बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उमेर बढ्दै जाँदा किन सेतो हुन्छ कपाल ? वैज्ञानिकले पत्ता लगाए कारण

आइतबार, १० वैशाख २०८०, १४ : ०८
आइतबार, १० वैशाख २०८०

अमेरिकी वैज्ञानिकले उमेर बढ्दै जाँदा कपाल फुल्ने कारण पत्ता लगाएको दाबी गरेका छन् । वैज्ञानिकले कपाललाई कालो राख्ने कोशिकाले परिपक्व हुने क्षमता गुमाएपछि कपाल सेतो हुने दाबी गरेका छन् । 

यी कोशिका परिपक्व हुँदा मेलनोसाइट्समा परिवर्तन हुन्छ जसका कारण कपालको प्राकृतिक रङ यथावत् रहन्छ । न्युयोर्क युनिभर्सिटीका अनुसन्धानकर्ताको दलले मुसामाथि यस्तो अध्ययन गरेको हो । मुसाका रौँमा यस्तै कोशिका हुन्छन् ।

वैज्ञानिकले आफ्नो शोधका कारण सेतो कपाललाई पुनः कालो बनाउने प्रक्रिया सुरु गर्न मद्दत मिल्ने दाबी गरेका छन् । ब्रिटिस एसोसिएसन अफ डर्माटोलोजी (बीएडी) का अनुसार मेलनोसाइट्समा अध्ययनले केही विशेष प्रकारको क्यान्सर र अन्य स्वास्थ्य स्थितिबारे बुझाई विकसित गर्न र त्यसको निदान खोजी गर्न मद्दत मिल्ने बताएका छन् ।

कपाल कसरी सेतो हुन्छ ?

उमेर बढेसँगै कपाल झर्ने समस्या पनि बढ्छ । यो हाम्रो जीवनको सामान्य प्रक्रिया हो जुन जीवनभरि चलिरहन्छ । छालामा भएका रोम छिद्रबाट कपाल उम्रिन्छन् । त्यहाँ नै कपाललाई कालो राख्ने कोशिका हुन्छन् ।

यो कोशिका नियमित रूपमा बन्ने गर्छ र नष्ट पनि भइरहन्छन् । यी कोशिकाको निर्माण स्टेम सेल वा मूल कोशिकाबाट हुने गर्छ । न्युयोर्क युनिभर्सिटीका वैज्ञानिकको मान्यता अनुसार स्टेम सेलबाट यी कोशिकाको निर्माण कुनै पनि कारणले अवरुद्ध हुन्छ भने कपाल सेतो हुन थाल्छ । 

न्युयोर्क युनिभर्सिटीको लाङवान हेल्थ टोलीले विशेष स्क्यानिङ र प्रयोगशाला प्रविधिको सहयोगमा यी कोशिकाहरूको निर्माण र वृद्धिको प्रक्रियाको अध्ययन गरेको छ । जब कपालको उमेर बढ्दै जान्छ र झर्न थाल्छ, तब कपाल निरन्तर उम्रिरहन्छन् । तर पछि मेलानोसाइट्स कोशिकाहरू सुस्त हुन थाल्छन् ।

स्टेम सेलहरू आफ्नो ठाउँमा स्थिर हुन्छन् र मेलानोसाइट्समा विकास गर्न सक्दैनन् । जसका कारण रङ बनाउने प्रक्रियामा बाधा पुग्छ र कपाल सेतो हुन थाल्छ ।

gray hairके सेतो कपाल फेरि कालो हुन सक्छ ?

‘हाम्रो अध्ययनले हामीलाई मेलानोसाइट स्टेम सेलहरूले कपाल कालो राख्न कसरी काम गर्छ भनेर बुझ्न मद्दत गर्दछ,’ न्युयोर्क युनिभर्सिटी ल्याङ्गोन हेल्थका पिएचडी स्कलर र अनुसन्धान टोलीका प्रमुख डा. सी सनले नेचर जर्नललाई भने । यो अध्ययनमार्फत मेलानोसाइट स्टेम सेललाई फिक्स गर्न सक्ने सम्भावना जागेको छ । यसका कारण सेतो कपाल पुनः कालो हुनसक्छ ।’

वैज्ञानिकहरूले सेतो कपाल फेरि कालो हुने आशा व्यक्त गरेको यो पहिलो पटक भने होइन । तर, समयअघि नै कपाल फुल्नुको एउटा कारण कुपोषणलाई पनि मानिएको छ ।

अर्कोतर्फ, केही अन्य अनुसन्धानकर्ताहरूका अनुसार तनावका कारण पनि कपाल सेतो हुन थाल्छ, यी विज्ञहरूका अनुसार तनावलाई हटाएर पनि केही समयका लागि कपाल सेतो हुनबाट रोक्न सकिन्छ ।

यस्तै, केही शोधकर्ताहरूका अनुसार कपाल सेतो हुनुमा आनुवंशिक कारणहरू छन् । यस्तै, केही मानिस कपाल रङ्गाउन पनि थाल्छन् भने केही मानिस समय अगावै कपालमा सेतो वा खैरो रङ लगाउन थाल्छन् । 

ग्ल्यामर म्यागेजिनका अनुसार युवा युवतीहरूमा सिल्भर हेयर ट्रेन्ड निकै लोकप्रिय छ, साथै चम्किलो र मोती समान रङ ओइस्टर ग्रे पनि इन्स्टाग्राममा निकै लोकप्रिय भएको छ ।

हेयर स्टाइलिस्ट, ल्यूक हर्ससनले हालै ब्रिटिस भोगलाई भने, ‘एक समय थियो जब मानिसहरू सेतो कपाल राख्न चाहँदैनथे तर अब अब सेतो कपाललाई ‘बुढेसकाल’ सँग जोडेर हेरिँदैन । धेरै मानिसले यो ट्रेन्ड अपनाइहेका छन् । लकडाउनपछि मानिसलाई स्वतन्त्रता महसुस भयो । कति मानिसको कपाल यस कारण पनि सेतो भयो किनभने उनीहरू कपाल रङ्गाउने काममा थिएनन् र यसका कारण भएको परिवर्तनलाई मानिसलाई मन पर्न थाल्यो ।’ 

साधरणतया एकाध कपाल सेतो हुँदा मानिस त्यसलाई निकाल्ने कोसिस गर्छन् । विशेषज्ञका अनुसार यसले ती कोशिकाबाट निस्कने अन्य कपाल सेतो हुनबाट रोक्न सम्भव छैन । उनका अनुसार रोम छिद्र क्षतिग्रस्त हुँदा नयाँ कपाल उम्रिन पनि बन्द हुन्छन् । यस्तो स्थितिमा कपाल कम हुन थाल्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप