता बढाइदिने आश्वासन बाँडिन्
पौडेलसँग घरदैलो कार्यक्रममा हिँडेकी पूर्वमन्त्री ज्वालाकुमारी साहले वृद्ध पुरुष र महिलालाई देख्ने बित्तिकै भनिहाल्थिन्, ‘तपाईँहरूले अहिले पाइरहेको वृद्ध भत्ता एमालेकै पहलले पाएको हो, हामीलाई फेरि जिताएर पठाउनुहोस्, अब पाँचहजार रुपैयाँ बनाउँछौँ।’ साहले वृद्ध भत्ता बढाउने भनेर आश्वासन दिन थालेपछि पौडेलको हाँसे । उनले गर्न नसक्ने आश्वासन मतदातामा नबाँड्न साहलाई सुझाए । पौडेलको घरदैलोमा धेरै खटिएकी साहलाई सुवर्णका स्थानीयहरूले ‘मन्त्री बनेर पनि केही गर्न नसकेको’ भन्दै आलोचना गरिरहेको सुनिन्थ्यो ।
_SAkdDsOXk9.jpg)
..................
कृषि उत्पादन नै यो क्षेत्रको प्रमुख आधार : पौडेल
घरदैलोकै बीचमा रातोपाटी टिमसँग कुरा गर्दै पौडेलले भने,‘ यो गाउँपालिकामा विकासको लहर अझै पुगेको छैन । जितेर गएकाले पनि विकास पुर्याउन सकेनन् । विकासको सम्भावना धेरै छ। मुख्य समस्या कृषकलाई मल र सिँचाइकै हो । त्यो म पुरा गर्छु ।’ उनले सुवर्णका अधिकांश कृषि पेसामै आधारित रहेकाले यहाँको उत्पादन क्षमता बढाएर आन्तरिक रोजगारी सिर्जना गर्न सके त्यसले जीवनस्तर माथि पुर्याउने बताए ।
_ZJdG0nj64o.jpg)
उनले भने, ‘यहाँ तीनवटा नदी बग्छन्, तर, सिँचाइ छैन । पैसा भएका केहीले त बोरिङमार्फत पानी तानेर खेतीपाती गर्छन्, नभएकाले त्यो पनि सक्दैनन् । यस्तो अवस्थामा सिँचाइलाई ध्यान दिन सक्यो भने यहाँका स्थानीयवासी धेरै लाभान्वित हुन्थे ।’ उनले एउटा राम्रो हस्पिटल र उच्च शिक्षा हासिल गर्न वीरगन्ज, चितवन, काठमाडौँ र विराटनगर जान नपर्ने गरी राम्रो प्राविधिकसहितको कलेज स्थापना गर्ने लक्ष्य आफ्नो रहेको बताए ।
_WJpqH8fvus.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण