शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चखुवा भोटिङ ट्रेन्ड : एजेन्डाप्रति नै मतदातामा दिग्भ्रम

बुधबार, १७ जेठ २०८०, ०९ : ०२
बुधबार, १७ जेठ २०८०

नेपाली राष्ट्रिय राजनीतिमा नयाँ, स्वतन्त्र र युवाको लहर चलेको छ । भर्खरै सम्पन्न उपनिर्वाचनमा अभिव्यक्त मतपरिणामलाई नियाल्दा यसको पुष्टि भइरहेको छ । यसबाट मतदाताले टेस्टेड पार्टी र नेताभन्दा नयाँ र स्वतन्त्रलाई प्राथमिकतामा राखेको देखिन्छ । पुरानो पार्टी र यसका नेताको बोली र व्यवहारको तादात्म्यता नमिलेकामा मतदाता असन्तुष्ट छन् । भनाइ र गराइ बिचको बेमेल केलाइरहेका छन् । गठवन्धन संस्कृतिले आफ्नो खास पार्टी, विचार, चुनाव चिह्न र मूल्य–मान्यताको बाँध भत्काइदिएको छ । राजनीतिक लगाम चुँडालिदिएको छ । यसले दृष्टिकोणीय आस्था र विश्वास धुमिल बनाइदिएको छ । स्पष्ट सैद्धान्तिक–वैचारिक गोरेटोविना नै शिखर चुम्ने बनिबनाउ चाहना बढाइदिएको छ । तब त राजनीतिक दृष्टिकोण, विचार र सही–गलत हेरेर मतदान गर्ने परम्परा शून्यप्रायः भइसकेको छ । 

सामाजिक सञ्जालगत गाली, आलोचना, प्रचार, माहोल र हल्ला–खल्लालाई नापतौल गरेर कुनै पनि वस्तु वा सत्ताप्रतिको समर्थन, विरोध वा धारणा बनाउने गलत प्रवृत्ति मौलाइरहेको छ । त्यसमा पनि चोटिलो गाली भए पुग्छ । मतदाताले सैद्धान्तिक–वैचारिक बाटो भुल्दै गएका छन् । राजनीतिक र एजेण्डागत विश्वासको मुठी खुकुलो बनाउँदै छन् । दलीय लगाम चुँडाल्दै छन् । आस्थाका जीर्ण पर्खाल तोडिरहेका छन् । नयाँ र स्वतन्त्रसँग उपभोगवादी चाहना र सपनाका भव्य रङ्गीन महल खडा गरिरहेका छन् । अर्थात् मतदाता पुरानो पार्टी र नेताको कमान्डमा देखिँदैन । यसरी मतदाता भड्किनु, बहकिनु, बरालिनु र पोखिनु पछाडिको वास्तविक कारण के के हुन् ? यसै सन्दर्भमा यहाँ चर्चा गरिएको छ ।

सैद्धान्तिक लगाम विनाको राजनीति

पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा सिद्धान्त, विचार, दृष्टिकोण र एजेन्डाले नेतृत्व गरिरहेको देखिँदैन । संसदीय लोकतन्त्रमा लिखित जे जे भए पनि व्यवहारतः चुनाव जित्नैपर्ने सर्तसँग सम्पूर्ण आदर्श, आस्था, विश्वास र प्रतिबद्धता लिलाम हुने गर्छ । परिणामतः सिद्धान्त र एजेन्डाकै लागि लामो संघर्ष गरेर आएको पार्टी र नेताहरू समेत आज साम, दाम, दण्ड र भेदको चाणक्य रणनीतिको कखरा सिक्न बाध्य छन् । 

यो उसको आत्मीय रहरभन्दा पनि संसदीय चुनावी राजनीतिअन्तर्गत परिस्थितिजन्य कर्मकाण्ड हो । आजसम्म सतहमा आएका पार्टी र नेताले प्रणाली र पद्धतिलाई रूपान्तरण गरेर सही दिशानिर्देशन गर्न सकेको छैन । जो आए पनि औसत संसदीय राजनीतिको चक्रव्युहमा फसेको देखिन्छ । नयाँ र स्वतन्त्रहरू फस्दैनन् भन्ने भरपर्दो आधार छैन । 

यसरी राजनीतिले सैद्धान्तिक र वैचारिक लक्ष्मणरेखा नाघेपछि को कता लाग्छ र को कहाँ पुग्छ केही भन्न सकिन्न । किनभने विचार भनेको तमाम मानिसलाई गन्तव्यस्थल पु¥याउने गोरेटो हो । दायाँबायाँ तितरबितर नहुने लगाम हो । हावाहुरी र कम्पनमा पनि दृढतापूर्वक उभिने खम्बा हो । सामूहिक ढंगले साझा यात्रा तय गर्दै सामूहिक मिसन प्राप्त गर्ने आन्दोलन हो विचार । 

आमनागरिकलाई जीवन, व्यवहार, संस्कार, संस्कृति, विवेक र अनुशासन सिकाउने गुरुमन्त्र हो विचार । यसरी राजनीतिक संस्कार र संस्कृति सिकाउने गुरुमन्त्ररूपी राजनीतिलाई विचार र एजेन्डाशून्य औसत स्वार्थप्राप्तिको कर्मकाण्डी भ¥याङ मात्र बनाएपछि मतदाता विचलित हुनु स्वाभाविक हुन्छ । त्यसैले मतदाता भड्किनु, बहकिनु र बरालिनु पछाडिको सारभूत कारण भनेको सैद्धान्तिक स्पष्टता, प्रतिबद्धता, दृढता र नेतृत्वको अभाव हो ।

एजेन्डाको अपव्याख्या गरिनु

भीषण जीवन–मरणको संघर्षको बिच नेपाली राजनीतिमा थुप्रै जनपक्षीय एजेन्डा सतहमा छताछुल्ल भएको साँचो हो । यस्ता अग्रगामी एजेन्डाप्रति बहुसंख्यक जनताको साथ, समर्थन, सहयोग र सद्भाव रहेको घामजस्तै छर्लंग छ । ती तमाम एजेन्डाको सही कार्यान्वयनले हाम्रो अधिकांश समस्या समाधान गर्छ भन्ने धेरैलाई विश्वास थियो । 

यही एजेन्डामार्पmत सदियौँदेखिको शोषण र उत्पीडनको जाँतोमा पिल्सिएका तमाम नागरिकले उन्मुक्तिको उज्यालो क्षितिज देखिरहेका छन्, तर आज ती सबै एजेन्डा भद्रगोल अवस्थामा छ । कतिपय एजेन्डालाई अपव्याख्या र भाँचभुँच गरिएको छ भने कतिपय शिशु अवस्थामै हत्या गर्न खोजिँदै छ । यसले एजेन्डाप्रति नै मतदातामा दिग्भ्रम, अविश्वास र दुराग्रह पैदा गरिदिएको छ । परिणामतः एजेन्डामा बाँधिएका मतदाता विचलित भइरहेका छन् ।

वस्तुतः यसको मूलभूत कारण भनेको कुनै पनि वस्तु, बच्चा, संस्था र सत्ता जसले जन्माउँछ उसैले हुर्काउँदा मात्र सहज, स्वाभाविक, उपलब्धिमूलक र अर्थ र औचित्यपूर्ण हुन्छ । बच्चा वा सत्ताले जति राम्रो माया पाउँछ, उति नै स्वस्थ र सबल हुन्छ । अर्थात् एजेन्डालाई जति ध्यान दिएर हुर्काइन्छ, वा बढाइन्छ त्यति नै बढी परिणाममुखी र लोकप्रिय हुन्छ । 

यो सार्वभौम नियम हो, तर नेपाली राष्ट्रिय राजनीतिमा एजेन्डामाथि वस्तुसंगत व्यवहार भएन । एजेन्डा जन्माउने शक्ति गणितीय जोडघटाउमा निर्णायक हुनसकेन । अर्थात् जन्माउने आमासँग बच्चा माथिको जैविक सत्ता रहेन । सत्ता नरहेपछि उसको प्रभाव निर्णायक हुँदैन । निर्णायक नभएपछि बच्चाले राम्रो लालनपालनको अवसर पाएन । तब बच्चा मरनच्याँसे बन्न पुग्यो । रूपवादी समाजमा मरनच्याँसेभन्दा ह्रष्टपुष्टप्रतिको मोह बढी हुन्छ । उसलाई हट्टाकट्टा र बलियो चाहिन्छ । त्यसैले एजेन्डाहरूले आफ्नो राजनीतिक अन्तर्वस्तु अनुरूप भूमिका निर्वाह गर्न नपाउनु नै मतदाता भड्किनु, बहकिनु, बरालिनु र पोखिनुको सारभूत कारण हुन् ।

भ्रष्टाचार र कमिसनको बिगबिगी 

वस्तुतः भ्रष्टाचार, कमिसन लगायत गैरकानुनी गतिविधि बढ्नु नै मतदाता बहकिनुको दुष्परिणाम हो । यहाँ हरेक पार्टी र नेता यसमा मुछिएका छन् । यो हाम्रो दुःखद विडम्बना हो, तर भ्रष्टाचार र कमिसन समाजको उत्पादन पद्धतिमा निर्भर हुन्छ । उत्पादन पद्धति नै निजी स्वार्थ, नाफा र जसरी पनि अरुले भन्दा बढी कमाउनुपर्छ वा कुम्ल्याउनुपर्छ भन्ने भाष्यद्वारा निर्देशित छ । 

यस्तो सामाजिक उत्पादन पद्धति हाबी भएको समाजमा यसको रातारात अन्त्य बनिबनाऊ चाहना र दिवा सपना मात्र हुन्छ । यसको समूल अन्त्यका लागि प्रणाली नै बदल्नुपर्ने हुन्छ । त्यसैले संसदीय प्रणालीलाई यथावत राख्दै भ्रष्टाचार, कमिसन, तस्करी र ठगीको अन्त्य गर्ने कुरा कि त चुनावमा मतदातालाई ब्ल्याकमेलिङ गर्ने असाध्यै संवेदनशील भावनात्मक साधन हो कि त हावादारी ढाँट–छल मात्र हो । 

हुन्थ्यो भने यति धेरै पार्टी तथा नेताले विगत दशकौँदेखि भन्दै र महसुस गर्दै आएको विषय किन अझै थाँती रहिरहेको छ ? गहन ढंगले विश्लेषण गर्दा प्रश्न गम्भीर मात्र होइन, यसको अन्तर्यमा अरु नै कारण जिम्मेवार हुन सक्छ भनेर बुभ्mनु बुद्धिमानी हुन्छ । त्यसैले नेपाली समाजमा चौतर्फी व्याप्त भ्रष्टाचार, कमिसन, कालोबजारी, तस्करी र ठगीलगायत गलत गतिविधि उत्कर्षमा पुग्नु नै मतदाता पुरानो ट्र्याक छाडेर नयाँमा लाग्नुको जिम्मेवार कारण हो । यद्यपि नयाँहरूले पनि टेक्ने धरातल, समाउने प्रणाली, गर्ने कर्मकाण्ड र जाने गन्तव्य उही हो भन्ने सचेत र वस्तुवादी विश्लेषण गर्ने क्षमता भने मतदातामा देखिँदैन । 

निष्कर्ष

तसर्थ नेपालमा सिद्धान्त, दृष्टिकोण, विचार, एजेन्डा, इमान–जमान र नैतिकताको राजनीतिक अभ्यास नहुनु, भ्रष्टाचार, कमिसन, तस्करी मौलाउनु, बेथिति, विसंगति र विकृति झाँगिनु अनि स्वार्थै–स्वार्थको गुरुत्वकेन्द्र वरिपरि सिंगो राजनीति चक्कर मारिरहनु  नै मतदाता भड्किनु, बहकिनु, बरालिनु र पोखिनुको असली कारण हो । अर्कोले पो गर्छ कि भनेर एकपछि अर्को विकल्प खोज्ने क्रममा भोटिङ ट्रेन्ड बदलिँदै गएको देखिन्छ, तर यस्तो चखुवा ट्रेन्डले हाम्रो पुस्तौँपुस्ता गलिरहनेछ । नयाँ–नयाँले अवसरवादी र स्वार्थगत पालो पाइरहनेछ । यता समस्या भने ज्यँुका त्युँ रहनेछ । अर्कोले पो गर्छ कि भन्ने उनीहरूको सदिच्छा, चाहना र भावना राम्रो हो । यसर्थ उनीहरूको निर्णय शतप्रतिशत सही छ । हामी सबैले कामना गरौँ, उनीहरूको चाहना पूरा होस् । 

वस्तुतः सम्पूर्ण समस्याको जग भनेको प्रणाली र पद्धतिमा रहेको छ । हाम्रो चुनावी राजनीतिक प्रक्रियामा रहेको छ । अर्थात् जसरी पनि बहुमत पु¥याउनुपर्ने र चुनाव जित्नैपर्ने गणितीय तथा प्राविधिक स्वार्थमा रहेको छ । पद, प्रतिष्ठा, पैसा र पावर प्राप्तिमा रहेको छ, तर नयाँ र स्वतन्त्रले पनि प्रणाली बदल्ने कुरा गरेका छैनन् । अव्यावहारिक चुनावी प्रणालीलाई बदल्नुपर्छ भनेका छैनन् । पद, पावर, प्रतिष्ठा र पैसा गौण कुरा हुन्, जनसेवा र त्याग बलिदान प्रधान कुरा पनि भनेका छैनन् । त्यस्ता भनाइ नयाँ होइन धेरै पचाइसकिएको छ । बरु उल्टै टुकुटुकु पाइला सार्दासार्दै दुई करोडको सन्दर्भ यी कानले सुन्नुप¥यो । मलाई त्यही मन्त्रालय चाहिन्छ भन्ने बालहठ त छँदै छ । हामीलाई यस्तो सुन्ने रहर पटक्कै थिएन । अब वयस्क भएपछि के के उपद्रो सुन्नुपर्ने हो बाँकी नै छ । 

त्यसैले कुनै अमुक पार्टी र नेताहरू पावरमा आऊलान् । भौतिक सुखभोग गर्लान् । चर्चाको शिखरमा पनि पुग्लान् । देवत्वकरण पनि गर्लान्, तर पुरानै प्रणालीमा उनीहरू पनि त्यही दलदलमा फस्नेछन् । तब समस्या जहाँको त्यही हुनेछ । वास्तवमा हामीलाई नयाँ र पुरानो अनि पार्टीगत र स्वतन्त्र भनेर कित्ताकाट गर्न जरुरी छैन । मुख्य कुरा समाधान हो, जसको वस्तुवादी र विश्वासिलो आधार उनीहरूमा पनि देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप