के पृथ्वी मानवरहित हुन्छ ?
एउटा जिज्ञासाले मलाई सधैँ घेरिरहन्छ । पृथ्वीमा रहेका जीवनका समस्त प्रारूप यथावत रहेर होमो सेपियन्सको निरन्तरतामा ब्रेक लाग्यो भने के हुन्छ होला ?
मैले विगतजस्तै कुनै एलियन पिण्ड पृथ्वीमा बजारिएर हुने प्रलयको कल्पना गरेको होइन । वैज्ञानिक समुदायमा विश्वास गरिएको पछिल्लो महाप्रलयमा पृथ्वीको झण्डै ७५ प्रतिशत समस्तखाले जीवन समाप्त भएको थियो।
वैज्ञानिक अवधारणाअनुसार झण्डै ६ करोड ६० लाख वर्ष पहिला खसेको भीमकाय उल्कापिण्डले तत्कालीन युगको अन्त्य गरेको थियो । उनीहरुको विश्वास छ यसपछि प्रारम्भ भएको युगमा नै मनुष्यको उत्पत्ति भएको हो । यो केनोजोइक युग नै अहिलेसम्म सञ्चालित हुँदै आएको छ ।
वैज्ञानिक अध्ययनअनुसार यस केपीजी महाप्रलय अघि अन्य ४ वटा महाप्रलय घटित भएका थिए । सबैभन्दा पहिलो महाप्रलयको समयकाल आजभन्दा झण्डै ४४–४५ करोड वर्ष पहिला घटित भएको Ordovician–Silurian extinction event लाई मानिन्छ । वैज्ञानिक भन्छन्, यस महाप्रलयमा त्यसबेला पृथ्वीमा रहेको समस्त जीवन प्रारूप झण्डै ८५ प्रतिशत विलुप्त भएका थिए ।
वैज्ञानिक मान्यतामा पृथ्वी आजभन्दा झण्डै साढे ४ अर्ब वर्ष पहिला बनेको हो। ७० करोड वर्षसम्म पृथ्वीमा हाम्रो मान्यतानुसारको जीवन हुर्कियेन। आजभन्दा ३ अर्ब ८० करोड वर्ष पहिला जीवनको पहिलो ’डोमिन’अस्तित्वमा आएको मान्छ विज्ञान जगतले।
वैज्ञानिक, विकासवादी तथा डारवेनियन मान्यतामा साढे ४ अर्ब वर्ष पहिला बनेको पृथ्वीमा ७० करोड वर्षपछि आजभन्दा ३ अर्ब ८० करोड वर्ष पहिला जीवनको सुरुवात भएपश्चात् अति लामो कालखण्ड झण्डै ३ अर्ब ७५ करोड वर्ष पश्चात् चारखुट्टे मुसा ड्रायोमोसिस अस्तित्वमा आयो । मुसाबाट १ करोड वर्षको अन्तरालमा बाँदरको समतुल्य देखिने इजिप्टोपिथेकस बन्यो ।
इजिप्टोपिथेकसलाई अहिलेको जस्तो बाँदर प्रोकन्सुल प्रारूपमा आउन २ करोड वर्ष लाग्यो । प्रोकन्सुल बाँदर १ करोड ६८ लाख वर्षसम्म एउटा हाँगाबाट अर्को हाँगामा उफ्रिँदा, विभिन्न चरण पार गर्दै अन्ततः आजभन्दा ३२ लाख वर्ष पहिला आस्ट्रेलोपिथेकसको रूपमा उक्लियो । डार्वेनियन अवधारणामा यही नै पहिलो मानव स्वरुप थियो ।
आस्ट्रेलोपिथेकस २२ लाख वर्षपछि भनौं आजभन्दा १० लाख वर्ष पहिला होमो इरेक्ट्सका रूपमा विकसित भयो । पृथ्वीमा आगोको खोजी गर्ने श्रेय यिनै होमो इरेक्ट्सलाई प्राप्त छ ।
होमो इरेक्टसबाट विकास हुँदै, विभिन्न चरणको यात्रा गर्दै ७ लाख वर्षपछि अर्थात् आजभन्दा झण्डै ३ लाख वर्ष पहिला होमो सेपियन्सको प्रारूप देखा परयो । यही नै हामी सबैको विज्ञानसम्मत कथा हो । पृथ्वीमा औजार, भाषा र संस्कृतिको विकास गर्ने श्रेय यिनै होमो सेपियन्सलाई प्राप्त भयो ।
पृथ्वी बनेको ४ अर्ब ५० करोड वर्षको लामो अन्तरालपछि अर्थात् ४ अर्ब ४९ करोड ९७ लाख वर्षपछि पृथ्वीमा नायक (होमो सेपियन्स) को आगमन भयो । यो भनेको पृथ्वीको कुल अवधिको ९९ दशमलब ९९.४ प्रतिशत समय व्यतीत भएपछि फिल्ममा नायकको आगमन हुनुजस्तै हो ।
पश्चिमा विज्ञानले पत्ता लगायो र संसारभरी स्थापित गर्यो– पृथ्वी साढे ४ अर्ब पहिलादेखि अस्तित्वमा छ । हामीले बुझ्न सकेको ब्रह्माण्ड १३ दशमलब ८ वर्ष पहिला अस्तित्वमा आएको थियो ।
नभए त कुनैबेला प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनलाई आफ्नो पुस्तकको एक अंश चर्चको आपत्ति एवं निषेधाज्ञा उपरान्त सम्पादित गर्नु परेको थियो । डार्विनले तमाम ‘जियोलोजिकल सर्भे’का आधारमा इंग्ल्याण्डको एउटा भूभागको उमेर ३० करोड वर्ष भएको उल्लेख गरेका थिए, आफ्नो त्यस पुस्तकमा ।
बाइबलका अनुसार ईश्वरले सृष्टिको निर्माण ४००४ ईसापूर्व २३ अक्टोबरका दिन दिउँसो १२ बजे गरेका थिए । यसअनुसार अहिले सन् २०२३ मा पृथ्वीलगायत समस्त ब्रह्माण्डको उमेर ६,०२६ वर्ष पुग्यो । डार्विनले पुस्तक लेख्दा क्रिश्चियनिटी अनुसार पृथ्वीको उमेर ६ हजार वर्ष पनि पुगेको थिएन । डार्विनले पृथ्वीको कुनै भूभागको आयु ३० करोड वर्ष दावी गर्नु क्रिश्चियनिटीका ईश्वर र क्रिश्चियनिटीकै घोर बेइज्जत गर्नु थियो ।
विज्ञानले पृथ्वीको उमेर पत्ता लाउन निकै लामो कसरत गर्नु परेको थियो । सन् १८९६ मा घटित एउटा घटना यसका निम्मित्त ‘माइल स्टोन’ बन्यो । पेरिसका एकजना वैज्ञानिक हेनरी बेक्यूरलले यूरेनियम साल्टको एउटा प्याकेट आफ्नो दराजमा राखे । उनको त्यस दराजमा केही ‘फोटोग्राफिक प्लेट’ पनि रहेका थिए। केही समयपश्चात् उनले दराजमा रहेका ‘फोटोग्राफिक प्लेट’ हेर्दा प्लेटमा रहेका ‘इम्प्रेसन’ नष्ट भएको पाए । उनलाई लाग्यो– कुनै प्रचण्ड ऊर्जाले ‘फोटोग्राफिक प्लेट’का ‘इम्प्रेसन’ नष्ट गरेको हो ।
वैज्ञानिक हेनरीको मस्तिष्क सल्बलायो, पक्कै यो खुराफात यूरेनियम साल्टकै हुनु पर्छ । उनले सारा वृत्तान्त आफ्नो एकजना छात्रालाई सुनाए र यूरेनियमको प्याकेट उनलाई दिँदै यसमाथि थप अनुसन्धान गर्न भने । यो घटना नै विश्वलाई ‘रेडियोएक्टिभिटी’सँग परिचित गराउने ‘माइल स्टोन’ बन्यो ।
ती छात्राले यूरेनियममाथि शोध गर्दै विज्ञान जगतलाई ‘‘रेडियोएक्टिभिटी’ शब्दसँग साक्षात्कार गराइन् । म्याडम क्यूरी नामक ती छात्रालाई यस कार्यका लागि नोबेल पुरस्कारबाट सम्मानित गरियो ।
हिन्दू धर्मका साधारण सन्न्यासीदेखि सुनको सिंहासनमा बस्ने यावतका धर्मगुरु एवं शंकराचार्यले आफ्ना इष्टदेवका साथै म्याडम क्यूरी, आइन्स्टाइन एवम् अर्नेस्ट रदरफोर्डको सम्मान गर्नुपर्ने हो । यिनीहरुकै योगदानले पृथ्वी तथा सौर्यमण्डल एवम सूर्यको आयु साढे ४ अर्बभन्दा बढी भएको प्रमाणित भयो ।
विश्वमा रहेका अनेकन धर्ममध्ये हिन्दू धर्मले मात्रै सृष्टिचक्र एवम् पृथ्वीको आयु अर्बौ वर्ष रहेको भनी आएको छ । यसले सतयुग, त्रेता, द्वापर र कलियुग गरी चारवटा युगको वर्णन गर्छ ।
पहिलो सतयुगको काल १७ लाख २८ हजार मानव वर्षको हुन्छ । दोस्रो त्रेतायुगको काल १२ लाख ९६ हजार मानव वर्षको हुन्छ । तेस्रो द्वापरयुगको काल ८ लाख ६४ हजार मानव वर्षको हुन्छ । चौथो कलियुगको काल ४ लाख ३२ हजार मानव वर्षको हुन्छ । चारवटै युगको मान ४३ लाख बीस हजार मानव वर्षको हुन्छ । यिनको जोडलाई महायुग भनिन्छ ।
४३ लाख बीस हजार वर्षलाई ७१ ले गुणा गर्दा आउने महायुगको अवधिलाई मन्वन्तर भनिन्छ । प्रत्येक मन्वन्तरको शासक एउटा मनु हुन्छ । हिन्दू अवधारणाअनुसार अहिले हामी सातौँ मनु वैवस्त मनुको शासनकालमा छौँ ।
१ हजार महायुग मिलेर अथवा १४ मन्वन्तर बितेपछि ४ अर्ब २९ करोड ४० लाख ८० हजार वर्ष हुन्छ । एवं प्रत्येक मन्वन्तरपछि सतयुग बराबरीको विश्राम काल दुबैको जोड ४ अर्ब ३२ करोड वर्षको एक कल्प अर्थात् ब्रह्माको एक दिन हुन्छ । ब्रह्माको रात्रि पनि ४ अर्ब ३२ करोड वर्षकै हुन्छ । दुई कल्प मिलेर (ब्रह्माको एक दिन+ एक रात) अर्थात् ८ अर्ब ६४ करोड वर्षको समय हुन्छ ।
हिन्दू शास्त्रअनुसार ब्रह्माको एक महिना अर्थात् ३० दिनमा (३० कल्प) २ खर्ब ५९ अर्ब २० करोड वर्ष हुन्छ । अर्थात् ब्रह्माको एक वर्षमा हामी मानवले गणना गर्ने ३१ खर्ब १० अर्ब ४० करोड वर्ष हुन्छन् । र, यस्तो १०० वर्षको उमेर हुन्छ, एउटा ब्रह्माको । यसरी ३१ नील १० खर्ब ४० अर्ब मानव वर्षको समयकाल हुन्छ एउटा ब्रह्माको ।
म्याडम क्यूरी, आइन्स्टाइन, रदरफोर्डका साथै स्टीफन हाकिङ्सलाई पनि धन्यवाद दिनैपर्छ । हिन्दू शास्त्र वर्णित ब्रह्माको आयुजस्तै तिनले एउटा विशाल ब्ल्याक होलको उमेर गूगल प्लेक्ससम्म हुन सक्ने प्रमाणित गरे ।
हिन्दू शास्त्रअनुसार हामी रहेको यस समयमा ब्रह्माले ५० वर्ष पूरा गरेर पहिलो दिन प्रारम्भ गर्नु भएको छ । अहिले सातौ मन्वन्तरको २७ महायुग पूरा भएर हामी २८ औं महायुगको समयमा बाँचिरहेका छौ ।
२८ औं महायुगको सतयुग, त्रेता र द्वापर व्यतीत भइसकेका छन् । अब ब्रह्माको आयु १ अर्ब ९७ करोड २९ लाख ४४ हजार वर्ष हुन आउँछ ।
२८ औं महायुगको चलिरहेको कलियुगको आयुबारे विभिन्न मत छन् । सबैभन्दा चर्चित एवं मान्य मत महाभारत युद्ध ईश्वी सम्वत भन्दा ३,१३६ वर्ष पहिला भएको थियो । महाभारत युद्ध उपरान्त ३५ वर्षपछि श्रीकृष्णले शरीर त्याग गरे । उनको गोलोक धाम गमनपछि कलियुगको प्रारम्भ भयो । यसअनुसार ईश्वी सम्वत भन्दा ३,१०२ वर्ष पूर्व कलियुगको आगमन भयो । अहिलेसम्म यसका ५,१२४ वर्ष व्यतीत भइसकेका छन् ।
चार युगको १ चक्रलाई महायुग भनिन्छ भने यस्ता ७१ महायुगलाई एक मन्वन्तर । १४ वटै मन्वन्तरको नाम हिन्दू धर्म ग्रन्थमा स्पष्ट उल्लेखित रहेका छन् । अहिले चलिरहेको मन्वन्तरलाई हिन्दू प्रज्ञाले वैवस्त मन्वन्तर भन्छ । यसरी नै १४ वटा मन्वन्तरले हुने ब्रह्मको एक दिन अर्थात् १ कल्प ३० दिन अर्थात् एक महिनामा हुने ३० कल्पको नाम छुट्टाछुट्टै रहेको पाइन्छ । अहिले श्वेतबराह कल्प चलिरहेको छ।
अहिले विज्ञानले ब्रह्माण्डको उत्पत्ति १३ दशमलब ८ अर्ब वर्ष पहिला भएको भन्छ । २ शताब्दी अघिकै कुरा गर्ने हो भने विज्ञानका लागि ’मिल्की वे ग्यालेक्सी’ भन्दा पर ब्रह्माण्डको अस्तित्व थिएन । धन्यवादका पात्र छन्, एडविन हब्बल, जसले मिल्की वे भन्दा परका ग्यालेक्सी र ब्रह्माण्डको सतत विस्तार भइरहेको प्रमाणित गरे ।
यूरेनियमको खोज, आइन्स्टाइनको ऊर्जा द्रव्यमान सूत्र र रदरफोर्डको पदार्थ क्षयीकरण सूत्रभन्दा पहिला पश्चिमा विज्ञानका लागि सूर्य पृथ्वी आदिको उमेर ५ देखि १० हजार वर्ष मात्रै रहेको थियो । १९६०–१९७० तिर ‘हब्बल –लैमित्रे ल’ , ‘लार्ज स्केल स्ट्रक्चर’, ‘कास्मिक माइक्रोवेभ ब्याकग्राउण्ड’ र ‘लाइट एलिमेन्ट्स’ को संयुक्त अध्ययन–विश्लेषणले जन्मिएको बिग बैंग सिद्धान्तले ब्रह्माण्डको उमेर १३ दशमलब ८ अर्ब वर्ष पुर्यायो ।
के थाहा विज्ञानको संज्ञानमा आएको ‘डार्क म्याटर’ र ‘डार्क एनर्जी’को थप अध्ययन र अनुसन्धानले भोलिका दिनमा हिन्दू प्रज्ञाले भनेजस्तै ब्रह्माण्डको उमेर ब्रह्माको १०० वर्षे आयु जति तन्किने हो कि ? यसका लागि दस बीस वटा जेम्स वेभ जस्ता टेलिस्कोपको प्रक्षेपण र तिनले दिने निष्पत्तिको तथ्याङ्कसम्म पर्खिनुपर्ने नै हुन्छ ।
अहिलेका हिन्दू पुस्तालाई विदित नभए पनि २–४ पुस्ता अघिसम्म नवविवाहित दम्पतिलाई आकाशमा रहेको वशिष्ठ–अरुन्धती तारा हेर्न लाइन्थ्यो । हिन्दू ग्रन्थमा वशिष्ठ र अरुन्धती पति पत्नी थिए । अहिले आधुनिक खगोल विज्ञानीले यी दुबै तारालाई मिजार एवं अल्कोर नामकरण गरेको छ । थप तथ्य के हो भने यी दुबै तारा ‘बाइनरी सिस्टम’का तारा हुन् । ‘उर्स मेजर कान्स्टीलेसन’मा अवस्थित यी दुबै तारा एक अर्काको परिक्रमा गर्छन् ।
जबकि बाइनरी सिस्टमका अन्य तारामा भने एक ताराले अर्कोको परिक्रमा गर्छ, दुबैले एक अर्काको परिक्रमा गर्दैनन् । तर मिजार र अल्कोरमाको हकमा भने दुबैले एक अर्काको परिक्रमा गर्छन् । बाइनरी सिस्टमका यी तारा एक अर्कोभन्दा २६ खरब ६२ अर्ब ८८ करोड किमी टाढा रहेका छन् । यो भनेको ११,८०० एस्ट्रोनमिकल यूनिट दूरी हो । १ एस्ट्रोनमिकल दूरी भनेको सूर्य र पृथ्वी बीचको दूरी १४ करोड ९६ लाख किमी हुन्छ ।
यति टाढाबाट यी दुबै एक अर्काको परिक्रमा गर्छन् । विज्ञानले अहिलेसम्म हाम्रो सूर्यलाई ‘सिंगल स्टार’ भएको मानेको छ । के थाहा भोलिका दिनमा विज्ञानले सूर्यको अर्को दौंतरी पत्ता लाउने हो कि ?
पृथ्वीबाट झण्डै ८३ प्रकाश वर्ष टाढा रहेको मिजार–अल्कोर अथवा वशिष्ठ–अरुन्धती तारा युग्मबारे, तिनको चरित्रबारे हिन्दूहरुलाई कसरी थाहा भयो, जसले नवदम्पतिलाई पनि वशिष्ठ–अरुन्धती झैँ एक अर्काको परिक्रमा गरी रहुन् भन्ने हेतुले यसको दर्शन गर्ने परम्परा चलाए ।
पश्चिमा विज्ञानलाई त टेलिस्कोप आविष्कारक ग्यालिलियो भन्दा पहिला ताराहरुबारे केही थाहा थिएन । विज्ञानको आधुनिकतम उपलब्धि स्ट्रिंग थ्योरीले १० देखि २६ आयामसम्मको कुरा गर्नुका साथै ‘मल्टीभर्स’को कुरा गर्न थालेको छ । तर विज्ञानलाई अहिलेसम्म अनुभवमा आउने तीन आयाम र समयरूपी चौथो आयाम मात्रै थाहा छ । एउटा ब्रह्माण्डबाहेक अन्य ब्रह्माण्डबारे कल्पना मात्रै छ विज्ञानसँग । के भनी राख्नु पर्यो, हिन्दू धर्मले अनेकन ब्रह्माण्डको चर्चा गरेको छ, आफ्ना अनेकन धर्म ग्रन्थहरूमा ।
प्रसिद्ध अमेरिकी खगोलशास्त्री कार्ल सगनले भनेका थिए– आधुनिक खगोल विज्ञान जति जति रहस्य उद्घाटन गर्दै गइरहेको छ, हिन्दू धर्मको प्रमाणिकता त्यति नै स्थापित हुँदै गइरहेको छ ।
आजभन्दा २ सय वर्ष अघिसम्म पृथ्वी र ब्रह्माण्डको उमेर सारा विश्वका लागि फगत केही हजार वर्ष मात्रै थियो तर हिन्दू धर्मका अनेकन ग्रन्थ यसलाई अर्बौ वर्ष पुरानो भन्थे । आधुनिक विज्ञानले हिन्दू धर्मको भनाइ प्रमाणित गर्यो ।
लेखको प्रारम्भमा उल्लेखित जिज्ञासामा फर्कौ– प्राकृतिक विपत्ति अथवा मानिस निर्मित प्रकोप (विभिन्न खाले आणविक बम) को प्रयोग बिना यदि होमो सेपियन्सको निरन्तरतामा ब्रेक लाग्यो भने के हुन्छ ?
कल्पना गरौं, मानिसले आजदेखि १०० वर्षसम्म सन्तानोपादन गरेनन् भने झण्डै १०० वर्षको अन्तरालमा पृथ्वी मानिसरहित हुन पुग्छ । अथवा मानिसलाई मात्रै ‘इफेक्ट’ गर्ने कोरोना टाइपको कुनै भीषण भाइरसको प्रकोप आयो भने पृथ्वी मानिसरहित हुन्छ ।
सुनेको छु, अमेरिकाले कोभिड १९ को भाइरसलाई परिमार्जित गरी ८० प्रतिशत संहारक बनाएको छ । अर्थात् यसबाट संक्रमित हुने १०० मध्ये ८० संक्रमितको मृत्यु हुन्छ । बुहान जस्तै यो ल्याबबाट निस्कियो भने ?
भविष्यमा आउन सक्ने कुनै सुपरबगले पनि पृथ्वीको सम्पूर्ण जीवन र संरचना यथावत राख्दै मानिसलाई मात्रै निशाना बनाउँदै पृथ्वीलाई मानवविहीन गर्न सक्छ ।
यस्तो घटित भएको खण्डमा डार्वेनियनहरुसँग सोध्न मन लागेको छ– पृथ्वीमा विकास प्रक्रिया सञ्चालित भएर पुनः मानिस अर्थात् अहिलेको होमोसेपियन्स जस्तै बन्न कति समय लाग्छ ?
उनीहरुका अनुसार अहिलेको ३ अर्ब ८० करोड वर्ष पहिला सुरू भएको विकास प्रक्रियामा ३ अर्ब ७५ करोड वर्ष पश्चात् अस्तित्वमा आएको चारखुट्टे मुसो ड्रायोमोसिस विभिन्न चरण पार गर्दै ४ करोड ६८ लाख वर्षमा आस्ट्रेलोपिथेकस बन्यो । त्यसको विकास हुँदै २९ लाख वर्षमा होमोसेपियन्स प्रकट भयो । अर्थात् होमो सेपियन्सको आदि पुर्खाबाट विकास भई होमो सेपियन्स बन्न ४ करोड ९७ लाख वर्ष लाग्यो ।
अब यदि पृथ्वी होमो सेपियन्सविहीन हुने हो भने पुनः यिनको विकास हुन कति समय लाग्छ ?
पुनः होमोसेपियन्सको सिर्जना हुन ५ करोड वर्ष नलाग्ला कि ! किनभने पृथ्वीमा बाँदर हुन्छन् नै, गोरिल्ला हुन्छन् नै । मानिस नभएपछि बाँदर– गोरिल्लाहरुलाई विकास प्रक्रिया तीव्र पार्ने पूर्ण स्वतन्त्रता एवम् अवसर हुन्छ । १–२ हजार वर्षमै पृथ्वीमा रहेका बाँदर र गोरिल्लाहरुबाटै पुनः मानिसको सिर्जना हुन्छ होला !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
इन्टरनेट सेवा सुचारु
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
नाउपामा थप चर्कियो विवाद, संसदीय दलको नेता दुई जना !
-
इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
-
सहकारी समस्या समाधानमा सरकारी पहलदेखि बजेट अधिवेशन आह्वानसम्म