शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
रङ्गमञ्च

कोराघाट : सरकार मर्‍यो, देश कोरामा छ

सोमबार, ११ असार २०८०, ०८ : ५६
सोमबार, ११ असार २०८०

झुपडीको प्रतीकस्वरूप सेतो रंगको पर्दा मञ्चमा ठड्याइएको छ । पर्दाको ठीक अगाडि देवनागरी लिपिका अक्षर झुन्ड्याइएका छन् — कोराघाट । प्रकाशका माध्यमबाट ती अक्षरको छाया पर्दामा पारिएको छ । झुपडी आकारको पर्दाको छानोतिर बादलका टुक्राका चित्र कोरिएका छन्, बीचमा ढोकाको । वरिपरि मानिसका चित्र पनि छन् । अर्थात् बादलको छानोमुनि रहेको छ कोरा गाउँ, जसको एउटै पीडा छ, उसको सरकार बारम्बार मरिरहन्छ अर्थात् ढलिरहन्छ । 

जब सरकार मर्छ, सरकारको काज–किरियाका लागि गाउँले एउटै ढोकाबाट निस्के जसरी एउटै रेखामा निस्कन्छन् र सरकार मरेको शोकमा कोरा बस्छन् । सरकार बारम्बार मरिरहन्छ, उनीहरू सधैँ कोरामा हुन्छन् । उनीहरूको तनमा कहिल्यै रंगीन कपडा पर्न पाउँदैन र उनीहरूको मन सधैँ उदास छ । पाका मानिसको उदासीनताका बीच केटाकेटीको हाँसो र उमंग पनि कर्कश लाग्छ ।     

कोरागाउँका मानिसको एउटै थर छ, नेपाली । गाउँलेहरू विकासका काममा सँगै खटिन्छन्, राजनीतिका नाममा विभाजित पनि हुन्छन् । विकासका नाममा आएको भ्यु–टावरको विरोध गर्छन् ।

चारवटा टुक्रा जोडेर बनाइएको झुपडीरूपी पर्दालाई घरी टुक्र्याइन्छ, घरी जोडिन्छ । नाटक हेर्दा सुरुमा आभास भएको थियो — गाउँले विभाजित हुँदा झुपडीरूपीलाई पनि चार टुक्रामा विभाजित गरिन्छ र गाउँले एकजुट हुँदा पर्दालाई झुपडीकै आकारमा जोडिन्छ, तर यो लय नाटकभरि मिलेको पाइनँ । नाटकमा एउटा दृश्य छ, पाइपबाट पानी ल्याउन गाउँले एकजुट भएका हुन्छन्, त्यही बेला झुपडीलाई टुक्र्याइन्छ । यसरी गाउँले एकजुट हुँदा झुपडीलाई पछाडि एक ढिक्कामा राखेको भए हुने ! यसमा निर्देशकले ध्यान पुर्‍याएनन् वा अरु नै केही भन्न खोजे ! मैले बुझिनँ । 

प्रसंग हो, काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चित नाटक कोराघाटको । कुमार नगरकोटीको लेखन र कमलमणि नेपालको निर्देशन रहेको यस नाटक यही २१ असारसम्म मञ्चन हुनेछ ।

यस नाटकको नामको अर्थ खोज्दा — कोरा शब्दले सादा सेतो कपडा (जुन हिन्दु संस्कार अनुसार किरियापुत्रीले लगाउने गर्छन्) र किरिया बस्ने काम (कोरा बार्नु)लाई बुझाउँछ । 

2

यस्तै घाट शब्दले सांस्कृतिक र आर्थिक अर्थ दिन्छ — नदीको दायाँबायाँ किनार । तीर्थस्थल । गाहकी (ग्राहक)को भिड । 

नाटकभरि किरिया बस्ने संस्कार झल्किएको छ । योसँगै कोरा गाउँमा दुईवटा गतिविधि खास रूपमा आएका छन् — कीर्तनमणि केश कर्तनालय (कपाल काट्ने पसल) र कश्यपकान्त नेपाली वस्त्रालय (लुगा पसल) । कोरागाउँमा यी दुई पसल मालामाल अझ भनौँ जीवन्त रूपमा चलेका छन् । यही आभास दिन यी दुवै पसलका सामान समेत आवाज निकालेर बोल्छन् । यहाँनेर लेखकीय वा निर्देशकीय संवेदना र अस्तित्वबोध देख्न सकिन्छ, यस धर्तीमा हरेक चिजको अस्तित्व छ, तर सरकार मरेकाले कोरागाउँ जडता वा निर्जीवतामा बदलिएको आभास भइरहेको छ । 

गाउँका सबै कोरा बस्छन्, तर मुखियाको नाति अर्थात् समाजको तेस्रो पुस्ताले कपाल खौरिन मान्दैन, ऊ विद्रोह गरिरहन्छ । उसको विद्रोहलाई समाजले डुबाउन खोजेको र बन्धनमा राखेको विम्बका रूपमा नाटकमा ‘यति–यति पानी, गङ्गै रानी’ खेल समेत राखिएको छ ।

जनताले हस्तकलाका सामान बेचेर विदेशी कपडा किनेको नाटकमा देखाइएको छ, अर्थात् ती विदेशी कपडाले हस्तकलाको शोषण गरिरहेछन् ।  

नाटकको कथा अनुसार, निरन्तर सरकार मरिरहनुले एक खालको नीरस वातावरण सिर्जना गर्छ, जो नेपालीको नियति पनि हो । यसरी नीरस वातावरण सिर्जना गर्नुलाई आफैँमा एक साहित्य वा कला भन्न पनि सकियो । नीरसतालाई छायामा पार्न नाटकलाई हास्य रस र स्वांग शैलीका साथ अगाडि बढाइएको छ ।

लेखक नगरकोटीले यस नाटकलाई ‘पोलिटिकल अब्सर्डिटी’ (राजनीतिक विसंगति)को कथा भनेका छन् । सरकार ढल्नु, ढाल्नु वा सत्ता आलोपालोको खिचातानीले हामीकहाँ बहुदल र गणतन्त्रपछि स्थिर सरकार बनेको देखिँदैन । राजनीतिक अस्थिरताको चपेटामा नागरिक परिरहेकै छन् । यसलाई लिएर नाटकले व्यंग्य यतिसम्म गरेको छ, एउटा दृश्य छ — पर्दाभित्र आपसमा रम्न खोजेको दम्पती पनि सरकार मरेको खबरले विचलित हुन पुग्छ ।   

झुपडीरूपी पर्दाको जगमा भने रातो घेरा राखिएको छ, अर्थात् कालो बादलमा चाँदीको घेरा भनेझैँ यथास्थितिको पिँधमा क्रान्तिको प्रतीक । नाटकको कथा अनुसार, गाउँका सबै कोरा बस्छन्, तर मुखियाको नाति अर्थात् समाजको तेस्रो पुस्ताले कपाल खौरिन मान्दैन, ऊ विद्रोह गरिरहन्छ । उसको विद्रोहलाई समाजले डुबाउन खोजेको र बन्धनमा राखेको विम्बका रूपमा नाटकमा ‘यति–यति पानी, गङ्गै रानी’ खेल समेत राखिएको छ ।  

उसले विद्रोह गर्दागर्दै उसका बाबुआमा ढल्छन् तर उसको रंगीन सपना अर्थात् क्रान्तिकारी परिवर्तन साकार हुँदैन । नाटकमा तेस्रो पुस्ताको सपनालाई सपनाकै रूपमा देखाइएको छ । जुन साहित्यको मूल्य र प्रतीकको कोणबाट सशक्त लाग्छ ।

नाटकमा कथासँगै कला भन्ने कोसिस गरिएको छ, तर कला कम र कथा बढी भएको छ, अर्थात् कथा (नारा) बढी आएको छ । यसो हुनुमा हाम्रो देश, काल र परिस्थिति जिम्मेवार छ नै । हामीकहाँ सरकार निरंकुश भएका बेला न्यायकारी विचार वा साहित्य हुर्कन त्यति पाएन । 

खासगरी नाटक दरबारकै प्रांगणमा हुर्कियो, जसले शब्दशक्तिका माध्यमबाट सरकारको निरंकुशताको विरोध गर्ने अभ्यास त्यति गरेन, सरकारकै मनोरञ्जनका लागि नाटक देखाइने हुँदा विरोध सम्भव समेत थिएन । 

1

जुन समाजमा सत्ता वा सत्ताधारी वर्ग बढी निरंकुश हुन्छ, त्यहाँ साहित्यले विम्ब र प्रतीकको सहारा लिनुपर्ने हुन्छ । विद्यमान विभेद, विकृति र विसंगतिको सिधै विरोध गर्दा सत्तापक्षको आक्रमणमा परिने हुँदा सर्जकले आफ्ना विचार वा भावना लक्षणा र व्यञ्जनामा व्यक्त गर्थे, यसरी त्यो सशक्त कला वा शिल्प बन्थ्यो । यस्तो प्रज्ञा र प्रवृत्ति हिजोका लोक–साहित्यमा बढी पाइन्छन् । राणाकाल र पञ्चायतकालकै विरोधमा पनि यस्ता साहित्य नआएका होइनन् । यद्यपि व्यवस्था परिवर्तनको इतिहासमा हामीले सरकारविरोधी धेरै नारा लगायौँ, आ–आफ्नो वर्ग र क्षेत्रको पृष्ठभूमिबाट अनेक सपना देख्यौँ । यस्तो लाग्छ, नेपाली कला–साहित्यमा यस्तै नारा र सपना व्यक्त भइरहेका छन् । 

यस नाटक अनुसार, कोरागाउँका सबैको थर नेपाली राखेर राजा महेन्द्रले लादेको राष्ट्रवादलाई व्यंग्य गरेको आभास पनि हुन्छ, यद्यपि नाटकको समग्र कथाले यस्तो अर्थ र आशय दिँदैन । यस नाटकले मूलभूत रूपमा हिन्दू समुदायलाई मात्रै प्रतिनिधित्व गर्छ । ‘राम नाम सत्य हो’ भन्दै गाउँलेहरू सरकारको मलामी जान्छन्, यही बेला शंख फुकिन्छ । 

यो नाटक हेर्दै गर्दा लाग्छ — सरकारलाई गाली गर्ने बहानामा हामीले समाजका विविध समुदायलाई समेट्न, शोषण र विभेदका विविध आयामलाई शिल्पका रूपमा ल्याउन बिर्सेका छौँ । धेरै नारा बोकेकाले यो नाटक अलिकति भद्रगोल पनि बनेको छ । यद्यपि निर्देशक र कलाकारले नाटकलाई नाटककै रुप दिन कोसिस गरेकै छन् ।

मञ्चमा 

जयप्रकाश ताजपुरिया, सुशान्त दाहाल, सन्दीप वस्ती, अग्निश्री विश्वकर्मा, शर्मिला लाम्गाडे,  विष्णु श्रेष्ठ, सनम श्रेष्ठ, नउर क्षेत्री, अपिल कार्की, जीवन ओली, शान्ताश्वरी राई, सुमन राई, प्रेम विश्वकर्मा, हेलेन बुढा मगर, पुकार चापागाईं, सविन राई, अनुशा राई, सम्झना राई, किरण नेपाली, शरद न्यौपाने, पुनम थापा, सुप्रिया तिमिल्सिना बलु ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप