मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणलाई जोगाउन कांग्रेसभित्र लबिङ, महेन्द्र यादवले बढाए शीर्ष नेतामाथि दबाब

आइतबार, ०७ जेठ २०८०, २२ : ५३
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको दिनचर्या फेरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाण २७ वैशाखमा पक्राउ परेपछि सहमहामन्त्री यादव चैनमा बस्न सकेका छैनन् । पूर्व गृहमन्त्री खाणका विश्वासपात्र यादव उनको प्रतिरक्षाका लागि दिलोज्यान दिएर लागेको देखिन्छ । पार्टीभित्र र बाहिर खाणको बचाउमा उनी खरो रूपमा उत्रिएका छन् । यादवले भने, ‘बालकृष्ण दाइ निर्दोष हुनुहुन्छ । उहाँलाई फसाउन खोजिँदै छ भनेर मैले पार्टीका नेताहरूलाई जानकारी गराउने काम गरेको हुँ ।’ 

तरुण दल र नेविसंघ दुवैका अध्यक्ष भइसकेका खाणको पार्टीमा देशभर सञ्जाल छ । यादवको योजनाअनुसार खाण निकट नेताहरू पार्टीभित्रका नेतामाथि दबाब बढाउन परिचालन भइरहेका छन् । सहमहामन्त्री यादव आफै पार्टीका सबै जसो शीर्ष नेताको निवासमै पुगेर खाणको पक्षमा उभिदिन आग्रह गरिरहेका छन् । 

एकजना प्रहरी अधिकृतका अनुसार यादवले जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका खाणलाई नियमित भेटिरहेका हुन्छन् । सह–महामन्त्री यादवमार्फत खाणले आफ्नो पक्षमा कार्यकर्ता ‘मुभ’ गराउन खोजेको देखिन्छ । यादवले पार्टीको पदाधिकारी बैठक र मिडियामा खाणको खुलेर बचाउ गरिरहेका छन् । कांग्रेसमा खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा मतभेद हुँदा यादव खाणको पक्षमा दह्रो ढङ्गले उभिएका थिए ।
गत बुधवार र बिहीबार बसेको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले खाणलाई निलम्बन गर्नुपर्ने मत राखेपछि यादव जङ्गिएका थिए । वैशाख २८ गते बिहान यादवको नेतृत्वमा केही केन्द्रीय सदस्यले सभापति देउवालाई भेटेर खाणको पक्षमा उभिन दबाब दिएका थिए । केन्द्रीय सदस्य मात्र होइन, खाण निकट पार्टीका सांसदहरूलाई पनि उनले ‘मुभ’ गराइरहेको देखिन्छ ।
कांग्रेस सांसदहरू नागिनाकुमारी यादव, कान्तिका सेजुवाल, रूपा विक, सुशीला थिङ, सीता राना लगायतले खाण पक्राउबारे सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । वैशाख ३० गते देउवा निवास धुम्बाराही पुगेर उनीहरुले खाणलाई षड्यन्त्रपूर्वक फसाइएको नसहने चेतावनी दिएका थिए ।
खाण पक्राउपछि बसेको पदाधिकारी बैठकमा निलम्बन गर्न देउवा करिब–करिब सहमत देखिन्थे । महामन्त्री विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नु अहिले पार्टीको हितमा हुने सुनाएपछि देउवा सहमत भएका थिए । तर देउवाले निलम्बन गर्ने सङ्केत गरेपछि सहमहामन्त्री महेन्द्र यादव प्रतिवादमा उत्रिए ।

त्यसपछि उपसभापति पूर्णबहादुर खड्काले खाणको निलम्बनको विषय पूर्व पदाधिकारी तहसम्म लैजानुपर्ने प्रस्ताव राखे । त्यसपछि करिब दुई दर्जन नेता उपस्थित बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र खाणको निलम्बनको पक्षमा खुले । बाँकी नेताहरूले ‘पार्टीको साथी दुःखमा परेको बेला निलम्बन गरेर थप पीडा दिन नहुने’ मत राखे । खाणले आफू निर्दोष रहेको दाबी गरिरहेको भन्दै पार्टीले ‘तँ दोषी होस्’ भनेर निलम्बन गर्न नहुने अधिकांश नेताको राय रह्यो । 

त्यसपछि देउवाले पनि खाणलाई निलम्बन नगर्न मन बदलेको कांग्रेसका एक पदाधिकारीको जिकिर छ । यता खाणलाई निलम्बनको स्वघोषणा गर्न लगाउने पनि महामन्त्री थापाको प्रस्ताव थियो । तर, खाणले देशी–विदेशीले आफूमाथि ‘रिभेन्ज’ लिएको भन्दै निलम्बन रोक्न निकटस्थ नेताबाट देउवामाथि दबाब बढाएको नेताहरू बताउँछन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पनि तरुण दलका जिल्ला अध्यक्षलाई काठमाडौँ बोलाएर पार्टी सभापतिमाथि दबाब बढाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप