शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

केही सुरक्षाकर्मीलाई जिम्मेवारी सुम्पेर मात्र साइबर सुरक्षा प्रणाली बलियो हुँदैन : मन्त्री श्रेष्ठ

बुधबार, ०३ साउन २०८०, १७ : ४४
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनका लागि केही सुरक्षाकर्मीलाई जिम्मेवारी सुम्पेर मात्रै नपुग्ने बताएका हुन् । 

बुधवार सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले प्रकाशन गरेको पुस्तक साइबर सुरक्षा अवधारणा र अभ्यास को विमोचन कार्यक्रममा बोल्दै उनले साइबर सुरक्षामा परिचालित सुरक्षाकर्मीलाई समयानुकूल प्रशिक्षित गरिरहनु पर्नेमा जोड दिए । 

मन्त्री श्रेष्ठले भने, ‘विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्त्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी दिनमा भौतिक आक्रमणका घटना भन्दा बढी साइबर अपराधका घटना बढी हुनेछ । नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता हुने गरेका उजुरीका घटनामा भएको वृद्धिले यो तथ्यलाई पुष्टी गर्छ । साइबर अपराधका घटना नेपालमा बढिरहेका कारण काठमाडौँ जिल्ला अदालतमा मात्रै सुनुवाइ हुँदै आएको साइबर अपराधसँग सम्बन्धित मुद्दालाई नेपालमा सबै जिल्ला अदालतमा सुनुवाइ गर्न सक्ने गरी नेपाल सरकारले निर्णय गरेको छ ।’

प्रदेशमा प्रादेशिक सूचना प्रविधि आकस्मिक सहायता समूह गठन गरी क्रियाशील तुल्याउनु पर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।  उनले भने, ‘साइबर अपराध बढेसँगै साइबर सुरक्षालाई विकेन्द्रित गर्दै लैजानु पर्ने भएकोले प्रादेशिक संरचनालाई बलियो बनाउँदै लैजान सक्दा मात्रै संघीयता सुदृढ हुनसक्छ । संघीयतालाई सुदृढ गरेर नै नेपाललाई बलियो बनाउन सकिन्छ । सूचना प्रविधि विषय नै यस्तो हो, जुन विषयमा एक पटक पढेर पुग्दैन, पल पलमा हुने विकास र परिवर्तनका बारेमा जानकारी हासिल गरिराख्नुपर्छ । साइबर सुरक्षामा खटिइने जनशक्ति अपडेट र अपग्रेड भइराख्नुपर्छ । साइबर सुरक्षामा चुनौती खडा गर्ने समूह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाँ सुकैको हुनसक्छ । त्यो विषयमा संघसँग समन्वय गरी सामना गर्नसक्ने संयन्त्र प्रदेश तहमा आवश्यक हुन्छ ।’

मन्त्री श्रेष्ठले साइबर सुरक्षामा आन्तरिक र बाह्य समन्वयको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने बताए ।  साइबर सुरक्षाको सचेतना नागरिक तहसम्म फैलाउनुपर्ने उनको जिकिर थियो । नागरिक तहसम्म सचेतना फैलाउने काम प्रदेश र स्थानीय तहले गर्नुपर्नेमा उनले जोड दिए । उनले केन्द्रीय डाटा सेन्टरलाई सुरक्षित गर्न प्रादेशिक तहमा साइबर सुरक्षा अप्रेसन सेन्टर राख्नु आवश्यक रहेको उल्लेख गरे ।

‘सफ्टवेयरको विकासमा एकरूपता ल्याउने, डिजिटल सिग्नेचरलाई व्यवस्थित गर्ने, डाटा सुरक्षामा आवश्यक व्यवस्था गर्ने, त्यस्तो काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सीप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । केन्द्रीय डाटा सेन्टरलाई सुरक्षित गर्न पनि प्रादेशिक तहमा साइबर सुरक्षा अप्रेसन सेन्टर राख्न आवश्यक हुन्छ’  उनले भने, ‘प्रादेशिक तहमा स्थापना हुने डाटा सेन्टरलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न र डाटाको सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न पनि प्रदेश तहमा दक्ष जनशक्ति आवश्यक हुन्छन् । त्यसलाई प्रोत्साहन गर्ने नीति संघ र प्रदेशले बनाउनुपर्ने हुन्छ ।’

उनले डाटामाथि निगरानी राख्ने र प्रणालीमा कसैले क्षति पुर्याउन लागे नलागेको बारेमा अनुगमन गर्ने व्यवस्था गराउनुपर्ने समेत बताए । उनले भने, ‘प्रदेश तहले गर्न सक्ने काम तत्कालै सुरक्षा गर्ने र प्रदेशले गर्न नसक्ने र अन्तर्राष्ट्रिय मुद्दा जोडिएर आएमा संघीय सरकारसँग समन्वय गर्ने गराउने व्यवस्था मिलाउन आवश्यक हुन्छ। साइबर सुरक्षासँग सम्बन्धित सूचना सङ्कलन गर्न पनि दक्ष जनशक्ति आवश्यक हुन्छ । दक्ष जनशक्ति उत्पादन गर्न प्रदेशलाई परिचालन गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप