भारतीय टोलीको प्रारम्भिक सूचीमा सूर्यवंशी अटाए, सूर्यकुमार अटाएनन्
सारांश
- १५ वर्षीय वैभव सूर्यवंशीले आईपीएल २०२६ मा उत्कृष्ट प्रदर्शन गरेपछि एसियाली खेलकुदका लागि भारतको ३० सदस्यीय प्रारम्भिक टोलीमा स्थान पाएका छन् ।
- टी–२० विश्वकप विजेता कप्तान सूर्यकुमार यादव र टेस्ट तथा एकदिवसीय टोलीका कप्तान शुभमन गिललाई प्रारम्भिक टोलीमा समावेश गरिएको छैन ।
- स्टार बलर जस्प्रित बुमराह प्रारम्भिक सूचीमा भए पनि एकदिवसीय विश्वकपलाई प्राथमिकतामा राखेकाले एसियाली खेलकुदमा उनको सहभागिताको सम्भावना कम छ ।
एजेन्सी । भारतीय क्रिकेटमा १५ वर्षीय वैभव सूर्यवंशीले तहल्का मच्चाएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा १६ खेलमा ७७६ रन बनाएर सनसनी मच्चाएका बायाँहाते ब्याटर वैभवको उत्कृष्ट प्रदर्शनले भारतीय चयनकर्ताको ध्यान तान्न सफल भएको छ । अखिल भारतीय वरिष्ठ पुरुष छनोट समितिले उनलाई आगामी एसियाली खेलकुदका लागि भारतको ३० सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरेको छ ।
जापानको आइची–नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय ओलम्पिक संघ (आईओए) लाई खेलाडीहरूको सूची बुझाइसकेको छ ।
प्रमुख खेलाडीहरू बाहिरिए
यस पटकको टोलीमा टी–२० विश्वकप विजेता कप्तान सूर्यकुमार यादव र टेस्ट तथा एकदिवसीय टोलीका कप्तान शुभमन गिललाई समावेश गरिएको छैन ।
समाचार एजेन्सी पीटीआईका अनुसार सूर्यकुमार यादव अब सन् २०२८ को टी–२० विश्वकप र लस एन्जल्स ओलम्पिकको योजनामा नभएकाले उनको नाम सूचीमा नहुनु स्वाभाविक मानिएको छ । उता गिललाई वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिने तयारी गरिएकाले उनलाई एसियाली खेलकुदमा समावेश नगरिएको समाचारहरूमा जनाइएको छ ।
बीसीसीआईले एसियाली खेलकुद र वेस्ट इन्डिजविरुद्धको घरेलु 'ह्वाइट बल' शृंखलाका लागि दुई फरक टी–२० टोली तयार पार्ने निर्णय गरेको छ । एसियाली खेलकुदमा क्रिकेट प्रतियोगिता सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुनेछ भने भारत र वेस्ट इन्डिजबिचको शृंखला (३ एकदिवसीय र ५ टी–२०) सेप्टेम्बर २७ देखि अक्टोबर १७ सम्म चल्नेछ ।
स्टार बलर जस्प्रित बुमराह पनि ३० सदस्यीय प्रारम्भिक सूचीमा अटाएका छन्, तर आगामी वर्ष दक्षिण अफ्रिका, नामिबिया र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपलाई प्राथमिकतामा राखेकाले उनी एसियाली खेलकुदका लागि जाने सम्भावना कम रहेको जनाइएको छ ।
सूर्यकुमार यादव टोलीमा नभएपछि एसियाली खेलकुदका लागि भारतीय टोलीको कप्तानी कसले सम्हालला भन्ने चासो बढेको छ । हालको अवस्थामा श्रेयस अय्यर, सन्जु सामसन वा तिलक वर्मामध्ये एक जनालाई कप्तान बनाउने सम्भावना बलियो देखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण