बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

बालेनले सच्याउलान् नयाँ बसपार्कबाट मात्रै यात्रु चढ्ने/ओराल्ने निर्णय ?

निर्णय कार्यान्वयन गर्न छैन सजिलो
शुक्रबार, २६ जेठ २०८०, १४ : २२
शुक्रबार, २६ जेठ २०८०

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नु पर्ने, टिकट बुकिङ काउन्टर बसपार्क भित्रै लैजानु पर्ने बसपार्क बाहेक अन्यत्र टिकट काट्न नपाइने विषयमा काठमाडौँ महानगरपालिकाले निर्णय गरेको छ । २०८० वैशाख २९ गते काठमाडौँका मेयर बालेन्द्र साहको उपस्थितिमा र जेठ १४ गते महानगरका ट्राफिक विज्ञ जगतमान श्रेष्ठको उपस्थितिमा भएका निर्णयहरु असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरेको छ । 

निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौँमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरूको रोजीरोटी खोसिने जनाउँदै निर्णय र सूचना सच्याउन सरोकारवालाहरूले महानगरलाई भनेको छ । 

महानगरका मेयर बालेन्द्र साहले निर्णय सच्याउँछन् या सच्याउँदैनन् त्यो उनको विषय हो तर, निर्णय कार्यान्वयन गर्न भने सजिलो छैन । यदि आफ्नो अडानबाट तलमाथि नहुने हो भने सेलिब्रेटी मेयर बालेन्द्र साहको लोकप्रियताको ओरालो यात्रा यही निर्णयले तय गरिदिने पक्का छ । 

बसपार्कको क्षमता र सवारीसाधन 

सैद्धान्तिक रूपमा बसपार्कमा सवारीसाधनहरू जानुपर्छ, यात्रुहरू बसपार्कबाटै यात्रा गर्नु पर्छ भन्ने विषयलाई नराम्रो भन्न मिल्दैन । तर, नयाँ बसपार्कको पार्किङ क्षमता ७ सय सवारीसाधन मात्रै हो । महानगरको निर्णय अनुसार लामो, मध्यम र छोटो दुरीमा चल्ने सबै सवारीसाधनहरू बसपार्क भित्र्याउने हो भने पार्किङ गर्ने विषय परको कुरो, पिक एन्ड ड्रप मात्रै गर्न पनि नयाँ बसपार्कले धान्न सक्दैन । सामान्यतया बिपी राजमार्ग भएर पूर्व चल्ने सवारीसाधनहरू करिब २ हजार, पूर्व अरनिको यातायात प्रालिका करिब ६ सय, पूर्व चल्ने रात्रि तथा दिवा सेवा करिब २ सय बल्खुबाट तराइ चल्ने सुमो करिब ८ सय, पनौती, धुलिखेल करिब ४ सय, पृथ्वी राजमार्ग चल्ने करिब ४ सय, पश्चिम चल्ने करिब ७ सय, पासाङल्यामु राजमार्गमा चल्ने करिब २ सय गर्दा करिब करिब ५ हजार सवारीसाधनहरू हुन आउँछ । 

बसपार्कको विस्तार र व्यवस्थापन नगरी यही अवस्थामा सबै सवारीसाधनहरू बसपार्क जानैपर्छ भन्नु व्यवहारिक हुँदैन । झोलामा हात्ती हाल्छु भन्नु जस्तै मात्रै हो । 

सर्वसाधारणलाई असुविधा र आर्थिक भार 

सार्वजनिक सवारीसाधनबाट दैनिक काठमाडौँ छाड्ने यात्रुहरूको सङ्ख्या करिब ७५ हजार हुन आउँछ र भित्रिनेको सङ्ख्या पनि सोही अनुपातमा हुने अनुमान गर्न सकिन्छ । निर्णय अनुसार ती यात्रुहरू उपत्यका जुनसुकै स्थानको भए पनि टिकट काट्न बसपार्क पुग्नु पर्ने हुन्छ । सवारीसाधन चढ्न बसपार्क पुग्नु पर्ने हुन्छ । ओर्लिन बसपार्क नै पुग्नु पर्ने हुन्छ । 

अर्थात कोटेश्वरवासी नागरिक बिपी राजमार्ग हुँदै पूर्व जानु पर्यो भने टिकट काट्न बसपार्क पुग्नु पर्यो, बस चढ्न बसपार्क नै पुग्नु पर्ने र फर्किदा बसपार्कमै ओर्लिएर कोटेश्वर फर्किनु पर्ने । कलङ्कीका यात्रुको दुर्दशा पनि उस्तै हो । यसले हजारौँ सर्वसाधारण जनतालाई समस्यामा पार्नेछ । सार्वजनिक सवारीसाधन गरिब जनताका साधन हुन् । यो निर्णयले यात्रुलाई हैरानी हुनेछ भने समयको वरवादी र आर्थिक भार पनि बढाउने छ । 

ट्राफिक समस्या र कोलाहलमय बसपार्क 

कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, सातदोवाटोले धानिरहेको बिपी राजमार्गबाट पूर्व जाने सवारीसाधनहरू करिब २ हजार सवारीसाधनहरू पूर्व अरनिको यातायात प्रालिका करिब ६ सय, पूर्व चल्ने रात्रि तथा दिवा सेवा करिब २ सय बल्खुबाट तराइ चल्ने सुमो करिब ८ सय, पनौती, धुलिखेल करिब ४ सय सवारीसाधनहरू करिब १० देखि १४ किलोमिटर चक्रपथ घुमेर बसपार्क जानुपर्दा यसको असर उपत्यकाका सडकमा प्रत्यक्ष पर्ने निश्चित छ । यो निर्णय गर्दा महानगरले ट्राफिक व्यवस्थापनका लागि भनिएको छ । तर चक्रपथ मात्रै होइन काठमाडौँ उपत्यकाका सबै सडक ट्राफिक समस्याले तहसनहस बन्नेछ ।

बसपार्क बसपार्क जस्तो होइन अव्यवस्थित बजार जस्तो कोलाहलमय अवस्था बन्ने छ । हजारौँ यात्रुहरू गणतव्यका लागि सवारीसाधनको खोजीमा भौँतारिनु पर्ने समस्या नियमित प्रक्रिया जस्तै हुनेछ । यात्रु, श्रमिक तथा सवारीसाधनहरू असुरक्षित हुने अवस्था निर्माण हुनेछ । 

टिकट काउन्टर व्यवस्थित गर्नुपर्छ, हटाउने होइन 

बसपार्क बाहेक अन्यत्र टिकट काट्न नपाइने, कोटेश्वर, कलङ्की, गौशाला, चाबहिल, बल्खु, जोरपाटी लगायतका स्थानका बुकिङ काउन्टर बसपार्क भित्रै लैजानु पर्ने निर्णय अव्यवहारिक छ । यो निर्णयले हवाई जहाज चढ्न विमानस्थलमै गएर टिकट काट्नुपर्छ बाहिरको ट्राभलमा काट्न पाइँदैन भन्ने सन्देश दिएको छ । यसको असर सबै भन्दा धेरै सर्वसाधारण यात्रुलाई पर्छ । विभिन्न प्रालिद्वारा चक्रपथ आसपास रहेका ३ सय टिकट काउन्टर र त्यहाँ काम गर्ने करिब १ हजार ५ सय श्रमिकहरूको रोजीरोटी खोसिन्छ । हटाउने होइन काउन्टर सञ्चालनलाई व्यवस्थित गर्नुपर्छ । 

कानुन अनुसार दर्ता भएका यातायात कम्पनीहरूले मात्रै काउन्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउन्टर, एक काउन्टर एक टिकट नीति बनाउने, काउन्टरमा एउटै र¨, र साइजको बोर्ड राख्ने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोसाक लगाएर मात्रै काउन्टरमा काम गर्ने, काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरूले देख्ने गरी भाडा दररेटको सूचि राख्ने, सङ्ख्या किटान गरेर काउन्टर नम्बर लेख्ने, बस छुट्ने समय यात्रु आइपुग्नु पर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई मेसेज गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने, यात्रुहरूको गुनासा तथा सुझावका लागि काउन्टरमा सुझाव पेटिका राख्ने, प्रशासनिक सहायताका लागि प्रहरीको टोलफ्रि नम्बर काउन्टरमा राख्ने र जनसरोकारका विषयमा प्रशासन तथा सरोकारवालाहरु सहित सबैको सहभागीतामा समस्याहरुको समाधान गर्ने गरी काउण्टरहरुलाई व्यवस्थित गर्नु पर्दछ । 

वैकल्पिक बसपार्क तयारी थालौँ 

नयाँ बसपार्क अपायक स्थानमा छ । यो बसपार्क कुनै पनि दृष्टिकोणबाट उपयुक्त स्थानमा छैन । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका कोटेश्वर, कलङ्की, बल्खु हो । बसपार्कहरु सहर प्रवेश नाका आसपास हुनुपर्दछ । सहर भित्रिने र बाहिरिने सवारीसाधनहरू सकेसम्म सहर पार गर्नु नपरोस् । तर, नयाँ बसपार्क मुख्य नाकाको ठिक विपरीत ध्रुवमा अवस्थित छ । 

 कलङ्की नाकाबाट बसपार्क करिब ८ किलोमिटर दुरी, बल्खु नाकाबाट करिब १० किलोमिटर दुरी र कोटेश्वर नाकाबाट करिब १४ किलोमिटर दुरीमा रहेको छ । महानगरपालिकाले नयाँ बसपार्कको विकल्प तयार गर्दै जानु पर्दछ । पश्चिमबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनका लागि नागढुङ्गा नाका आसपासमा बसपार्क व्यवस्था गर्नु पर्दछ, पूर्वबाट काठमाण्डौं प्रवेश गर्ने सवारीसाधनहरूका लागि कोटेश्वरदेखि सल्लाघारी आसपासमा बसपार्क व्यवस्था गर्नु पर्छ । 

त्यस्तै दक्षिणकाली नाकाबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनहरूका लागि बल्खुदेखि चौभार आसपास बसपार्कको व्यवस्था गर्नु पर्दछ । साँखु, नाङ्लेभारे नाका लागि जोरपाटी आसपास बसपार्क बनाइनु पर्दछ । हाल रहेको नयाँ बसपार्कलाई नुवाकोट, रसुवा नाका तथा सिटी बसपार्कको रूपमा व्यवस्थित गर्नु उपयुक्त हुनेछ । 

निर्णय र प्रभाव

निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरूको अहितमा छ, स्वयम महानगर र बसपार्क सञ्चालन गरिरहेको लोत्सेको पनि अहितमा छ भन्ने महानगरपालिकालाई पनि अवगत छ । यदि अवगत थिएन भने पनि यो पङ्क्तिकार सहितका सरोकारवालाहरुले भेटर अवगत गराइसकेपछि जानकारी नहुने कुरै भएन । तर, महानगर आफ्नो निर्णय सच्याउन किन तयार छैन ।  विवादित निर्णय कार्यान्वयनमा महानगर अडिग छ । उसो त बिहीबार महानगरपालिकाको कार्यपालिका बैठकमै यसबारेमा कुरा उठेको छ । वडाध्यक्ष मुकुन्द रिजाललगायतले कार्यपालिकाबाट निर्णय नभएको विषय कार्यान्वयनमा जान नसक्ने बताएका थिए । यसबारे महानगरपालिकाले जनप्रतिनिधिको जायज मागबारे छलफल गर्न सक्ने प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । बैठकमा मेयर बालेन्द्र शाह समेत सहभागी थिएनन् । 

 व्यवस्थापनको आवरणमा रचिएको यस कथाको अन्तरवस्तु लोत्सेले संकलन गर्ने पार्किङशूल्क र काउन्टर भाडाको आयसंग जोडिएको अनुमान सबैले गरेका छन् । एउटा कम्पनीको स्वार्थसँग महानगरले यति गम्भीर निर्णय कसरी गर्ला र ? तर, निर्णय कार्यान्वयनमा लोत्सेलाई पनि सहज भने छैन । बसपार्कको क्षमता वृद्धि र थप संरचनागत परिवर्तन बिना यही अवस्थामा यो बसपार्क व्यवस्थित हुनै सक्दैन । 

अन्त्यमा 

यी विषयहरु सार्वजनिक सरोकारका विषय हुन् । महानगरपालिका यो महत्त्वपूर्ण विषयमा गम्भीर र जिम्मेवार हुनु पर्दछ । वैकल्पिक बसपार्क सञ्चालन, टिकट काउन्टर व्यवस्थापन र यात्रुमैत्री बनाउने विषयमा महानगरले मापदण्ड बनाउनु पर्छ र व्यवसायी र श्रमिकले इमानदार पालना गर्नुपर्छ । तर, असरहरू बारे अध्ययन र सरोकारवालाहरुसंग पर्याप्त छलफल नगरी गरिएको निर्णय कार्यान्वयनमुखी हुँदैन, यसले विवाद ल्याउँछ, सडकमा द्वन्द्व निम्त्याउँछ । सरकारले नागरिकको आवाज सुन्नु पर्छ । सरोकारवालाहरूलाई साथसाथै लिएर समृद्ध र सुन्दर सहर बनाउन लाग्नु पर्छ ।

राई, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भीमज्वाला राई
भीमज्वाला राई
लेखकबाट थप