बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह

मङ्गलबार, ०९ साउन २०८०, १८ : ३६
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको हो ।

नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीसँग भेटवार्ता गर्दै अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले दुई देशबीच वैदेशिक व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि समेत आवश्यक पहल गर्नुपर्ने बताए ।

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसँग आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘नेपाल र पाकिस्तानबीच हवाई दुरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन  विस्तार गर्न सकिन्छ  । सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’

पाकिस्ताबाट नेपालले अहिले औषधी, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको भने मह, कफी , चिया, हस्तकलाका सामान, अलैँची, आँखाको लेन्स, उनी धागो लगायतका बस्तु निर्यात गर्ने गरेको छ । काठमाडौँ कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लले बताए ।

नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुनेगर आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा  हास्मीले जोड दिए । यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने उनको भनाई छ । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत हास्मीले प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप