सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालनाटक-   बाबुआमाको सेवाको चमत्कार

शुक्रबार, ०८ वैशाख २०८०, ११ : २०
शुक्रबार, ०८ वैशाख २०८०

स्थान- कुनै सामुदायिक विद्यालयको आँगन 
समय- अपराह्न तीन बजे 
पात्रहरू 
भगवान् विष्णु- तीनै लोकका पालन कर्ता भगवान् 
बाबुआमा- विरामी वृद्ध दम्पती अन्नाजी वर्ष पचास
पुण्डरिक- बाबुआमाका भक्त बालक वर्ष दश

रङ्गमञ्चमा सानो पराले छाप्रो देखिन्छ । छाप्रोभित्र डोरीको खाटमा विरामी दम्पती सुतेका छन् । पुण्डरिक तिनै विरामी दम्पतीको सेवा गरिरहेको देखिन्छन् । छाप्रोको छेउमा पानीको सानो कुवा तथा पानी उठाउने बाल्टी र डोरी राखिएको हुन्छ । रङ्गमञ्चको भित्तोलाई रङ्गिन पोष्टरले सजाइएको छ, जहाँ हरिया वन उपवन र रुख, बिरुवा, वनस्पतिका दृष्य अङ्कित छन् । छेउछाउमा चरिरहेका पशुपक्षीका दृष्यले पोष्टरको सुन्दरता बढाएको छ । वनको छेउमा सानो खोला बगिरहेको हुन्छ भने जङ्गली पशुपक्षी पानी खान तल्लीन देखिन्छ ।

भगवान् विष्णु- (पराले छाप्रोको ढोका बाहिर उभिएर) बाबु पुण्डरिक ! बाहिर आऊ तिमीलाई भेट्न आएको छु । तिमीले गरेको बाबुआमाको सेवा देखेर खुसीले केही दिन आएको हुँ । बाहिर आएर लिन सक्छौ ।
पुण्डरिक- महाशय ! तपार्ईँ को हुनुहुन्छ चिन्दिन । जो भए पनि नमस्कार छ । केही दिने विचारले आउनुभएको रहेछ खुसी लाग्यो । यसप्रति आभारी छु तर मेरो अहिले नै बाहिर आउन सक्ने अवस्था छैन । रोगी बाबुआमाको सेवामा छु । त्यसैले जे दिने हो भित्रै आएर दिनुहोला ।

बाबुआमा- ओ हो ! के भनेको बाबु त्यस्तो ? अतिथिलाई त्यसो भनिँदैन । अतिथि भनेका देवता समान हुन्छन् । उनीहरूले श्राप र वरदान जे दिए पनि लाग्छ । त्यसैले जस्तोसुकै कम भए पनि छाडेर पहिले अतिथिको सेवा तथा सत्कार गर्नु गृहस्थीको धर्म हो ।
पुण्डरिक- मेरो सबैभन्दा ठूलो देवता भनेको तपार्ईँहरू नै हो । हिजो पाठशालामा गुरुले बाबुआमा, गुरु र अतिथि देवता समान हुन्छन् तर तिनमा पनि सबैभन्दा ठूला देवता भनेका बाबुआमा नै हुन् भन्नुभएको थियो । त्यसैले जेसुकै भन्नुस् तपाईँहरूको सेवालाई बीचमै छाडेर बाहिर जान सक्दिन ।
भगवान् विष्णु- बाबु पुण्डरिक ! तिमीले मेरो कुरा बुझेनौ जस्तो लाग्यो । आफैँ भित्र आएर दिन पनि सक्थेँ तर अहिले त्यस्तै कारणले आउन मिल्दैन । त्यसैले तिमीले नै बाहिर आएर लिनुपर्ने हुन्छ । 

पुण्डरिक- महाशय ! विवस छु, अहिले नै बाहिर आउन सक्ने अवस्था नै छैन । एक त मेला बाबुआमा वृद्ध हुनुहुन्छ त्यसमाथि रोगी । अहिले उहाँहरूको घाउ सफा गर्दैछु । त्यसपछि उहाँहरूलाई नुहाउने र कपडा फेराउनुपर्ने हुन्छ । त्यसपछि घाउमा मलमपट्टी गरी औषधी ख्वाएपछिमात्र फुर्सद मिल्छ । त्यसैले मिल्छ भने भित्रै आएर दिनुहोला । नमिल्ने भए त्यतिबेलासम्म पर्खनैपर्ने हुन्छ । 

भगवान् विष्णु- बाबु ! तिमीले मलाई चिनेनौ । म भगवान् विष्णु हु । जे पनि दिन सक्छु । तिम्रा बाबुआमाको रोग निको पारिदिन पनि सक्छु । धनसम्पत्तिले भरिपूर्ण पारिदिन पनि सक्छु । त्यसैले अहिले नै बाहिर आएर वरदान माग । जे मागे पनि पाउनेछौ ।
बाबुआमा- बाबु पुण्डरिक ! जाऊ र जे चाहिन्छ माग । हितैषी हौँ हाम्रो सेवा त आएर गरे पनि हुन्छ तर भगवान्लाई धेरै बेर कुराउनुहुँदैन । अन्यथा अनर्थ हुन सक्छ । 

पुण्डरिक- जे हुन्छ हुन दिनोस् । यहाँभन्दा बढी अनर्थ के नै होला र । बाबुआमाको सेवालाई प्राथमिकता दिनु मेरो कर्तव्य हो । आफ्नो कर्तव्यलाई मरिकाटे बिर्सन सक्दिन ।
भगवान् विष्णु- पुण्डरिक ढिलो ग¥यौ नि किन ? मलाई सुनेनौ ? मेरो धेरै काम छन् । अन्यत्र पनि जानु छ । त्यसैले अहिले नै बाहिर आए वरदान माग । होइन भने अपमान ठानी दण्डित गर्न पनि सक्नेछु ।

पुण्डरिक- त्यसो हो भने त्यही सही भगवन् ! के गर्ने भन्नेमा स्वतन्त्र हुनुहुन्छ । जहाँसम्म मेरो कुरा छ बाबुआमाको सेवालाई बीचमै छाडेर आउनै सक्दिन । त्यसैले फेरि पनि भन्दैछु मिल्छ भने भित्रै आएर दिनुहोला । मिल्दैन भने त्यतिबेलासम्म त्यहीँ प्रतीक्षा गर्नुहोला जति बेलासम्म बाहिर आउन सक्दिन । होइन हतारै छ भने पनि केही छैन । बाधक बन्न चाहन्न अहिले नै जान सक्नुहुन्छ । मेरो पितृभक्ति देखेर वरदान दिन आउनुभएको छ भने तपाईँ नै भन्नुस् उहाँहरूको सेवालाई अधूरो राखेर कसरी आउन सक्छु ?
यत्तिकैमा नाटक समाप्त हुन्छ । पात्रहरू आ–आफ्नो बाटो लाग्छन् 

नोट- यसरी भगवान् विष्णुले अनेक तरिकाले बालक पुण्डरिकको पितृभक्तिबारे परीक्षा लिए । यस क्रममा लोभ पनि देखाए डर पनि देखाए । तैपनि पुण्डरिकले आफ्नो अडान छाडेनन् । त्यसपछि भगवान् आफैँ प्रतीक्षा गर्न विवस भए तर पुण्डरिकले आउन यति ढिलो गरे कि भगवान गलेर कम्मरमा हात लगाएर उभिन लागे । भनिन्छ त्यस स्थानमा उनी अहिले पनि त्यस्तै मुद्रामा उभिरहेका छन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप