शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई

बिहीबार, १८ वैशाख २०८२, १८ : १८
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरू सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई बेवास्ता गर्ने गरेको बताएका छन् । 

बिहीबार राजधानीमा नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रूपमा आयोजना गरेको १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

डा. भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकहरूको श्रमलाई उच्च सम्मान गर्नु पर्ने पनि बताए । उनले मजदुरहरूले लडेर ल्याएको ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको अधिकार  व्यवहारमा अझै लागु हुनु नसकेको बताए । 

भट्टराईले अहिले श्रम गरेर खाने भन्दा बिचौलिया र कमिसन खोरहरूको बिगबिगी भएको पनि बताए । मजदुरहरू र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था,स्थापना भए पनि मजदुरहरूका समस्या समाधान हुन नसक्नु दुःखद  पक्ष भएको बताए । उनले श्री ५ हटाए पनि अहिलेका सत्तारुढ दलका नेताहरूको कार्यशैली श्री ३ को जस्तो भएको बताउँदै उनीहरूकै कारण  जनतामा असन्तुष्टि सृजना भएको दाबी गरे । 

उनले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिए । पुराना दलले मजदुर र आम जनताका समस्या समाधान गर्न नसक्ने भएकोले आफूले अग्रगामी र वैकल्पिक एजेन्डा सहित नेसपा नयाँ शक्ति अगाडी बढाएको पनि बताए । 

सोही क्रममा भट्टराईले आफूले भारत भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध सुमधुर बनाउने काम गरेको पनि बताए । नेपालमा राजावादी भन्नेहरूले फैलाएको भ्रमबाट भ्रमित नहुन  आफूले भारतका विभिन्न पार्टीका नेताहरूलाई भनेको पनि प्रस्ट पार्दै नेपाली जनताले वर्तमान राजनीतिक दलका नेताहरूसँग असन्तुष्ट भए पनि व्यवस्था प्रति असन्तुष्ट नभएको बताए । 

कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य एवं नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु पौडेलले सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार ५ सयले मजदुरलाई खान नपुग्ने भएकोले उक्त रकम बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई नेसपा नयाँ शक्तिका सचिव भावना तामाङ,नेसपा नयाँ शक्ति विज्ञ परिषद्का सदस्य अनुप सिंह सुवाल, मजदुर महासङ्घका इन्चार्ज तेजुलाल कर्णले लगायतले सम्बोधन गर्दै भौतिक र बौद्धिक दुवै खाले श्रम गर्ने श्रमिकहरूको सम्मान हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप