बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
सवारीमा नयाँ नियम

बालेनको निर्णयले यात्रुलाई तनाव : यातायात क्षेत्रमा हलचल, फाइदा कसलाई ?

सार्वजनिक यातायातमा उपत्यकाबाहिर जान बसपार्क जानैपर्ने, निजी कम्पनी मालामाल !
बिहीबार, २५ जेठ २०८०, ११ : ३८
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । अबको ठीक एक सातापछि तपाईं सार्वजनिक यातायातमार्फत उपत्यकाबाहिर जाने योजनामा हुनुहुन्छ भने बस चढ्न गोंगबुस्थित नयाँ बसपार्क नै जानुपर्ने भएको छ । अर्थात् तपाईं काठमाडौँको चाबहिलमा बस्नुहुन्छ भने चाबहिलबाटै उपत्यकाबाहिरको सार्वजनिक यातायात चढ्न पाउनुहुन्न । न चाबहिलमा लामो दुरीका सवारी साधन रोक्न पाइन्छ, न त यात्रु चढ्न र ओर्लन नै पाउँछन् ।

काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार आगामी असार १ गतेदेखि उपत्यका बाहिरिने यात्रुलाई गोंगबुस्थित बसपार्कबाट मात्रै सार्वजनिक यातायातमा चढाउने र ओराल्ने (पिक एण्ड ड्रप) को व्यवस्था गरिएको हो ।

महानगरपालिकाको पछिल्लो निर्णयसँगै यात्रुले अहिलेजस्तो आफूलाई पायक पर्ने स्थानबाट लामो दुरीका यातायातका साधन चढ्न पाउने त छैनन् नै, अनावश्यक झण्झट पनि बेहोर्नुपर्ने देखिएको कतिपयको गुनासो छ । उपत्यकाभित्र सार्वजनिक यातायात क्षेत्र व्यवस्थित नभइसकेको अवस्थामा चर्को जाम र भिडभाडको कारणले समय र खर्च बढ्ने उनीहरुको भनाइ छ ।

धादिङ, खाल्टेका रामहरि न्यौपाने राजधानीको सीतापाइलामा बस्छन् । उनी काठमाडौँ महानगरपालिकाको नयाँ निर्णयले अनावश्यक समय र पैसा खर्च हुने अवस्था रहेको बताउँछन् । ‘निर्णय कार्यान्वयन भएमा सीतापाइला बस्ने म धादिङको बस चढ्न अब उपत्यकाभित्रको लोकल बस चढेर गोंगबु बसपार्क जानुपर्ने भयो’, उनी भन्छन्, ‘चक्रपथमा चल्ने लोकल बस व्यवस्थित छैनन् । बसपार्कसम्म पुग्नै समय लगाउँछन्, त्यसमाथि भिडभाड र जाम उस्तै हुन्छ । यातायातको समग्र पक्षको व्यवस्थापन नगरी बसपार्कबाट चढ्ने र ओराल्ने भन्ने विषयमात्रै व्यावहारिक हुँदैन ।’

buspark (3)

महानगरपालिकाले एकद्वार नीति लागू गरेर यातायात सञ्चालन गर्न खोज्नु सकारात्मक नै भए पनि समग्र पक्षको मूल्याङ्कन गरेर व्यावहारिक र वैज्ञानिक नियम बनाइनुपर्ने उनको भनाइ छ ।

यस्तै भनाइ रसुवाका प्रकाश अधिकारीको पनि छ । उनको भनाइमा यो निर्णय लागू गर्नुअघि उपत्यकाभित्रका सार्वजनिक यातायात पनि चुस्त हुनुपर्छ । साथसाथै आवश्यक अध्ययन गरेर वैज्ञानिक ढङ्गले महानगरभित्रै पनि ‘पिक एण्ड ड्रप’ गर्नका लागि निश्चित स्थान तोक्न सकिने उनको भनाइ छ ।

बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिएर अरु भद्रगोलको व्यवस्थापन नहुने हो भने महानगरपालिकाका मेयर बालेन शाहको निर्णय असफल हुने उनको दाबी छ ।

यातायात क्षेत्रमा हलचल

महानगरको निर्णय कार्यान्वयनको दिन नजिकिँदै गर्दा यातायात क्षेत्रमा हलचल भने सुरु भइसकेको छ । केही यातायात व्यवसायीले त महानगरपालिकाको निर्णयको खुलेर आलोचना गरेका छन् । कतिपय यातायात व्यवसायी भने ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् ।

महानगरपालिकाको निर्णयअनुसार निजी कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको छ । ल्होत्सेले व्यवस्थापनबापत यातायात व्यवसायीसँग शुल्क उठाएर बसपार्कमा सार्वजनिक यातायातलाई प्रवेश दिने गरेको छ । करिब ७०० गाडी अट्ने क्षमता भएको बसपार्कमै टिकट काउन्टरको व्यवस्था छ । तर, हालको सामान्य अवस्थामै भिडभाड हुने बसपार्क निजी कम्पनीको भरमा छाडिदिँदा समग्र व्यवस्थापनमा चुनौती रहेको सरोकारवालाको भनाइ छ ।

buspark (6)

हाल बसपार्कबाहेक लामो, मध्यम र छोटा दूरीका यातायातका साधन काठमाडौँका विभिन्न क्षेत्रबाट सञ्चालन हुँदै आएका छन् । धादिङ, नुवाकोट, रसुवा, गोरखा जस्ता क्षेत्रमा जाने बस बालाजु क्षेत्रबाटै सञ्चालन हुने गरेका छन् भने दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत सो भेगका बसहरु कोटेश्वरबाट चल्ने गरेका छन् । यस्तै कलंकी, चाबहिल, बल्खु, स्वयम्भुलगायतका स्थानबाट पनि देशका विभिन्न स्थानमा जाने बसहरु छुट्ने गरेका छन् ।

महानगरको निर्णयअनुसार अब ती स्थानका बस बसपार्क नै आउनुपर्ने भएको छ भने उनीहरुको टिकट काउन्टर पनि बसपार्कबाहेक अन्यत्र राख्न नपाइने भएको छ ।

तर, पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री नयाँ बसपर्कमा गएर यात्रु चढाउने र ओराल्नुपर्ने निर्णय अव्यावहारिक मात्रै नभई अन्यायपूर्ण र गलत भएको जिकिर गर्छन् । महानगरपालिकाको निर्णय कुनै पनि हालतमा नमान्ने चेतावनी दिँदै उनले रातोपाटीसँग भने, ‘हामीले हाम्रो स्टयान्टर्डमा हिँड्नुपर्छ । कोटेश्वरबाट पूर्व जाने मान्छेहरु गोंगबुमा आउँदै आउँदैनन् । कोटेश्वरबाट पूर्व ६–७ वटा जिल्ला जाने मान्छेमध्ये २ प्रतिशत गोंगबु पुग्लान्, नभए अरु कोही जान पर्दैन । बाँकी सबै मान्छे यतै ओर्लिने उक्लिने हुन् । अनि किन नयाँ बसपार्क जाने ?’

कोटेश्वर, बानेश्वर, चाबहिल, गौशाला ओर्लिने मान्छे ओर्लिन बसपार्क नै पुगिदिनुपर्ने व्यवस्था औचित्यहीन भएको उनको जिकिर छ । ‘चढ्न पनि र ओर्लिन पनि उहीँ जानुपर्ने, टिकट पनि उहीँ काट्न जानुपर्ने, यस्तो निर्णय कसले गर्न उकास्यो ?’, उनले प्रश्न गरे, ‘एउटा गाडी त्यहाँ गएर स्टे गरेको ४–५ सय रुपैयाँ तिर्नुपर्छ । यो खालको स्वार्थका लागि काम भएको छ । यो व्यावहारिक र न्यायसंगत छैन ।’

ट्राफिक, उपभोक्ता, व्यवसायी र मजदुर कसैको पनि हितमा यो निर्णय नभएकाले आफूहरुले नमान्ने अध्यक्ष क्षेत्रीले बताए । यसबारेमा बिहीबार नै ज्ञापनपत्र बुझाउन लागेको भन्दै उनले कोही निश्चित व्यक्तिहरुको व्यावसायिक सफलताका लागि गरिएको निर्णय आपत्तिजनक र विरोध गर्न लायकको भएको तर्क गरे ।

buspark

‘यो निर्णय फिर्ता लिनुपर्छ र सम्बन्धित पक्षसँग बसेर छलफल गरिनुपर्छ,’ उनले भने । उनले आफूहरुलाई दमन गर्न खोजे प्रतिरोध हुने चेतावनीसमेत दिए । 

तर, काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे यातायात व्यवसायी महासंघलगायतका सबै ‘स्टेक होल्डर’ बसेर निर्णय गरिएकाले यसको कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँछन् । सबै पक्षको सहमतिअनुसार महानगरपालिकाले सूचना निकालेको बताउँदै उनले कसैलाई अहिले मन परेन भन्दैमा सुख नपाउने प्रस्ट पारे ।

‘व्यक्तिले मन परेन भनेर सडकबाट, पेटीबाट, सार्वजनिक ठाउँबाट बस चलाउँछु भन्न त कहाँ पाइन्छ र ?’, उनले भने, ‘सार्वजनिक यातायात चलाउने भइसकेपछि त्यसको मापदण्ड छ, नियम छ, कानुन छ, त्यसलाई सबैले मान्नुपर्छ ।’

बिचौलियामाथि पाण्डेको आक्रोश

पाण्डेले यातायात क्षेत्रमा विचौलियाहरु रहेको भन्दै महानगरपालिकाले मनपरी हुन नदिने बताए । ‘केही बिचौलियाहरुले बस आफ्नो कब्जामा लिएर बसका मालिकहरुलाई समेत पाउनुपर्ने रकम नदिएर खाइरहेको भन्ने हाम्रो सूचना छ’, उनले भने, ‘तर, यात्रुको कुरामा उहाँले चिन्ता लिनु पर्दैन । सहरभित्र त सिटी बस छ । चक्रपथ वरपर सिटी बस चल्छ । मध्यम तथा लामो दुरीका यात्रु उहाँहरुले बोक्ने हो तर सिटीभित्रको यात्रु त सिटी बसले बोक्ने हो । सबै जिम्मा उहाँहरुले लिने हो र ? यदि कसैले मान्दिनँ भन्छ भने अराजक गतिविधि हो ।’

पाण्डेले बस चढ्न यात्रु बसपार्कमै जानुपर्ने र बस जथाभावी रोक्न नपाइने स्पष्ट गरे । यात्रुलाई असुविधा हुने केही भएमा महानगरले विचार गर्ने उनको धारणा छ । ‘तर आफूखुसी अन्यत्रबाट बस चलाउने, काउन्टर खोल्ने, यात्रु ठगीको अवस्था सहँदैनौँ’, उनले प्रस्ट पारे, ‘यातायात व्यवस्था अस्तव्यस्त हुनेगरी काम हुन हामी दिँदैनौँ ।’

raju-pande (1)1661786183

‘नागरिकलाई पनि सुविधा हुनुपर्छ’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर महानगरको निर्णय सकारात्मक भए पनि कार्यान्वयनका क्रममा केही अप्ठ्यारा भए त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिन्छन् । ‘हामीले काम गर्दा विधि र कानुनसम्मत त गर्नुप¥यो । र, नागरिकलाई पनि सुविधा हुनेगरी गर्नुप¥यो’, उनी भन्छन्, ‘भद्रगोललाई व्यवस्थापन गर्दा क्रमबद्ध गर्दै जानुपर्छ । जहाँ अप्ठ्यारा हुन्छन्, त्यसलाई छलफलबाट सहजीकरण गर्दै जानुपर्छ ।’

महासंघका अध्यक्ष स्वाँर महानगरपालिकाले सुरुमा निर्णय गर्दा अव्यवस्थित काउन्टर हटाउने भनेको धारणा राख्छन् । महानगरपालिकाले अनुगमन गरेर टिकट काउन्टर कुन अवैधानिक हो÷होइन भनेर छुट्याइदिए विवादको विषय नरहने बताउँछन् । ‘मेसेज दिनका लागि एउटा निर्णय भएको छ र छलफल गरेर नमिलेका विषयलाई मिलाएर जानुपर्छ’, उनले भने, ‘धेरै मान्छेको रोजगारी पनि छ, त्यसलाई व्यवस्थित गरिनुपर्छ ।’

प्रहरी प्रमुख राजु भने तत्काल महानगरपालिकाको निर्णयअनुसार बसपार्कमा मात्र ‘पिक एण्ड ड्रप’को व्यवस्था हुने र टिकट पनि त्यहाँ बाहेक अन्त काट्न नपाइने बताउँछन् । निर्णय कार्यान्वयनका लागि ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिमुलक संघसंस्था, व्यवसायी सबैको सहभागितामा अनुगमन हुने उनको भनाइ छ ।

bijaya swar

‘पिक एण्ड ड्रपबाहेक पार्किङका लागि बसहरु अन्तै लैजान्छु भनेर यातायात व्यवसायीले भन्छन् भने पाइन्छ’, उनको भनाइ छ, ‘हैन भने बसहरु बसपार्कमा गइसकेपछि कथाले मागेको व्यवस्थापनको जिम्मा त ल्होत्से वहुउद्देश्यीयले लिनुपर्छ ।’

यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण रिजाल अन्तर्राष्ट्रिय प्रचलनलाई हेर्दा महानगरपालिकाको निर्णय राम्रो भए पनि व्यवस्थित गरेर जानचाहिँ चुनौती रहेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय प्रचलनलाई हेर्ने हो भने यो राम्रो निर्णय हो । तर, हामीले नीति र कानुनलाई मान्ने कि व्यवहारवादमा जाने भन्ने अर्को छ’, उनले भने, ‘हाम्रो यातायात क्षेत्र अराजक, अस्थिर र भद्रगोल छ । यसलाई सुरक्षित बनाउने दृष्टिकोणले निर्णय राम्रो छ । कसरी व्यवस्थित गरेर जाने भन्नेमा केन्द्रित हुनुपर्छ ।’

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चुनौती रहेको उल्लेख गर्दै उनले बसपार्कलाई समेत व्यवस्थित बनाउन अनलाइन टिकेटिङलगायतको व्यवस्थापन गरिनुपर्ने बताए । 

कसरी हुन्छ ट्राफिक व्यवस्थापन ?

rajendra bhatta

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्ट बसपार्कमा सार्वजनिक यातायात केन्द्रित हुँदा स्वाभाविक रुपमा चाप पर्ने बताउँछन् । यद्यपि त्यसलाई म्यानेज गर्न वैकल्पिक योजनाहरु तयार गर्ने काम भइरहेको उनको भनाइ छ ।

‘यात्रुबाहक बसले बसपार्कमै यात्रु छाड्ने र बसपार्कबाटै लिएर निस्कनुपर्ने सर्वमान्य सिद्धान्त नै हो । त्यही अनुसार महानगरपालिकाले म्यानेज गर्न लागेको हो’, उनले भने, ‘केही असहजता होला । त्यसलाई म्यानेज गर्न वैकल्पिक योजनाहरु तयार हुँदैछ ।’ नयाँ व्यवस्थाले यात्रुलाई ठगिनबाट बचाउने, बाटोबाटोमा यात्रुको तानातान हुनेलगायतका समस्याको भने समाधान हुने उनको विश्वास छ ।

‘इन हुने एउटा रुट बनाउने र आउट हुने अर्को रुट बनाउने अथवा कुन सवारी साधनलाई कताबाट छिराउने, कताबाट निकाल्ने भन्नेकुरा म्यानेज हुन्छ । यो सबै तयारी हुँदैको अवस्थामा छ’, उनले भने । उनका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित बसपार्क क्षेत्रको ट्राफिक अवस्था चुस्त बनाइने छ ।

ल्होत्से भन्छ– व्यवसायी र यात्रुमैत्री सेवा दिन्छौँ

कतिपयले ल्होत्सेको जोडबलमा एकद्वार नीति ल्याएको आरोप लगाउँदा ल्होत्से भने महानगरपालिकासँगको सम्झौताअनुसार आफूहरुले सहजीकरण गरेको दाबी गर्छ । ल्होत्सेका एचआर मेजेजर पंकज मल्लले ‘भन्नेले जे भने पनि आरोप लगाउनुको औचित्य नभएको’ प्रतिक्रिया दिए ।

‘त्यो भन्ने मान्छे को हो ? उसको योगदान के हो ? उसको लगानी के हो ? यथार्थ बसपार्कमा छ । कम्पनी हामी हो । रेट फिक्स छ । ट्याक्स र भ्याटमा गएको कम्पनी हो’, उनले भने, ‘जसले विरोध गर्छ नि, त्यसको स्टाटसचाहिँ के हो भन्ने बुझ्नुपर्छ ।’

मल्लले आफूहरुले व्यवसायी र यात्रुमैत्री सेवा दिने जिकिर पनि गरे । उनले भने, ‘गाडीलाई ठाउँ उपलब्ध गराउँछौँ, काउन्टर उपलब्ध गराउँछौँ । ड्रेसको पनि प्रबन्ध हुन्छ । भाडा व्यवस्थित हुन्छ । सबै सहकार्यमा काम हुन्छ ।’

उनले सम्बन्धित यातायात कम्पनीको टिकट काउन्टर बसपर्कभित्र राख्ने काम भइरहेको र अहिलेसम्म दुई दर्जन बढी कम्पनीसँग सम्झौता भइसकेको बताए ।  उनका अनुसार बसपार्कमा एक पटक इन्ट्री हुन माइक्रोबसले २०० रुपैयाँ तिर्नुपर्छ । यस्तै बसको लागि गन्तब्यअनुसार ४२५ रुपैयाँसम्म शुल्क लाग्ने छ । 

buspark (7)

नयाँ बसपार्कले चाप थेग्न सक्छ ?

जापान सरकारले निर्माण गरिदिएको बसपार्क तत्कालीन अवस्थामा सुविधासम्पन्न भए पनि अहिलेको परिवेशअनुसार त्यो पर्याप्त नभएको सरोकारवालाको भनाइ छ । ‘पिक एण्ड ड्रप’को नीति कार्यान्वयनमा आएपछि बसपार्कले सबै यातायातका साधन थेक्न नसक्ने यातायात व्यवसायी केदार क्षत्रीको भनाइ छ । एक बसपार्कको नीति लागू गर्दा त्यो बसपार्कबाट सहरका सबै स्थानमा सहज यातायात विकास हुनुपर्ने र आवश्यक सबै सुविधा पनि उपलब्ध हुनुपर्ने उनको भनाइ छ ।

तर महानगर प्रहरी प्रमुख पाण्डे अहिले बसपार्कको क्षमता ७०० बस अटाउने रहेको र त्यहाँ समस्या भयो भने थप व्यवस्था गर्न सकिने बताउँछन् । ‘एउटा एक्सन कमिटी छ, त्यसले के सहयोग गर्नुपर्छ, गर्छ’, उनले भने । महानगरमा एउटा बसपार्क रहेकाले त्यसलाई व्यवस्थित बनाउनतर्फ नै लाग्ने उनको भनाइ छ । टोलटोलमा बसपार्क बनाउन काुननले छुट नदिएको भन्दै उनले त्यसलाई ग्यारेजको या रिफ्रेसमेन्ट सेन्टरमा मात्रै व्यवसायीले चलाउन सक्ने बताए ।

यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष स्वाँर अहिले यातायात क्षेत्रमा रहेको भद्रगोल हट्नुपर्ने बताउँछन् । आफू महानगरको निर्णयलाई सघाउन तयार हुँदाहुँदै पनि अप्ठ्यारोलाई मिलाउनुपर्ने र व्यवस्थापनका पाटाहरु भने महानगरपालिकाले हेरिदिनुपर्छ भन्ने पक्षमा रहेको बताए । यस्तै ल्होत्सेका मल्लले एकद्वारबाट कुनै समस्या नआउने र बसपार्कले थेग्न सक्ने जिकिर गरे ।

महानगरपालिकाको निर्णयमा के छ ?

notice

काठमाडौँ महानगरपालिकाले जारी गरेको सूचनामा महानगर क्षेत्रभित्रबाट उपत्यकाबाहिर सञ्चालन हुने यात्रुबाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था असार १ देखि कार्यान्वयनमा जाने उल्लेख छ । सबै सरोकारवालाको सहमतिअनुसार भएको भनिएको निर्णयमा अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने, काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधि गर्न रोक लगाइएको छ ।

सूचनामा भनिएको छ, ‘निर्णय कार्यान्वयन गदै अवस्थामा सुधार ल्याउन असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न सूचित गरिन्छ ।’

यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसधानहरुको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

सूचनाको उल्लंघन गर्ने जो कोहीलाई असार १ देखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमअनुसार कानुनी कारबाही हुने महानगरपालिकाले स्पष्ट पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप