शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फेरि त्यो बालापन जिउन चाहन्छु

शनिबार, ३० असार २०८०, १२ : २७
शनिबार, ३० असार २०८०

कुनै बेला चन्द्रमा मेरो लुकामारी खेल्ने साथी थियो
चम्किला ताराहरूको स्थान हृदयमा धेरै माथि थियो
आकाशमा स्वछन्द उड्ने चराहरू सकेजति म गन्दथें
यो सकल सृष्टि आफ्नै लागि बनेको हो भनी म ठान्दथें
बादल अनि वर्षासंग मनको प्रगाढ नाता
वर्षायामको झरीमा ओढिएन कहिल्यै छाता
हर कृत्य स्वाभाविक हुन्थ्यो, जब थोरै थियो तिर्सना
त्यसैले त कति सजिलो हुन्थ्यो आफैलाई बिर्सन
एक पटक फेरि बालक बनेर समयलाई नकार्न चाहन्छु  
आफ्ना अतृप्त आकांक्षाहरूलाई सकार्न चाहन्छु  
फेरि त्यो बालापन जिउन चाहन्छु ।

दिनभर चौरमा कुदाकुद गरेर
रातमा निस्फिक्री निदाउन चाहन्छु
कागजको प्लेन भित्तामा ठोक्काएर
निस्काम भावमा रमाउन चाहन्छु
गोजीका गुच्चाहरू अझै कतै छयाङ् छयाङ् गर्छन्
स्कुलका घन्टीहरू अझै कानमा ट्याङ्ग ट्याङ्ग बज्छन्
कति प्रफुल्ल हुन्थ्यो मन, जब कुनै शिक्षक गयल हुन्थे
म जस्ता उदीग्न विद्यार्थी अनि बाटोमा छोडेका बयल हुन्थे
फेरि त्यो पुरानो गल्लीमा साइकल गुडाउन मन छ
फेरि त्यो चारकुने चंगालाई आकाशमा उडाउन मन छ
श्यामश्वेत टेलिभिजनमा फेरि पुरानै रामायण हेर्न चाहन्छु
साँझमा पुरानो रेडियो ठोक्दै ‘बाल कार्यक्रम’ सुन्न चाहन्छु
दिनभरिको हिँडाइले शरीर थाकेर सुस्त हुँदा
उकालो बाटोमा तिर्खाले घाँटी शुष्क हुँदा
फेरि त्यो मुहानको चिसो पानी पिउन चाहन्छु
फेरि त्यो बालापन जिउन चाहन्छु ।

आज चालीसौं बसन्तको यो संघारमा
आवरण अर्कै तर अतृप्तिको अंगारमा
फुल्न लागेको केश सुम्सुम्याउँदै
पुट्ट लागेको पेट थम्थमाउदैं
आफूलाई फेरि बालापनको बगैँचामा झुलाउन चाहन्छु
बिर्सिएर सबै कुरा आफैंलाई आज भुलाउन चाहन्छु
मरुभूमिको मृगतृष्णामा म आज धेरै थाकें  
जीवनको सहजतालाइ अभिमानले धेरै ढाकें  
अब यो द्रव्यको दौडबाट म उम्कन चाहन्छु
क्षणिक नै सही तर बिजुली झैँ चम्कन चाहन्छु
कतै ईश्वर छन् भने म उनलाई पनि झुक्याउन चाहन्छु
आफूभित्रको अहंकारको चट्टान अब टुक्र्याउन चाहन्छु  
समयचक्रले च्यातेको मनलाई अब सिउन चाहन्छु
जीवनको अमृतरसलाई सतत पिउन चाहन्छु
फेरि त्यो बालापन जिउन चाहन्छु ।
फेरि त्यो बालापन जिउन चाहन्छु ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेश पराजुली
दिपेश पराजुली
लेखकबाट थप