बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

देशको नेतृत्व गर्ने चाहना मलाई पनि छ  : विप्लव

‘जनयुद्धका नायक र योद्धालाई अपराधी बनाउन खोज्नु षड्यन्त्र हो’
शुक्रबार, २२ वैशाख २०८०

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधित ऐनलाई लिएर व्यापक बहस र छलफल हुँदै छ । कतिपय द्वन्द्वपीडितहरूले जनयुद्धमा जघन्य अपराध गरेकालाई उन्मुक्ति नदिन दबाब बढाएका छन् ।  जनयुद्धकालीन मुद्दाहरू एकपछि अर्को गर्दै अदालतमा जान थालेपछि माओवादी धार एक ठाउँमा उभिएका छन् । अर्कोतिर कांग्रेस, एमालेको विकल्पमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका दल समाजवादी मोर्चा बनाउन बहस र छलफल जारी छ । विप्लव नेतृत्वको नेकपाको भावी योजना, कार्यक्रम, नीति, सङ्क्रमणकालीन न्याय र समाजवादी मोर्चा निर्माणका विषयमा केन्द्रित भई नेकपा महासचिव विप्लवसँग रातोपाटीकर्मी रोहित दाहाल र वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः 

–पहिला काठमाडौँमा अत्यन्तै कम बस्नुहुन्थ्यो । पछिल्लो समय निकै बस्न थाल्नुभएको  छ । प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग भेट पनि  चलिराखेको छ । यो व्यवस्थामा प्रवेश गर्ने बाटो खोज्दै त हुनुहुन्न ? 

यो प्रसङ्ग नै मिलेन । एउटा परिस्थिति हो । अहिले परिस्थिति नयाँ ठाउँमा पुगेको छ । वस्तुस्थिति र समयले हामीलाई नयाँ तरिकाले सोच्न प्रेरित गरेको छ । अहिलेको स्थिति त्यस्तै छ । त्यसमा हामी सबै गम्भीर छौँ भन्ने लाग्छ । देशको राजनीति, अर्थतन्त्र, समाज जताबाट हेरे पनि नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था आएको छ ।

–एक समय क्रान्ति र आन्दोलनप्रति धोका दिनुभयो भनेर प्रचण्डविरुद्धै लड्नुभयो । नसकेर पछि फर्किनु भएको हो कि भन्न खोजेको मात्रै हो ? 

त्यो कुरा होइन । त्यसरी बुझ्नु पनि हुँदैन । प्रचण्डसँगको कुरा पनि होइन । प्रचण्डजीसँगको निजी मामिला पनि होइन । हाम्रो राजनीतिक आन्दोलन र दृष्टिकोणको कुरा हो । आन्दोलन, सङ्घर्ष र विचारको कुरा हो । तर अहिले यस्तो ठाउँमा आइपुगेका छौँ, सबैतिर छलफल र समीक्षा चलिराखेको छ । त्यो यथार्थ हो । अहिले घरघर, टोलटोल, गाउँगाउँ र देशमा बहस छ । त्यसमा सुस्पष्ट विचार दिनैपर्छ । हरेक विषयलाई सकारात्मक ढङ्गले सोच्नुपर्छ भन्ने लाग्छ । 

netra bikram chandra biplab ratopati interview (5)

–तपाईँले प्रधानमन्त्रीसँग जुनखालको समीक्षा गर्नुभएको छ । त्यसले अहिले आर्थिक सूचकहरू नकारात्मक अवस्थामा छन्, समीक्षा गर्दै छौँ भन्दा मिलेर देश बनाउने भन्न खोज्नुभएको हो ? 

तपाईंले भन्नुभएको ठीक हो । हामी शान्ति प्रक्रियामा आएको १६ वर्ष भयो । देश लगातार संसदीय व्यवस्थामा छ । सबै नागरिकले अनुभूति गरेको यो व्यवस्था सफल हुन सकेन । यो १६ वर्षको अवधि सरकार र संसद्को लडाइँमै बित्यो । सरकार बनाउने, भत्काउने, चुनाव गर्ने र फेरि चुनाव गराउनेमै देशलाई रुमल्ने  स्थिति बित्यो । 

हामीले त्यतिबेला संसदीय व्यवस्थाले नेपाली जनताको अपेक्षा, चाहना र आवश्यकतालाई पुरा गर्न सक्दैन भनेका थियौँ । यसले ठूलाठूला क्रान्तिबाट पैदा भएका आवश्यकता र चाहनालाई पूरा गर्न सक्दैन । यसलाई हामीले समाजवाद वा नौलो जनवादतिर लग्नुपर्छ भनेका थियौँ । यसको निकास समाजवाद नै हो । यो कुनै व्यक्ति विशेषको कुरा होइन । यो यथार्थ रूपमा देखिएको संश्लेषित कुरा हो । 

यो व्यवस्थाले केही हुँदैन भन्ने ठोकुवा गर्नुभयो । के प्रधानमन्त्रीसहित अरू नेताहरू वैज्ञानिक समाजवादमा जान सहमत हुनुहुन्छ ? 

छलफल भएको विषय नै यही हो । यो सबैतिर समीक्षा चलिराखेको छ । यो व्यवस्थाले भएन भनेर काँग्रेसमा समेत बहस चलिराखेको छ । काँग्रेसले समेत लोकतान्त्रिक समाजवाद भन्छ । यो सङ्कटको निकास समाजवाद हुन सक्छ भन्ने चौतर्फी विश्लेषण छ । यो हाम्रो मात्रै कुरा भएन । यो सङ्कटलाई कसरी निकास दिने भन्नेमा मान्छेबाट मान्छेमा मात्रै होइन कि एउटा प्रणालीमा सोचौँ भन्ने हो । 

–तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग तीनबुँदे सहमति गरेर प्रचण्डको टाउकोमा हान्न खोजेजस्तो गर्नुभयो । अहिले यस्तो कुरा गर्नुभएको छ, कतै उपयोग गरेर गर्ने अर्थोकै हो कि भन्ने छ ? 

यसअघि एउटा एक्स्ट्रिममा भन्नुभयो । फेरि अर्को एस्क्ट्रिमा गएर भन्नुभयो । ती दुवै हैन । राजनीतिमा हामीले केही लुकाएका छैनौँ । हामीले लुकाउनु पर्ने विषय नै छैन । हामीले नसुनेको पनि होइन । कम्युनिस्टहरूले नयाँ शिराबाट सोच्ने बेला आइसक्यो । आम रूपमा सोच्नुपर्‍यो भनेर माओवादी कार्यकर्ताहरूले भन्ने थालिसकेका छन् । यो कुरा बुद्धिजीवीले पनि उठाइरहनु भएको छ । यो हाम्रो पार्टीको कुरा वा व्यक्तिको कुरा हैन । हामी गम्भीर चनाखो भएर देशलाई स्थिरतातिर लग्ने कुरा भइराखेको छ । जनतालाई कसरी विश्वस्त बनाउने भन्ने छ ? मान्छेको जीवन जिउने आधारहरू कसरी दिने भन्ने छ ?  यसमा कसै न कसैले बहस गर्नुपर्छ । त्यसमा सबैले सकारात्मक ढङ्गले सोचेको पाउँछु । 

–अहिलेको व्यवस्थाबाट केही हुँदैन भनेर केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा निष्कर्षमा पुगिसकेको पाउनुभएको छ ? 

उहाँहरू एक ठाउँमा हुनुहुन्छ । उहाँहरूका आफ्ना जिम्मेवारी छन् । हामीले जनता आन्दोलनको कुरा बोल्ने हो । श्रमिकदेखि बुद्धिजीवीको कुरा बोल्ने हो । यस्तो खालको समस्या छ भनेर आइराखेको छ । 

–उहाँहरू सहमत नभए तपाईँले भनेको कुरा लागू गर्न समस्या हुन सक्छ नि ?   

उहाँहरू देशमा राजनीतिक स्थिरता चाहियो भन्नेमा सहमत हुनुहुन्छ । जनताले अनुभूति गर्नेगरी परिवर्तन चाहिएको छ भन्नेमा काँग्रेससमेत सहमत छ । व्यवस्थाको सवालमा बहस जारी छ । बहस गरेर अगाडि लाने हो, निर्विवाद ढङ्गले केही जाँदैन ।

–अहिलेको व्यवस्था ल्याउन लागेको भनेर दाबी गर्नुहुन्छ । तपाईंंहरूको उपस्थित कहीँकतै देखिँदैन फेरि ? 

कस्तो खालको उपस्थित हो ? देशैभर हिँडिराखेको छु । म अहिले गाउँमै छु । जनतासँगै छु । कुनै ठूला होटलमा बसेको छैन । हामी सहिद, बेपत्ता परिवारसँगै छौँ, सबैतिर छौँ । माओवादी नभएका पार्टी छैनन् । त्यसलाई फेरि केन्द्रीकृत गर्नुपर्ने आवश्यकता छ ।

–के फेरि देश माओवादीमय हुँदै छ ? 

सबैतिर माओवादी छ । काँग्रेस, एमाले, मधेस केन्द्रित दललगायत सबै माओवादीमय छ । सबै माओवादीलाई सोध्नुस् भित्र के धड्किरहेको छ ? ती मान्छेको दिमागमा के नाचेको छ ? 

netra bikram chandra biplab ratopati interview (1)

–त्यो लेभलका माओवादी भेट्नुभएको छ ? 

मैले भेटेको छु । त्यस्तालाई भेटेपछि काम लाग्छ । माओवादी मात्रै हैन सिङ्गै माओवादीमा जति पनि कम्युनिस्ट जनमत छ, त्यो काम लाग्ने मात्रै होइन मजबुतीको ठूलो आधार हो ।

–देशमा राजनीतिक, आर्थिक, सामाजिकलगायत धेरै खालका सङ्कट देखा पर्न थालेका छन् । व्यवस्थालाई मात्रै गाली गरेर हुन्छ ? 

हामीले व्यवस्थालाई मात्रै गाली गरेका छैनौँ । व्यवस्थाका सीमाहरू छन् । त्यसका कमजोरीहरू छन् । यो व्यवस्था असफल भइसकेको छ । तपाईं–हामी विद्यार्थी हुने बेलादेखि यस्तै देखेका थियौँ । २०४६ देखि २०५२ सालसम्म यस्तै व्यवस्था भोग्यौँ । त्यो बेला यो व्यवस्थामा सामान्तवाद जोडिएको थियो । तर त्यतिबेला नेतृत्व संसदीय व्यवस्थाले गरेको थियो । २००७ देखि २०१७ सालसम्म संसदीय व्यवस्था थियो । यो व्यवस्था धेरै वर्ष चल्यो । त्यसो हुनाले यो व्यवस्था सफल हुन सकेन । के यसको दोष वा कमजोरी कम्युनिस्टले लिइदिनुपर्ने हो ? उसो भए जनताले लिइदिनुपर्ने हो ? जनताले जतिबेला भन्यो त्यतिबेला त्याग गरेकै छन् । 

भनेको ठाउँमा हामीले व्यवस्थालाई संस्थागत गर्न सकिएन । घुम्दै फिर्दै पुरानै ठाउँमा गयो । घुम्दै फिर्दै पुरानैको हातमा गयो । पुरानै मान्छेको हातमा व्यवस्था गएपछि सोच्ने र काम गर्ने सबै तौरतरिका पुरानै हुने भयो । फेरि दोष भने हामीलाई दिन मिल्छ ? 

मैले २०६४ सालमा हामीलाई गर्न देऊ भनेको थिएँ । पाँच वर्ष गर्न देऊ हामीले उदाहरणीय काम गरेर देखाउँछौँ भनेकै थिए । खासगरी आर्थिक क्षेत्रमा काम गर्न दिनुस् । त्यतिबेला हामीले गर्न सकेनौँ भने छोड्दिन्छौँ भनेकै थियौँ । 

–त्यतिबेला तपाईं कमान्डर नै हुनुहुन्थ्यो, त्यसलाई काम गर्न नदिएको भन्न मिल्छ ?

काम गर्न दिएको खोइ ? दैनिकजसो घेराबन्दी भन्दा केही भएन । मैले डेमोक्रेटहरूले गर्ने भए गर्नुस् भनेको थिएँ । नेपालमा क्रान्ति गर्दा जनता चाहिने भयो । बलिदान र सङ्घर्ष गर्दा जनता चाहिने भयो । तर सत्ता चलाउने बेला पुरानै वर्गले कब्जा गर्ने र विभिन्न बहानाबाजीमा खोस्ने प्रवृत्तिले यस्तो हालत भयो । व्यवस्थालाई सुधार गर्ने तहसम्म केही काम भएका छन् । सत्ता चलाउने तहसम्म जनता हाबी भएको छैन । एउटा सुकुम्बासी, किसान, विद्यार्थी, युवा वैज्ञानिकको प्रतिनिधित्व सुनिश्चित हुन सकेको छैन ।

–अहिलेकै व्यवस्थामा विप्लवलाई प्रधानमन्त्रीमा राखे समस्याको समाधान हुन्छ ?

यसबाट समस्या समाधान हुँदैन । यो व्यवस्थाका कतिपय संरचनामा आमूल  परिवर्तन गर्न दिनुपर्छ । राष्ट्रको कार्यकारीलाई मुद्दा लगाइराखिएको छ । यो कस्तो सरकार हो ? कस्तो देश हो ? सङ्क्रमणकालीन न्यायको कुरा एकातिर बहस गर्छन् । अर्कोतिर मुद्दा लगाइन्छ । यस्तो खालको राज्यले गति लिन्छ ? एकअर्काेलाई छेकाछेक गरेर हुन्छ ? हुँदैन ।

–देशको कार्यकारीलाई लाग्ने, जनतालाई नलाग्ने भन्न खोज्नुभएको हो ? 

यसरी नै व्याख्या गरेर देश ध्वस्त भयो । देशका कतिपय विश्लेषकले उल्टो व्याख्या गर्नुहुन्छ र जनतालाई उल्टो पढाउनुहुन्छ । 

कानुन भनेको राज्यको मातहतमा चल्ने प्रक्रिया हो । त्यसले राज्यलाई सपोर्ट गर्नुपर्छ । अहिले आएर १६ वर्षपछि निहुँ खोज्ने कारण के हो ? सहिदको घरमा गएर म्याद टाँस्ने कुरा के हो ? जसले बलिदान ग¥यो, जसले जनतालाई यो अधिकार दिलायो, उनीहरूप्रति राज्यको यस्तो रवैया छ भने अरू जनताको जीवनको स्थिति कस्तो होला ? यसले मान्छेको जीवनमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा कल्पनासमेत गर्न सक्नुहुन्न ।

netra bikram chandra biplab ratopati interview (2)

चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं राष्ट्रपति सी चिनफिङ बेलाबेला खेतमा गएर गहुँ काट्ने, धान रोप्ने गर्छन् । त्यसलाई नक्कल गरेर विप्लव कहाँ पुग्छन् भनेर टिप्पणी गर्छन् । त्यसलाई के भन्नुहुन्छ ?  

सी चिनफिङले के गर्नुभएको छ ? त्यो उहाँको कुरा भयो । मैले देखाउनका लागि गरेको हैन । मेरो बस्ने ठाउँमा पत्रकार साथीहरू आउनुभएको छ । घुम्नुभएको छ । यो हाम्रो जनयुद्धदेखिकै चाहना हो । आफ्नै खुट्टामा उभिएर आफ्नै पौरखमा गर्न सक्छौँ भन्ने देखाउन खोजेको हो । मैले पार्टीभित्र भनिराखेको छु । भात खान चन्दा माग्नु हुँदैन । मान्छेहरू आजित भइसके । बेरोजगारीलाई राजनीतिमा राख्नुहुँदैन । पार्टी भनेको पायोनियर हो । जनतालाई बाटो देखाउने हो । लडाइँको बाटो मात्रै होइन उत्पादनको बाटो देखाउनुपर्छ । विध्वंसको बाटो मात्रै हैन निर्माण र सिर्जनाको बाटो देखाउन सक्नुपर्छ । परनिर्भरताको बाटो हैन आत्मनिर्भर बन्न सिकाउनुपर्छ । कार्यकर्तालाई मात्रै उपदेश दिने होइन । नेताहरू आफैँ उत्पादन र श्रममा जोडिनुपर्छ । हाम्रो उत्पादन क्षेत्रको जग्गा ४० बिघा पुग्दै छ । जम्मा २÷३ बिघामा लगाएको धानले कार्यालयलाई चामल किन्नुपर्दैन । हामीले  ४० बिघामा खेती लगायौँ भने केन्द्रीय समितिलाई किनेर खाद्यान्न खुवाउनु पर्दैन । एउटा जिल्ला सेक्रेटरीले एक बिघामा खेती गर्नुभयो भने जिल्लामा पार्टीलाई खान पुग्छ । एरिया कमिटी सदस्यले १० कट्ठामा खेती गर्नुभयो भने खाद्यान्न किन्नुपर्दैन । नेपाली राजनीतिमा खानकै लागि भिखारी बन्ने जुन प्रवृत्ति छ, विदेशीका सामु घुँडा टेकेर रुनुपर्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्नुपर्छ । हामीले फोटो खिचेर प्रचार गर्न खोजेको हैन । हामीले ढोङ पिट्न खोजेको हैन । हामीले साँचिक्कै केही गर्न खोजेको हो ।  

–तपाईंहरू पुग्ने भनेको वैज्ञानिक समाजवादसम्म हो भने त्यहाँसम्म पुग्ने नीति तथा कार्यक्रमहरू केके बनाउनुभएको छ ?  

राजनीतिक रूपमा संसदीय व्यवस्थालाई परिमार्जन गर्ने ढङ्गले जानुप¥यो । संविधान संशोधन, व्यवस्थाको जनमत सङ्ग्रह गरिनुपर्छ । जनताको जनसङ्घर्ष र विद्रोहको कुरालाई संस्थागत गरिनुपर्छ । यी सबै विकल्पहरू हुन् । 

–अनि वैज्ञानिक समाजवादमा पुग्न हतियारबद्ध आन्दोलन हुन्छ कि हुँदैन ?  

त्यो जनताको अधिकारको कुरा हो । राज्यले अहिलेकै परिस्थितिमा राखेर बोल्नै नदिने स्थितिमा पुर्‍याउँदै छ । सुकुम्बासी उठ्न खोज्यो भने डोजर लगाउन थाल्छ ।  सुकुम्बासीलाई शान्तसँग बस्न नदिने भयो । पहिचानको कुरा ग¥यो भने गोली हान्न थाल्छ । महिलाले हिंसा भयो भन्दा लाठी चार्ज गर्न थालिन्छ । युवा विद्यार्थीहरूले शिक्षामा व्यापारीकरण हुनुहुँदैन भन्दा बर्बर दमन गरिन्छ । वैज्ञानिकहरूले खोज अनुसन्धान गर्न थालेपछि दमनै भयो भने जनता थुनिएर थिचिएर बस्छन् ? बस्दैनन् ।  

–पार्टीको लक्ष्यमा पुग्न शान्तिपूर्ण आन्दोलन मात्रै देख्नुभएको छ कि ? पहिलेकै जस्तो १० वर्ष भूमिगत भएर जान सकिन्छ भन्ने हो ?  

त्यतातिर नलग्नुस् । तपाईँहरूजस्ता पत्रकार, बुद्धिजीवीको दायित्व परिवर्तनका सम्भावनाहरूप्रति जिम्मेवार बनाउनुपर्छ । देशलाई निकास दिन सबै एक ठाउँमा आउनुपर्छ । अहिले सबै मिलेर देशलाई निकास दिनुपर्नेछ । जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा केको हतियार र लडाइँतिर लग्नुहुन्छ । अहिलेको व्यवस्था जुन छ त्यो सङ्कटग्रस्त र असफल अवस्थामा छ । जनताका आवश्यकता र चाहनालाई नेतृत्व गर्न सकेको छैन । देशको स्वाधीनतालाई रक्षा गर्न सकेको छैन । साम्रज्यवादीका अगाडि उभिएर भन्न सक्ने देश बनाउनु प¥यो भन्ने हो ।

–यस्तो राम्रो नीति, विचार, कार्यक्रम भएको पार्टी किन खुम्चिँदै गएको हो ? राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको एक वर्ष भएको छैन देशको नेतृत्व गर्ने अवस्थामा पुगिसक्यो । तपाईंहरूको पार्टी खुम्चिएर धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीहरू बाहिरिए । हुँदाहुँदा अन्नपूर्ण होटलको चन्दा नमिलेर हामी बाहिरियौँ भनेर भन्नुहुन्छ ।  यस्तो खालको पार्टीबाट कसरी क्रान्ति गर्न सक्नुहुन्छ ? 

त्यस्तो चिन्ता नगर्नुस् । तपाईंले नकारात्मक कुरा उठाउन खोज्दै हुनुहुन्छ । यो गइसकेको कुरामा चिन्ता नगर्नुस् । त्यो हाम्रो ड्युटी हो । देशलाई लिएर अघि जाने कुरा गर्दै छौँ । 

जसरी तपाईंले कुरा  राख्नुभयो त्यसरी राख्नुहुँदैन भन्न मात्रै खोजेको हो । विषय तपाईंले भनेजस्तो हुँदा पनि होइन । यसरी कुरा राख्दा आन्दोलन र जनतालाई निराश बनाउँछ । रातोपाटीजस्तो मिडियाले निराशा बाँड्ने होइन । जनतालाई आशा जगाउने काम गर्नुपर्छ । 

–भएकै घटना भनेको हो । धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीहरूले आरोप लगाउनुभएकै हो नि है ? 

त्यतातिर जान हुँदैन । पार्टी कहाँ खुम्चियो ? हामी लडिराखेका छौँ । तपाईं जसरी हरेक विषयवस्तुलाई हेर्नुहुन्छ, त्यो पूर्वाग्राह र दृष्टिदोष छ वा अन्योल र अज्ञानता छ । हरेक विज्ञानको विकास, पार्टीको विकास, आन्दोलनका कुरा जसरी रास्वपासँग जोडेर कुरा गर्नुभयो त्यो सतही मानसिकता जस्तो भयो । यस्तै प्रवृत्तिले नेपाललाई क्षति पु¥याइराखेको छ । कुन पार्टीले, कुन विचारले जनताको विश्वास लिएर गएको छ ? यो सानो कुरा होइन । जनता जब कन्भिन्स हुन थाल्छन् त्यसपछि त्यो एउटा झिल्को जस्तै बन्छ । लड्ने जनताले हो । क्रान्ति गर्ने जनताले हुन् । विद्रोह गर्नुप¥यो भने जनताले नै गर्ने हो । भोटिङ नै गर्नुप¥यो भने जनताले नै गर्ने हो । अहिले कहाँ के भयो भन्ने होइन । हामीले कुन विषयवस्तु प्रस्तुत गर्न खोजेका छौँ ? यो धनी हो भन्दा यो गरिब भन्नेजस्तो भयो । 

तपाईं पत्रकार हुनुभएको छ, अरू नसकेर हुनुभएको हो ? अरू पाँचतले भवन बनाए, कसैले १० तले भवन बनाए, तपाईं किन यसरी बस्नुभएको छ ? यसरी विषयलाई हेर्नुहुँदैन । कसले जनताको आवश्यकतालाई प्रतिनिधित्व गर्छ ? कसले वैज्ञानिक दृष्टिकोणको प्रतिनिधित्व गर्छ ? कसले भविष्यको नेतृत्व गर्न सक्छ भन्ने कुरालाई हेर्नुपर्छ । 

–तपाईंको पार्टीमा भएका मान्छे गइरहेका छन् । पार्टी खुम्चिँदै गएको छ भने भने सत्य हुन्छ नि ? 

तपाईंले बुझ्नुभएको छ । अझ बुझ्नुपर्छ । पार्टीबाट मान्छेहरू किन निस्कन्छन् ? 

netra bikram chandra biplab ratopati interview (3)

–चन्दाकै कारण पार्टी फुट्छ, कसरी क्रान्ति हुन्छ ? 

मान्छेहरूले भन्छन् भन्दैमा तपाईंजस्ता पत्रकार कुद्ने होइन । तपाईंले जुन कुरा उठाइराख्नुभएको छ । यो नउठाउनुस् । साथीहरू पार्टीबाट गइसकेका छन् । मान्छेहरू असफल भएर पतन भएकातिर जाने हैन । मान्छेका कमजोरीहरू हुन्छन् । त्यसलाई सुधार गर्नुपर्छ । आफ्ना कमजोरी ढाकछोप गर्न अन्टसन्ट र अनावश्यक कुरा ग¥यो भने आफैँ एक्सपोज हुन्छ । हामी सबैसँग प्रतिस्पर्धा गर्ने भनेर आएका छौँ । अरू पछि थपिन आएका साथीहरू हुन् । पार्टी बनाउँदा आएका सुरुका साथीहरू होइनन् । एउटा प्रक्रियामा निस्किएका छन् । फेरि रूपान्तरण भएर आउन सक्छन् ।  असफल भएको पाटो, पतन भइसकेको र विघटन भएको पाटोमा जान हुँदैन । यस विषयमा धेरै कुरा नगरौँ । 

–पार्टी कार्यालयदेखि जनवर्गीय सङ्गठनको कार्यालय कपिलवस्तुको शिवगढीमा लगेर राख्नुभएको छ । यसको सङ्केत के हो ? 

सबै शिवगढीमा लगेको होइन । शिवगढीमा हेडक्वाटरजस्तो बनेको हो ।   जलजलाको टाकुरामा बनाए पनि हुन्छ । काठमाडौँमै नबनाए हुन्छ भन्ने मात्रै हो ।

–आफ्नै माटो विप्लवलाई कति प्यारो भएको भन्ने गर्छन् ? 

प्यारो लाग्छ । जुन ठाउँमा बसिन्छ त्यो प्यारो हुन्छ । नेपाल प्यारो भएर नै तपाईं बस्नुभएको छ । तपाईं विदेश नगएर यतै बस्नुभएको छ । त्यसमा पनि रातोपाटीमा हुनुहुन्छ । यस्ता मसिना कुरामा जनता कन्फ्यिुज हुने कुरा गर्नु हुँदैन । मान्छेलाई डिस्र्टब हुने कुरा गर्नु हुँदैन । 

हामीले थवाङमा ठूलो भवन बनाएका छौँ । त्यस्तो ठूलो भवन कुनै पार्टीले बनाएको छ ? पार्टीकै मेहनतबाट यति ठूलो सभा हल बनाएको देख्नुभएको छ ? नेता कार्यकर्ताले ढुङ्गा बोकेर थवाङमा २ हजार मान्छे अटाउने सभा हल बनाएका छौँ । देशका १२ ठाउँमा यस्ता भवन बनिरहेका छन् । धादिङमा हामीले स्कुल बनाएका छौँ । अस्पताल बनिसकेको छ । 

–यस्ता संरचना बनाउन पैसा कहाँबाट आयो ? 

हामीले केही सहयोग माग्यौँ । अरू आफैँले श्रम गर्यौँ ।

–फेरि चन्दा नउठाउने भन्नुहुन्छ ? 

चन्दा पनि उठाउने हो । सहयोग पनि माग्ने हो । आफैँ आत्मनिभर हुने हो । श्रम गरेर बाँच्न प्रयास गर्ने हो । यो सहकार्य हो । नयाँ राज्य निर्माण गर्न, नयाँ सहकार्य गर्न सबै तयार हुनुपर्छ । उद्योग व्यवसायीसँग सहकार्य गर्ने हो । वैज्ञानिक समाजवाद निर्माण गर्न सहकार्य गर्ने हो । राष्ट्रिय पुँजीपतिहरूलाई सरक्षण गर्ने हो । वैज्ञानिक समाजवाद आयो भने जिम्मा पनि दिने हो । यो सहज कुरा हो । 

लुटेर, भ्रष्टाचार गरेर खाने हैन । आपसी सहकार्यमा तपाईंले मलाई सहयोग गर्नुभयो भने के बिग्रियो ? पत्रकार साथीहरू गएर श्रम गर्नुभएको छ । काठमाडौँमा कोट पाइन्ट लगाएर, हल्लिएर, दुई चारवटा गफ चुटेर मात्रै हुँदैन । महिनामा एक दिन श्रम गरेर के बिग्रन्छ ? यसरी श्रम गर्न थालेपछि सबै राम्रो हुन्छ । 

–नेपाली जनताले २००७ सालदेखि ०४६ हुँदै १० वर्षे युद्धसम्म लडे । के फेरि वैज्ञानिक समाजवाद निर्माण गर्न लड्नुपर्ने हो ? 

आवश्यक परे लड्नुपर्छ । जबसम्म लुटेरा वर्गले सत्ता कब्जा गर्छन्, शासक वर्गले सत्ता कब्जा गर्छन्, जनतामा दासत्व लादिन्छ त्यतिबेलासम्म लड्नुपर्छ । अमेरिका, भारत आए पनि लड्नुपर्छ । लडाइँ नै जिन्दगी हो । जो मान्छे आफूमाथि भएको हस्तक्षेपविरुद्ध लड्न तयार हुन्छ त्यो मात्रै बाँच्न सक्छ । अरू कोही बाँच्न सक्दैनन् । जुन देश आफ्नो स्वाभिमानका लागि लड्न तयार हुन्छ त्यो मात्रै बाँच्छ । त्यसले विकास गर्छ । 

–तपाईंहरूले कल्पना गरेको व्यवस्था ल्याउन कति समय पर्खिनुपर्छ ? 

 लड्यो भने पाँच, १०, २० वर्ष जति पनि लाग्न सक्छ । त्यो नयाँ पुस्तामा भर पर्छ । मैले आफ्ना छोराछोरीलाई भन्ने गरेको छु, देश बदल्ने जिम्मा नयाँ पुस्ताको हो । नयाँ पुस्ता आशावादी हुनुपर्छ । देश बनाउन एउटा अठोट लिएर लाग्नुपर्छ । हामी कलेजको सर्टिफिकेट च्यातेर लड्यौँ । आफ्ना छोराछोरी र नयाँ पुस्तालाई सिकाउनुपर्छ । आफू मात्रै लड्ने होइन सिङ्गो समाजलाई लिएर अघि बढ्नुपर्छ । यसरी जनतासमेत सहभागी भएर लडे छिटो हुन्छ । जनताले कुरा बुझेनन् भने अमेरिकाजस्ता देशले उपनिवेश बनाउँछन् ।   

–एउटा व्यक्तिलाई देशको कार्यकारी पदमा लग्न कति लड्ने हो भन्दै छन् । हिजो जनता लडेर प्रचण्ड नेता हुनुभयो । तर जनताले केही पाएनन् ? 

नेता भनेको जनताको प्रतिनिधि हो । जनताकै लागि त्याग गर्नुपर्छ । जनताको प्रतिनिधि नभएको नेता कहीँ पुग्दैन । जनताको बीचमा सङ्घर्ष गर्ने नेता मात्रै  टिक्न सक्छ । त्यहीँबाट नेता जन्मिने हो । समाजको केन्द्रीकृत अभिव्यक्तिको प्रतिनिधि कोही न कोही हुन्छ । 

–यति ठुलो जनयुद्ध लडेर आएका प्रचण्डले धेरै गर्न सक्नुभएन, तपाईं कसरी गर्न सक्नुहुन्छ ? 

फेरि त्यतातिर लग्नु हुँदैन । उहाँले केही काम राम्रो गर्नुभएको छ । हामीले त्यसको बाहिरबाट  समर्थन गर्‍यौँ । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गर्नुभयो । जनयुद्धका सहिद तथा बेपत्तालाई राजपत्रमा प्रकाशित गरेर राम्रो गर्नुभयो । एकाध नाम छुटेका छन्, थप्नुपर्नेछ । जनमुक्ति सेनाले पाउनुपर्ने दुई लाख रुपियाँ दिइएको थिएन, त्यो कार्यान्वयन गर्ने भन्नुभएको छ । फेरि बाहिर च्याउँच्याउँ कराई राखेका छन्  परिवर्तन मन नपराउने तत्त्वहरू कराइरहेका छन् । राम्रो काम गर्दा साथ दिने हो, कमजोरी गर्दा सङ्घर्ष पनि गर्ने हो । 

–सरकारले प्रतिबन्ध लगाउँदा १४ जनाको मृत्यु भयो । त्यत्तिकै सङ्ख्यामा घाइते भएर अपाङ्ग भएका छन् । अझै एक सयभन्दा बढी कार्यकर्ता जेलमै छन् । सरकारसँग तीनबुँदे सहमति गरेको तीन वर्ष हुँदासमेत कार्यान्वयन हुन सकेको छैन । यसो हुँदा तपाईंप्रति अविश्वास बढ्यो भन्ने लाग्दैन ? 

हामीले सरकारसँग गम्भीर संवाद गरिराखेका छौँ । प्रतिबन्धमा २५० भन्दा बढी नेता कार्यकर्ता पक्राउ पर्नुभयो । त्यसमा कञ्चनजी, सुदर्शनजी छुट्नुभयो । केन्द्रीय नेताहरू सबै छुट्नुभयो । मैले नआत्तिनुस्, सबै नेता कार्यकर्तासँगै छुटौँला भन्दा कतिपयले दाम्लो किलो नै चुँडाल्न खोज्नुभयो । नेताहरू छुट्नुभयो । यसरी छुट्दै छुट्दै अब ३५ जना हुनुहुन्छ । अस्ति भर्खरै पाँच जना छुट्नुभयो । हामीले सोचेजस्तो हुँदैन । सरकारसँग छलफल हुन्छ । सङ्घर्ष हुन्छ, अन्त्यमा कार्यान्वयन हुन्छ । मैले प्रधानमन्त्रीसँग केही दिनअघि कुरा गरेको थिएँ । अहिले पनि कुरा भइराखेको छ । कानुनबाट हुने कानुनी प्रक्रियाबाट अरूलाई विधेयक ल्याएर भए पनि हल गर्ने कुरा भइराखेको छ ।

मैले हिजो मात्रै रेशम चौधरीलाई भेटेको थिएँ । उहाँ पनि जेलबाट छुट्नुपर्छ । राजनीतिक आन्दोलन र सङ्घर्षलाई नयाँ रूपमा परिभाषित गरिनुपर्छ ।

–जनयुद्धकालीन मुद्दा टुङ्गो लगाउन सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संसद्मा दर्ता भएको छ । जनघन्य अपराध गरेकालाई उन्मुक्ति दिन हुँदैन भनेर विरोध भइराखेको छ । तपाईंहरूले त्यसको किन विरोध गर्नु भएको हो ? 

मान्छेलाई चिटचिटाहट हुने खालको प्रश्न नगर्नुस् न ? मान्छेलाई आक्रमक बनाउने खालको नसोध्नुुस् ? नयाँ तरिकाले प्रश्न गर्न सिक्नुस् भन्ने छ । हुन त फेरि राम्रै गर्नुभएको छ । हामीले रचनात्मक ढङ्गले सोच्नुपर्छ भनेका छौँ । ऐन अपूरो भए संशोधन गर्नुस् भनेकै छौँ । जनयुद्धकालीन मुद्दाको विषयमा राम्रोसँग छानबिन गर्नुप¥यो । पूर्वाग्रह साँध्नु भएन । राजनीतिक आग्रह राख्नुभएन । माओवादीले युद्ध गरेकाले अहिले कमजोर भएको बेला जसरी भए पनि अपराधी करार गर्नुपर्छ भनेको जस्तै गर्न खोजियो भने ठिक हुँदैन वा त्यो आँखाबाट कानुनको व्याख्या गरियो भने मूल पक्षमै अन्याय हुन्छ । मान्छे त्यसै मारिएको छैन । त्यसका कारणहरू हुन्छन् । मैलेभन्दा नमिठो लाग्न सक्छ । कुनै मान्छे पत्रकारको भेषमा गएर हाम्रा दर्जनौँ साथीको हत्या भएको छ । कोही शिक्षक नै भए । खुरुखुरु जागिर खाएका कोही मारिएका छैनन् । त्यसमा सबैको ध्यान जानुपर्छ । जनताको पक्षमा लड्ने मान्छे मारिएको कुरा व्याख्या गर्दा सङ्क्रमणकालीन न्यायले देख्छ कि देख्दैन ? 

–यो एउटा पक्षलाई मात्रै भनिएको होइन । जघन्य अपराध गरेका राज्य र विद्रोही दुवै पक्षलाई भन्न खोजिएको हो ?  

यो ठिक होइन । अहिले बजारमा जसरी आएको छ, त्यो गलत छ । यो पूर्वाग्रहपूर्ण छ । त्यो प्रतिशोधपूर्ण छ, त्यसलाई अस्वीकार गर्नुपर्छ । अदालतमा माओवादीको प्रतिनिधि चाहिन्छ ।  जनयुद्धमा लडेकाले फैसला गर्नुपर्छ । न्याय निसाफ जनयुद्धमा सहिद भएका परिवारले गर्ने हो । बलिदान भएका परिवारले हेर्नुपर्छ । विदेशमा बसेर डलर खाएर हावादारी कुरा गर्नेले न्याय गर्छन् ? जनताको मान्छे अदालतमा प्रतिनिधित्व गराउनुपर्छ ।  सङ्क्रमणकालीन न्याय सामान्य कुरा छैन । 

–तपाईंहरूलाई पनि डर लागेको हो ? प्रचण्डलाई मुद्दा लाग्नेवित्तिकै सबै माओवादीहरू एक ठाउँमा उभिएर प्रतिरोध गर्छौं भनिहाल्नुभयो । यो डर होइन र ? 

राम्रो कुरा हुँदा खुसी हुनुपर्छ । हामीलाई केको डर हो ?  जिम्मेवारीको कुरा हो । डर त्यसलाई हुनुपर्ने हो, जसले न्यायलाई अन्याय, अन्यायलाई न्याय भनेर व्याख्या गर्ने गर्छ । 

–त्यसो भए आयोगमा दिएका उजुरीको विषयमा के गर्ने हो ? 

छानबिन गर्ने हो । पहिला क्रान्तिको छानबिन गर्ने हो । २००७ सालदेखि २०६२÷६३ सालसम्म भएका क्रान्तिको छानबिन गर्नुपर्छ । त्यसले के परिणाम ल्यायो ? उस्तै परे २००७ साल मात्रै हैन लखन थापादेखि छानबिन गर्नुपर्छ । तपाईंहरू बलिदानको कुरा गर्ने, बलिदान गर्ने पात्रको उल्टो कुरा गरेर हुन्छ ? छानबिन सानबिनको वाहियात कुरा छोड्नुस् । 

–छानबिन नगरेपछि निकास कसरी दिन त  ? 

किन निकास चाहियो ? पीडित को छ ? पीडित सबैभन्दा बढी माओवादी हो । त्यसपछि जनता हो । यहाँ देशमा लाखौँ लाख मुद्दा छन् । त्यसमा केही नभन्ने अनि अहिले आएर माओवादीलाई एकोहरो बदनाम गरेर सिध्याउने उद्देश्य राख्न पाइन्छ ? त्यसलाई हामी मान्दैनौँ । हामीले यो १० वर्षसम्म आदर्श जीवन लड्यौँ । त्यसमा निःर्सत रगत बगायौँ । हामीलाई अपराधी गराउन खोज्नुहुन्छ ? हामी त्यसमा कहाँ मान्छौँ ? हामीले लडेर आएको परिवर्तनमा टेकेर दुरुपयोग गरी क्रान्तिका नायक र योद्धालाई अपराधीकरण गर्न खोजे मान्दैनौँ । कथित सङ्क्रमणकालीन न्यायको कुरा गर्दै सबै नेतृत्वको टाउको काट्ने र दिमागलाई क्षतविक्षत गर्ने षड्यन्त्र हुँदै छ । त्यो मिल्दै मिल्दैन । जुन आदर्शका लागि जनताले बलिदान गरे ।  त्यसको रक्षा जनता आफैँले गर्नुपर्छ ।

–अदालतमा माओवादीको न्यायाधीश लैजानुपर्छ भन्नुहुन्छ । अब काँग्रेस, एमाले र माओवादीकै न्यायाधीश लगेर राखे हुन्छ त ? बरु सबैलाई न्याय हुनेगरी के गर्नुपर्छ भन्ने सोच्नुपर्ने होइन ? 

माओवादीको न्यायाधीश लानुपर्छ । न्यायलाई राजनीतिक दृष्टिकोणले हेरेपछि मात्रै न्याय मिल्छ । न्याय गर्न जसको जुन विषयमा दक्षता छ, जसले जुन विषयको ज्ञान प्राप्त गरेको छ, जसले त्यसमा लड्यो, त्यस्ता मान्छे पुग्नुपर्छ । सबैभन्दा पहिला क्रान्तिको विश्लेषण हुनुप¥यो । जनयुद्ध हो कि हैन संश्लेषण हुनुप¥यो । जनताका पक्षमा परिवर्तन ल्यायो कि ल्याएन भन्ने हेरिनुपर्छ ।

–विस्तृत शान्ति सम्झौतादेखि संविधानमै जनयुद्धको योगदान उल्लेख भएको विषय होइन र ?

केही भएको छैन । तपाईंहरूमा भ्रमित हुनुहुन्छ । यदि हो भने यो व्यवस्था ल्याउने नेताहरूलाई अपराधी भन्न  मिल्छ ? त्यो बेलाका नायकहरू र योद्धाहरूलाई अपराधी बनाउन खोजे वा षड्यन्त्र मान्दैनौँ।  दोस्रो विश्वयुद्धमा कति मान्छे मरे ? कति सहर ध्वस्त भए ? त्यसका लागि हिटलर वा स्टालिन जेल जानुपर्छ ? २००७ सालको क्रान्तिमा बीपी जानुपर्दैन ? झापा विद्रोहमा कति क्षति भयो ? के केपी ओली जेल जानुपर्ने होइन ? हरेक विषयलाई राजनीतिक दृष्टिकोणले हेरिनुपर्छ । जसलाई जनयुद्धको पीडा थाहा छैन, त्यसले न्याय दिन सक्छ ? मान्छे आगोमा त्यसै हाम फाल्न तयार हुन्छ ? यी सबै बोध भएका मान्छेले न्यायको फैसला दिन बस्नुपर्छ ।

माओवादी युद्धले ल्याएको परिवर्तनले तपाईं आफैलाई समेत पीडा दिइराखेको छ, यसलाई कसरी समीक्षा गर्नुहुन्छ ? 

माओवादी १० वर्षे जनयुद्धमार्फत केन्द्रीय सत्तामा बदल्न चाहन्थ्यौँ । हामीलाई रोकियो, सेबोटेज गरियो । हामीले गर्न खोजेका क्षेत्रमा गर्न दिएन । हामीले २०५२ सालबाट सुरु गर्‍यौँ । जनताको सत्ता बन्न थालेको २०५७ सालदेखि हो । पुरानो जब सत्ता खाली हुन थाल्यो, जनताको सत्ता बन्यो । त्यो बेला लिवाङमा एउटा पनि मुद्दा थिएन । रुकुममा अदालतमा मुद्दा नै थिएन । कालिकोट, सिन्धुली, भोजपुर, गोरखालगायत जिल्लामा मुद्दा थिएनन् । देशका अरू जिल्ला अदालत खाली थिए । जनता जनअदालतमा जान्थे । जनताले सजिलै न्याय पाउँथे । जनता सन्तुष्ट भएर फर्किन्थे । त्यो न्याय प्रणाली केन्द्रीय सत्तामा देखाउनै पाएनौँ । 

–जनता डरले सन्तुष्ट भएर जान्थे होला नि ? 

त्यस्तो कुरा नगर्नुस् न ? त्यो न्याय प्रणालीलाई केन्द्रमा ल्याउन चाहन्थ्यौँ । हामीलाई त्यो जनअदालत केन्द्रमा ल्याउन दिइएन । हामीले अर्थतन्त्र निर्माण गर्दै थियौँ । हामीले सफल रूपमा सहकारीहरू चलाइराखेका थियौँ । 

–२०६३ सालदेखि माओवादी सत्तामा छ । कसरी केही गर्न दिएन भन्नुहुन्छ ? 

आफैँलाई भनेजस्तोगरी नचिच्याउनुस् न ? यता मेरो कुरा सुन्नुस् । हामीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै थियौँ । हामीले चलाएका सहकारी एउटा पनि घाटामा थिएनन् । थवाङमा चलाएको सहकारी त्यहाँका दिदीबहिनीहरूले यति विश्वास गर्नुभयो । एउटा सानो गाउँमा २० लाख जम्मा भयो । त्यो सहकारीले धान्न नसकेपछि अन्यत्र  विस्तार गरेका थियौँ । हामीले २३ भन्दा बढी जनवादी विद्यालय चलाएका थियौँ । थवाङका सरकारी स्कुल खाली भएर जनवादी स्कुलमा विद्यार्थीहरू लाइन लागेका थिए । विकास निर्माण र घरेलु उद्योगहरू चलानमा थिए । रोल्पा रुकुममा उत्पादन गरेको खाजा बजारमा गइसकेको थियो । रोल्पा, रुकुमका जनताको जीवनस्तर माथि उठ्दै गएको थियो । यो यथार्थ थियो । 

मान्छेलाई प्रेरित गर्ने कुरा हो । यो सबै व्यवस्था केन्द्रमा ल्याउन चाहन्थ्यौँ । केन्द्रमा यस्ता सबै व्यवस्था ल्याउन दिएन रोकियो । जनमुक्ति सेनालाई बिर्सन गरियो । 

–यो सबै गरेको प्रचण्डले हो तर तपाईं भन्नै सक्नुहुन्न ? 

उहाँले त्रुटि गर्नुभयो । त्यसपछि न हामी अलग भयौँ । प्रचण्ड, बाबुरामजीका गम्भीर त्रुटि थिए । उहाँहरूको आफ्नै खाले विश्लेषण छ । त्यो बेला म जिम्मेवारीमा थिइनँ । मेरो जिम्मेवारी स्थायी समितिमा मात्रै थियो । मैले त्यो गर्नु हुँदैन भनेर लडेको हो । जमिनदारलाई जमिन फिर्ता दिनुहुँदैन भनेर लडेको थिए । आखिर जमिनदारले जमिन पाएनन् । हामीसँग जमिन रहेन । माओवादीभित्र ठुलो माफियातन्त्र जन्मियो । त्यो बेला लगभग तीन लाख जमिन जनताको हातमा थियो । अहिले एक टुक्रा  जमिन जनताको भागमा रहेन । हेर्दाहेर्दै जनताको हातबाट जमिन गुम्यो । यतिसम्म कि जुन खेतमा किसानको रगत बगेको थियो त्यो खेत जनतासँग रहेन । म कहिलेकाहीँ भावुक हुन्छु । यी सबै हाम्रा कमजोरी हुन्, त्यसलाई सच्याउनुपर्छ । 

–प्रचण्ड, बाबुरामका यति धेरै कमजोरी औँल्याए पनि समाजवादी मोर्चा बनाएर एकता गर्ने  कि सहकार्य गर्ने भनेर बहस चलिरहेको छ । यसमा तपाईं सहमत हुनुहुन्छ कि हुनुहुन्न ? 

यो मोर्चा बनाउने राम्रो पक्ष हो । अहिले परिस्थिति नयाँ ठाउँमा आइपुग्यो । प्रचण्ड एक ठाउँमा हुनुहुन्छ । बाबुराम  अर्को ठाउँमा हुनुहुन्छ । यद्यपि उहाँले कम्युनिस्ट छोडे भन्नुभएको थियो । माधवजी, उपेन्द्रजी अर्को ठाउँमा हुनुहुन्छ । यी सबैका बीचमा देशको स्थितिको बोध भएको छ । समाजवादी मोर्चाको महत्त्व के हो ? यसले कुन दिशा समाउने हो ? मोर्चा बनाउने विषयमा सकारात्मक रूपमा छलफल चलेको छ ।

netra bikram chandra biplab ratopati interview (4)

–प्रचण्डलाई यति धेरै गाली गरेर पार्टी फुटाउनुभयो । प्रचण्डलाई नेता मानेर फर्किन उहाँ सच्चिने कि तपाईं बिग्रने भन्ने भएन र ? 

त्यसलाई उल्ट्याएर हेर्नुस् न ? यत्रो प्रतिबन्ध लगाएको विप्लवका साथीहरू जेलमा छन् । सहकार्य गर्न साथीहरू तयार हुनुभएको सकारात्मक रूपमा लिनुपर्छ । रेशम चौधरीसँग मेरो हिजो मात्रै भेट भयो । उहाँसँग राम्रो कुरा भयो । पहिचानको आन्दोलन भइरहेका बारेमा छलफल गरौँ भन्ने छ । मधेसको उत्पीडन, मिटरब्याजपीडित, लघुवित्तको कुरा छन् । यसको निचोड निकालेर देशलाई निकास दिनुप¥यो भन्ने छ । 

–तपाईं माओवादी केन्द्रका महासचिव बनेर पार्टी एकता गर्ने, त्यसपछि समाजवादी मोर्चा बनाउने भन्ने कुरा आएको छ । त्यो कत्तिको सम्भावना छ ? 

तपाईंलाई नभएको कुरा कसले सुनाउँछ ? यति क्लाइमेक्समा ल्याएर मान्छेलाई तर्साएर भाग्ने स्थितिमा पु¥याउनेगरी ? सुन्दै पनि अनौठो लाग्ने नबनाउनुस् न ? हामी देशलाई कसरी अघि बढाउने कुरा गरिराखेका छौँ । यदि माओवादी केन्द्रसँग एकता भएछ भने पनि खुसी नै हुनुस् न ? म अध्यक्ष पनि हुन सकुँला नभए सदस्य पनि हुन सकिएला ? सबै विकल्प हुन्छन् ।

हामी कुनै बेला साँच्चिकै माओवादी सदस्य मात्रै बनेर लडेका मान्छे हौँ । केको महासचिव ? के  अध्यक्षको कुरा गर्नुहुन्छ ? नेपाली जनताले सुख पाउँछन् भने, देशमुक्त हुन्छ भने, साम्राज्यवादीको लुटको अन्त्य हुन्छ भने र जनताको जीवन उकासिन्छ भने सिपाही भएर लड्न तयार हुनुपर्छ । यो मैले आदर्शको कुरा गरेको हैन । आन्दोलनको नेतृत्व गरेर जान तयार भए जिम्मा लिन तयार हुनुपर्छ । भर्खर छलफल हुन थालेको छ । यसो तानतुन पार्ने असफल पार्ने आनन्द मान्ने गर्नु भएन । 

–विप्लवलाई यो देशको कार्यकारी नेतृत्वमा कहिले देख्न सकिन्छ ?  

हाम्रो आफ्नै खालको आकाङ्क्षा हुने नै भयो । एक पटक नेतृत्व गर्ने चाहना सबैलाई हुन्छ, मलाई पनि छ । मलाई मात्रै हैन नेकपालाई छ । पार्टीका नेता कार्यकर्तालाई देशको नेतृत्व गर्ने चाहना जरुर छ । चाहना भएर मात्रै हुँदैन । यसमा सबै तारतम्य मिल्नुपर्छ । देशको नेतृत्व सके हामी गर्छौं । नसके हाम्रा छोराहरूको पुस्तालाई हस्तान्तरण गरेर गर्छन् । नभए नाति पुस्ताले गर्लान् । नेपाली जनताको उज्यालो बाटो समाजवादको विकल्प छैन ।

–अहिलेकै नेतृत्वबाट देशले पार पाउँदैन भन्नेमा निश्चिन्त हुनुहुन्छ ? 

पूर्ण रूपमा । संसदीय व्यवस्था जति घुमाउनुस् यसबाट केही निकास आउँदैन । झन् ठुला विघटन हुन्छन् । झन् ठुला षड्यन्त्र हुन्छन् । यसको निकास वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादतिर देशलाई लानुपर्छ । समाजवादका विषयमा बहस चलिराखेको छ । काँग्रेसका साथीहरूलाई भन्ने गरेको छु, यही संसदीय व्यवस्था हो कि अर्को हो ? अर्को हो भने सहकार्य गरौँ भन्ने गरेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया